कवि दैवज्ञराज न्यौपाने : स्मृति-कण
गान्धी आदर्श विद्यालयका पूर्व–प्रधानाध्यापक लक्ष्मण सत्याल १२ वर्षपछि नेपाल फर्कनु भएको थियो । उहाँ प्रसङ्गवश मकहाँ पस्नुभएछ, म भने दैवज्ञजीलाई भेट्न भनेर निस्कनै लागेको थिएँ । मैले कार्यक्रम बताएपछि उहाँ पनि कविलाई भेट्न इच्छुक भएको थाहा भयो । यथार्थमा उहाँहरू दुबैजना निकट मित्र हुनुहुँदो रहेछ । हामी निस्कियौं– दैवज्ञजीको घर गैरीगाउँ जान भनेर । बानेश्वर चौबाटोमा पुग्ने बित्तिकै मकहाँ नै भेट्न भनेर हामी तीनै जनाका साथी श्री भरतमणि रिसाल आउँदै हुनुहुँदो रहेछ । हामीले गन्तव्यबारे बताएपछि उहाँ पनि उतै लाग्नु भयो र हामी तीनै जना भेट गर्न गयौं । यो २०६८ साल मंसीर २८ गते हुनुपर्छ । हामीले भेटेर फर्केको पर्सिपल्ट बिहान कवि दैवज्ञराज न्यौपानेको निधन भएको खबर पैफलियो । हामी चकित भयौं ।
हामीहरू भेट्न गएको मध्यान्हमा दैवज्ञजी एक्लै पल्टिरहनुभएको थियो । मुद्रा प्रसन्न, बोली भने पूर्ववत् केही अस्पष्ट तर पररै बोल्ने, हामी गएपछि उठेर बस्नु भयो । एकछिन सामान्य क्षेम–कुशलका कुरा भए, खास गरी एक युगमा पेफरि भेट भएको भनेर लक्ष्मणजीसँग बढी कुरा गर्न खोज्नुभयो । तर उहाँको बोली बुझन त्यति सजिलो भने थिएन । भेट्न गएका हामी तीनजनामध्ये म धेरै पटक भेट्ने र उहाँको बोली बुझनेमा परेछु, झन्नै दोभाषेकै काम गरें । हामी पेफरि एक पटक विद्यार्थी जीवनमा फर्कियौं, पुनर्मिलनको आनन्द आयो । सुधाजीलाई पर्खने निहुँमा दिनभरि जस्तै बस्यौं, तर सुधाजीलाई भने भेट गर्न सकेनौं । अलि छिटै फर्कियौं ।
संयोग अचम्मको हुन्छ– त्यसदिन देश विदेशको अनुभव, साथीभाइको सङ्गत, पढाइमा भएका आदान–प्रदान इत्यादि कुराका अतिरिक्त छोराछोरीका पढाइ, बसाइ, आफ्नो बुढेसकाल, बुढेसकालका सहारा जस्ता विषयमा कुरा भए । हामीमध्ये लक्ष्मणजी अध्यात्मविद्यामा अलि पारङ्गत हुनुहुन्थ्यो, भरतजीलाई गीतामा गति रहेछ । प्रसङ्ग चल्दै जाँदा सुख–दुःख, यो लोक–परलोक, देह र आत्मा, मुक्ति र पुनर्जन्म जस्ता विषयउपर छलफल छेडियो । हामी सबै नै पूर्वीय दर्शनको सान्निध्यमा हुर्केकाले स्वभावतः दार्शनिक छलफलमा बढी पस्यौं । अन्ततः शरीर नश्वर हो, क्षणभङ्गुर छ र आत्मा शाश्वत छ, देह मर्छ र आत्मा सर्छ भन्ने दर्शनको व्याख्याको आफ्नो भाषा–शैलीमा स्मरण गर्यौं, मत बाँड्ने कुरा थिएन । आखिरमा पञ्चतत्त्वबाट निर्मित यो स्थूल भौतिक देह नाशवान् छ, उत्पन्न भएकाले नाश हुनु