कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञराज न्यौपानेसँगको सङ्गत र अनुप्रेरणा

प्रा.डा. हरिप्रसाद पराजुली

सकारात्मक अनुप्रेरणा जुनसुकै व्यक्ति, व्यक्तित्व र कृति, कृतित्वबाट प्राप्त गर्न सकिन्छ । अनुप्रेरणा दिनेमा भन्दा लिनेमा भरपर्छ तर कुनै कुनै व्यक्तिको यस्तो व्यक्तित्व हुन्छ, त्यसले अनुप्रेरितको व्यक्तित्वलाई नै प्रभावित गर्दछ । मैले अनुभव गरेका यस्ता व्यक्तित्वहरूमध्ये कवि एवं प्राध्यापक दैवज्ञराज न्यौपाने (१९९९—२०६८) पनि एक छन् ।

हाम्रा शास्त्रहरूले संरक्षित तर मार्मिक रूपमा सज्जन र दुर्जनलाई चिनाएका छन् । जसको सोचाइ, बोलाइ र गराइमा एकरूपता वा समानता हुन्छ त्यो सज्जन हो । दैवज्ञराज न्यौपाने यस्तै सज्जन व्यक्ति थिए । उनको सुन्दर, भव्य र आकर्षक शारीरिक व्यक्तित्वले पनि उनीभित्रको सज्जनता प्रतिविम्बित गर्दथ्यो । हँसिलो मुद्रा, मीठो बोली, सरल एवं सहज हाउभाउ र सादा तर आकर्षक पहिरन मानौ न्यौपानेकै निमित्त सृजित प्राकृतिक आभूषण थिए । शालीन व्यक्तित्वका धनी दैवज्ञराज न्यौपानेलाई मैले पहिलो पटक २०३० सालमा काठमाडौँमा देखेको हुँ । तिनताक म धरानमा सानै कक्षामा पढ्थें । धरानस्थित पिण्डेश्वर संस्कृत महाविद्यालयका आचार्य पं.पुरुषेत्तम भट्टराईको कुशल नेतृत्वमा म मित्र कोषराज न्यौपाने, एकमणि नेपाल, प्रह्लाद आचार्य आदि विद्यार्थीहरू शैक्षिक भ्रमणका सन्दर्भमा काठमाडौँ आएका थियौं । आचार्य पुरुषोत्तम भट्टराईले नै पहिलो पटक मलाई न्यौपानेसँग परिचित हुने अवसर दिलाउनु भएको हो ।

अठार पुराणको सारको रूपमा आएका व्यासका दुई बचनहरूमध्ये एउटा वचन हो –परोपकार पुण्याय । न्यौपाने यस्तै परोपकारी भावना र व्यवहार भएका पुण्यात्मा व्यक्ति रहेछन् । त्यस बेला उनले देखाएको सौहार्दता, दिएको आतिथ्य र गरेको सहयोगले ममा यस्तो प्रभाव अङ्कुरित भएको थियो र पछि गएर त्यसले ठुलो शाखाको रूप लिएको हो । न्यौपानेले मलाई यो भाइ को हो ? भनेर सोधे – गुरुले मलाई पनि चिनाउनुभयो । त्यस बेला दैवज्ञ दाइकै सहयोगमा हामी सरकारी सहयोग समेत प्राप्त गरी काठमाडौँ घुमेर फर्कियौँ । धेरै समयसम्म दैवज्ञराज न्यौपानेलाई फेरि भेट्ने अनुकूलता मिलेन । सुरुका दिनहरूमा ममा दैवज्ञराज न्यौपानेको प्रभाव बढाउने काममा कोषराज न्यौपानेको ठुलो हात छ । न्यौपाने कट्टर बाह्मणपुत्र । ब्राह्मणपुत्रै भए पनि त्यो कट्टरता परिस्थितिले मबाट खोसिसकेको थियो । म अहिले पनि यही परिस्थितिमा छु र कोषराज न्यौपाने अझ पनि कट्टर नै छन् कतिपय सन्दर्भमा । यो अहिलेको चर्चाको विषय होइन । अहिले म के मात्र सम्झिन चाहन्छु भने कोषराज न्यौपानेले ममा दैवज्ञराज न्यौपानेको प्रभाव बढाएका हुन् ।

