कुलीन वंश न्यौपाने : शालीन व्यक्ति दैवज्ञ
भोजपुरमा न्यौपाने बाहुन वंशको छुट्टै अस्तित्व र स्थान छ । न्यौपाने वंशको ठुलो बिर्ता बस्ती गोगने गाविस हो यसबेला पनि । हिजोको अलिखित इतिहासमा छोपिएको गोगने र न्यौपाने बाहुन वंशको सुकर्म अविस्मरणीय छ । समय, परिस्थिति र परिवर्तनले धर्म, कर्म वा सुकर्मका उल्लेखनीय अभिलेखलाई पनि किनारतर्फ धकेल्दो रैछ । ती वंशले बनाएका मठ–मन्दिर, सत्तल, पाटी–पौवा र धारा–कुवा जस्ता सम्पदादि आज पनि उही अपहेलित अवस्थामा छन् । जाडो–गर्मी र क्षयीकरणको उही दारुण दुःख सहेर संरक्षणको पर्खाइमा छन् । न्यौपाने वंश र दैवज्ञराज न्यौपानेको इतिवृत्त यहीँनेर जोडिन्छ ।
गाउँबाट न्यौपाने वंश मात्र होइन अरू खत्री, क्षत्री, नेवार, राई, शेर्पा, तामाङ, दलित जो जो जे जे थिए ती सबै अवसर र पढाइ लेखाइका लागि पलायन भइसके । १५–१६ वर्ष पुग्न लागेको कुनै पनि युवाको दाहिने खुट्टा पिखुवा खोलाको जङ्घार तर्न लालायित हुन्छ नै अहिले पनि । यो क्रम निरन्तर जारी छ । यही बीचमा अशिक्षितका लागि खाडी मुलुक वा मलेसिया अनि शिक्षितका लागि जापान–अमेरिका आदि नेपाली कल्पनाका स्वर्णिम देशहरूले ढोका खोलिदिएका छन् । भारतीय र बेलायती लाहुरे प्रचलनले यसअघि नै त्यो कुनाको चुत्रो घारी छोडेर धरानको लुङ्गी लाउन थालेको हो । यस अर्थमा शिक्षित वा अशिक्षित दुवै खाले समूहले भोजपुर छोड्न थालेका हुन् ।
हाम्रो गाउँमा न्यौपाने वंशले बनाएको सत्तल–पाटी दिल्पा नागी गाउँको नजिकै मूलबाटैमा थियो । जसलाई न्यौपाने पाटी भन्ने गरिन्थ्यो । यो लेक काट्ने ठाउँमा यो पाटी किन बन्यो होला ? भन्ने प्रश्न पनि उठ्छ । पाटी बनेको जग्गा ज्यादै मिलेको ठुलो टारी बारी र त्यस मुन्तिर ठुलो पात्लेको जङ्गल, पाटीको नजिकै हिँउद–बर्खै आउने पानीको धारो । यी सुविधा भएकाले पनि यहाँ एउटा पाटी यस बाटो भएर हिँड्ने बटुवा, ढाक्रे वा लाहुरेलाई चाहिन्थ्यो । नुन–तेल, मरमसला र लत्ताकपडा खेप्ने मूलबाटो नै यही थियो । यसबेला ढाक्रे संस्कृति फेरिएको छ । खच्चडका हुलले मूलबाटो मैलो पार्न थालिसक्यो हिजोआज ।
