नेपाली साहित्यका शुक्रतारा
पूर्वको भोजपुरमा जन्मेर बिर्तावाल आफ्ना बाबु बाजेबाट प्रारम्भिक शिक्षा थालनी गरी पश्चिम दाङमा गएर “जनता प्रधान पाठशाला” बाट पूर्वमध्यमा (SLC) उत्तीर्ण भएपछि उच्च शिक्षाका लागि काठमाडौंको रानीपोखरीस्थित “तीनधारा संस्कृत छात्रावास” मा रही राजकीय संस्कृत महाविद्यालय (वाल्मीकि विद्यापीठ) बाट मीमांसा विषयमा स्नातकोत्तर (आचार्य) सम्मको अध्ययन गर्नुका साथै नेपाली विषयमा एम.ए. गरेको कुरा दैवज्ञराज न्यौपानेको जीवनीबाट देखिन्छ । महाविद्यालयीय अध्ययनका क्रममा बीचबीचमा विभिन्न विद्यालयहरूमा शिक्षकका रूपमा केही समय काम गरे पनि उच्च शिक्षाको अध्ययनको निरन्तरतालाई कायमै राखेका दैवज्ञराजले २०२७ सालदेखि भक्तपुर क्याम्पसबाट प्राध्यापन सेवामा आवद्ध रही पाटन संयुक्त क्याम्पसमा सहायक क्याम्पस प्रमुख र क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै शैक्षिक प्रशासनको जिम्मेवारी पनि सम्हालेको देखिन्छ । २०४३ साल फागुनदेखि नेपाली केन्द्रीय विभाग त्रि.वि.कीर्तिपुरमा सरुवा भई आएपछि प्राध्यापकका रूपमा रही काम गरेको देखिन्छ । यिनी रत्नराज्यलक्ष्मी क्याम्पस र बानेश्वर क्याम्पसमा पनि आंशिक रूपमा प्राध्यापन कार्यमा आबद्ध रहँदै आएका थिए । “धन भनेको धाक मात्र हो । एक पेट खान र एकसरो लाउन पाए पुग्छ” भन्ने धारणा राख्ने दैवज्ञ आफ्नो जीवनमा धन, दौलत जोड्ने र समाजमा रोब–रवाफ देखाउने भन्दा आफ्नो पेसाबाट उपलब्ध आर्जनबाटै जीवन निर्वाह गर्ने दिशातिर प्रवृत्त रहेका देखिन्छन् ।
दैवज्ञराज न्यौपाने प्रायः टोपीदेखि जुत्तासम्मका पोसाक मिलाएर लगाउन रुचि राख्ने, सबै वर्ग, उमेर र समुदायका मान्छेसित सदावहार व्यवहार गर्ने, दीनदुःखीहरूलाई सक्दो सहयोग गर्ने स्वभावका कारण यिनी आफ्ना अग्रज, समकालीन र नयाँ पुस्ताका बीचमा अत्यन्त प्रिय बन्न सकेका थिए । विद्यार्थी जीवनदेखि नै कविता लेख्नमा रुचि राख्ने दैवज्ञको सुमधुर स्वरका कारण संस्कृतका छन्दोबद्ध कविता लयात्मक ध्वनिले वाचन गर्दा साहित्यिक गोष्ठीहरूमा रौनक छाउँथ्यो । उनले आफ्ना कविता, म्युजिक नेपालबाट रामायणका अंश र कविवर भीमनिधि तिवारीका कविताहरू क्यासेटमा कवितात्मक शैलीले सस्वर वाचन गरेका थिए । सुनिन्छ, सुमधुर स्वरका धनी भएका कारण शिक्षणका क्रममा उनको मधुर वाणीलाई अवलम्बन गर्दै विद्यार्थीहरूले उनको अनुकरण पनि गर्ने गर्दथे ।
