कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

पत्रं पुष्पं फलं तोयम्

रामचन्द्र पौडेल 'रम्घाली'

म “दैवज्ञ” हुँदै हैन, त्यसो त दैवज्ञ भन्नेहरू पनि दैवज्ञराज न्यौपानेका सम्बन्धमा दैवको कार्यक्रम के कस्तो छ भन्ने कुरामा “दैवज्ञ” बन्न सकेनन् । यसको परिणाम ७–८ वर्ष कान्छा दैवज्ञ न्यौपानेलाई अप्रत्याशित रूपमा मैले दिवङ्गत विशेषण दिएर लेख्नु परेको छ । यस्तो अवस्थाको कारणका सम्बन्धमा मीनमेष गर्नुभन्दा लिखितमपि ललाटे प्रोज्झितंु कः समर्थः भन्दै हामी लामो श्वास लिन्छौँ । हुन पनि जहाँ किन र कसोको चित्तबुझदो उत्तर दिन सकिन्न, त्यस्तोमा बनिबनाउ उत्तर हाम्रो यही नै हुने गर्दछ । अझ हामी हाम्रो आ–आफ्नो जीवनदर्शनको वैविध्यलाई ऐहिक कर्मकारितासँग सम्बन्धित मात्र नमानी “प्राक्तन कारणको उपज” भन्दै सन्तोष लिन्छौँ ः–

आयुः कर्म च वित्तं च विद्या निधनमेव च
पञ्चैतानि विसृज्यन्ते देहस्थस्यैव देहिनः ।

यो हाम्रा पितापुर्खाले भइसकेको कुरामा पिरलिएर नबस्न सिकाएको सन्तोष लिने पाटो हो वा ऋतम्भरा प्रज्ञावान् त्रिकालदर्शी महापुरुषहरूले ठम्याएको बाटो हो, यसमा तजबिजी सोच राख्ने अधिकार हामी सबैमा छँदैछ ।

श्री दैवज्ञराज न्यौपाने भोजपुरबाट आएर काठमाडौंमा आफ्नै पुरुषार्थद्वारा नेपाली वाङ्मय जगत्मा चिनिनुभएका व्यक्ति हुनुहुन्छ । साहित्यका सबै खाले विधामा खास गरी पद्यात्मक कविता रचनामा उहाँको कलम बडो सरसर सरल गतिमा दौडिएको छ । त्यसमा पनि बालमनोविज्ञानका केस्राकेस्रामा कुदेको पाइन्छ । उहाँका धेरैजसो कविता वा कृतिले नेपाली माटो र नेपाली मुटुलाई कुँदेको अनुभव म गर्दछु । यसैले पनि होला कवित्वकलाका पारखीहरूले उहाँलाई विभिन्न कविता महोत्सवमा विभिन्न पुरस्कार तथा सम्मानले सजाएका । नेपालका विभूति मोतीराम भट्टको नाममा स्थापित युवावर्ष मोती पुरस्कारले पहिलो पल्टको आफ्नो समर्पण उहाँकै करकमलमा गरेको थियो, २०४२ मा । प्रज्ञा प्रतिष्ठानबाट बर्सेनि गरिने विभिन्न शीर्षकका कविता महोत्सवहरूमा तीन तीन पटक उहाँ पुरस्कृत हुनुभएको छ । यी र अन्यान्य उहाँका सम्बन्धमा धेरै कुरा धेरैलाई थाहा छ । मैले तिनै कुराको पृष्ठपोषण गर्नु पर्दैन ।

संस्कृत छात्रावासमा बस्दा त्यहाँ भइरहने कविता वाचन कार्यक्रमहरूमा सधैँजसो आफ्ना पद्यात्मक कविता रचनाद्वारा साथीभाइमा मनोरञ्जन दिने गर्दै गर्दा उहाँको कवित्व प्रतिभा परिमार्जित र क्रमोन्नत हुँदै समीचीन बन्न पुगेको कुरा तत्कालीन त्यहाँका सहपाठी सहवासीहरू बताउँथे । यसैको परिणामस्वरूप कविता रचनाहरूद्वारा १२ वटा पुस्तक नै निबद्ध गरी नेपाली साहित्यिक काव्यिक जगत्लाई मूल्यवान् उपहार दिनुभएको छ, उपकार गर्नुभएको छ उहाँले । कीर्तिर्यस्य स जीवति ।