सायद २०३२ सालतिरको कुरा हुँदो हो । दैवज्ञको प्रभावले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याएको तथ्य कोषराजले बताए । उनी दैवज्ञलाई आदर्शपुरुष मान्थे र दैवज्ञ आफ्ना कविताका गुरु, सायद जीवनशैलीकै पनि गुरु, कवि माधवप्रसाद घिमिरेलाई आदर्शपुरुष मान्थे । काव्यप्रवृत्ति, जीवनशैली र खानपिनसमेत कवि घिमिरेसँग मिल्थ्यो । तसर्थ दैवज्ञ कवि घिमिरेका सच्चा शिष्य थिए । यी दुई गुरुचेलाले काठमाडौंको साहित्यिक भेलाको जलपानमा सजिलै नुनमा चोबेर अन्डा खाएको कोषराजले देखेछन् र एक छिन त छक्कै परेछन् — बाहुनका छोरा, यत्रा ठुला र प्रतिष्ठित व्यक्तिहरू पनि अन्डा खाँदा रहेछन्; ककसले छोएको खाँदा रहेछन् भनेर । तर क्षणभरमै उनको चेतनाले अनायास निर्णय लिएछ — “अब म पनि अन्डा खान्छु र लुगासहित भात खान्छु ।” नभन्दै लुगा लगाएको साथीले भात खाँदै गर्दा छोइदिएको कारणले र टमाटर हालेको तरकारी खुवाएको करणले मुखमा हात हालेर खाएको वस्तु पूरै उल्टी गर्ने न्यौपानेले कवि दैवज्ञ र माधव घिमिरेको व्यवहार देखेर आफ्नो कट्टरपनमा परिवर्तन ल्याएका थिए । उनैले दैवज्ञको व्यक्तित्व र कृतित्वका सम्बन्धमा मलाई थप जानकारी गराए ।

धरानमा विद्यार्थी जीवन बिताउँदा म साहित्यिक पत्रिका प्रकाशनमा पनि सक्रिय थिएँ । “पीपल” “नेपाल” “बिकुल” जस्ता संस्थागत र व्यक्तिगत साहित्यिक पत्रिकाहरूको प्रकाशनमा साथीसहित म केही समय संलग्न रहेँ । त्यति बेला स्वार्थभन्दा सहयोगको भावना बढी थियो । हुन त सहयोग लिन सक्यो र जान्यो भने आज पनि उपलब्ध छ । निष्ठा र विश्वास भयो भने साहित्यका क्षेत्रमा अझ पनि सहयोगको भावना घटेको छैन । उदाहरणार्थ प्रा. अच्युतरमण अधिकारीको साधना, विश्वास र उनको “उन्नयन” पत्रिकालाई लिन सकिन्छ । जस्तोसुकै लेखकबाट अधिकारी बिनापारिश्रमिक रचना प्राप्त गर्न सक्छन् । उनको उच्च मनको उन्नयन यही भावनाबाट भएको छ तर हामीले प्रकाशित गर्ने पत्रिकाको हैसियत भने अधिकारी र उन्नयनको जस्तो थिएन ।

प्रतिष्ठित लेखकका रचनाहरू पाउन सके पत्रिका राम्रो हुन्छ भन्ने सोचाइ थियो । म र कुमार आचार्य लेख, रचना खोज्न विराटनगरतिर झर्थ्यौँ । काठमाडौँपछि विराटनगर लेखकहरू बस्ने थलो थियो । महानन्द सापकोटा, देवकुमारी थापा, बालकृष्ण पोखरेल र त्यसपछि भानुभक्त पोखरेल, गणेश भण्डारी, नरेन्द्र चापागाईँ त्यस समयका अग्रणी लेखक कवि थिए । बालकृष्ण पोखरेल र नरेन्द्र चापागाइँ प्रायः सँगै हिँड्ने गर्थे । पोखरेलद्वय त सिधै भन्थे– हामी लेखकहरूको शोषण गरेर तिमीहरू केटाहरू ठुलो मान्छे, (सम्पादक/प्रकाशक) बन्छौँ । हामीलाई केही दिँदैनौ । त्यसैले हामी लेखरचना दिँदैनौ/लेख रचनाको आशा गर्ने भए हामीलाई लड्डु, पुरी—तर्कारी, पान खुवाउनु पर्छ ।