आफ्नो जिउडाल र आकर्षक रूपरङ्गका कारण विभिन्न नाटकहरूमा पात्रको भूमिकामा अभिनय गर्न अभिरुचि राख्ने गरेका दैवज्ञले विभिन्न सांस्कृतिक कार्यक्रममा कुशल अभिनय र सुमधुर स्वर प्रवाहित गरेर श्रोता–दर्शक सामु विशेष पहिचान बनाएका थिए । यसका अतिरिक्त विद्यार्थी जीवनमा पठनपाठन र साहित्यसिर्जना सँगसँगै उनी लङ्गजम्प, पुफटबल, भलिबल खेल्न पनि निकै अभिरुचि राख्ने गर्दथे ।
कलिलै उमेरदेखि नै साहित्य सिर्जनामा लागेका न्यौपानेका प्रेरणास्रोत आफ्नै बाबु–बाजेद्वारा साँझ बिहान गाइने देवी देवताका स्तुति वाचनहरू थिए भने विभिन्न चाडवाडमा गाइने गरेका लोकगीत, गाथाहरू नै थिए । यसका अतिरिक्त कविहरू लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम र माधवप्रसाद घिमिरेका कविता पढी सिर्जनाप्रति उत्साहित भएर आफ्ना प्रेरणाका स्रोत अग्रज स्रष्टाहरूलाई हृदयदेखि नै सम्मान गर्थे । कलिलो वयमा नै “सरस्वती स्तुति” कविता लेख्ने कवि दैवज्ञले उनीमा निम्तो भन्ने कविता २०२० सालको “अरुणोदय” पत्रिकाको तेस्रो अङ्कमा प्रकाशन गरी सार्वजनिक रूपमा साहित्यिक यात्राको थालनी गरेको पाइन्छ । यिनले आफ्ना रचनाहरू एकपछि अर्को पत्रपत्रिकामा छपाउने र विभिन्न कविगोष्ठीहरूमा सुनाउने गर्न थाले । २०३५ सालमा यिनको पहिलो पुस्तकाकार कृति “सिर्जनाको लहर” (गीतिकविता सङ्ग्रह) प्रकाशित भएपछि यिनी कविता र गीतका साथै समालोचना लेखन र बालसाहित्यका सिर्जनामा समेत संलग्न रहँदै आएको देखिन्छ ।
२०३० सालमा पिता गणेशप्रसाद न्यौपानेको देहावसानले यिनको कविहृदयमा ठुलो चोट पुगी आफ्नो काँधमा पारिवारिक जिम्मेवारी थपियो । पितृशोकलाई अभिव्यक्त गर्न यिनले कुनै शोककाव्य नलेखे पनि आफ्ना सिर्जनाका स्वरहरू आफ्ना पितासमक्ष प्रस्तुत गर्ने अवसर पाउन नसकेको पछुतोलाई बिर्सन यिनले “जोरमुरली” कवितासङ्ग्रह छपाएर आफ्नो समर्पणभाव प्रकट गरेका छन् । पितृवियोगको १८ वर्षपछि २०४८ सालमा यिनलाई पत्नी रीता न्यौपानेको निधन र त्यसको ११ वर्षपछि २०५९ सालमा यिनलाई मातृशोक पर्यो ।
दैवज्ञ न्यौपानेको उत्तरार्धयात्रा निकै सङ्घर्षपूर्ण रहेको छ । जीवनको पूर्वार्द्धमा आकर्षक रूप, रङ र रसिलो बोलीचालीका कारण आफ्ना साथीसङ्गी, सहकर्मी र विद्यार्थीमाझ हट्टा कट्टा, सुन्दर र आकर्षक व्यक्तित्वका कारण यिनी निकै चर्चित रहे, तर यिनको उत्तरार्द्ध अवस्थादेखि यिनलाई मधुमेह र उच्च रक्तचाप जस्ता रोगका कारण २०६२ भाद्र ५ गतेका दिन पक्षाघात भयो । पक्षाघात भएको ६ वर्षपछि २०६८ पौष २ मा काठमाडौंको नागरिक अस्पतालमा यिनको देहावसान भयो । यिनको देहावसानले साहित्य जगत् शोकाकुल भयो भने नेपाली साहित्यको एक ज्योतिर्मय शुक्रताराको अस्त भयो ।