न्यौपाने पाटी पक्की इँटा, असल काठ र झिँगटीले बने पनि यसको सन्दर्भ र आवश्यकता हराउँदै गयो । गोगनेका कुलीन न्यौपाने वंशले धार्मिक भावनाले ओतप्रोत भई निर्माण गरिदिएका हुन् यो न्यौपाने पाटी । हुन त यो पाटी पौवा संरक्षणको अभावले खण्डहर हुँदै गयो । पाटी रेखदेख गरी रुङ्ने नेवार्नी साइँलीले उहिले नै यस पाटीभित्र जाँड–रक्सी पारेर बेच्न थालेकी थिइन् । बाटो हिँड्ने बटुवा, ढाक्रे वा लाहुरे–तोरीलाहुरेहरूलाई । धुवाँ लाग्दा ती बुट्टेदार थाम, दलिन, बाहाँ र टुँडाल कम से कम धमिराले त खाएको थिएन । त्यतिबेलै बूढी भइसकेकी नेवार्नी साइँली कहाँ होलिन् । त्यो सत्तल–पाटी सञ्चालनका लागि राखेको गुठी जग्गा कसैले कब्जा गर्यो होला । म काठमाडौँ आएको नै पैँतीस वर्ष भइसक्यो । ढुङ्गा माटो र माटो ढुङ्गा हुने बेला भइसकेछ । उब्जनी हुने ती खेत र बारी कसैले निजी बनायो होला ।
भोजपुरको बोक्खिम बजार मूलबाटामै एउटा ऐतिहासिक न्यौपाने धारो छ, पाको इँटाले बनेको । कसैकसैले यसलाई हरुवा धारो पनि भन्ने गर्थे । यसको पनि लामै कथा छ भोजपुरमा । यस कथाले न्यौपाने बाहुन वंशको इतिहास लामै देखिन्छ । गोगने बिर्ताको झन् रमाइलो कथा पाइन्छ । गाउँबाट भोजपुर सदरमुकाम आउँदा–जाँदा त्यहाँको मीठो र स्वादिलो पानी हामी खान्थ्यौँ । विद्यार्थीका बेला प्यास मात्र होइन भोक पनि मेटिन्थ्यो । कोही कोही यस धाराको पानी नखानु रे भन्थे । अनगिन्ती यथार्थ अनि मिथक बनेको न्यौपाने वंशको योगदान र इतिहास सँगसँगै छोपिँदैछ । न्यौपानेकी छोरी योगमायाको आफ्नै यथार्थ कथा छ । न्यौपाने वंशले भोजपुरमा संस्कृति र इतिहास निर्माण गरेका छन् भन्दा अत्युक्ति हुँदैन । भोजपुरका न्यौपाने बाहुन वंश कुनै समय गुठी, सत्तल, पाटीपौवाको संस्कृति स्थापना गर्ने हैसियतमा थिए । सदाबर्त लाउनेमा पनि उनीहरु अब्बल थिए । आज पनि ती असंरक्षित धारा, कुवा, पाटी जस्ता सम्पदाले इतिहासका लागि बोलिरहेका छन् । यहीँ जोड्नुपर्छ दैवज्ञराज न्यौपानेलाई ।
कवि दैवज्ञराज न्यौपानेका सम्झना, साइनो र कृतिमा उदात्त हुनुअघि म न्यौपाने परिवार र मुकारुङ राई परिवारको पारिवारिक सम्बन्धमा जान चाहन्छु । खगेश्वर पण्डित हाम्रा हजुरबाका ठुला गुरु हुन् । हाम्रो मूल घर भोजपुर दिल्पा अन्नपूर्णको भामला गाउँमा छ । भामला गाउँ बाहुन गाउँ हो तर हाम्रो मूल घर यही बाहुन गाउँको माझैमा छ । हाम्रा हजुरबाको पनि बाउ जिजुबाजेले छोरा–नाति बाहुन गाउँमा हुर्के बढे भने पढालेखा, बुद्धिजीवी र केही गरिखाने हुन्छन् भनेर तल बुलुम्पाको किराँत कविला बस्तीबाट यता उँभो भामला गाउँमा सारेको रे । हाम्रा हजुरबा हामीलाई यसै भन्नुहुन्थ्यो ।