मैले रचना लिन त्यो काम पनि गरेको छु । कुनै कुनै लेखकले उही ख्याल, उही ठट्टा यो कुरा भने पनि देवकुमारी थापा, महानन्द सापकोटा, गणेश भण्डारीले यो ठट्टा कहिल्यै गरेनन् । निरन्तर लेख रचना दिंदै रहे । मलाई अहिले शीर्षक याद छैन । भाषाशास्त्री महानन्द सापकोटाको भुजङ्गप्रयात छन्दमा रचित कविताको एउटा अंश जो म आजसम्म पनि नगुनगुनाइकन रहन सक्तिन, अहिलेका नातावाद, कृपावाद र स्वार्थमा चुर्लुम्म डुबेका नेता, मन्त्री, अधिकारी र तिनका पिछलग्गुहरूको मुटुमा झड्का दिन सक्षम छ । सापकोटा आफ्नो कवितामा लेख्छन् —

न नाता न गोता न ता लाभहानि

कुनैमा कतै ढल्कने छैन बानी

कुनै स्वार्थका छेउमा नै म जान्न

शरच्चन्द्रिका झैँ सदा छु प्रसन्न

गणेश भण्डारी जो पछि मोरङ कलेजका प्राध्यापक भए, जुट विकास तथा प्रबर्धन केन्द्र विराटनगरमा अधिकृत थिएँ । यसरी हामी उनको चेम्बरमा पुग्थ्यौं । थाहा त भएन तर असाध्य असल थिए । भन्थे– “भाइ हो, आइहाल्यौ । यो लेखसहितको विज्ञापन छाप्नू, तिमीहरूलाई संस्कृत आउँछ । लु टिप त !” म कापी र कलम लिएर टिप्न तयार हुन्थँे । उनी भन्थे –

स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु

गोवाजिहस्तिधनधान्यसमृद्धिरस्तु

ऐश्वर्यमस्तु विजयोस्तु रिपुक्षयोस्तु

सौभाग्यमस्तु सततं हरिभक्तिरस्तु

यो सामग्री छापेर पत्रिका लिएर आउनू भनेर भौचरमा दस्तखत गराई रु १०० तत्काल भुक्तानी दिन्थे – गणेश भण्डारी । हामी दङ्ग पथ्यौँ । त्यस बेला १०० रुपैयाँले ठुलै महत्त्व राख्दथ्यो । यो सन्दर्भ पनि दैवज्ञराज न्यौपानेको सम्झनामा सहयोगी हुन्छ भन्ने मैले ठानेको छु ।

२०३३ सालतिर काठमाडौँ आएपछि पनि मलाई पुरानो रुचिले छोडेन । मैले सिसार नामक साहित्यिक पत्रिका दर्ता गरेर प्रकाशित गर्न थालेँ । यस समयमा पनि लेखरचनाको त्यत्तिकै खाँचो भयो । काठमाडौँमा परिचित लेखकहरूसँग सम्पर्क राख्ने सन्दर्भमा दैवज्ञराज न्यौपाने नै अग्रणी थिए । मैले केही वर्ष यो पत्रिका प्रकाशित गरँे । त्यसका सबैजसो अङ्कमा दैवज्ञ न्यौपानेका गीत र कविताहरू प्रकाशित छन् । खुसीसाथ उनले मलाई यस पत्रिकाका निमित्त नयाँनयाँ गीत र कविता दिँदै रहे । म अहिले अपसोचमा छु — मैले प्रकाशित गरेका पत्रिकाका प्रतिहरू नै मसँग सुरक्षित छैनन् र दैवज्ञराज न्यौपानेका ती अमूल्य रचनाहरू पनि सुरक्षित रहेनन्, न त ती रचनाका शीर्षकहरू र भावको मलाई हेक्का छ ।

