कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

प्रा. दैवज्ञराज न्यौपाने र जयतु संस्कृतम्

नवराज कट्टेल

१. पृष्ठभूमि

जीवन अनित्य छ, भौतिक पदार्थ र सुखसुविधाहरू पनि अनित्य छन् । त्यसैले संस्कृतमा कीर्तिर्यस्य स जीवति भनिएको पाइन्छ । कतिपय कृति र कीर्ति कालजयी हुन्छन् । कृति पनि कालावच्छिन्न, देशावच्छिन्न छन्, सापेक्ष छन् । त्यस्ता कालजयी प्रतिभामध्ये दैवज्ञराज न्यौपाने (१९९९–२०६८) पनि एक हुन् नेपाली साहित्यका सन्दर्भमा । नेपाली साहित्यका अमर स्रष्टा दैवज्ञराज न्यौपाने आज हाम्रा सामु हुनुहुन्न तर वहाँका कीर्ति र कृति जीवित नै छन् । गुरुशिष्य परम्परामा र कृति परम्परामा वहाँ सदैव जीवित रहिरहनुहनेछ ।

आखिर जीवन त अनित्य नै छ । गीतामा भगवान् श्रीकृष्णले जीवनको अनित्यतालाई अनेक श्लोकद्वारा अनेक ढङ्गमा व्याख्या गरेका छन् । जसरी मानिसले पुराना कपडाहरू परित्याग गरेर नयाँ कपडा ग्रहण गर्छ त्यसै गरी यो देही (आत्मा)ले पनि जीर्ण शरीरलाई परित्याग गरेर नयाँ शरीर ग्रहण गर्दछ ।

वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोपराणि ।

तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही ।।

आत्मा कहिल्यै जन्मदा पनि जन्मदैन, मर्दा पनि मर्दैन, न यो कहिल्यै उत्पन्न भयो, न उत्पन्न हुन्छ, न हुनेछ । यो आत्मा त अजन्मा, नित्य, शाश्वत र सनातन छ, शरीर नाश हुँदा पनि यो नाश हुँदैन

न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः

अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।

दैवज्ञ न्यौपानेको पाञ्चभौतिक स्थूल शरीर नष्ट भए पनि आत्मा ढलेको छैन, आत्मा सदा अजर अमर छ, वहाँको कीर्ति अजर अमर छ । दैवज्ञ र जीवन्त हुनुहुन्छ ।

२. दैवज्ञराज न्यौपानेसँग मेरो चिनजान

दैवज्ञका रचना खास गरी कविता विभिन्न सन्दर्भमा पढेको हुँ तर संस्कृत छात्रावासमा बस्न थालेपछि अनेक कार्यक्रममा भाग लिन थालेँ । छात्रावासमा अग्रजहरू (भूतपूर्व छात्रहरू) को कहाँ छन् र के काम गर्दै छन् भन्ने विषयमा बारम्बार चर्चा परिचर्चा भइरहन्थ्यो । यसै क्रममा दैवज्ञराज पाटन क्याम्पसमा क्याम्पसप्रमुख हुनुहुन्छ भन्ने सुनेको थिएँ । पछि विभिन्न कवि गोष्ठीहरूमा, साहित्यिक कार्यक्रमहरूमा देख्ने सुन्ने अवसर पाएको थिएँ । यसरी मेरो वहाँसँग परिचय र प्रेम गाँसिन पुगेको हो ।

