बाबा
मलाई बाबाको सम्झना लेख्न सुरु गर्न नै धेरै नै गाह्रो पर्यो। मैले आफूले सके जति ढिला सुस्ती गरेँ किनभने कलम चलाएर मनको भावना प्रस्तुत गर्न कहिले पनि सिकिएन, जानिएन।म के लेखूँ ? झन्डै २२ वर्षको मेरो जीवनयात्रामा बाबासँगको कुन दिन अरूभन्दा महत्त्वपूर्ण रह्यो मैले गत ११ महिनामा पनि पत्ता लगाउन सकिन।कुनै विशेष सम्झना प्रस्तुत गर्न सके हुन्थ्यो भन्ने मेरो विचार अधुरै रह्यो किनभने बाबा र मेरो घर-परिवेशकै कारण म अहिलेको स्थितिमा आइपुगेको हुँ।यसमा हरेक दिन महत्त्वपूर्ण छ, हरेक साथ महत्त्वपूर्ण छ, हरेक थप्पड, हरेक गाली महत्त्वपूर्ण छ।हरेक विश्वास र हरेक सुझाव अपूरणीय छन्।त्यसैले मैले लेख्न सकिन। यस दुविधाको निकास खोज्ने क्रममा जीवनको केही सुखद र दु:खद घटना भएको दिनलाई सम्झनाको प्रतिविम्ब मान्दै यी दिनहरूका बारेमा केही लेख्न चाहन्छु।
सानामा चिसोमा नबस्नु भनेको नटेरेर चिसाँ, चिसाँ भन्दै नाच्दै गरेको मलाई बाबाले लगाउनुभएको दुई झापडका कारण त्यसपछि त्यो उपद्रो कहिले पनि गरिन तर यस्ता कयौँ खराब बानी थिए होलान्।ती सबैको औषधि गर्दै असल बनाउने बाबाको प्रयासका कारण यत्तिको भएँजस्तो लाग्छ अहिले विचार गर्दा।
कान्ति ईश्वरी विद्यालयमा पढ्दाखेरि सायद ५ कक्षामा हुँदा अभिभावक दिवसका दिन बाबालाई प्रमुख अतिथिको निम्तो दिन चिट्ठी मलाई थमाइदिनुभयो- प्रिन्सिपल मिस रन्जना पोख्रेलले। सो चिट्ठी पाउँदा र कार्यक्रमपछि प्रमुख अतिथि बाबासँग फोटो खिच्दा म निकै गौरवान्वित भएको अझै सम्झिन्छु।त्यस दिन विद्यालयमा बाबाले पाउनुभएको आदर सम्मान हेर्दा र बाबाले दिनुभएको अभिव्यक्ति सुन्दा प्रत्यक्ष रूपमा लाग्यो- मेरो बाबा कति ठुलो मानिस हुनुहुँदो रहेछ ! यही घटना र यसबाट प्राप्त चेतना मेरो लागि जीवनभर नबिर्सने प्रेरणा भयो।
कक्षा १० मा हुदाँ २०६२ साल भदौ १५ गते बाबा अकस्मात् बिरामी भएर ममी र माइला बुवाले बाबालाई शिक्षण अस्पताल दौडाउँदा मलाई लागेको डरले कहिल्यै छोडेन।जीवनको दु:खको पाटोको त्यस दिन मलाई भित्रैदेखि अनुभव भयो।म स्कुल गएँ त्यो दिन, तर थिएन कक्षामा मन। नकारात्मक कुराहरू खेलिरहे र सोही त्रासमा त्यसपश्चात् कयौँ दिन बिते जीवनका।
पुल्चोकस्थित इञ्जिनियरिङ्ग अध्ययन संस्थानमा बी.इ.को प्रवेश परीक्षा दिँदा मलाई मेरो नाम निस्किन्छ भन्ने कुरामा विश्वासको निकै कमी थियो तर अचम्मसित बाबाको बिश्वास अटल थियो। मलाई निकै अचम्म लाग्थ्यो, रिस पनि उठ्थ्यो, म पुल्चोकको विरुद्ध गीत गाउन थालेको थिएँ तर नाम निस्कियो अनि म पढ्न पनि थालेँ।सायद बाबाले हामीलाई हामीले भन्दा राम्रो पहिचान गर्नुभएको थियो कि ? अनि बाबाको विश्वास र विचारलाई नै हाम्रो लागि प्रेरणाको रूपमा लिएर असल काम गर्न सक्नु र सिक्नुपर्छ जस्तो लाग्छ अहिले।
२०६८ पुस २ गते, शनिवारको बिहानको चिसोले मेरो मन अझै कठ्याङ्ग्रिन्छ। मैले त्यस दिन भोगेको रित्तोपन शब्दमा लेख्न सक्दिन। बिहान ममीले भयभीत भै गर्नुभएको फोनपश्चात् भाइ सुमनलाई अस्पताल जानुपर्यो हिँड भन्ने बित्तिकै सायद मेरो आवाजको गम्भीरता बुझेर वा सधैझैँ आज्ञाकारी भै तुरुन्तै ज्याकेट लगाएर हिँड्न तयार भयो। बाटाभरि मैले केही भनिन उसलाई। निजामती अस्पताल पुग्दा पछ्यौरा समातेर रुँदै गर्नुभएकी ममीलाई देख्दा छाँगाबाट खसेजस्तो भएँ। हेर्न नसक्दा नसक्दै पनि ममीलाई सम्हाल्न लागिपर्नु मेरो प्राथमिकता हुनुपर्छ जस्तो लाग्यो।मलाई वरपर के भइरहेछ, सपना हो कि बिपना हो, अनि कति सपना र कति बिपना हो, बेलाबेलामा थाहा भइरहेको थिएन।आफ्नो दिमागलाई यो सब सपना हो भन्ठान्न आदेश दिन्थेँ।एक छिनसम्म सफल हुन्थेँ अनि फेरि यथार्थले आफ्नो स्थान ओगट्थ्यो।चिनजानका मानिसहरूको अनुहारको मलीनता देख्दा सबभन्दा सहिनसक्नु हुन्थ्यो।ममीको अनुहार देख्दा मेरो मनमा पटकपटक बज्र प्रहार हुन्थ्यो।दिमागले काम गर्न थालेपछि आफूमा धैर्यको जिम्मेवारी आइपरेको बोध हुन थाल्थ्यो।त्यस बेला सुमन, रविन दाइ, अभिशेष दाइ, विपिन मामा, कौशल दाइ, अपार दाइ र सुजाता दिदीको उपस्थितिले केही ढाढस दियो। त्यसपछि त्यस दिनका सबै कार्यहरू एक पटकमा त्यस क्षणमा मैले गर्नुपर्ने सानोसानो कार्यमा विभाजन भए र मनमा कुनै भावनालाई अडिने समय नदिइकन दिमागलाई काबुमा राख्ने प्रयाससँगै त्यस दिन साह्रै ढिलो बित्यो।कर्मका बाँकी दिनहरूमा उज्ज्वल दाइ, भूषण दाइ अनि सुदर्शन काका र राजेश दाइको साथले धेरै हिम्मत र साहस प्राप्त भएको मान्दछु।
बाबाको सम्झनामा केही असल काम गर्नुका साथै मिहेनतका साथ सकेजति ज्ञान हासिल गर्ने अनि छलकपटरहित निष्ठाको बाटामा अडिग रहेर जीवन बिताउने मार्गदर्शन र प्रेरणा मिलिरहोस्।
गैरीगाउँ, काठमाडौँ