आदिकवि भानुभक्तको नाममा २००८ सालमा रम्घामा खुलेको भानु पुस्तकालयको सहयोगी भूमिका निर्वाह गर्न बनेको भानु पुस्तकालय सहयोग समिति नामान्तरित, रूपान्तरित हुँदै भानु सेवा समिति बन्दा धेरै समय उहाँले त्यसमा अध्यक्षता गरेर राष्ट्रिय स्तरमा ठुलो गुन त लगाउनु भएकै छ, हामी रम्घालीलाई पनि विशेष गुन लगाउनु भएको छ । कुनै वर्षको भानुजयन्तीको सन्दर्भमा भानुका रचना पाठको कार्यक्रममा सुनाएका श्लोकहरूको भावभङ्गिमा र स्वर शैलीको आधारमा सम्बन्धित समितिले गरेको छनोटमा पुरस्कृत हुनुपर्नेले पुरस्कृत हुन नपाएको विचारले हो वा के हो राम् हुन् परात्मा ति कहाँ विकारी भन्ने भानुभक्तीय कविता गायन गर्ने सप्तवर्षीय बालक शिशिरचन्द्र पौडेललाई सात थान पुस्तक पुरस्कारस्वरूप आफ्नो व्यक्तिगत रूपमा उहाँले दिनुभएको थियो । यसरी समितिको निर्णयलाई यथावत् कायम राखी स्वविवेक प्रयोग गर्नुभएको सम्झना अभैफ ताजा छ ।

उहाँ भोजपुरमा १९९९ मा जन्मनुभएको, म तनहुँको चँुदी रम्घा, भानुको गाउँमा १९९१ मा जन्मेको, म १७–१८ सालदेखि काठमाडौं बाहिर मोफसलमा ०४० सालसम्म नै रहेको हुनाले हाम्रो बीचमा दैहिक परिचय त्यस बेलासम्म थिएन नै । यसपछि पनि हाम्रा बीचमा पेसा र बसाइले पनि घनिष्ठ सम्बन्ध हुन पाएन, आत्मिक सम्बन्ध मात्र भयो । यसैले उहाँका व्यक्तिगत व्यवहारका कुरामा अनभिज्ञ नै छु म । यद्यपि कुनै दिन उहाँकी धर्मपत्नी सुधाजी र म यौटै मन्त्रालयमा काम गर्थ्यौँ । तथापि त्यस्तो प्रसङ्ग परेन ।

भानु जन्मस्थल विकास समितिले निर्माण गरेको आदिकवि भानुभक्त नामक चलचित्रमा एकचालिसौँ दृश्यमा काशीमा विद्वज्जनहरूको शास्त्रार्थ प्रसङ्ग पनि प्रदर्शित छ । त्यसमा दैवज्ञजीले नेपाली पण्डित (नं.१) को अभिनय गर्नु भएको छ । तनहुँ रतनपुर निवासी श्री शिव शर्मा सूरिसँग शास्त्रार्थ कक्षामा भानुभक्त पनि शास्त्रार्थ देख्न, सुन्न भनी प्रवेश गरेका हुन्छन् । नयाँ व्यक्ति भानुलाई देखेपछि नेपाली पण्डित (नं.१) ले भवतां कः परिचयः ? भनी प्रश्न गर्छन् । शिव शर्माले नेपालतः समायात एषः भनेर उत्तर दिन्छन् । पेफरि उनैले तपाईंको पूरा परिचय के हो ? भनी सोधेपछि भानुभक्तले यसरी जवाफ दिएका छन् ः–

पहाड्को अति वेश देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया
खुप् उच्चाकुल आर्यवंशि हुन गै सत्कर्ममा मन् दिया

विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
तिन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।

यसरी कवितात्मक परिचय सुने जानेपछि पृच्छक पण्डित (नं.१) प्रसन्न भई टाउको हल्लाउँदै नानीले कवितामै परिचय दिएको राम्रो लाग्यो भनेका छन् । यो अभिनय दैवज्ञजीको थियो ।