३. मेरा गुरु दैवज्ञराज न्यौपाने

२०४५ सालमा म नेपाली विषयको अध्ययनका लागि कीर्तिपुर बहुमुखी क्याम्पस नेपाली विभागमा भर्ना भएँ । विद्यार्थी आन्दोलनका कारण पढाइ त्यति राम्रोसँग चलिसकेको थिएन । मैले पनि संस्कृत मा.वि.मा संस्कृत भाषा र व्याकरण पढाउन थालेको थिएँ । तर पनि केही घन्टी नियमित रूपमा नै लिन्थेँ । केही वर्षअघि दैवज्ञ सर पाटन क्याम्पसबाट कीर्तिपुर आउनुभएको थियो । वहाँको भागमा बालकृष्ण समको चिसो चुल्हो महाकाव्य परेको थियो । कक्षामा पढाउँदा वहाँ हरेक ठाउँमा समजी भन्ने गर्नुहुन्थ्यो । दुई हातका हत्केला जोडेर बेलाबखत तालीको आवाज पनि दिँदै जानुहुन्थ्यो । कक्षा रसिलो हुन्थ्यो र विद्यार्थीहरूलाई मित्रवत् व्यवहार गर्नुहुन्थो । प्रश्न प्रतिप्रश्न हुँदा उत्तर दिनुहुन्थ्यो र म पनि किताव हेरेर आउँला भाइहरू प्नि यो यो किताब पढेर आउनुहोला, अनि छलफल गरौंला भन्नुहुन्थ्यो ।

४. साहित्यकार दैवज्ञराज न्यौपाने

साहित्यकार दैवज्ञराज न्यौपाने नेपाली समाजमा सुपरिचित नाम हो । दैवज्ञ मूलतः कवि हुनुहुन्छ । उहाँका तोते बोली (२०३८), गाउँखाने कविता (०४३), बाल संसार (०५३) लगायत आधा दर्जनभन्दा बढी बालकविता र सिर्जनाको लहर (२०३५), जोरमुरली (२०४६) कविता संग्रह र सयौं कविता पत्रपत्रिकामा छरिएर रहेका छन् । उहाँको संझनाको धरातलबाट ((२०६३) भन्ने संग्रहमा छवटा लघुकाव्यहरूको संकलन र प्रकाशन गरिएको छ । शोभा, राजा त्रिभुवन, शान्तिकामना, सम्झनाको धरातलबाट, चासो र चिन्तन, ती रोइन् त्यसरी किन ? जस्ता लघुकाव्य समेटिएका छन् । उहाँका गीतहरूलाई ध्वनिमुद्रण समेत गरिएको छ र ती रेडियोबाट प्रसारण भएका छन् । दैवज्ञले उपदेशमूलक कथा र केही निबन्ध पनि लेख्नुभएको छ । तर यी दुई विधामा दैवज्ञको व्यक्तित्व खासै उठेको पाइदैन । समालोचनामा पनि उहाँले कलम चलाउनुभएको छ । गुणराज उपाध्यायका खण्डकाव्ण्हरूको मूल्याङ्कन (२०४९) नेपाली नाट्यपरम्परा र भारती खरेलका नाटकहरू (२०५४) पुस्तकाकार कृति र दर्जनौं समालोचना पत्रपत्रिकामा छापिएका छन् । भूमिका लेखकका रूपमा पनि दैवज्ञको ख्याति रहेको छ । उहाँका ५० भन्दा बढी भूमिका प्रकाशित भएका छन् । उहाँले इलम, देउराली, धर्मसन्देश, भानुदर्शन, वाङ्मय आदि पत्रिकाको सम्पादन पनि गर्नभएको छ । यसरी हेर्दा साहित्यका सबैजसो विधामा उहाँको कलम सशक्त रहेको पाइन्छ । दैवज्ञराज न्यौपानेका यिनै योगदानलाई कदर गर्दै राज्य र विभिन्न संघ संस्थाहरूबाट दुई दर्जनभन्दा बढी पुरस्कार र दुई दर्जनभन्दा बढी सम्मान प्रदान गरिएको पाइन्छ ।

५. विभिन्न संघ–संस्थामा दैवज्ञराज

दैवज्ञराज न्यौपाने विभिन्न सामाजिक र साहित्यिक संघ संस्थामा संलग्न देखिन्छन् । जयतु संस्कृतम् स्वर्ण महोत्सव समारोह समिति ०५४, जयतु संस्कृतम्, भानुसेवा समिति, भानु प्रतिष्ठान, छिन्नलता पुरस्कार गुठी, भारती खरेल प्रतिष्ठान आदि दर्जनौँ संघ संस्थामा संलग्न भई विभिन्न किसिमका कार्य सम्पादन गरेको पाइन्छ ।

