कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

बहुआयामिक व्यक्तित्व : कवि दैवज्ञ

आर डी प्रभास चटौत

ज्ञानी व्यक्ति थिए स्वरूप उनको साह्रै मजाको थियो

देख्दा जो पनि लोभिने मन छुने औदार्यको रूप हो

आगोमा सुन पोलिएपछि अहा चम्किन्छ शोभा दिई दैबूको अमरत्व उज्ज्वल भयो उत्कृष्टता चम्किई

विनोदप्रिय व्यक्तित्व मृदुभाषी रमाउने

दैवज्ञ स्वाभिमानी हुन् स्वाभिमान सिकाउने

त्यो भद्ररूप सम्झन्छु चित्ताकर्षक लक्षण
नतमस्तक भै गर्छु श्रद्धा-पुष्प समर्पण

सफा, चट्ट थिए दौरा-सुरुवाल लगाउँदा

तनमा मनमा जस्तै सधैं राष्ट्रियता हुँदा

आफैँ सौन्दर्यका रूप कसिला देहका धनी

उदार-भावले हेर्थे सहयोगी सधैं बनी

अहङ्कार परै बस्थ्यो दैबुका मार्गबाट नै
सादा जीवन माधुर्य रम्थ्यो दैवज्ञ रूपमै
कुनै वर्ग कुनै व्यक्ति पशु पन्छी रहोस् कुनै
सेवा-भाव दया-भाव सधैँ दैवज्ञ चित्तमै

प्रकृति रूप सौन्दर्य रमणीय छ भूतल
जिल्ला भोजपुरै राम्रो जन्मे दैवज्ञ त्यै स्थल
त्यही कारणले हो कि दैवज्ञ-रूपको कला
साहित्य गीत संगीत रचना गतिमा खुला

थानेश्वर थियो नाउँ जन्म नक्षत्र पाउले
दैबु नाम दिए प्यारो पूज्य आमा र बाबुले
प्रतिभा हो कि आभा हो प्रभा हो तिनमै बस्यो
साक्षात्कार हुँदै साँच्चै दैवज्ञ रूपमै पस्यो

बाल्यकाल थियो मीठो माधुर्य रूपको रस
वसुधा जन्मभूमिमा फक्र्यो पल्लव गौरव
बेंसीमा कहिले घुम्थौँ कहिले लेकफाँटमा
ट्याम्के हेर्न गयौं कैले भन्थे दैवज्ञ जोशमा

भएथ्यो कविता-यात्रा कक्षा पाँच हुँदा सुरु

सरस्वती स्वरूपैको पैलो स्तुति खुरूखुरू

कविता गीत साहित्य समीक्षा रचना गरी

निरन्तर हिँडे तीव्र हिमाली सरितासरि

शोक-संकट-संघर्ष-हर्ष-रोमाञ्चका कथा

जिन्दगी-पथमा घुम्छन् चक्रझैं भै यताउता

पितामह बितेजस्तै पिता-माता भए पर

दैबुले त्यस बेलामा भोगे पीडा वृहत्तर

भन्छन् विपत्तिका हुन्छन् साथीसङ्गी अनेकन

दैबुलाई पर्‍यो भोग्न त्यस्तै पीडा प्रतिक्षण भयो वियोग पत्‍नीको भार सन्तानको पुरै काँधमाथि दिई रीता प्यारी पत्‍नी भइन् परै

खाऊँ लाऊँ गरौँ सोख भन्ने वेला र यौवन हुँदा उल्लासमा धेरै परे शोक अनेकन तर दैवज्ञ साँच्चै नै संसार बुझ्दथे यिनी

ऊर्जामा बदले पीडा जस्तै सङ्कष्टमा पनि

आकर्षक थियो रूप रसिला रङ्गका धनी उत्कृष्ट लक्ष्यका साथ अघि बढ्दै गए उनी

कविता-काव्य गीतादि सिर्जना रचनात्मक

उत्प्रेरक थिए धेरै काम गर्थे कलात्मक

आचार्य स्तरको शिक्षा मीमांसाको लिए तथा नेपालीमा भए एम् ए स्नातकोत्तर भै यथा विश्वविद्यालयी सेवा नेपालीका विभागमा प्राध्यापन गरी उच्च ज्ञान दान गरे त्यहाँ

ऋषि जैमिनिले ज्ञान गरेको प्रतिपादन समाती सूत्र मीमांसा गरे जीवन अर्पण

कैयन् घात र आघात सहँदै लोक-जीवन

सदैव देशकै निम्ति भए दैबु समर्पण

मान-सम्मान थुप्रै नै दैवज्ञ कर्म-भूमिमा

भए अर्पण निष्ठाका भावना पृष्ठभूमिमा

विद्यावारिधि नै गर्न सकिन्छ पङ्तिपङ्तिमा

रहस्यपूर्ण छन् सारा दैबु वाङ्‍मय-सिर्जना

समाज देशकै निम्ति गर्ने हुन् राष्ट्र-गौरव

जानै पर्दछ छोडेर अन्त्यमा जति हुन्‍ सब

मार्ग दैवज्ञको उच्च निष्ठा कर्तव्य उर्वर

अपनाई त्यही बाटो श्रद्धा राखौँ निरन्तर

अमर कवि कलाका दैबु जस्ता विशाल गुण सुगुण निहारी रूप झन् झन् कमाल

उदित मुदित मान्छे दैवले नै लियो हो

स्मरण नमन गर्दै लेखनी रोकियो यो।