कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

दैवज्ञ बाँचून् अब

प्रह्लाद पोख्रेल

१

मेरा कर्मपिता ! तिमी पर गयौ आलोकमा लीन भै

मेरो होसहवास छैन अहिले सञ्चेतनाहीन भै

सम्झाउँफ कुन शब्दले मन यहाँ मेरा महामानव !

हे दैवज्ञ ! म बोल्न सक्छु कसरी ? छैनौ तिमी नै जब

२

यो संसार असार होस् कि अथवा होओस् महासागर

पौडेको म थिएँ सधैंभर यहाँ पाएर तिम्रै भर

मेरो जीवनको महासमरका आदर्श योद्धा तिमी

टेकेको छु उहीँ सरासर हिँडी जस्तो दिएथ्यौ जिमी

३

तिम्रो जीवन शान्त भो नियतिको दुर्दान्त पञ्जा परी

त्यो सारस्वत सत्य चिन्मय भयो आलोकयात्रा गरी

आत्मा शाश्वत भै प्रकाशमय भो, स्रष्टा ! निदायौ अब

सत्–चित्–सुन्दर लेख्न सक्छु कसरी ? छैनौ तिमी नै जब

४

मेरो जीवनका अनन्य धमनी, स्रष्टा ! तिमी अब्बल

मेरो चिन्तन चेतना हृदयका मस्तिष्कका सम्बल

राम्रा मौलिक सिर्जना कवि–कला छन् ध्वस्त सारा अब

के लेख्ने अब भावहीन कविता ? छैनौ तिमी नै जब

५

पैफलाई जनचेतना समयको स्वाधीनता संस्कृति

शिक्षाको सुकिलो नयाँ चहकमा लेखी अनेकौं कृति

छर्दै ज्ञान परोपकार गरिमा, साहित्यको सौरभ

जो आजीवन कर्मशील रहँदा हाम्रो बढ्यो गौरव

६

अर्थीको अनुहार जीवन छँदै जस्तै खुलेको थियो

आभापूर्ण र चम्किलो वदनमा मानौं बलेथ्यो दियो

वाणी सुन्दर ओजपूर्ण कविता बोल्ला कि झैं थ्यो शव

संज्ञाशून्य बनेर बोल्नु कसरी ? दैवज्ञ ! छैनौ अब

७

न्यौपाने कुल–रत्न भूषण तिमी गर्छौँ सदा अर्चना

तिम्रो कीर्ति–कथा छ उज्ज्वल यहाँ गर्छौँ सदा वन्दना

तिम्रो जीवन–काव्य–सौरभ पढी गर्छौँ सदा गौरव

अर्पी काव्य–सुधा सदा अमर भै दैवज्ञ बाँचून् अब ।

२०६८ पुस १४

e-mail: prahlad.pokhrel@gmail.com