गोगनेका चम्किला तारा
भोजपुर जिल्लाको गोगने भन्ने ठाउँको नाम बाल्यावस्थामा यदाकदा सुनेको थिएँ । सायद मेरो छिमेकी जिल्ला भएर होला । प्राथमिक शिक्षा अध्ययनका क्रममा नेपाली विषयको कविता पाठमा कविको चिनारीमा पनि गोगने शब्द भेटिन्थ्यो । समयको बहावसँगै स्नातक तहको शिक्षा पूरा गरी व्यावहारिक कामको सिलसिलामा वि.सं.२०४९ साल कार्तिक महिनामा पहाडी जिल्ला धनकुटा हुँदै भोगपुरको गोगने भन्ने ठाउँमा पुग्ने अवसर मिल्यो । गोगनेका बारेमा त्यस समयमा थप जानकारी प्राप्त गर्ने अवसर पाएँ । श्री विद्येश्वर संस्कृत माध्यमिक विद्यालयमा गएर दिनभर बसेँ । यो विद्यालय पाठशालाका रूपमा माथि शिवालय भञ्ज्याङ्गमा थियो । यस पाठशालाबाट शिक्षा प्राप्त गर्ने धेरै व्यक्तिहरू विद्वान् र देशका विभिन्न ठाउँमा जिम्मेवार पदमा कार्यरत छन् । गोगने–१, धाइपाका दैवज्ञाराज न्यौपाने कवि हुनुभएको र गोगनेको वातावरण चम्काउनुभएको भन्ने जस्ता कुराहरू विद्यालयका शिक्षकहरूबाट थाहा पाएँ । त्यसपछि गोगने शब्दको चासो मेरो मनमा बढ्दै गयो ।

गोगनेको मनोरम दृश्य
भावीको लेखान्त भनौं या मेरो भाग्य, आखिर गोगने शब्दको समीपमा सधैं बस्ने अवसर मलाई ईश्वरले प्रदान गर्नुभयो । उही चम्किलो तारा दैवज्ञराज न्यौपानेकी आफ्नै भतिजी सीतासँग वि.सं.२०४९ फागुन २९ गते विवाह बन्धनमा बाँधिएर नजिकको नातामा गाँसिएपछि म पनि त्यही परिवारको एक सदस्य बनेँ । वि.सं.२०५० वैशाख ६ गतेदेखि तत्कालीन श्री विद्येश्वर संस्कृत माध्यमिक विद्यालयमा माध्यमिक तहको शिक्षकमा नियुक्ति पाएर हाल सोही विद्यालयको प्रधानाध्यापकको कार्यभार सम्हालेर बसेको छु । त्यही विद्यालयमा दैवज्ञराज न्यौपानेले प्रारम्भिक शिक्षा प्राप्त गर्नुभएको थियो । त्यसपछि गोगने र दैवज्ञराज न्यौपानेका बारेमा मैले धेरै जान्ने र सुन्ने अवसर पाएँ ।


कवि दैवज्ञराज न्यौपानेले प्रारम्भिक शिक्षा हासिल गरेको विद्येश्वर भाषा पाठशाला शिवालय भञ्ज्याङ
वि.सं.१९९९ सालमा जन्मनुभएका दैवज्ञराज न्यौपाने गोगने गा.वि.स.–१, धाइपा निवासी यस क्षेत्रकै प्रसिद्ध पण्डित गणेशप्रसाद न्यौपाने र उमादेवीका छोरा, बाल्यकालदेखि स्वभावैले चतुरो र बान्की परेको हुनुहुन्थ्यो ।

कवि दैवज्ञराज न्यौपाने हुर्केको धाइपाको घरअगाडि छोरा सौरभ
कवि न्यौपानेका बाल्यकालका सहयात्री एवं कविको घरपरिवारमा लामो समय सेवा गर्ने छिमेकी श्री सूर्यबहादुर तामाङ्ग भन्नुहुन्छ— प्रारम्भिक शिक्षा प्राप्त गर्ने उमेरमा सबै आफ्ना साथीहरूलाई पाठशाला जाऊँ भनेर हातमा समातेर तान्नुहुन्थ्यो, पढ्नुपर्छ हिँड जाऊँ भन्नुहुन्थ्यो तर हामी पाठशाला जान नमानी भागेर अर्कातिर दगुर्थ्यौं । उहाँ भन्नुहुन्छ– त्यसरी पढेर उहाँ त्यत्रो विद्वान् हुनुभयो, म यस्तो भएँ, के गर्नु यस्तै रहेछ कर्म ।