व्यक्तिगत जीवनमा दैवज्ञ न्यौपानेका सीमाहरू देख्ने व्यक्ति र वर्ग नभएको होइन तर “जिजीविषा” नै जीवनको र कलाको उद्देश्य हो भने जीवनलाई सुन्दर, शान्त र विशालको प्रतिविम्बका रूपमा देख्न चाहने न्यौपानेले जे गरे, त्यो आफैँमा सही थियो भन्ने तथ्य उनले प्राप्त गरेको पक्षाघातको नियति र अपूर्ण अवस्थामा भएको जीवनको अन्तले स्पष्ट पारेको छ । मलाई लाग्छ, न्यौपाने शालीन व्यक्तित्व र रोमाण्टिक जीवनशैली भएका राष्ट्रवादी स्रष्टा र व्यक्ति थिए । धेरै समयपछि उनको सम्झनामा केही लेख्न बस्दा, जो उनको महान् व्यक्तित्व र मननीय तथा विश्लेषणीय कृतित्वको व्यापक सन्दर्भमा होइन, सामान्य तथा यथार्थपरक रूपमा उनलाई सम्भिँफदा म आफूलाई सङ्कोच र गर्वका, लज्जा र गौरवका द्विविधामा पाउँछु ।

दैवज्ञ मलाई हरि भाइ भनेर सम्बोधन गर्थे । मलाई ज्यादै आत्मीयता र गर्वको सम्बोधन लाग्थ्यो— यो । अर्का एकजना कवि छन् —मञ्जुल । ती पनि मलाई हरि भाइ नै भनेर बोलाउँछन् । मञ्जुल पनि नाम कहलिएकै कवि हुन् र दैवज्ञको घर गाउँतिरकै नेपाल हुन् । तिनको सम्बोधनमा पनि म दैवज्ञकै सम्बोधन पाउँछु र मैले गुमाएको उनको पाञ्चभौतिक शरीर बिर्सिन्छु । दैवज्ञको हरि भाइ हुन पाएकोमा म दङ्ग थिएँ । एकदिन उनले मलाई हरिजी भने । म सङ्कोच र खिन्नतामा परें ।

२०३७–३८ सालतिरको कुरा हो । त्यस बेला दैवज्ञ पाटन क्याम्पसका क्याम्पस प्रमुख थिए । आई.एस्सी. पढ्ने विद्यार्थीले पनि सय पूर्णाङ्कको अनिवार्य नेपाली पढ्नुपर्थ्यो । पाटन क्याम्पसमा राममणि रिसाल, पीताम्बर अधिकारी, टंकमणि नेपाल दैवज्ञ न्यौपानेजस्तै कहलिएका नेपाली विषयका प्राध्यापकहरू थिए भने मेरा कुनै अग्रज र कुनै समकालीन व्रतराज आचार्य, दुर्गाप्रसाद अर्याल, चक्रपाणि खनाल, रामप्रसाद दाहालजस्ता राम्रै प्राध्यापकहरू पनि थिए । यस्तो अवस्थामा पनि दैवज्ञलाई आई.एस्सी.को अनिवार्य नेपालीको कक्षा चलाउन निकै गाह्रो भइरहेको रहेछ । नभन्दै त्यो समूहमा तत्कालीन पञ्चमन्त्री, सचिव र ठुलाबडाका केही फटाहा केटाहरूले प्रवेश लिएका रहेछन् । केही पढ्न चाहने विद्यार्थीहरू समेत फट्याइँका सिकार भइरहेका रहेछन् । कसले दैवज्ञलाई भनिदिएछ — “यिनीहरूलाई हरि पराजुलीले तह लगाउँछ ।” लालानाथ सुवेदीमार्फत दैवज्ञले मलाई खबर पठाए – तुरुन्त उनलाई भेट्नू भनेर ।

त्यसो त २०३६ सालमै दैवज्ञले मलाई पाटन क्याम्पसमा पढाउन बोलाएका थिए । मेरा साथीहरूले गर्व गर्ने स्नातक तहको मूल नेपाली ऐच्छिक नेपाली विषय पढाउन पाइने अवसरलाई जो दैवज्ञले दिएका थिए छोडेर मैले इन्जिनियरिङ क्याम्पस पुलचोकमा अनिवार्य नेपाली पढाउन थालेको थिएँ । व्यक्तिगत रुचि र सोचका कारण मैले पहिले दैवज्ञको आदेश पालना गर्न पाएको थिइन । यसपटक भने म उनलाई भेट्न क्याम्पसमै गएँ । प्रसन्न भव्य व्यक्तित्व दैवज्ञले मलाई भने – “हरिजी, यी आई.एस्सी.का फटाहाहरूलाई तह लागउनु पर्‍यो । तपाईँले आंशिक कक्षा लिइदिनु पर्‍यो, यिनीहरूको ढाड सेक्नु होला है ।”

