कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञराज न्यौपाने : एक साँघु कवि

डा. शिव गौतम

दैवज्ञराज न्यौपानेको नामबाट म पहिलेदेखि नै परिचित थिएँ किनभने नाम चलेका अग्रज कविहरूमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो। पछि वैवाहिक नाता सम्बन्धका कारणले पनि हाम्रो दोहोरो नै चिनजान, सामीप्य र आत्मीयताको अनुभूति हुन थालेको थियो तर म त्यसपछि अमेरिकातिरै अल्मलिएकाले उहाँसँग प्रत्यक्ष साक्षात्कारको खासै मौका नमिले पनि उहाँका बारेमा खबरहरू विभिन्न माध्यमबाट थाहा भै राख्थ्यो। पछि उहाँकी छोरी अर्चना र ज्वाइँ शिव आचार्य अमेरिका आएपछि त मेरी श्रीमती भारती गौतम र अर्चनाको नियमित जस्तो हुने फोन वार्ताबाट पनि बेलाबेला उहाँको बारेमा जानकारी प्राप्त भइरहन्थ्यो।

दैवज्ञराज न्यौपाने मृदुभाषी, सरल र हँसिलो स्वभावको हुनुहुन्थ्यो। करिब ३० वर्षअघि एक बिहान मैले उहाँलाई नयाँ बानेश्वर चोकमा भेट्दा फुड प्वाइजनिङ्ले रातभरि निकै साह्रो परेको कुरा समेत हाँसी-हाँसी शान्त भावमा कुनै खुसीको खबर जसरी नै सुनाउनु भएको म अझै झल्झली सम्झन्छु। मैले मनमनै भने, बोल्दा त यस्तो मिठो बोल्ने, कविता वाचन त एकदमै गज्जबले गर्नुहुन्छ होला। मैले उहाँका कविता पढे पनि उहाँले वाचन गरको सुन्ने मौका पाएको थिइन।उहाँका कविता, कवित्वप्रतिभा, व्यक्तित्व र अन्य पक्षका बारेमा समालोचक र उहाँलाई नजिकबाट चिन्ने र पारखीहरूले प्रकाश पारेकै छन् र पार्ने छन्। म खालि आफ्नो अनुभव र अवलोकनको आधारमा एउटा कुरो भन्न चाहन्छु।

प्राय: हामी आफ्नो युग, समाज, शिक्षा-दीक्षा र मान, इज्जत, धन आदिबाट ग्रसित हुन्छौं, तिनलाई बोकेर हिँड्छौं वा तिनमा लठ्ठिएर बस्छौँ, आफ्नो व्यक्तित्वलाई आकार दिने पृष्ठभूमिबाट निक्लेर अर्को आयाममा पनि हिँडडुल गर्न सक्नु चानचुने कुरो होइन। उदाहरणका लागि महाभारतको द्रौपदीको चीरहरण कथा प्रसंगमा के स्वास्नी लोग्नेको सम्पत्ति हो ? भन्ने प्रश्न उठ्दा त्यसबेलाका एक से एक विद्वान् कसैले पनि होइन भन्न नसकेर घोसेमुन्टो लाएर बसे भने आजकल त्यही होइन भन्न कुनै विद्वत्ताको आवश्यकता पर्दैन।महाभारतकालीन ती विद्वान्‍लेआफ्नो युगको भूत आफ्नो आङ्बाट ओराल्न सकेका थिएनन्।

दैवज्ञराज न्यौपाने मुख्यत: संस्कृतमा दीक्षित भए तापनि समकालीन कतिपय संस्कृत पृष्ठभूमिका कविहरूमा बग्रेल्ती देखिने भावभन्दा छन्दको चयन र वीरबलीय चातुर्यबाट मात्र उहाँ ग्रसित हुनुहुन्नथ्यो।त्यो चानचुने कुरो होइन। उहाँ दुइटा युगलाई जोड्ने एउटा साँघुमध्येका हुनुहुन्थ्यो- पद्य र गद्य कविता परम्पराको बीचको साँघु। विभिन्न समाजिक प्रवाहको बेला अनेकौँ प्रवाहक र साँघु व्यक्तित्वहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। यस्ता व्यक्तित्वहरूले समयलाई आफू भएर बग्न दिन्छन्। समय रोकियो भने गनाउँछ, विकृत हुन्छ र समाज अगाडि बढ्दैन। पहिले कुनै बेला नेपालमा संस्कृतमा मात्र कविता लेखिनुपर्छ भन्ने मान्यता थियो तर त्यही जमानामा पनि कतिले नेपालीमा पनि लेख्‍न थाले वा लेख्‍नुपर्छ भनेर थाले। उनीहरू त्यो बेलाका दुई युगका साँघु थिए।त्यसपछि नेपालीमा लेख्‍न थालियो पनि।उच्च स्तरका कविता भने लेख्‍न सकिन्न, नेपालीमा शब्दै छैनन् भन्ने सोच रहेको अवस्थामा नेपालीमै स्तरीय कविता लेख्‍ने कति साँघु व्यक्ति भए।सुवानन्द, गुमानी, इन्दिरस, यदुनाथ-रघुनाथ, भानुभक्त, मोतीराम, लेखनाथ, देवकोटा, रिमाल, घिमिरे, मोहन कोइराला, भूपी, हरिभक्त कटुवाल, कालीप्रसाद रिजाल आदि कविहरू आ-आफ्नो युगका साँघु कविहरू हुन्।

यी कविहरूबाट नेपाली गद्य र पद्य कवितामा जुन योगदान भयो र एउटा मजबुत नेपाली कविता साहित्यको लठारो बाटियो त्यसमा आफ्नो कवित्वको काम्रो बनाएर कवि दैवज्ञराज न्यौपाने एक हातले गद्य कविताको लठारो र अर्को हातले पद्य कविताको लठारो समातेर नेपाली कविता वाटिकामा पिङ खेलिरहे।यस हिसाबले न्यौपानेका कविताको भाव, शैली, माधुर्य, विचार, वस्तु, अभिव्यक्ति सिप आदि हेर्दा उहाँ आफूले विरासतमा पाएको युगको साहित्यिक साङ्लो अरू मजबुत पार्न सक्ने प्रतिभाशाली कवि हुनुहुन्थो।साथै उहाँ गद्य र पद्यलाई जोड्ने साँघु मात्र होइन आफ्नो युगलाई र आगामी युगलाई जोड्ने साँघु कवि पनि हुनुहुन्थो।

डिसेम्बर ९, २०१२, हाल : बस्टन, अमेरिका