लेख्नै पो गाह्रो भो
२०२७ सालदेखि मैले चिनेकी हुँ– दैवज्ञराज न्यौपानेज्यूलाई । त्यति बेला मेरा श्रीमान् विपिन कोइराला नेपाल विद्यार्थी संघको सभापति हुनुहुन्थ्यो । दैवज्ञराजजी पनि त्यही संस्थामा आबद्ध प्रजातन्त्रका जुझारु एवं अथक योद्धा हुनुहुन्थ्यो । उहाँको प्रजातन्त्र प्राप्तिको महायज्ञमा चरु बन्ने अठोटले ओतप्रोत न्यौपाने बन्धुहरूमा उहाँका साथै कविराज र केदार न्यौपाने पनि हुनुहुन्थ्यो ।
एक पटक ने.वि.संघले वाल्मीकि क्याम्पसमा कविता वाचन कार्यक्रम राखेका बेला दैवज्ञजीको छन्दोबद्ध कविता सुन्न पाएँ । मलाई लाग्यो, यी मानिसमा अतुलनीय साहित्यिक प्रतिभा लुकेको छ । नभन्दै, नेपाली साहित्यिक आकाशमा ध्रुवताराजस्तै अटल हुनुभयो । मूर्धन्य साहित्यकार हुनुभयो । धेरै हेलमेल भयो । उहाँले मलाई भाउजू भन्नुहुन्थ्यो । कालान्तरमा मेरी कान्छी नन्द सुधासँग उहाँको बिहा भएपछि म नाताले नै साँच्चै भाउजू भएँ ।
उहाँको साहित्यिक व्यक्तित्वमाथि प्रकाश पार्ने अरू नै विद्वत् वर्ग हुनुहुन्छ । सूर्यको बयान टुकीले सम्भव छैन । उहाँको रचनामा राष्ट्रिय ढुकढुकी बोल्दछ, नेपाली माटामा सुगन्ध छर्दछ, नेपाली हुनुको गर्वानुभूति गर्दछ । प्रजातन्त्रका पुजारी दैवज्ञराजजी स्वर्गलोकबाट आजको नेपालको दुर्दशा दुःखी भएर हेरिरहनु भएको होला । नयाँ नयाँ साहित्यिक आयाम पस्कने दैवज्ञजी हाम्रा माझ हुनुहुन्न । देशले वरिष्ठ साहित्यकार गुमायो । मेरी सुधाले जीवन साथी गुमाइन् । सानो चिचिलो मेरो प्यारो भानिज सौरभले सानै उमेरमा पिताको न्यानो काख गुमायो । भूषण, अर्चना र उज्ज्वलले पनि न्यानो माया गुमाए । बाँकी छ– केवल साना विद्यार्थी स्कूल जाँदा आउँदा तोतेबोलीले विश्व प्रसिद्ध लोक कथाहरू बोल्नेछन् । किसानहरू असारको चुहुँदो झरीलाई हँसिलो मुखले स्वागत गर्दै हलो काँधमा बोकेर खेततिर झर्नेछन् । दैवज्ञजीको बिछोडमा जोर मुरलीले विरहका गीत गाउनेछन् । नेपाली छन्दले टोपी नै झिक्नेछ । विधिको विधान टर्दैन । अल्पायुमै उहाँको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको छ । कविहरू त धेरै आउँछन्, तर त्यही दैवज्ञराजको शिल्प र लिपि आउँदैन । सागरजस्तै शान्त, पूफलजस्तै हँसिलो, कोइलीझैँ मधुर स्वर, सगरमाथाझैँ अटल त्यो मूर्धन्य व्यक्तित्व अब पाउन दुर्लभ छ ।
मलाई त्यो दिन आकाशबाट खसेको, धर्तीमा भासिएको जस्तो अनुभव भयो, जब अघिल्लो दिन छोरा डा. रविनले सुनाए “ममी, दैवज्ञ भिनाजुको मृगौला बिग्रिएजस्तो छ ।” मलाई साह्रै दुःख लाग्यो । दिल्लीस्थित एपोलो हस्पिटलले त आँखाको मोतीविन्दुको अपरेसन गर्नुपर्छ, अरू सबै ठीक छ भनेको थियो । रात निकै छिप्पिसकेकोले भोलि हेर्न जाने सल्लाह गरेर सुत्यौँ । बिहान छ नबज्दै रविन आत्तिदै आएर भने “तुरुन्तै बानेश्वरस्थित नागरिक हस्पिटल जाऔँ, भिनाजु बित्नु भएजस्तो छ । गोडा नै चलेन ।” आपैँफ निर्जीव भएजस्तो । हतारिएर हामी अस्पताल पुग्यौँ । सम्बन्धित डाक्टरले रविनसँगको परामर्शपछि उहाँलाई मृत घोषणा गरे । जो गयो, गयो । समस्या बाँचेकालाई कसरी समाल्ने भन्ने हो । सुधालाई हेर्न मलाई कठिन पर्यो । मेरा श्रीमान् त बहिनीको नजिकै पर्नु भएन । मेरो मनले नमाने पनि यथार्थतालाई मुटुमाथि ढुङ्गा राखेर स्वीकार्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि ।