कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

बाबालाई सम्झँदै

अर्चना न्यौपाने आचार्य

नेपाल ठाउँ र हाम्रो बस्ती

फुलेथ्यौँ हामी त्यसैमा अस्ति

सम्झन्छु सधैं म मान्छे कस्ती

तिम्रो वियोगले धेरै नै सास्ती

फर्केथेँ तिम्रै आशिष ली रमाई

के गर्नु विदेशमै थियो कमाइ !
वाचा ल्याउने नातिनातिना फकाई
कुरेनौ किन पार्‍यौ सबैलाई पराइ !!

छैनौ रे तिमी कसरी म मानू
यस्तो सम्झने मन धेरै नै सानु !
अर्पियौ पारी साहित्यलाई धनी
अमर रचनाले मान्दै छ कमी !!

तिमी त चम्केको मणि थियौ हाम्रो
फैलाई सुगन्ध नै सधैँ राम्रो !

छाडेर गयौ यो संसार सारा
तिर्न सकिन दैव तिम्रो भारा !!

भेट हुने इच्छा अपुरै पो पर्‍यो
दिनदिनै सम्झेर छटपटिन्छु साह्रो !
सहने हृदयलाई भएको छ गाह्रो
यो भाग्यको लेखासँग मन मेरो हार्‍यो !

दूरी त्यो हाम्रो छहारी स्पर्श म पाउथेँ
भेट हुनेछ चाँडै भन्दै कति रमाउथेँ !
मधुर मुस्कानले तिम्रा कविता गाउथेँ
अपुरो रहर पो रहेछ सपना म सजाउँथेँ !!

चकित छु आज आफू आफैँ बहलाउन
हरायौ यहाँबाट नसकिने रैछ भेट्टाउन !
नबुझ्ने संसारलाई यो वेदना सुनाउन
स्तब्ध मन अहिले शब्दबिना फकाऊ न !

हाल : टेक्सस, अमेरिका