६. जयतु संस्कृतम् आन्दोलन २००४ र स्वर्णमहोत्सव समारोह समितिमा दैवज्ञराज न्यौपाने

जयतु संस्कृतम् आन्दोलन सञ्चालन भएको २०५४ सालमा ५० वर्ष पुगेछ । ०५४ साल असार २४।२५ गते तिर म भानु जयन्तीको निम्ता लिएर श्रीभद्र शर्माको घरमा गएको थिएँ । तिनताका म भानु सेवा समितिमा सदस्य थिएँ । दैवज्ञराज न्यौपाने अध्यक्ष हुनुहुन्थ्यो । सम्भवतः म र दैवज्ञ सर गएका थियौं जस्तो लाग्दछ । त्यस अवसरमा चियाको सुर्को पिउँदै श्रीभद्र शर्माले– “जयतु संस्कृतम् आन्दोलन भएको ५० वर्ष पुगेछ । कुनै रूपमा यसको संस्मरण गर्न पाए त राम्रै हुन्थ्यो होला” भन्नुभयो । मैले भनेँ “यो एकदमै राम्रो कुरा हो, यसलाई म छलफल क्रममा लैजानेछु ।” ०५४ सालमा वाल्मीकि क्यम्पस स्व.वि.यू.मा बद्री पाण्डे सभापति र शिव तिमल्सिना सचिव थिए । यी दुई जना र अरू केही उत्साही साथीहरूसँग राम्रैसँग छलफल गराएँ । बद्री पाण्डे उत्साही युवक थिए र उनी मेरा प्रिय शिष्य पनि थिए । हाल उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । शिव पनि उत्साही युवा थिए । हाल उनी लण्डनमा छन् । बद्री पाण्डे र शिव तिमल्सिनाको सक्रियतामा वाल्मीकि क्याम्पसमा एउटा बृहत् भेला सम्पन्न भयो । आन्दोलनका सहभागी र अन्य थुप्रै मानिसहरूसँग व्यक्तिगत र समूहगत रूपमा छलफल गरिसकेको थिएँ । मैले मूल समारोह समिति, कार्य समिति, कार्य सम्पादन समिति, उपसमिति निर्माण गर्ने, योद्धाहरूलाई अभिनन्दन गर्ने, स्मारक स्तम्भ बनाउने, स्मारिका प्रकाशित गर्ने, साप्ताहिक र वार्षिक कार्यक्रम सम्पन्न गर्ने प्रस्ताव राखेँ । मेरो प्रस्ताव स्वीकृत भयो । तदनुसार १००१ सदस्यीय मूल समिति र कार्य समिति बनाउने र उपसमिति कार्य समितिले बनाउने निर्णय गरियो । अध्यक्षमा श्रीभद्र शर्माको नाम प्रस्तावित भएको थियो तर आन्दोलनका योद्धाहरूलाई अभिनन्दन गर्ने कार्यक्रम समेत भएकाले “आफू अध्यक्ष भई आफ्नै अभिनन्दन गराउनु राम्रो हुँदैन त्यसैले रामचन्द्र शर्मा पौडेललाई अध्यक्ष बनाउनुपर्छ” भन्ने प्रस्ताव श्रीभद्र शर्माले राख्नुभयो । सो अनुसार नै रामचन्द्र शर्मा पौडेलको अध्यक्षतामा मूल समारोह समिति र कार्य समिति बनाउने निर्णय भयो । उपाध्यक्षमा नरहरि आचार्य, शरद्कुमार भट्टराई र दैवज्ञराज न्यौपाने चुनिनुभयो भने सदस्य सचिवमा म छानिन पुगेँ । कोषाध्यक्षमा हेमराज ज्ञवाली र उप सचिवमा बद्री पाण्डे र शिव तिमल्सिना छानिएका थिए । स्वर्णमहोत्सव सम्पन्न गर्न यी दुई युवाहरूको ठुलो योगदान रहेको थियो । त्यत्रो भव्य र विशाल कार्यक्रम कसरी सम्पन्न गरियो म अहिले चकित छु । ती कार्यक्रम सम्पन्न गर्न दैवज्ञ सरको ठुलो योगदान रहेको थियो ।

