गतमलङ्करणं भुव:
एकसम्बन्धिज्ञानमपरसम्बन्धिनं स्मारयति
(लहरो तान्दा पहरो गर्जन्छ)
गोगने धाइपाका गणेश पण्डित आकर्षक व्यक्तित्वसम्पन्न, मानवसुलभ छल, कपट, अभिमान, ईर्ष्या, द्रोह, परनिन्दा आदि दोषबाट असंपृक्त, मधुरभाषी, नातामा मेरा नजिकैका भानिज दाजु । भेट हुँदा वहाँको सम्बोधन “भाइ” शब्दको आद्याक्षर “भा” प्लुतमा उच्चरित हुन्थ्यो । त्यस भा(३)इ शब्दमा एउटा विलक्षण आकर्षण झल्किन्थ्यो कि सुन्दैखेरि वहाँसँग लेपासिन जाउँफ जस्तो हुन्थ्यो । एकात्मकताको रसानुभूति । त्यही रस आज यस स्मृतिक्षणमा नयनरस बन्न पुगेको छ । उनै गणेश पण्डितका छोरा तृतीय भएर पनि प्रथम मानिन्थे दैवज्ञराज ।
पुत्र पिताका सम्पत्तिको उत्तराधिकारी हुन्छ भन्ने धार्मिक नियम आज प्रकृतिले पनि अंगीकृत गरिछिन् । मातृपितृगुणसम्पन्न लहलहाउँदो बाँसको तामाको मुनो, तर झुस नभएको कसैलाई नबिझाउने एकदम फुर्तिलो रहरलाग्दो छोरी हुने बाबुहरूले आँखा गाडेको वास्तविक उमेरभन्दा अधिक उमेरको देखिने प्रारब्धको प्रसाद, गोगने पाठशालाका गुरुको आशीर्वाद, दिङ्ला पाठशालामा रहँदाका साथी सँगातीसँगको तीतोमीठो सबै किसिमको संगत, मामा खिलनाथको अखिल हात, विधिको विधान, राजधानीको उर्वरा विद्वत्क्षेत्रमा त्यहाँको विशिष्ट सभ्यता संस्कृतिरूपी मलजल पाई अघिको बाँसको तामा अहिले हलक्कै बढी महान् तालतरु बन्न पुग्यो । यो तालतरु हामीले देखे सुनेको तालतरुलाई माथ गर्ने, नसड्ने, नलड्ने, नगल्ने, खरानी नबन्ने, उच्चतामा नाप्न नसकिने, गगनचुम्बी मात्र नभई गगनभेदी नै बनेको । यस अनौठो वृक्षका विभिन्न जातका फल हुन्– वैदुष्य, कवित्व, नेतृत्व, समाजसेवित्व आदि आदि । उनीसँगको मेरो छोटो सङ्गतमा मैले उनमा के पाएँ भने— आपूफले गरेका कामका विषयमा पछि आपूफ अनुत्तर बन्नु पर्ने खालका काम गर्ने दुःसाहस कहिल्यै नगर्ने अर्थात् तात्कालिक परिवेशजन्य उत्तेजनाबाट प्रभावित नहुने ।
वि≥.सं.२००३/०४ सालतिर म काठमाडौँ पढ्न बसेको बेला त्यहाँको ज्यापू (कृषक) ले मलाई आगाका अगुल्टाले हानेकाले वि.सं.२०२१ सालमा पनि काठमाडाँैको अपेक्षाकृत तात्कालिक चम्केको विकास (बिजुली) देखेर या सुनेर म तर्सिने गर्थँे । मेरो त्यस प्रकारको त्रास हटाउन दैवज्ञराज न्यौपानेले धेरै प्रयास गरे, जुन प्रयास मुनिहरूका निष्काम कर्मजस्ता थिए । उनले दिल खोलेर ज्यादै हितैषीभावले भने— गुरु, तपाईँजस्तो मान्छे ठुलै ठाउँमा बस्नुपर्छ, गाउँमा गएर तपाईँको कदर हुँदैन र विद्याको उपयोग पनि हुँदैन । यसरी उनले गरेका सबल तार्किक प्रयासले मेरो काठमाडौँ जाने आउने बाटो खुल्यो । यो प्रयास मेरा निमित्त आजीवन प्रेमरज्जुकृतबन्धन बन्यो । यसप्रकार मेरो जीवनको यो पाटो र दैवज्ञको अमूर्त अवस्थासँग कायम रहने सम्बन्ध नैयायिकहरूको समवाय सम्बन्धजस्तो बन्न पुगेको छ ।
यति मात्र नभई गुरुकुलीय शिक्षा प्रणाली अनुसारको विद्यालय स्थापना गर्ने विचारको सुरुवातदेखि विद्यालयको स्थापन, व्यवस्थापन आदि हरेक अंगमा आफ्नो अन्तिम क्षणतक दान, दापन, दर्शन सबै प्रकारको संलग्नताले विद्यालयसँगको सम्बन्ध पनि त्यस्तै नै रहेको छ । उखान छ– काम नपरी मान्छे चिनिन्न । धरानको नारायणपुरमा गुरुकुल विद्यालय स्थापना गर्ने भन्ने निधो भएपछि त्यसका निमित्त उनी तन–मन–धनले पैदल हिँड्नु पर्ने हो कि, ट्याक्सी गर्नु पर्ने हो कि, दोहोर्याएर तेहर्याएर जानु पर्ने हो कि, थाती राख्न सक्नेसम्मका निजी कामलाई थाती राखेरै पनि हरतरहले कार्य सिद्य गरेर मात्र विश्राम लिन्थे । यस सिलसिलामा उनले गुरुकुलीय शिक्षा प्रणालीको विद्यालयलाई जुन सहयोग दिलाए त्यसको मूल्य सीमातीत छ । यसका अतिरिक्त आफैँले पनि जुन नगदी सहयोग गरे त्यो एक उदारमना महापुरुषको दर्जामा पुग्ने किसिमको छ । दिने र दिलाउने यस्तो उच्च क्षमता र त्यत्तिकै मीठो बोल्ने यी तीन नैसर्गिक गुणले प्रा.दैवज्ञराज सत्पुरुषका रूपमा प्रतिष्ठित हुन पुगेका छन् ।
