कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञ दाजुको व्यक्तित्व

भूमिकुमार न्यौपाने

दैवज्ञराज न्यौपाने भोजपुरको दावाँमा जन्म भै गोगनेको धाइपामा बसोबास गर्दै सामान्य परिवारमा हुर्केका कवि हुनुहुन्छ । हामी एकै गाउँ परिवारका भए पनि उहाँ गाउँबाट पहिले नै अध्ययनका लागि बाहिर गएका कारण भोजपुर क्याम्पसको परीक्षा सञ्चालन गर्ने क्रममा उहाँ जाँदा मात्र मेरो प्रथम पटक प्रत्यक्ष भेट भएको थियो । शालीन व्यक्तित्वका धनी दैवज्ञ दाइ सानैमा विवाह बन्धनमा बाँधिएर पनि पठनपाठनबाट मात्र आफ्नो भविष्य निर्धारण हुन्छ भन्ने सोचले अध्ययनका लागि बाहिर जानुभएको थियो । पण्डितका नाति पण्डितका छोराको परम्पराले पनि पठनपाठनको विधालाई नै पछ्याउँदै नेपाली साहित्यमा स्नातकोत्तरको शिक्षा हासिल गर्नु भयो ।

२०२७ सालदेखि उच्च शिक्षाका तहमा अध्यापन थालेर शिक्षा सेवाको अधिकृत तहको सरकारी जागिरको समेत अनुभव गर्दै कवि दैवज्ञले २०३० सालको नयाँ शिक्षा लागु भएपछि क्याम्पसमा शिक्षण गर्ने पेसामा जीवनलाई पूर्ण रूपमा समाहित गर्नुभयो । जीवनको उतरार्धमा दैविक विपत्ति आई उहाँकी धर्मपत्नी रीताको मृत्युले उहाँमाथि वज्र प्रहार गर्‍यो । तैपनि निराश नभै आफ्ना कर्म गर्दै जाने क्रममा सुधा कोइराला (हाल निवृत्त उपसचिव, नेपाल सरकार) सँग जीवन यात्राको थालनी भयो । लगनशील, कर्मशील, सिर्जनशील व्यक्तित्वका धनी कवि दैवज्ञराज न्यौपाने मधुमेह र उच्च रक्तचापको सिकार बनी Cerebro Vascular Accident का कारण अर्ध–पक्षाघात हुन गई उहाँका सिर्जनाहरूले विश्राम लिन लागेको अवस्था थियो । तर पनि उच्च आत्मबल र अपार सिर्जनात्मक क्षमताका कारण कम बोले पनि थरथराएको हातले जीवनको अन्तिम घडीसम्म सृजनाका शब्दहरू बाङ्गोटिङ्गो स्वरूपमा कोर्न भने उहाँ कहिल्यै थाक्नुभएन ।

म २०३५ सालमा काठमाडौं प्रथम पटक आउँदा उहाँ ववरमहलको मास्टर घर भनिने रातो घरमा बस्नु भएको थियो । काठमाडौंको सन्दर्भमा उहाँ पूर्वतर्पफबाट पठनपाठनका लागि आउने र खास गरी गोगनेका न्यौपानेहरूका लागि अग्रज र संरक्षक नै हुनुहुन्थ्यो । एक दिनको कुरा हो केदार दाइ (उहाँका भाइ कवि) सँग वेलुकीपख त्यहाँ पुगेको थिएँ । दाजुसँग गफ गर्दागर्दै ढिलो भएकोले दाजु रामकुमार शर्मा बस्नु भएको ज्ञानेश्वरमा जान सकिन र त्यहीं बास बसेँ । केही घरायसी विषयमा गफगाफ भए । रातको १० बजेतिर थाकेको होलास् भन्दै मलाई सुत्न जान सङ्केत गर्नु भयो, म सुत्न गएँ । तर उहाँ शिक्षा पेसामा लागेको मान्छे नयाँ शिक्षामा शिक्षकले गर्नु पर्ने पाठ योजनामा गर्नु पर्ने मेहनत सुनाउँदै अध्ययनमा लाग्नु भयो । सिर्जनात्मक धारामा बग्दाबग्दै उहाँ कतिबेला सुत्नु भयो त्यो पनि थाहा पाइन । म बिहान ४ः३० बजे उठ्ता त उहाँ ओछ्यान छोडेर किताबदानी छेउ एउटा रेडीको खास्टो ओडेर बस्नु भएको रहेछ । बाहिर निस्केँ । अँध्यारो थियो । नित्य कर्म गरेँ । भाउजू भित्र कोठामा, दाजु बाहिर । मलाई भान भयो दाजु भाउजूबीच झगडा पो भएछ कि ? अलग अलग बस्नु भएछ । उत्सुकतावस सोधेँ । दाजु ! तपाइँ सुत्नु भएन । होइन नाथु ! सुत्नु भनेको रोग नलाग्ने गरी ६ घण्टा सुत्ने नि । कहाँ उज्यालोहुन्जेल सुत्ने हो र । हामी त्यसरी सुत्यौँ भने हामीभित्रको इच्छा र चाहना मर्छ । हाम्रो शक्ति मर्छ । हाम्रो सिर्जनात्मक कला मर्छ र बाँच्छ खालि विलासिता । मेरो मनलाई साँच्चै छोयो । मैले सोधेँ– “अनि यति बिहानै उठेर के गर्दै हुनुहुन्छ ?” उहाँको जबाफ थियो–“पहिला उठेर आज पढाउनु पर्ने विषयका बारेमा पाठ योजना बनाएँ । केही आवश्यक नोट बनाएँ । त्यसपछि मनभित्रका तरेलीलाई कपीमा कोर्दैछु ।” मैले बुझिन । बुझने प्रयास गरेँ । उहाँ त कविता पो लेख्नु हुँदो रहेछ ।