मैले दुई वर्ष पाटनमा आई.एस्सी.लाई आंशिक कक्षा लिएँ । ती फटाहा विद्यार्थीहरू जो शिक्षकलाई कहिले हुटिङ्ग गर्ने, कहिले भुफक्याएर पछाडि लामो पुच्छर भुफन्ड्याइदिने, कहिले कागजका रकेट र चकले हान्ने गर्थे, हुँदाहुँदा कक्षामा शिक्षक पुग्नु अघि नै टेबुलमा माटा,े ढुङ्गा र पाटनका राँगाका हड्डीहरू थुपारेर कायल बनाउँदा रहेछन्, तिनलाई मैले तह लगाएँ । पाटनको नेपाली कक्षा तिनीहरू अमेरिका, युरोप, अस्टे्रलिया र इन्डिया पुग्दा समेत चर्चाको विषय बनेछ । मलाई सुनेर खुसी पनि लाग्यो तर एउटा लज्जाबोधक विषय भने वाँकी नै थियो— किन मलाई दैवज्ञ न्यौपानेले “हरिजी” र “तपाइँ” भने ? मैले गुनासो गरेँ पनि । यहाँ पनि दैवज्ञले मुस्कुराउँदै भने – मैले हरि भाइलाई हरिजी भनेको होइन, प्राध्यापक हरिप्रसाद पराजुलीलाई हरिजी भन्न नपाइने ? लौ लौ भइगो हरि भाइ नै भनुँला । त्यसपछि दैवज्ञ पाटनबाट नेपली केन्द्रीय विभाग कीर्तिपुर गए । हामी बीचको औपचारिक भेटघाटमा पनि कमी आउन थाल्यो ।

दैवज्ञ मेरो गुरुपुस्ताका अग्रज हुन् तापनि मैले उनीसँग पढ्ने अवसर पाइन । म पढ्दा उनी पाटनमा थिए र उनी कीर्तिपुर गएपछि मैले पढाउन थालिसकेको थिएँ । मैले पढ्ने अवसर नपाए पनि न्यौपानेलाई पक्षाघातको नियतिले छुनुपूर्व उनीसँग पढ्ने अवसर पाएकी मेरी श्रीमती उर्मिला भन्छिन् –दैवज्ञ सरसँग ठुलो भाग्यले पढ्न पाइएछ, पछि आउने साथीहरूले त पढ्नै पाएनन् । दैवज्ञसँग कक्षा लिन पाएका विद्यार्थीहरूको अनुभव छ – दैवज्ञ न्यौपानेको उचित, प्रसन्न तथा अभिनयात्मक व्यक्तित्व र उनका आकर्षक हाउभाउ यस्ता वस्तुहरू छन् जसले विद्यार्थीहरूलाई कक्षा समयभरि उत्सुकता, प्रसन्नता र फुर्ती दिन सक्छन् । दैवज्ञले के पढाए ? विद्यार्थीको यो चिन्ताको विषय थिएन । दैवज्ञ आज कक्षामा आउँछन् कि आउँदैनन् ? यो चिन्ता र उत्सुकताको विषय हुन्थ्यो । दैवज्ञलाई कक्षामा आएको परैबाट देख्ने विद्यार्थीहरू हँसमुखका साथ परस्परमा मुखामुख गर्थे । उनीहरूमा भएको थकानको ठाउँ फुर्तीले लिइसकेको हुन्थ्यो । न्यौपाने कक्षामा विद्यार्थीहरूका व्यग्र प्रतीक्षाका विषय बन्थे ।