मेरा जिजुबाजे बलिमान राई र हजुरबा परशुराम राई हिन्दु धर्ममा निर्लिप्त नै हुनुहुन्थ्यो । यी पूर्वातीत सम्झनामा किन पुग्छु भने खगेश्वर न्यौपाने हाम्रा आदरणीय गुरु हुन् । हामी मुकारुङ राईको र न्यौपाने बाहुनको बलियो पारिवारिक सम्बन्ध हाम्रा बाउ–बाजेले एक दुई महिना वा वर्ष खोपी खिपेर बनाएको बिरासत होइन । यतिबेला त्यो सम्बन्ध ध्वस्त भएको छ, हिजोआजको बोलीमा भन्ने हो भने क्रमभङ्ग भएको छ । किनकि हामी चाहिँदोभन्दा बढी नै आधुनिक भइसक्यौँ । जातजातिमा बिखण्डित भएका छौँ । मान्छे हुनुभन्दा बढी नै जाति भएका छौँ । बाउ–बाजे न्यौपाने–मुकारुङ सम्बन्ध हाम्रा हजुरबा २०५१ सालमा खसेपछि चुँडियो, सकियो । त्यसैबेला ढल्यो हार्दिकताको सामाजिक खम्बा पनि ।
खगेश्वर पण्डितले हाम्रा घरमा भन्नुभएको सप्ताह पुराण, रुद्री, चण्डीपाठ, सत्यनारायणको पूजा र सोह्र श्राद्धका बेलाको दैनिक अनुष्ठान र मालश्री म सम्झिरहन्छु । सप्ताह पुराणभरि मलाई शंख बजाउन लाएको पनि सम्झिन्छु । शंख राम्ररी बजाउने सानो केटो भनेर उहाँले मलाई शंखसुर नाम पनि राखिदिनु भएको थियो । यदि मैले यही नामलाई संस्कृति जस्तो काठमाडौँमा बोकिल्याएको भए मेरो नाम यतिबेला शंखसुर राई हुन्थ्यो होला । उनै खगेश्वर पण्डितका भाइ गीतकार दैवज्ञराज न्यौपानेका विलीन यादको बोझिलो विषयमा उक्लिनु छ, साहै्र अप्ठ्यारो भइरहेको छ । बाउ–बाजेको सम्बन्ध छोरा पुस्तामा आएपछि अलिक खुकुलो भएको हो । त्यसपछि हामी नाति पुस्तामा आएपछि त झन् मीठो साइनो सम्बन्धको पोयो नै खुस्कियो । त्यसका दुई कारण थिए, एउटा आधुनिक शिक्षाको बढोत्तरी र युवा पुस्ताले सनातनी परम्परा छोड्दै जानु ।
दैवज्ञराज न्यौपानेसँग मेरो भेट काठमाडौँ आएपछि मात्र भयो । उहाँ मेरा दाइ पुस्तामा पर्नुहुन्छ । उहाँका समकालीन गणेश रसिक, शैलेन्द्र साकार, मञ्जुल, हिरण्य भोजपुरे आदि हुन् । यसअघि हाइस्कुल पढ्दा शास्त्री सर हरिवंश न्यौपाने र टीकाप्रसाद न्यौपानेसँग संस्कृत र नेपालीमा दीक्षित हुने मौका पाएको थिएँ । न्यौपानेद्वय शास्त्री सरहरू विराटनगरतिर हुनुहुन्छ भन्ने सुन्छु । उसबेला दार्जीलिङबाट अंग्रेजी पढाउने सर र वनारसबाट नेपाली, संस्कृत पढेका सरहरू आउने–ल्याउने चलन थियो । यही क्रममा दार्जीलिङबाट वीरबहादुर थापा मगर अंग्रेजी सर र यज्ञलाल श्रेष्ठ (बागबानी विज्ञान) हेटौँडाबाट ल्याइएका थिए । हरिवंश र टीकाप्रसाद सरहरू दैवज्ञराज न्यौपानेकै वंशज हुन् । नाता साइनो वा पुस्ता कता पर्छ म भन्न सक्दिनँ । ( हरिवंश भाइ र टीकाप्रसाद भतिज हुन् । सम्पादक )