दैवज्ञराज न्यौपानेले विगत पाँच दशक लामो सृजनायात्रामा नेपाली छन्दोबद्ध कविता, काव्य, गीत, बालसाहित्य एवं समालोचनाका क्षेत्रमा निरन्तर सृजनात्मक सक्रियता र समर्पण देखाई नेपाली भाषा साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान दिएकाले उनी नेपाली सृजना संसारमा सम्मानित पनि हुन गएका छन् ।
“कविता” भनेकै लामो कुरालाई छोट्याएर लेख्नु हो । यसको आशयमा बालकृष्ण समको भनाइ छ कि–“कण्ठस्थ गर्नलाई सजिलो हुन्छ भनेर गद्यात्मक विषयलाई कवितात्मक बनाइएको हुन्छ । मन परेको कुरालाई कण्ठस्थ छ भने दोहोर्याएर भन्न सकिन्छ ।” दैवज्ञराज न्यौपानेका कतिपय कविता पढ्दा यस्तै लाग्छ । “किसान”, “दशैं” आदि कविता पढ्दा यस पङ्तिकारलाई पनि त्यस्तै अनुभूति भयो । दशैं कविताको यो एउटा कवितांशलाई लिउँफ । उनी लेख्छन्,
मान्छे सँगै डुल्दछ सभ्यता यो,
संस्कारमा संस्कृतिको निनाद ।
कति कुरा छन् यसभित्र । हाम्रो संस्कृतिको अथाह ज्ञानराशि यत्ति दुई हरफमा समाहित भएको छ, मान्छे के हो ? र उसको संस्कृतिको संस्कार कसरी बोल्छ भन्ने कुरा । मैले यत्तिलाई छर्लङ्ग्याउन यसरी विचार व्यक्त गरको छु ः।
जहाँका मान्छे हुन्, जति पनि रहुन् तापनि तिनी
त्यही मान्छन् आफ्नो जुन छ अघिको वंश–प्रकृति
दशैं आए राख्छन् जगमग जगाएर जमरा”
पुजिन्छिन् श्री दुर्गा, सकलजन मान्छन् दशहरा” ।
अभावैले हिँड्छन् जुन पनि त देशान्तरतिर
दिलैमा गाँठो औ मनभरि सँगाली दुख, पिर
नबिर्सी त्यो आफ्नो चलन, रित वा संस्कृति कुनै
सबै मान्ने गर्छन् विविध धृति, संस्कार सजिलै
विदेशी बोली भो दिनभरि त्यहाँ कर्म गरिँदा
विदेशी नै बन्छन् पहिरन भुषा आवरणमा
पुरानो पुर्ख्यौली नियम र प्रथा कायम गरी
पिँढीमा सुम्पिन्छन् विविधपनका रीति पगरी
त्यहाँको आस्था वा त्यस मुलुकको धर्म धृतिमा
न अल्झिन्छन्, कैल्यै सबसित जमेको छ प्रतिभा
बने हुन्थ्यो आफ्नो मुलुक, सहजैमा विकसित
भनी आर्जेको त्यो विभवप्रति हुन्नन् नि तृषित
कविता लेखेर नेपाली संस्कृति जीवन्त राख्न अथक प्रयासरत न्यौपानेले साहित्यको माध्यमबाट के किसान, के बालबालिका, सबैलाई आफ्नो कर्तव्यपथमा अग्रसर हुन प्रेरणा दिएका छन् । नेपाली साहित्यको उत्थानमा आजीवन प्रयत्नशील दैवज्ञराज न्यौपानेका बारेमा प्रशंसाका शब्दहरू जति लेख्दा पनि थोरै हुन्छ । भौतिक रूपले उनी हाम्रो सामु नरहे तापनि नेपाली साहित्यका शुव्रफताराका रूपमा उनी सदा अमर छन् ।
कलंकी, काठमाडौं