बाल्यकालदेखि नै कविको सामीप्यमा रहनुभएका
श्री सूर्यबहादुर तामाङ्ग
श्री विद्येश्वर भाषा पाठशालाबाट प्रारम्भिक शिक्षा प्राप्त गरिसकेपछि उहाँ पढाइको खोजीमा दिङ्ला जानुभयो । तत्कालीन अवस्थामा दिङ्लामा केही असहमति पैदा भएपछि कवि दैवज्ञराज न्यौपानेलगायत जम्मा २१ जनाले दिङ्ला छोडेर हिँडेको कुरा पुष्टि हुन्छ । त्यसपछि शिक्षा आर्जन गर्ने अभिलाषाका साथ बनारस जानुभयो तर बनारसमा उहाँले पढ्नु भएन । त्यसपछि नेपाल फर्केर दाङ्ग पुग्नुभयो र त्यहीँको संस्कृत मा.वि.बाट प्रवेशिका उत्तीर्ण गर्नुभयो । दाङ्गको प्रवेशिकापछि दैवज्ञराज न्यौपाने काठमाडौं जानुभयो र उच्च शिक्षा प्रारम्भ गर्नुभयो । क्रमशः शिक्षा आर्जन गर्ने क्रमलाई जारी नै राख्दै कीर्तिपुरबाट नेपालीमा स्नातकोत्तर तह उत्तीर्ण गरी प्राध्यापन पेसामा संलग्न हुनुभयो ।
साहित्यप्रेमी दैवज्ञराज न्यौपाने समयको बहावसँगै नेपाली वाङ्मयमा ख्याति प्राप्त गर्दै अगाडि बढिरहनु भयो । नेपालका प्रसिद्ध कविको रूपमा परिचित दैवज्ञराज न्यौपानेका कृतिहरू उहाँको भौतिक शरीर यस धर्तीमा नभए तापनि साहित्यप्रेमी सबैका मानसपटलमा रहिरहेका छन् । तिनीहरूले नेपाली साहित्यलाई चम्काइरहेका छन् । ती कृतिहरू पढ्दा, सुन्दा उहाँको स्मरण हुन्छ, श्रद्धाका आँसु आउँछन् ।
कवि न्यौपाने ग्रामीण भेग गोगनेको स्मरण कति गर्नुहुन्छ वा नेपालका भिर, पाखा, उकाली, ओराली, प्राकृतिक सौन्दर्य, सम्पदा, नेपाली समाज र नेपाली बालबालिकाको स्तर कसरी मनमा राख्नुहुन्छ भन्ने कुरा उहाँका कृतिहरूबाट स्पष्ट हुन्छ । उहाँ यस्तै ग्रामीण भूभाग र धरातलमा रमाउने राष्ट्रियता बोकेको राष्ट्रप्रेमी व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । उहाँले लेखेका र प्रकाशित भएका प्रायः सङ्ग्रहहरूले नेपाली ग्रामीण भूभाग र त्यसमा बस्ने मानिसहरूको झझल्को दिन्छन् । यो पाटोबाट मूल्याङ्कन गर्दा उहाँको अर्को छुट्टै पहिचानको स्मरण हुन्छ ।
न्यौपाने बन्धु समाजका संस्थापक दैवराज न्यौपाने सर्वसाधारण सबैलाई आदर, सम्मान, सत्कार गर्ने, माया–ममता राख्न,े कुशल हँसिलो स्वभावका व्यक्तित्व हुनुहुन्थ्यो । आफ्नो जीवनयात्राका क्रममा उहाँ अगाडि बढिरहेकै अवस्थामा मैले उहाँसँग प्रत्यक्ष भेटघाट, बोलीचाली गर्ने अवसर २०५५ सालदेखि पाएँ । हेर्दैमा कवि न्यौपाने प्रभावशाली हुनुहुन्थ्यो । उहाँले दिएका शैक्षिक ज्ञान, बुद्धि अहिले म मेरो शैक्षिक यात्रामा प्रयोग गरिरहेको छु ।