२०३९–४० तिर गजेन्द्रमणि प्रधानको संयोजकत्वमा भोजपुरे सेवा समाजको गठन भयो । यसले भोजपुरेहरूलाई परिचित गराउँदै नजिकमा ल्यायो । पछि गणेश रसिक, केदार श्रेष्ठ आदिले नेतृत्व गर्दै दैवज्ञराज न्यौपानेलाई समाजको जिम्मेवारी मिल्यो । यसले हामी भोजपुरेलाई नजिक बनायो । उहाँलाई मैले नजिकबाट चिनेको यही बेला हो । उहाँले दिनुभएको कृति “जोर मुरली” अहिले पनि मसँग छँदैछ । सर्वकालिक रूपमा ढाका टोपीले सजिने दैवज्ञ दाइलाई जहिले भेट्दा पनि हँसिलो मुहारमा मैले पाएको थिएँ । भद्र, हँसिलो र हार्दिक मात्र होइन सरल व्यक्तित्वका धनी उहाँसँग प्रायः कविगोष्ठीमा भेटघाट भइरहन्थ्यो ।
खगेश्वर, हरिवंश, टीकाप्रसाद र दैवज्ञराज न्यौपानेपछि क्रमशः दयाकृष्ण न्यौपाने (भोसेसका पूर्व अध्यक्ष) सम्म आइपुग्दा मेरा परिवारको नभए पनि मेरो सम्बन्ध अनवरत रहेकै छ । दयाकृष्ण न्यौपानेले त भोजपुरे सेवा समाजमा सल्लाहकार परिषद्मा बस्न समेत आग्रह गर्नुभयो । भीम न्यौपाने, केदार न्यौपाने, मुकुन्द न्यौपाने आदि व्यक्तित्वसँग राम्रै चिनाजान छ । मेरा सम्पर्कमा हुनु भएका न्यौपाने वंशका कुनै पनि व्यक्ति विशेष भद्र, शालीन र हार्दिक पाएको छु । त्यसमा पनि कवि/साहित्यकार दैवज्ञराज न्यौपानेको व्यक्तित्व अनुकरणीय र प्रशंसनीय पाएको छु । अत्यन्त सरल स्वभावका धनी, हार्दिक बोलीचाली र हँसमुखाकृतिले गर्दा उहाँसँग जो कोही पनि प्रभावित नहुने कुरै थिएन । छुद्र व्यवहार अनि रुखो वचन सरसङ्गतभरि नै कहिल्यै देख्नु र सुन्नु परेन । प्रेरणा, हौसला र उत्साह भाइ पुस्तालाई दिइरहने उहाँको व्यक्तित्व स्मरणीय छ । त्यसैले होला उहाँका अधिकांश रचना बाल–बालिकाप्रति लक्षित र समर्पित देखिन्छन् ।
२०४५–४६ तिर आइपुग्दा गीतकार न्यौपानेका कतिपय गीतहरू चर्चित भइसकेका थिए । उनको गीतकार व्यक्तित्वले उनकै समकालीन गीतकारलाई समेत प्रभावित तुल्याएको देखिन्छ । आफ्ना छिमलका कविहरूभन्दा पृथक् शैलीबाट उनका रचनाकृति अभिलिखित हुनुले नेपालको साङ्गीतिक फाँटमा पनि उनको विशिष्ट कवि/गीतकार परिचय बनेको हो । उनका गीति रचनामा आफू उभिएको धरती बोलेको हुन्छ । माटो, हावापानी र मौलिक नेपाली जीवनशैली हाँसेको हुन्छ । त्यसैले उनी गीत–गायन क्षेत्रमा स्मरणीय र स्तुत्य भएका हुन् ।