दैवज्ञ न्यौपाने सबैजसो बैठकमा उपस्थित भएर सघाउनुहुन्थ्यो । बैठकमा आफ्ना विचारहरू दृढतापूर्वक राख्ने र बैठकमा उठेका अनेक सबालहरूमा आफ्नो मत विनाआग्रह राख्नुहुन्थ्यो । कुनै विचारमा विविधता आउँदा वहाँले समन्वयकारी भूमिका निर्वाह गर्नुहुन्थ्यो । म चेलो भएको हुनाले पनि होला मेराप्रति विशेष स्नेह–सद्भाव थियो । कहीँ कतै केही काम बिग्रिन आँट्यो भने एक्लै डाकेर पनि सल्लाह दिनुहुन्थ्यो र अप्ठ्यारा गाँठाहरू फुकाएर अगाडि बढाउनुहुन्थ्यो । उपसमितिहरू बन्दा वहाँ साहित्यिक उपसमितिको संयोजकमा चुनिनुभयो । यस उपसमितिले काठमाडौंमा र बाहिरसमेत संयोजन गरी साहित्यिक कार्यक्रम एवं संस्कृत कविगोष्ठीको आयोजना गर्‍यो । २०५४ मंसीर २१ गते सप्ताहव्यापी कार्यक्रमध्ये काठमाडौं संस्कृत छात्रावासमा संस्कृत कविगोष्ठीको आयोजना गरियो । जसमा ४० भन्दा बढी कविहरूले संस्कृतमा कविता रचना गरी कविगोष्ठीमा सुनाउनुभएको थियो । कविगोष्ठीमा वाचन गरिएका कविताहरू पछि जयतु संस्कृतम् आन्दोलन २००४ स्वर्णमहोत्सव स्मारिकामा प्रकाशित पनि भए । उक्त स्मारिकामा दैवज्ञको पनि संस्कृत कविता प्रकाशित भएको छ ः–

नमामि विश्ववन्दिताम्

धरा–धरेन्द्र–शोभिातां हिमाल–देश–भाषिताम्

सुशीतलां मनोहरां नमामि विश्ववन्दिताम् ।

अखण्डकीर्तिमण्डितामनन्तधामसम्मिताम्

समुन्नतां परिष्कृतंा नमामि विश्वसेविताम् ।

सुदीर्घविस्तृतां धरां मधेशमण्डलायिताम्

सुंस्कृतां समुज्वलां नमामि विश्व–वैभवाम् ।

प्रदीप्तशैलसुन्दरां प्रचण्डवीरगर्विताम् ।

सुरक्षितां सुपूजितां नमामि विश्ववन्दिताम् ।।

७. जयतु संस्कृतम् संस्थामा दैवज्ञराज न्यौपाने

२०५५ असार १२ गते जयतु संस्कृतम् आन्दोलन २००४ स्वर्णमहोत्सव समापन समारोहको आयोजना गरिएको थियो । सोही समारोहमा जयतु संस्कृतम् संस्था स्थापनाको औपचारिक घोषणा गरियो । कार्य समितिको नामावलीसार्वजनिक भयो । स्वर्ण महोत्सव समितिले संस्थाको नामको निर्णय गरेको थियो भने समितिमा राख्ने सदस्यहरूको नाम समेत तय गरेको थियो । स्वर्ण महोत्सव समितिको सबै सम्पत्ति उत्तराधिकार संस्थाको रूपमा जयतु संस्कृतम् लाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको थियो । जसअनुसार खर्चगरी बाँकी रहेको रकम तीन लाख ८८ हजार रुपियाँ पनि जनक संस्था जयतु संस्कृतम् आन्दोलन २००४ स्सर्णमहोत्सव समारोह समितिबाट जयतु संस्कृतम्ले प्राप्त गरेको थियो । सोही रकम नै अक्षय कोषमा राखी संस्था अगाडि बढेको हो ।

२०५५ मा जयतु संस्कृतम् स्थापना भएदेखि दैवज्ञराज न्यौपाने निरन्तर समितिमा चुनिदै आउनुभएको थियो । कसैलाई भनी नबिझाउने, गरी नबिझाउने समभाव वहाँको स्वभाव थियो । सबैको प्रिय पात्र, सबैको सम्मानित पात्र हुनुहुन्थ्यो । सधैं हसिलो सधैं रसिलो, सधैं सद्भाव र सकारात्मक सोच, चिन्ता लिएको कहिल्लै नदेखिने, सधैं एक मधुररस गजबको स्वभाव थियो दैवज्ञको ।