काठमाडौंबाट घर आउँदा गोगनेका बस्तीहरू डुल्ने र कुनै घरमा पुगेपछि निकै वेर बसेर सबैखाले कुराकानी गर्न रुचाउने स्वभाव उहाँको थियो । गरिब र असहायको भलाइ गर्नुपर्छ भन्ने भावना उहाँमा थियो । ज्वलन्त उदाहरणका लागि मेरो भतिजो छत्रबहादुर श्रेष्ठलाई उहाँले लगेर एक योग्य नागरिक बनाएर काठमाडौंमा स्थायी बसोबास गरी बस्न सक्ने बनाइदिनुभयो भन्नुहुन्छ गोगने–३, निवासी समकालीन जगतबहादुर श्रेष्ठ । श्रेष्ठका अनुसार पाठशाला पढ्दा थुप्रै साथीहरूलाई लिएर हिले खोला जाने, सिकाउने, ज्ञानगुनका कुरा गर्ने गर्नुहुन्थ्यो । कर्मचारी भए पनि घरमा आएका समयमा लप्से, भोजपुरे, सिरिसे, खेतहरूमा गएर खेतको काम गर्नका अतिरिक्त आरुबोटेमा भएको गोठमा गएर गाईवस्तुको स्याहार सुसारमा तल्लीन हुनुहुन्थ्यो ।
साहित्यिक एवं शैक्षिक व्यक्तित्वका धनी न्यौपाने राष्ट्रियस्तरका धेरै खाले पुरस्कारबाट सम्मानित हुनुभएको छ । सोही कारण नागरिक समाजले आयोजना गरेको बृहत् कार्यक्रममा प्रमुख अतिथि सम्माननीय राष्ट्रपति श्री रामवरण यादवले गणतन्त्रपश्चात् पनि सम्मान गर्नुभयो ।
आखिर मानिसको शरीर जति क्षमतावान्, शक्तिशाली भए तापनि एक दिन मृत्युवरण गर्न बाध्य हुनुपर्दो रहेछ । अघिल्लो दिन बिहान सँगै बसेर कुराकारी गरी खाना खाएर म उहाँको घरबाट बिदा भएँ । उच्च रक्तचाप, मधुमेह जस्ता रोगले पीडित भई केही वर्षदेखि आराम गरी बस्तै आउनु भएका हाम्रा काका राष्ट्रका कवि न्यौपानेको स्वर्गारोहण भयो भन्ने खवर भोलिपल्टै प्राप्त भयो । उक्त खबरले मर्माहत भएँ । भाग्यवश म काठमाडौंको नयाँ बानेश्वरमै थिएँ, सिभिल अस्पतालमा उहाँको प्राण गएको परिवारबाट थाहा भयो । यसै क्रममा आर्यघाटमा उपस्थित भएर अन्तिम दाहसंस्कार, अन्त्येष्टिमा भाग लिई श्रद्धाञ्जली व्यक्त गर्ने अवसर पनि पाएँ ।
कविको भौतिक शरीर : काठमाडौंको आर्यघाटमा
२०६८ पुस २ गतेदेखि गोगनेका चम्किला तारा र राष्ट्रका उज्याला छवि कवि दैवज्ञको भौतिक शरीर यस धर्तीमा रहेन । गोगनेका न्यौपाने वंशका होनहार व्यक्तिको देहावसान भयो । राष्ट्रले सशक्त कवि गुमाउनु पर्यो । यसरी भोजपुरको गोगनेमा हुर्की, बढी राष्ट्रको चम्किलो ताराका रूपमा आफ्नो नाम चम्काउन सफल कविको देहावसनपछि नेपाली साहित्यको क्षेत्रमा राष्ट्रले ठुलो क्षति बेहोर्नु परे तापनि उहाँका कृतिहरूले उहाँको नाम सदा चम्काइरहने छन् ।

(लेखक पत्नी सीता रेग्मीका साथ)
प्रधानाध्यापक
श्री विद्येश्वर उच्च माध्यमिक विद्यालय, गोगने, भोजपुर