कवि कालीदासले भनेका छन् – मृत्यु प्रकृति हो र अवश्यम्भावी छ (मरणं प्रकृतिः शरीरिणाम्) । साधारणदेखि महान्सम्मले यो वास्तविकतालाई अस्वीकार गर्न सक्दैनन् । न्यौपानेका निमित्त पनि प्रकृतिको यही विधान लागु हुन्थ्यो । उनी गए तर उनको सङ्गतको संस्मरण गर्दा अहिले म के अनुभव गर्छु भने अनौपचारिक प्राध्यापक र कवि न्यौपानेको जीवन जति सरल, सहज, प्रशंसित र स्वस्थ रह्यो औपचारिक प्राध्यापक न्यौपानेको जीवन सोही अनुरूप रहन सकेन । कष्टकर बन्यो ।

आखिर के हो त्रिभुवन विश्वविद्यालयको प्राध्यापक ? दीर्घ शिक्षण सेवाको प्रमाण हो कि उच्च प्रतिभाको सम्मान हो ? अनुसन्धानात्मक ज्ञान र सिर्जनाको मूल्याङ्कन हो कि ? एक किसिमको चोजोपाँजोको परिणाम मात्र हो प्राध्यापक ? कि लगनशीलता र सम्पूर्ण विद्यार्थीहरूको कक्षागत र विषयगत सन्तुष्टिलाई पनि प्राध्यापकको प्राविधिक सम्मान दिन सकिन्छ ? विश्वविद्यालयका सरदर प्राध्यापकहरूको व्यक्तित्वलाई हेर्दा यी प्रश्नहरूको उत्तर स्पष्ट र सजिलो छैन । यदि उत्तर सजिलो हुँदो हो त नेपाली विषयकै ध्रुवचन्द्र गौतम, जगन्नाथ त्रिपाठी, घटराज भट्टराई, हरिभक्त नेउपाने, भानुभक्त पोखरेल, कृष्णप्रसाद पराजुली, रमेश विकल प्रभृति धेरै प्राध्यापकहरूले प्राविधिक प्राध्यापकको पदको अभावमा आजीवन छटपटाउनु पर्ने थिएन र दैवज्ञराज न्यौपानेलाई पनि यस छटपटीले सताउने थिएन ।

दैवज्ञराज न्यौपानेको जीवनको उत्तरार्धमै भन्नुपर्छ । उनलाई त्रि.वि.को प्राविधिक प्राध्यापक बन्ने छट्पटीले सास्ती दिइरहेको रहेछ । उनी यस्तो बेला एक दिन अप्रत्याशित रूपमा मलाई भेट्न आए । म सेन्ट जेभियर्स कजेज माइतीघरमा कक्षा लिएर निस्किँदै थिएँ । पेटीमै भेट भयो । मैले नमस्कार गरेँ । दैवज्ञले भने “हरि सर, एउटा सहयोग नगरी भएन । म दाइ हुँ यति अनुरोध गरिहालँे । कसै गरी सहयोग गर्नै पर्‍यो । सरका लागि सानो हो तर मेरो लागि ठुलो सहयोग हुन्छ । ल, एक छिन यही बसौँ त !” भनेर पेटीमै बस्न लागे । सेन्ट जेभियर्स कलेज प्रशासनको आफ्नै ढर्रा छ । त्यसरी बसेको त्यसले मन नपराउन पनि सक्थ्यो । मैले उनलाई एउटा कोठामा लिएर गएँ तर म आश्चर्यमा थिएँ । एक किसिम शीताङ्ग पनि किनभने मलाई दैवज्ञले “सर” भनेकोमा लाज लागिरहेको थियो । मैले सोधेँ – “दाइ मैले के गर्न सक्छु र ? मैले के गर्नुपर्‍यो ? मैले सक्ने भए त म गरिहाल्छु नि ! तर तपाइँले मलाई यसरी सम्बोधन गर्नुभयो भने त मैले केही गर्न सक्ने भए पनि आँट हुँदैन । मलाई तपाइँले “हरि भाइ” भनेकै अति प्रिय छ, त्यही भन्नुहोस् ।”

