बन्धुहरूका प्रेरणा स्रोत : दैवज्ञराज न्यौपाने
मैले सबैभन्दा पहिले दैवज्ञराज न्यौपानेलाई त्रि.वि.कम्पाउन्डभित्रको नेपाल बैङ्क लि. प्राङ्गणमा भेटेको थिएँ । विभिन्न कारणले उहाँलाई चिन्दै र बुझदै आएको थिएँ तर कुराकानी गर्ने कुनै संयोग परेको थिएन । त्यस दिन ताकेरै उहाँसँग औपचारिक परिचय गर्न मन लाग्यो र मैले आफ्नो परिचय दिएँ । वहाँले पनि आफ्नो परिचय दिएर भन्नुभयो– हामी जहाँका भए पनि न्यौपाने एउटै हौँ । हामी खोटाङेले भरखरै मात्र अर्थात् २०४४ सालमा खोटाङ सेवा समाज भन्ने एक परोपकारी सामाजिक संस्थाको स्थापना गरेकामा खुसी मान्दै २०४३ सालमा गठित भोजपुरे सेवा समाज मार्पफत जिल्लाका साहित्यिक एवं सामाजिक गतिविधि समेटिएको एक विशेषाङ्क निकाल्न लागेको चर्चा गर्नुभयो । हामी खोटाङेले ४२ सालबाट सल्लाह गरेको संस्थाले ४४ मा औपचारिकता पायो । उहाँहरूले ४३ सालमै समाज गठन गर्नुभयो । सल्लाह गर्दागर्दै एक वर्ष ढिलो भयौं भन्ने कुरा हुँदा भन्नुभयो – राजनीतिमा बहुमतले चल्छ, सामाजिक र धार्मिक कार्यमा सर्वसम्मत चाहिने हुँदा समय लाग्छ तर दिगो हुन्छ । त्यसपछि भेट हुँदा म खोटाङ सेवा समाजको र वहाँ भोजपुरे सेवा समाजको कुरा गर्थ्यौं ।
उहाँले राजनीतिलाई त्यति धेरै महत्त्व दिएको पाइँदैन, राजनीतिको बढ्दो आकर्षणले वहाँलाई तानेन पनि । न विरोध न समर्थनको नीति लिएको देखिन्थ्यो जसले गर्दा राजनीतिमा ठुलो पद धारण नगरे पनि साहित्यिक, सामाजिक र प्राज्ञिक क्षेत्रमा वहाँको ठुलो योगदान पाइन्छ । विशेषतः साहित्यमा निरन्तर अभिरुचि, क्रियाशीलता र साधनाले साहित्यिक फाँटमा उहाँले उच्चता र अमरता प्राप्त गर्नुभएको छ । यस क्षेत्रका बारेमा विभिन्न साहित्यिक व्यक्तित्व, विद्वान् र प्राज्ञहरूबाट विचार व्यक्त भएकै छन् । यस स्मृतिग्रन्थमा पनि ती महत्त्वपूर्ण विचार आएका होलान् । वहाँ साहित्यिक स्रष्टा र सामाजिक व्यक्तित्व पनि भएकाले स्रष्टा र द्रष्टा दुवै हो ।
न्यौपाने बन्धुहरूका बारेमा राम्रो खोजी तथा अनुसन्धान गरी ती सबै कुरा प्रकाशन गर्ने वहाँको इच्छा थियो । वहाँले बन्धुहरूलाई भेला गरी न्यौपानेहरू को कहाँ कसरी रहिबसेका छन्; वंशावली संकलन गरी प्रकाशन गर्न सके एक ऐतिहासिक दस्तावेज हुन्थ्यो भन्ने कुरा भेटमा गर्नुहुन्थ्यो । हामीले पनि ती सबै कुरा बुझेपछि एउटा सानो गाउँ अथवा क्षेत्रलाई मात्र नभई राष्ट्रव्यापी रूपमा छरिएर बसिरहेका न्यौपानेहरूको अवस्था बुझने र वंशावली तयार गरी प्रकाशन गर्ने उद्देश्यले वहाँलाई समेत समावेश गरी केन्द्रमा न्यौपाने बन्धु समाज गठन गर्न सफल भयौं । यसमा वहाँको प्रेरणाले काम गरेको छ । हामीभन्दा पहिले वहाँकै नेतृत्वमा वहाँले काठमाडांै उपत्यकामा उपलब्ध भोजपुरे लगायतका बन्धुहरूलाई भेला गरी वंशावली सम्बन्धी काम गर्दै हुनुहुन्थ्यो । बन्धु समाजका पछिल्ला गतिविधि वहाँकै प्रेरणाले चलिरहेका छन् ।
जीवनको पछिल्लो समय वहाँले निकै कठिनतम दिनहरू गुजार्नुभयो । उहाँलाई पक्षाघात जस्तो दर्दनाक रोगले सतायो जसको कारणले मानिसको सहारा अपरिहार्य बन्न गयो । नेपाली समाजमा साहित्यिक, सामाजिक, प्राज्ञिक उन्नयनका लागि वहाँको भूमिका उल्लेखनीय एवं ऐतिहासिक छ । नेपाली समाजमा रहेको उहाँको उल्लेख्य योगदानका लागि उहाँलाई देशले चिनेको छ र सम्मान पनि दिएको छ । हामी जुन स्वर्ग र भगवान्का कुरा गर्छौ यदि त्यो सही हो भने वहाँले तिनै भगवान्को दरबार प्राप्त गर्नुहुनेछ । अदम्य साहस र बौद्धिक क्षमताका धनी एवं सुन्दर व्यक्तित्व आदरणीय बन्धु दैवज्ञराज न्यौपानको अमर आत्माले चिरशान्ति प्राप्त गरोस् भनी श्रद्धाका शब्दसुमन समर्पण गर्दछु ।
महासचिव, न्यौपाने बन्धु समाज