म स्नातक सकेपछि स्नातकोत्तर तहको पढाइका लागि विराटनगरबाट काठमाडौँ आउने तरखरमा थिएँ । घरमा बाबाको सहमति समर्थन प्राप्त गर्न निकै गारो भयो । केही साथीको सहयोगमा काठमाडौं आएँ । न्यूरोडमा रामकुमार दाजुसँग भेट भयो । पुनः उहाँसँगै ज्ञानेश्वरमा बसेर राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा भर्ना भई अध्ययन गर्न थालेँ । ठुलीआमालाई भेट्न दैवज्ञ दाजु ज्ञानेश्वर आउनु भएको थियो । उहाँले मलाई के गर्दैछस् ? भनी सोध्नु भयो । मैले आपूफ बेरोजगार भएको, घरबाट सहयोग नभएको, रामकुमार दाजुलाई दुःख दिइरहेको र राजनीतिकर्मी तर्पफबाट सोचे अनुसार सहयोग नपाएको गुनासो सुनाएपछि उहाँको कोमल हृदयले थाम्न नसकेर तुरुन्तै मुखबाट निस्कियो– “भोलि पाटन क्याम्पस आइज ।” म खुसी हुँदै गएँ । उहाँ क्याम्पस प्रमुख भएकाले म्यादी जागिर दिनुभयो । त्यसपछि उहाँसँग मेरो सान्निध्य झन् बढ्यो र उहाँका कविता लेखनका बारेमा मैले केही अनुभूति गर्ने मौका पाएँ । पुफर्सदका बेला बिहान ५ बजेतिर बानेश्वरको घरमा पुग्थेँ । त्यसबेलासम्म उहाँ १/२ वटा कविता बनाइसक्नुहुन्थ्यो । अनि उहाँ कविता पढेर सुनाउनु हुन्थ्यो । म आज्ञाकारी बनेर विना जिज्ञासा सुनिरहन्थेँ । मलाई साहित्यप्रति कुनै लगाव थिएन । थियो फगत राजनीतिक सिद्धान्त, विचार र भाषण । मलाई कम्युनिष्टहरूले सिकाएको निषेधको संस्कार प्रवेश गरेकोप्रति सँधै सजग बन्न सचेत गराउनु हुन्थ्यो उहाँ । भन्नुहुन्थ्यो– मानवताको उपयोग गर्नु नै मानव धर्म हो न कि एउटा मानवले अर्को मानवबीच निषेध पैदा गरेर शक्ति सञ्चय गर्नु ।

कवि दैवज्ञ न्यौपानेसँगको संगतले उहाँले भनेका कविता सुन्दासुन्दै उहाँका कवितामा सँधै खोला कलकलाइरहेको आवाजको प्रतिनिधित्व गरेको महसुस गर्दथेँ म । उहाँका कवितामा कोइली कुहुकुहु गरी गीत गाइरहेको सुन्थेँ म । कतै कवि आपैफँ बालरोदनमा रोइरहनु भएको हो कि जस्तो महसुस गर्थें म । उहाँका कविताले आफ्नै गाउँका लोखर्के नाचेको सम्झना दिलाउँथे मलाई । उहाँका कविताले ट्याम्केले सगरमाथालाई छुने साहस गर्न खोजेझैँ बनाउँथ्यो मलाई । उहाँका कविताले दुई देशबीच चेपिएको राष्ट्रवादलाई सानो एउटा कुनाबाट अजङ्गको घन्टी बजाएर विश्वसामु उजागर गरिरहेको महसुस गराएझैँ लाग्थ्यो मलाई । आर्थिक विसंगति विकृतिले छाएको भ्रष्टाचारी समाजलाई चेतावनी र खबरदारी गरिरहेका हुन्थे उहाँका कविताले । बल्ल पो चिनेछु आखिर कवि कवि नै हुँदो रहेछ । त्यसैले उहाँका बारेमा स्रष्टा र समालोचकहरूले आफ्ना कवितात्मक मन्तव्य प्रकट गर्दै दैवज्ञ : पद्यध्वनि मार्पफत आरोग्य कामना गरेका रहेछन् :

चङ्गा चित्त शरीर शुद्ध मन औ मस्तिष्क होस् कञ्चन

व्यर्थै घातक रोगले नथलिऊन् साहित्यकर्मी जन

फाली व्रफूर कठोर दुस्सह दशा दैवज्ञ जागून् भनी

गर्दैछन् समवेत गायन यहाँ दैवज्ञ पद्यध्वनि ।

सिर्जनाहरूले सँधै मानव सभ्यतालाई डोर्‍याएर लान सक्छन् । उहाँ आफ्ना सृजनामा सँधै अमर हुनुहुन्छ । अन्ततः कवि दैवज्ञ दाजुलाई कुनै आधुनिक चिकित्सा प्रणालीले बचाउन सकेन । आफ्नो इहलीला समाप्त भएरै छाड्यो । तर उहाँको शरीर यस संसारबाट गए पनि उहाँका सहयोग भावले गाँसेको भावनात्मक सम्बन्धबाट कहिल्यै पर जान सकिन्न । अमर सृजनात्मक कृतिले उहाँलाई सँधै जीवित राख्नेछन् ।