उनले मेरो अनुरोध स्वीकार गरे । हामी एउटा कक्षा कोठामा केही छिन बस्यौं । दैवज्ञराज न्यौपानेले प्राध्यापकको प्राविधिक प्रमाण नपाउनुपर्ने कुनै कारण थिएन । उनी अध्ययन, अध्यापन र अनुभवका दृष्टिले पूर्ण प्राध्यापक थिए नै । उनी समकक्ष र उनीभन्दा कमै अनुभवी उमेदवारहरू समेत प्राध्यापक बनेको सूचीमा दैवज्ञको नाम रहनु अस्वाभाविक थिएन । उनी पूर्ण प्राध्यापक भए तर प्राध्यापकसँगै उनी पक्षाघातका बिमारी पनि भए । अहिले मलाई लाग्छ यदि दैवज्ञ प्राध्यापक नभएको भए त्यो पक्षाघात केही समय उनीबाट टाढै हुन्थ्यो कि अथवा उनले पक्षाघात नै बेहोर्नु पर्ने थिएन कि ? विधिको विधानले समेत बाटो बदल्थ्यो कि भन्ने जस्तो आशा पनि लाग्छ तर त्यो कल्पनातीत भएको सत्य जबरजस्ती खडा छ ।

त्यसो भए आज हामीले प्राध्यापक तथा कवि दैवज्ञराज न्यौपानेलाई कसरी सम्झिने ? उनको व्यक्तित्व र कृतिबाट कस्तो अनुप्रेरणा लिने ? उत्तरहरू सजिलै छन् तर हामीमा साधना आवश्यक छ । सादा जीवनशैली, सहयोगात्मक भावना र व्यवहार, निश्छल विचार हामी दैवज्ञबाट पाउन सक्छौँ । कुशल प्राध्यापक, असल अभिभावक र राष्ट्रवादी काव्यशिल्पीको अनुप्रेरणा दैवज्ञको व्यक्तित्व र कृतित्वबाट प्राप्त गर्न सकिन्छ । जब राष्ट्रियता र स्वावलम्बनमा आघात पर्छ, मानिसमा आलस्य र नैराश्य छाउँछ, तब नेपालको माटो र नेपालीको मुटुको नाता भरिएका कवि दैवज्ञका कविताहरूले हाम्रो मन मस्तिष्कलाई हराभरा गर्दछन् । हामी आलस्य र नैराश्यलाई छोडेर, राष्ट्रिय भावनाको जोस बोकेर जुरुक्क उठ्न थाल्दछौँ ।

कवि दैवज्ञ र उनको काव्य प्रवृतिको समीक्षकहरूले समीक्षा गरेका छन् र गर्दै जानेछन् । यस संस्मरणको उद्देश्य र क्षेत्र त्यो होइन तैपनि वार्णिक छन्दका सशक्त कविको रूपमा कवि न्यौपानेले निम्नलिखित अनुष्टुप् छन्दका तीन श्लोकमा जुन उच्च राष्ट्रिय भावधारा प्रकट गरेका छन् त्यो कहिल्यै पनि भुल्नु सम्भव छैन । नेपालीको श्रम र पसिनामै नेपालको उन्नति देख्ने कविले नेपालीको स्वाभिमान र वीरताको प्रशंसा गर्दै आफ्ना अठोट पनि यसरी प्रकट गरेका छन् ः–

जब प्रत्येक मान्छेको पसिना सल्बलाउँछ

राष्ट्रको धारमा नौलो जीवनी लहराउँछ

त्यहाँ उर्वर भै धर्ती धनधान्य खन्याउँछिन्

नयाँ स्पन्दन बोकेर नयाँ जीवन ल्याउँछिन्

म माटो मुटुको आफ्नै ढुकढुकीमा रमाउँछु

बनेर वीर नेपाली राष्ट्र सिङ्गै उठाउँछु ।

अन्तमा के भन्नु उपयुक्त होला भने यदि हामी दैवज्ञप्रति श्रद्धासुमन अर्पण गर्न इमानदार छौं भने उनीबाट सादा जीवन र परोपकारको पाठ सिकौँ । उनको आत्मालाई साक्षी राखेर अहङ्कार जस्तो शत्रुलाई जीवनबाट फालौं र प्रण गरौंं– हामी कति अरूका निमित्त बाँचिरहेका छौं ? ईर्ष्याभाव र मनोमालिन्य त्यागेर जति सक्यो हामीले अरूलाई सहयोग गर्‍यौं भने कवि प्राध्यापक दैवज्ञको आत्माले हामीलाई स्याबासी दिनेछ ।

सात दोबाटो, ललितपुर