उपत्यकाभित्र गरिखाने भोजपुरेहरूका नाताले मात्र होइन पहिलो कुरो भोजपुरे हुनु अनि बाउबाजे वंशको पारिवारिक पुरानो सम्बन्ध र ती कुरालाई बिर्सिँदा पनि नेपाली साहित्य, सङ्गीतको मूलप्रवाहमा योगदान पुर्याएको वा दिइसकेको आधारमा पनि हामीबीच नेपाली गौरव अवचेतन अवस्थितिमा पक्कै थियो र हुन्छ पनि । कृति वा रचनामा नेपालीपन हुनुले आकर्षित नगर्ने कुरै हुँदैन । कुनै पनि सिर्जनाले धर्ती, धर्म र मर्म छोड्यो भने त्यो सफल हुँदैन । दैवज्ञराज न्यौपानेका रचना हामीलाई स्वाभाविक र आफ्नो लाग्नुमा यिनै कुरा लागु हुन्छन् । उनका थोरै गीत रेकर्डमा छन् । थोरै गीत भए पनि लोकप्रिय अनि चर्चित छन् । ती गीतहरूको उल्लेख गर्नु सान्दर्भिक रहन्छ ।
क्रम गीतको बोल : गायक/गायिका : सङ्गीत गीत
१. इन्द्रेनी बनी आई : राम खरेल शिवशङ्कर आधुनिक गीत
२. साउन आयो : पद्मावती सिंह : राम थापा आधुनिक गीत
३. नेपाली माटो मुछेर : प्रेमध्वज प्रधान र साथीहरू : उदयशमशेर राष्ट्रिय गीत
४. ब्युँझी उठ्ने लहरले : रत्नदास प्रकाश र हीरादेवी राई : रत्नदास प्रकाश राष्ट्रिय गीत
५. यो देश हाम्रो : कोइलीदेवी र ज्ञानु राणा : कोइलीदेवी राष्ट्रिय गीत
६. सुन राम्रो चाँदी राम्रो : भक्तराज र फत्तेमान : भक्तराज आचार्य राष्ट्रिय गीत
७. फूल भन्नु फूल : हिमा मुकारुङ : बुलु मुकारुङ बाल गीत
८. सुन न नानी : लोचन भट्टराई : सुरेन्द्र श्रेष्ठ बाल गीत
९. ए सानी सानी : लोचन भट्टराई : सुरेन्द्र श्रेष्ठ बाल गीत
१०. काना काना कुर्र : बाल स्वर समूह : प्रदीप बमजन बाल गीत
११. हामी साना : श्लेस्मा क्षत्री : डिल्लीप्रसाद चापागाई बाल गीत
१२. संसार राम्रो सबै : शुभ बानियाँ : डिल्लीप्रसाद चापागाई बाल गीत
उल्लिखित सबै गीतको स्रोत : रेडियो नेपाल
गीतकार दैवज्ञराज न्यौपानेका यति थोरै गीत रचना रेडियो नेपालको अभिलेखमा पाइए तापनि पद्मावती सिंहले गाएको “साउन आयो रिमझिम गरी”, प्रेमध्वज र साथीहरूले गाएको “नेपाली माटो मुछेर नेपाली ढुङ्गा कुँदेर”, भक्तराज आचार्य र फत्तेमानले गाएको “सुन राम्रो चाँदी राम्रो” आदि गीत चर्चित नेपाली गीत हुन् । जसले गीतकार न्यौपानेलाई नेपाली गीत–सङ्गीत क्षेत्रमा स्थापित गरेको छ । उनको गीतिकारिताले पृथक् शैली, नवीन स्वाद र मौलिक धरातल समातेको देखिन्छ । विशेष गरी उनका बाल रचना कृति सिलढुङ्गा झैँ खोपिएका छन् । उनको गीतकार व्यक्तित्व नेपाली आधुनिक सङ्गीतको अभिलेखमा सुस्पष्ट रूपमा कुँदिएको पाइन्छ । उनी गीतकार, कवि, साहित्यकार वा प्राध्यापक मात्र नभई समाजसेवी पनि हुन् भन्दा अत्युक्ति नहोला ।
१५ असार २०६९
सङ्गीत लाइबे्ररी bulukarung@gmail.com
बिहानी सेवा, रेडियो नेपाल