जयतु संस्कृतम् संस्थाका उपसमितिहरू बन्दा पनि वहाँलाई कविगोष्ठी उपसमितिको जिम्मा लगाइयो । वहाँले करिव दश वर्षको अवधिमा आफ्नो नेतृत्वमा १०।१२ वटा संस्कृत कविगोष्ठी सम्पन्न गराउनुभयो । बेलाबखतका कविगोष्ठीहरूमा भारतबाट समेत स्रष्टाहरूले भाग लिएका थिए । आज १४ औं संस्कृत कविगोष्ठी सम्पन्न भइसकेका छन् । वहाँको मार्गचित्रलाई संस्थाले अद्यापि अनुसरण गरिरहेकै छ । त्यति मात्र होइन २०६२ सालमा वहाँकै सक्रिय नेतृत्वमा संस्कृत कविता संग्रह प्रकाशित पनि भयो । यसमा पचासौं स्रष्टाका ९५ वटा संस्कृतका कविताहरू प्रकाशित भएका छन् । दोस्रो कवितासंग्रह पनि वहाँकै मार्गचित्र अनुरूप प्रकाशोन्मुख छ । वहाँकै विमर्शमा तयार भएको जयतु संस्कृतम् अनुसन्धान पत्रिकाको दोस्रो अङ्क पनि प्रकाशित भइसकेको छ र २०६९ वैशाखमा प्रकाशित पौरस्त्य दर्शनका ४ पुस्तकसमेत गरी संस्थाले १४ पुस्तक प्रकाशित गरिसकेको छ । पुस्तक प्रकाशनको यात्रामा दैवज्ञको श्रीगणेशाय नमः महत्त्वपूर्ण रहेको छ । वहाँको संस्कृतमा निष्ठा थियो, क्षमता पनि थियो, दैवज्ञको संस्कृत रचना हेरौ न कति राम्रा छन् :