दानं च दापनमथो मधुरा च वाणी
त्रीण्यप्यमूनि खलु सत्पुरुषे वसन्ति । (नीति श्लोकः)
(दान दिने शक्ति र दिलाउने क्षमता तथा मधुर वचन यी तीन लक्षण सत्पुरुषमा मात्र बसेका हुन्छन्)
दैवज्ञराजको सम्झना साथै अर्का एक मित्रसँगको भेटको सम्झना हुन आयो । म बाबर पकाउँथँे, उनी सेल पकाउँथे । उनले आफ्ना उकुसमुकुस भइरहेका भावनाका थैलाको मुख पुफकाए । धाराप्रवाह गिरा गिर्न लागे । यो उनको आफ्नो कुनै मानवसम्बन्धी दर्शन होला, उनी भन्दै गए, म सुन्दै रहेँ ः–
“अन्य प्राणीको अपेक्षा मनुष्य धेरै अंशमा स्वतन्त्र छ र पनि महत्त्वपूर्ण कुरामा भने परतन्त्रै छ । पूर्व–पूर्व संस्कार, परिवेश एवं अदृष्ट आदिद्वारा आकृष्ट मनुष्य आपूफले नचाहेको कामकुरामा लाग्न बाध्य हुन्छ । अनिच्छन्नपि वार्ष्णेय बलादिव नियोजितः । स्वातन्त्र्यभाव जस्तै सामर्थ्यभाव पनि उत्तिकै छ । आखिर इच्छा नभई नभई गरे पनि गरियो त अकर्तव्य नै । अकर्तव्य भैसकेपछि मुद्दा चल्ने नै भयो । चल्यो पनि । मुद्दामा प्रमाण संकलनको सिलसिलामा बकपत्र हुँदा मैले आपूफले गरेको होइन, मलाई जबरजस्ती फलानाले गर्न लगाएर गरेको हुँ भनेर बक्नुपर्नेमा त्यसो भन्न नसकेर अकर्तव्य गरेको मैले नै हो भनेर बक्तछ र सजाय भोग्न बाध्य हुन्छ । कानुनतः दोषी ठहरिए पनि देखिजान्ने र सुनिजान्ने साछीहरू त परिबन्दमा परेको किस्ने नै भन्छन्” ।
यस गद्यधारापछि– त्रिगुणकृत यो सर्ग तमोऽभाव असंभवः । दोषी ठान्नु महादोष को निर्दोषः?विना परः – भन्ने पद्य थियो । थैलो रित्तिएको थियो क्यार म झल्यास्स भएँ । अनादर नहोस् भनेर नबुझे पनि अर्ध निन्द्रामा हो हो भन्न छोडिन । मित्रको यस गद्यपद्यात्मक कविता निदाएर हो वा म अयोग्य भएर हो वा कवितै त्यस्तै खिचडी भएर हो मैले बुझिन । मैले नबुझदैमा त्यो अनर्थक हुने त होइन । यदि अर्थवान् रहेछ भने पाठकवृन्दले त बुझिहाल्छन् भन्ने सोचेर उद्धृत गरेको हुँ । जतिसुकै जोड घटाउ गरे तापनि हात लाग्ने त केवल नौ नै हो – ग, त, म, लं, क, र, णं, भु, वः (पृथ्वीकै गहना गए) अर्थात् पृथ्वीका अलङ्काररूपी दैवज्ञ हामीबाट बिदा भएर गए ।
अन्त्यमा—
अजरामरवत् स्थायी तिम्रो मधुर संस्मृति
तीतो दुःखप्रदा तिम्रो दर्शनालापको च्युति ।
तीतो लाग्थ्यौ हिजो, आज मीठो लाग्ने भयौ स्वतः
आगाको हो कि पानीको यो विचित्र करामत ।
दिएथ्यौ भूत भै पैले, दिन्छौ आज अभूत भै
छोटो थ्यो अघिको दान आज लामो भयो निकै ।
धरान–१४, नारायणपुर, २०६९ भाद्र १०
श्री सम्पादकज्यू , दैवज्ञराज स्मृतिग्रन्थ
कोष—प्रह्लाद संलग्न, दैवज्ञ स्मृतिग्रन्थमा
आ होस् है बलियो बैरी नहोस् वर्चस्वको क्षय
हीनाङ्गी, अधिकाङ्गी भै अस्वीकार्या जताततै
न पाल्नाकी न फाल्नाकी जन्मेकी करकी कृति
सन्तान करका पाल्दा अङ्ग औ आत्मदेवका
व्यथा सम्झेर, सम्झेर ग्रन्थको महनीयता
राख्न योग्य बने राख्ने केही संशोधनोत्तर
नआओस् दोष भै आँच, ग्रन्थ–सम्पादकत्वमा
(लेखसँगै प्राप्त यो पत्र कवित्वशक्तिमा लेखकको गति देखियोस् भनी यथावत् राखिएको छ - सम्पादक )