अनिवार्य छ भन्ने कुरा स्वयं दैवज्ञजीले पनि भन्नुभयो । उहाँ दर्शनकै विद्यार्थी हो । देह र आत्माबारे दैवज्ञको पूर्वज्ञानलाई त्यस मुहूर्तमा झकझकाए जस्तो भयो । हामी एक प्रकारले खुशी भयौं र करीब ४ बजे अपराह्नतिर बिदा भएर निस्कियौं । बिदा हुनै लाग्दा मैले सोधें– कवि ! सम्मान–मान पाएकै छौ, छोरा छोरी ज्ञानी गुनी छन्, तीन त्रिलोक ढाक्ने भै हाले, राष्ट्रपतिबाट समेत सम्मान पायौ । विश्वविद्यालयले पेन्सन दिइहाल्छ, औषधि खान असजिलो छैन होला नि ? भन्दा उहाँले ठीकै छ, पेन्सन राम्रै आउँछ २४ हजार जति, यसो थपथाप घरवहालबाट पनि हुन्छ, चलेकै छ दाइ, नभए तपाईँहरू सबै हुनुहुन्छ नि भनेपछि म निस्कन लागें, केही जाडै थियो, म झयाल लगाइदिऊँ कि भन्दा पर्दैन, म लाउँछु भनेर बिस्तारै बिस्तराबाट उठ्ने चेष्टा गर्दै हुनुहुन्थ्यो, तर मुद्रामा भावुकता झल्केको थियो । म खल्लो मानेर निस्किएँ, भरत र लक्ष्मणजी तलबाट मलाई यो दाइ जहाँ गए पनि हराउँछ, लोसे भनेर गाली गर्दै थिए ।
यसरी भेट हुन पुगेको, यही नै अन्तिम भेट हुन पुग्यो । दैवको लीला ! यो स्थूल भौतिक देह नाशवान् छ, तर दैवज्ञराज न्यौपाने भनेको स्थूल भौतिक पिण्ड मात्र होइन, उहाँका प्राज्ञिक–साहित्यिक अक्षर पनि छन् । यी अक्षरहरू हुन्, अक्षरमा अभिव्यक्त अभिमत र विचार चिरस्थायी हुन्छन् । दैवज्ञले लेखेका गीत, कविता, बालरचना उहाँका आत्माका विम्बहरू हुन् । ती विम्ब नेपाली भाषा र साहित्यको इतिहासमा स्मृतिविम्ब भएर बस्नेछन् । तिनै रचनाले अग्लो र गोरो कदको सुडौल शरीरको रचनाशीलता बोक्तछन् । विद्यालयका पाठ्यपुस्तक, बालसाहित्य सङ्ग्रहालय, कविताका सङ्कलन र विश्वविद्यालयका शोध प्रबन्धहरूमा दैवज्ञजी जीवित हुनुहुन्छ, रेडियोबाट घन्कने गीतमा लय दिनुहुन्छ र कति आउने वर्षसम्म विद्यार्थी बनेर उहाँ बोलिरहनु हुनेछ । यसमा केही द्विविधा छैन । अब सन्तोष यसैमा मान्नुपर्छ ।
अब हामी उहाँसँग भेट्न नसक्ने भएका छौं । लक्ष्मणजी अमेरिका प्रवासमा फर्किसक्नु भएको छ, भरतजी पनि लक्ष्मणजीकै पछिपछि पातालतिरै हुनुहुन्छ, म एक्लै ती दिनका स्मृतिमा घोरिइरहेको छु, दैवज्ञको छाया–छविले तर्साउँछ भनौं कि होसियार गराउँछ भनौं– आफ्नो उमेरलाई दाँज्दा एक्लै झसङ्ग हुन्छु । यी स्मृतिका कणले देह अनित्य छ, आज छ, भोलि छैन, अहिले छ, भरे छैन भन्ने चेतना लिएर धुमधुम्ती बसेको छु । सायद मृत्युको स्मृतिले दिने प्रेरणा यही हो कि ?
sspeeth@hotmail.com