जयतु संस्कृतम्

मधुर–सरस–भाषा वग्मिनां मन्त्रगीतं

कठिन–जटिल–ग्रन्थि–प्रेम–संपे्रषणाय

विविध–मधुरवाणी धीर–गम्भीर–भाषा

विकसतु सततं सा दिव्यपीयूष–धारा ।

जयतु शोभना काव्य–संस्कृति–

र्जयतु वाग्मिनां प्रौढ–चेतना

जयतु मौलिकी संस्कृतार्चना

जयतु सर्वदा राष्ट्र–गौरवम् ।

जयतु कोविदः काव्यकौमुदी

जयतु ध्यायिनो धारणा–धृतिः

जयतु निर्भयं ह्यार्यगौरवं

जयतु संस्कृतं काव्यवाङ्मयम् ।

८. दैवज्ञलाई आकस्मिक पक्षाघात

जयतु संस्कृतम्मा दैवज्ञ न्यौपाने सुरुदेखि नै सक्रिय रहनुभयो, कविगोष्ठीलाई सुरुचिपूर्ण बनाउँदे निरन्तरता दिनुभयो र दिनुभयो संस्कृत कविता संग्रह । संगठनमा आएका अनेक उतारचढावमा समन्वयकारी भूमिका निर्वाह गरेर समादरणीय स्थान प्राप्त गर्नुभयो । सौम्य, शान्त र नेपाली साहित्य स्रष्टालाई पनि विधिवसात् दैवदण्ड प्रहार भयो । २०६२ भाद्र १५ मा पक्षाघातले आक्रमण गरेपछि दैवज्ञ स्वस्थ भएर समाजमा फर्कन सक्नु भएन । वहाँ बिरामी पर्दा म शिक्षण अस्पताल महाराजगन्ज भेट्न गएको थिएँ । वहाँको सुन्दर भरिलो झरिलो भव्य व्यक्तित्व झल्कने शरीरमा पक्षाघातले गरेको आक्रमण देखेर आश्चर्यचकित र भावविह्वल भएँ । मैले त सुरुमा वहाँ वहाँ नै हो भनेर चिन्नै सकिन । शरीर पाषाणवत् छ, एकपट्टिको आँखा, ओठ, निदार सबै सोहोरिएको र बाङ्गिएको छ । पटकपटक भेटेँ । लामो उपचारपछि केही सुधार आयो । सहयोगीलाई लिएर जयतु संस्कृतम्का केही बैठकहरूमा आउँदे रहनुभयो । कविगोष्ठीमा पनि आउनुभयो । २०६३ चैत्र १४ गते मेरो छोराको व्रतबन्धमा होटल महाराजामा आएर आशीर्वाद दिनुभएको थियो, अशक्त अवस्थामा पनि लट्ठी टेकेर आउनुभयो र स्नेह देखाउनुभयो अनि ऋणी बनाउनुभयो । यी कठिन दिनमा म धेरै पटक वहाँलाई भेट्न घर गएको छु, सँगै बसेर सुधा भाउजूले ल्याउनुभएको चियानास्ता खाएको छु । त्यस्तो कठिन क्षणमा पनि हात कँपाई कँपाई कविता लेखेको देखेको छु । जिब्रोले कामै नगर्दा पनि तोते बोलीमा कविता सुनेको छु, एक्लै दिनभरि हुने घरको सुनसानमा हात कँपाउँदै कविता लेखेर बेलुका सुधा भाउजू कार्यालयबाट आएपछि कविता सार्न लगाएको आफ्नै आँखाले हेरेको छु । ती कवितामा नेपाल र नेपालीको आकृति कुँदिएको छ । बालबालिकाको अनुहार र मनोभाव उतारिएको छ । कत्रो कविता प्रेम, कत्रो भाषा साहित्य र नेपाल एवं नेपालीको प्रेम, अहिले पनि म चकित छु । वहाँको भाषा प्रेम, जातिप्रेम र राष्ट्रप्रेम देखेर मलाई लोभ लाग्छ, म पनि त्यो विशालतामा प्रवेश गर्न सकूँला ! समष्टिमा प्रवेश गर्न सकूँला ! कविहरू व्यक्तिपीडाभन्दा माथि बसेर कविता लेख्दा रहेछन्, शरीरपीडाभन्दा माथि बसेर कविता रच्दा रहेछन् भन्ने कुरा प्रत्यक्ष आत्मसात् गरेको छु । त्यसरी पो कविता हँुदोरहेछ भनेर अनुभव गरेको छु ।

९. उपसंहार

दैवज्ञराज न्यौपाने नेपाली साहित्यका होनाहार प्रतिभा हुनुहुन्छ । कथा, कविता, निबन्ध, जीवनी, समालोचना जस्ता अनेक विधामा कलम चलाए पनि दैवज्ञको आधिकारिक क्षेत्र कविता विधा नै मानिएको छ । संस्कृत पठनपाठनबाटै शिक्षा आरम्भ गरेका दैवज्ञ संस्कृतमा पनि राम्रा कविता लेख्न सक्नुहुन्छ्, संस्कृत कवि सम्मेलनमा वाचन गरिएका कविता यसका प्रमाण हुन् । संस्कृत गद्यमा पनि उहाँ कलम चलाउन सक्नुहुन्छ । यद्यपि दैवज्ञको कार्यक्षेत्र नेपाली रह्यो, नेपालीमा नै जीवनभर कलम चलाउनुभयो, अमरकृति सृजना गरेर यसैमा नाम कमाउनुभयो । तर पनि दैवज्ञले २०५४ देखि ०६५ सम्म संस्कृत क्षेत्रका लागि दिएको योगदान चिरस्मरणीय छ । जयतु संस्कृतम् का संस्थापक सदस्यहरूमध्ये एक सदस्य दैवज्ञको अल्पायुको निधनले संस्थालाई अपूरणीय क्षति भएको छ । दैवज्ञले आरम्भ गरेको संस्कृत कवि सम्मेलन र अन्य कार्यक्रमलाई निरन्तरता दिएर जयतु संस्कृतम्ले दैवज्ञ न्यौपानेको उच्च सम्मान र चिरस्मरण गर्नेछ । जयतु संस्कृतम्

सहप्राध्यापक, वाल्मीकि विद्यापीठ