त्यो अविस्मरणीय क्षण !
नातामा आबद्ध हुनुभन्दा अगाडि वि.सं.२०१६ सालमा हामी षडानन्द संस्कृत प्रधान पाठशाला दिङ्लामा पढ्न बसेका थियौं । छात्रावासको बुर्जा कोठाको बसाइ थियो । शम्भु दाइ, सीताराम काफ्लेका दाजुभाइ, युवराज घिमिरे र हामी दुईजना (दैवज्ञ र नागेन्द्र) सहित ६ जनाको यौटै कोठा थियो । त्यसबेला उहाँ दैवज्ञराज न्यौपाने नामले चिनिनु हुन्थ्यो । एक ट्याङ्का दरले चामल भरी ६ जनाको भात पालो लगाएर पकाइन्थ्यो र भान्सेले एकैपटक दामासाहीले भात पस्कने चलन थियो । अरूका भात खाने थाल हलौं भए पनि उहाँको थाल गह्रौ र ठुलो पनि थियो । भात पस्किएर त्यस दिनका भान्सेले थाल उचालेर सबैलाई दिन्थे । उहाँको थालमा भात कमै देखिन्थ्यो र पनि आफ्नो ठुलो थाल भएकोमा गौरव मान्नुहुन्थ्यो ।
मेरो मावलीघर फालीकोट र ठुलीआमा, सानीआमाका घरहरू दिङ्लामा नै थिए । हप्तैपिच्छे कहिले मावल, कहिले ठुलीआमा, सानीआमा कहाँ गइरहनु पर्दा पढाइमा कमजोर हुन थालेंँ । गोगने कुलामनि न्यौपानेकी छोरी मेरी माइजूसँग — म नातामा जाने आउने गर्दा पाठ छुटेर पढाइमा कमजोर भएको छु, नातामा नजाँदा रिसाउनु हुन्छ म कहाँ गएर पढौं ? भन्दा माइजूले भन्नुभयो– गोगने जानू बाबु ! त्यसैले म वि.सं.२०१७ सालमा विद्येश्वर संस्कृत विद्यालय गोगनेमा पढ्न गएको थिएँ । सँगैका साथीहरू दिङ्लामा नै हुनुहुन्थ्यो । यदाकदा दैवज्ञ दाजु आफ्ना घर आउँदा विद्येश्वर विद्यालयको परिसरमा पर्खालमा उभिएर म ६ महिनामा यत्ति बढेँछु भन्नुहुन्थ्यो र ४,५ इञ्च बढेको देखाउनुहुन्थ्यो । गोरो अनुहारमा गोलो रातो टीका लगाउने अग्लो र छरितो देखिनुहुन्थ्यो ।
वि.सं.२०६५ सालमा सेवानिवृत्त भई पेन्सनपट्टा बनाउन काठमाडौं गएर उहाँकै घरमा बसी शारीरिक अस्वस्थताले अपरेशन पनि गर्नु परेको थियो । केही दिनको अस्पतालको बसाइपछि पुनः उहाँकै घरमा आराम गर्न बसेको थिएँ । एकदिन परिवारका सदस्यहरू घरमा नभएको बेला म विस्तराबाट उठ्न खोज्दाखोज्दै रिँगटा लागेर लडेँछु । अरूको सहाराले उठ्ने मान्छे, म लडेको देखेर कसैको सहारा बेगर आपैंफ जुरुक्क उठेर मलाई उठाउन आउनुभयो । त्यस्तो असहज परिस्थितिमा पक्षाघातले ग्रस्त शरीरले सबलाङ्गजस्तो साहस देखाउनु भएकोमा म छक्क परेको थिएँ । त्यस अविस्मरणीय क्षणको मलाई सधैँ सम्झना आइरहन्छ ।
हामी नातामा बाँधिनुभन्दा धेरै अगाडिदेखि नै दाजु दैवज्ञराज न्यौपानेसँग अभिन्न मित्रता र सहाध्यायीको निकट सम्बन्ध थियो । उहाँका परिवारका अन्य सदस्यहरूसँगको सम्बन्धमा ज्वाइँको आदर्श स्वरूप देखाउनु परे पनि उहाँसँग भने ज्वाइँ–जेठानको नाताले केही फरक परेन, यथार्थपरक सहृदयता आजीवन रहिरह्यो । १४/१५ वर्षको उमेरमा स्थापित भएको मित्रता र घनिष्ठता जीवनको अन्तिम क्षणसम्म यथावत् रह्यो ।
