शालीन व्यक्तित्वका धनी दैवज्ञराज
नारायणप्रसाद न्यौपाने, पाखाबारी
पाखाबारी, गोगने
नेपालको पूर्व ४ नम्बर भोजपुर माझ, किराँत थुम सिक्तेल गोगने धाइपाका दैवज्ञराज न्यौपानेले विक्रम सम्वत् १९९९ साल मंसिर ३० गते पिता पं.गणेशप्रसाद उपाध्याय एवं माता उमादेवी न्यौपानेका पुत्ररत्नका रूपमा जन्म लिनुभएको हो । उहाँ बाल्यावस्था, किशोरावस्था एवं युवा अवस्थामा अत्यन्त सुन्दर, स्वस्थ, साहसी, जाँगरिला एवं कर्मठ र आकर्षक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । बाल्यकालदेखि नै तीक्ष्ण बुद्धि भएका कारण गोगनेको श्री विद्येश्वर संस्कृत विद्यालयबाट शिक्षारम्भ गरी त्रिभुवन विश्वविद्यालयबाट २०२६ सालमै नेपाली विषयमा स्नातकोत्तर उत्तीर्ण गर्ने गोगनेका न्यौपाने परिवारका प्रथम व्यक्तित्व हुनुहुन्थ्यो ।
उहाँ सबैसँग असल व्यवहार गर्ने व्यक्तिका रूपमा चिनिनुहुन्थ्यो । साथै उहाँ एक मार्गदर्शक हुनुहुन्थ्यो किनभने उहाँले मलाई भन्नुभएको थियो– मानिसले तल्लालाई विशेष ध्यान दिनुपर्दछ किनकि पानी माथि जाँदैन तल नै झर्दछ । विव्रफम सम्वत् २०२८ सालको एस.एल.सी.परीक्षामा सुपरिटेण्डेण्ट बनेर खोटाङको दिक्तेल जानुभएको समयमा तत्कालीन राजा महेन्द्रको अवसान भएकाले कार्यक्रमभन्दा १५ दिन बढी बस्नुपरेको अवस्थामा मेरा पिताजी रामप्रसाद न्यौपानेसँग भलाकुसारीका साथ दिन बिताउनु भएको मीठो सम्झना अहिले आइरहेछ । यसै समयमा हजुरबुबा र मेरा बुबाबीचमा भएका कुराहरूमध्ये केही मेरा बुबा रामप्रसादले भन्नुभएको कुरा हालसम्म पनि मेरो अन्तस्तलमा ताजै छ । हजुरबुबा प्रा.दैवज्ञराज वि.सं.२०१९ सालमा दाङ जाँदा भोजपुर गोगनेका रामप्रसाद न्यौपानेका बारेमा धेरै कुरा उहाँले जानकारी पाउनुभएछ । दाङका बौद्धिक, लब्धप्रतिष्ठित र समाजसेवी महानुभावहरूका सङ्कल्पनलाई संश्लेषित रूपमा विश्लेषण गर्दा उहाँ (दैवज्ञराज न्यौपाने) ले मेरा पितालाई होनहार र योग्य व्यक्तिका रूपमा पाउनुभएछ । जुन कुरा मलाई २०५७ सालमा म काठमाडौं आएको बेलामा अचानक हाल भि.एस.निकेतन विद्यालय अगाडि भेट हुँदा हजुरबाले समेत भन्नुभएको थियो र सोही समयमा हजुरबुबा कता लाग्नुभएको ? भन्दा तिम्री कान्छी हजुरआमा सुधाले गैरीगाउँमा घर बनाउँदै छिन्, त्यतै हिँडेको, भन्नुभएको थियो जुन कुरा अहिले नै बोलेजस्तो लाग्दछ ।
उहाँले राष्ट्र, राष्ट्रियता, राष्ट्रप्रेम एवं दक्ष समाजको परिकल्पना गर्दै तोतेबोली, सिर्जनाका लहर, बाल संसार, जोर मुरलीजस्ता अनेकौं कृतिहरू प्रकाशित गर्नु भई राष्ट्रिय कविता महोत्सव, २०२८ बाट पुरस्कार ग्रहण गर्न सुरु गरी विभिन्न पुरस्कारबाट पुरस्कृत हुँदै वर्तमान राष्ट्रपति डा. रामवरण यादवबाट वि.सं.२०६६ सालमा नागरिक अभिनन्दन सम्मान समेत प्राप्त गर्नु भएको कुरा संस्मरण हुन्छ ।
मानिस सामाजिक प्राणी भएकाले समाजमै रमाउने हुँदा उपत्यकामा आई बसोबास गर्ने गोगनेका न्यौपानेहरूका बीचमा सुमधुर भेटघाटका साथै मित्रवत् व्यवहार होस् भन्नाका खातिर उहाँकै सक्रियतामा वि.सं. २०४३ सालदेखि बन्धुभेलाको सुरुवात भएको थियो, जसले हालसम्म पनि निरन्तरता पाइरहेको छ । उहाँले गरेका कार्यको उच्च मूल्याङ्कन गर्दै यसलाई संस्थागत गर्नका लागि हाम्रो काँधमा जिम्मेवारी आएकोले सो पूरा गर्न कटिबद्धताका साथ अगाडि बढेका छौं । श्रद्धेय हजुरबुबा दैवज्ञराज न्यौपानेज्यूको नाममा दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान खडा भएको शब्द सुन्न, लेख्न, देख्न र सदस्यता समेत प्राप्त गर्ने अवसर पाएँ जसबाट म हर्षविभोर छु । यो लेखमार्पफत बहुमुखी प्रतिभाका धनी कवि हजुरबुबामा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
केन्द्रीय सदस्य, न्यौपाने बन्धुसमाज
हाल : गट्ठाघर, भक्तपुर