टाउकामा पेफटा बाँधेको, निधारमा रातो टिको लगाएको, काँधमा उपर्नास्वरूप रातो कँध्यौरी हालेको, दौरा र ठुलो धोती लगाएको, जुँघासहितको चहकिलो मुखमण्डलका धनी दैवज्ञजीको व्यक्तित्व झन् चहकिएका,े महकिएको छ यहाँ । हुन पनि वास्तवमा नै उहाँ सौम्यवर्णाकृति, हँसमुख, उन्नत भाल, न बढी अग्ला, न होचा संक्षेपमा भन्दा नेपाली कदको स्पष्ट धृष्ट तर सहज सरल स्वभावका खाइलाग्दा, भरोसा लाग्दो शारीरिक बनोट भएका हुनुहुन्थ्यो ।

एक शब्दमा समेट्दा हेरी रहूँजस्ता भन्नुपर्ला । यस प्रकारको बहिरङ्गजस्तै मैले जानेसम्म अन्तरङ्ग पनि उहाँको सुसंस्कृत, परिमार्जित र अनुशासित थियो ।

जीवनका अन्तिम दिनहरू उहाँका कष्टकर बन्न गए । कतिपय शारीरिक व्याधिहरू बलिया हुन्छन् । चिकित्सकहरू पनि त्यस्ता व्याधिसँग निरस्त बन्छन् । व्याधिग्रस्त बबुरोले भोग्नै पर्दछ । यसैले त कसैले भनेका छन्–

ब्याधिर्हि जन्मान्तर पापपाको
भोगेन तस्मात् क्षयणीय एषः ।

(निश्चय नै व्याधि जन्मजन्मान्तरमा भएका अनिष्ट कर्महरूको परिणाम हो, त्यसलाई भोगेर नै कटाउनु पर्दछ)

यही व्याधिले नेपालीको सरदर आयु ७० वर्षको उमेर पनि छुन नपाउँदै उहाँले यस धराधामलाई छोड्नु पर्‍यो । यो नै विधिको विधान थियो भन्छौँ, परिणाम देखेर । वस्तुतः उहाँ कुशल, छन्दशिल्पी, सर्जक त हुनुहुन्थ्यो नै, योग्य प्राध्यापक र उदार समाजसेवी पनि हुनुहुन्थ्यो ।

शारीरिक असमर्थताका बेला पनि बौद्धिक र मानसिक स्मृतिशक्ति, सिर्जनाशक्ति प्रबल रहनु निश्चय नै आत्मबलयुक्त पुरुषको परिचायक हो । यसै आत्मबलकै कारण त उहाँले धेरै मान सम्मान आर्जन गर्नु भएको छ ।

नेपाली भाषा साहित्यका मूर्द्धन्य विद्वान् प्रा.डा.वासुदेव त्रिपाठीज्यूको अध्यक्षतामा गठित साहित्यकार प्रा.दैवज्ञराज न्यौपाने अभिनन्दन समितिले उहाँको अभिनन्दनको क्रममा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति महामहिम डा.रामवरण यादवले नेपाल राष्ट्रिय संस्कृति प्रवर्द्धन केन्द्र लगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट प्राप्त रकमको थैलीसहित उहाँको नागरिक अभिनन्दन गर्नुभएको थियो । यही पत्रं पुष्पं फलं तोयम् उहाँप्रतिको अन्तिम उपहार अथवा सौगात हुनपुग्यो हाम्रो तर्पफबाट । साथै यस कलमीले पनि त्यसदिन अर्पण गरेको पुष्पाञ्जलि नै अन्तिम अभिवादन बन्न पुग्यो अहिले ।

अब दिवङ्गत विशेषण जोडेर श्रद्धाञ्जलि भन्नुपर्‍यो मैले । जागतिक दशामा सबैतिर अब्बल रहेका ती दैवज्ञ न्यौपानेको अमर आत्मालाई पारमार्थिक दशामा पनि अजस्र रूपले सहस्रशः शान्ति मिलिरहोस् । यही मेरो श्रद्धाञ्जलिमयी प्रार्थना अनादिनिधन परमात्मामा राख्दछु ।

ॐ भूयिष्ठां ते नम उक्तिं विधेम । ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः शुभमस्तु ।

बालाजु हाइट, काठमाडौं