जनता प्रधान पाठशाला दाङबाट पूर्वमध्यमा परीक्षा दिएर घर आउनु भएको थाहा पाएर संस्थापक अध्यक्ष मेरा पिता पं.देवीप्रसाद दाहालको आग्रह स्वीकार गरी जालपादेवी विद्यालय दाँवा भोजपुरमा दैवज्ञ दाजु शिक्षक हुनु भएको थियो । त्यसबेला म भारतको हरिद्वारमा पढ्न बसेको थिएँ । बराबर हाम्रो पत्राचार भइरहन्थ्यो । केही महिनाको अध्यापनपछि पुनः उच्च शिक्षाका लागि उहाँ काठमाडौं जानुभयो ।
त्रिभुवन विश्वविद्यालयको वि.सं.२०२६ सालको दीक्षान्त समारोहमा सहभागी हुन म काठमाडौं गएको थिएँ । त्यसबेला उहाँ रानीपोखरी संस्कृत छात्रावासमा बस्नुहुन्थ्यो । उहाँकै आतिथ्य स्वीकार गरी केही समय सँगै बसेका थियौं । शिक्षा कार्यालय भोजपुरको पत्रानुसार एकवर्षे डिप्लोमा पढ्न वि.सं.२०३६ मा काठमाडौं बस्दा दिन बिराई बिराई मेरो अवस्था बुझन डेरामा आइरहनुहुन्थ्यो । एक वर्षको कार्यक्रम भए पनि विभिन्न कारणहरूले १५ महिना बस्नु पर्दा उहाँको ठुलो सहयोग र सद्भाव पाएको थिएँ ।
विद्यार्थी अवस्थादेखि नै साहित्यिक क्षेत्रमा संलग्न हुँदै परिपक्व साहित्यकारको रूपमा उहाँ सुपरिचित हुनुभयो । माध्यमिक तहको पाठ्यक्रम अनुसार उहाँका रचना पाठ्यपुस्तकमा समावेश भएपछि देशका शिक्षण संस्थाहरूले उहाँको राम्रो परिचय पाए । बाल साहित्यकार हुँदै प्रौढहरूका लागि कविता, गीत, खण्डकाव्य, समालोचना आदिद्वारा उहाँ चर्चित हुनुभयो । कथाकार, निबन्धकार, जीवनीकार आदि हरेक विधामा उहाँको सहज उपस्थिति थियो । साहित्यका विभिन्न विधामा लेख रचनासँगै सामाजिक संघ–संस्थामा आबद्ध भई सक्दो सहयोग सेवा र सल्लाह प्रस्तुत गर्नु भएको थियो । उहाँलाई विभिन्न संघ संस्थाहरूले योग्यता र क्षमताको कदर गर्दै पुरस्कृत, प्रशंसित र पदकहरूद्वारा सम्मानित गरेका थिए ।
लामो समयको विश्वविद्यालयीय अध्यापनपछि सेवानिवृत्त भएर शान्तिपूर्वक वृद्धावस्था बिताउनबाट असमयमै मधुमेह, उच्च रक्तचाप एवं पक्षाघातजस्ता रोगहरूले आक्रमण गरी हामी सबैबाट उहाँलाई अलग्यायो । आफ्ना सन्तानले गरेको उन्नति, प्रगति देखेर खुसी हुनबाट उहाँलाई छिटै वञ्चित गरायो । नाशवान् भौतिक शरीर हो भन्ने जान्दाजान्दै पनि आफन्तहरू र मित्रजन सबैलाई विह्वल बनाएर भौतिक शरीर हामीबाट अलग्गियो । भौतिक शरीर नष्ट भए पनि उहाँका कृतिहरूले अमरता प्रस्तुत गरिरहनेछन् । हामी अमर आत्मामा विश्वास गर्ने हुँदा उहाँको आत्माले सधैँ शान्ति पाइरहनेछ भन्ने कामना गर्दछौं । चिरकालसम्म रहने रचना र कृतिहरूले अमर आत्माको आवाज पाठकको गलाबाट घन्किरहनेछ । भौतिक शरीर नाश भए पनि आत्मिक शरीर कदापि नाश हुने छैन । बाल्यकालदेखिका मेरा अनन्य सखा एवं दाजु दैवज्ञप्रति हार्दिक श्रद्धा–सुमन अर्पण गर्दछु ।
दावाँ भोजपुर
हालः झुम्का, सुनसरी
छातीभित्र सजाएका उच्च शृङ्ग उठाउँदा
परेली धनुले तिम्रा दृष्टि वाण चलाउँदा
म घायल भएको छु चेतना ढल्पलाउँछ
हे तन्वङ्गी झ् तिमीलाई देख्तै लोभ सताउँछ
दैवज्ञराज न्यौपाने