मित्र दैवज्ञसँगका ती क्षणहरू
भोजपुर जिल्ला गोगने धाइपाका गणेशप्रसाद र उमादेवीका छोरा दैवज्ञराज न्यौपाने मेरा बालसखा र सहपाठी मित्र हुन् । सानै उमेरदेखि एक कर्मशील, साहसी, मिलनसार तथा मृदुभाषी रहेका दैवज्ञ र म गोगनेको विद्येश्वर संस्कृत पाठशालामा सँगै अध्ययन गर्दथ्यौं । उनको सरल र सहयोगी स्वभावबाट प्रभावित भई सानैदेखि हामीमा मित्रताको गहिरो सम्बन्ध रहेको थियो । प्रारम्भिक कालको अध्ययन गोगनेमा गरेपछि थप अध्ययनका सिलसिलामा हामी भोजपुरको दिङ्लास्थित षडानन्द पाठशालामा गयौं । दिङ्लामा समेत सहपाठी भएर बसेपछि हाम्रो आपसी मित्रता र सद्भाव अझ गाढा बन्दै गयो ।
त्यही समयदेखि नै पुफर्सद भयो कि केही न केही लेखिहाल्ने र पहिलो श्रोताका रूपमा मलाई सुनाउने बानी उनको थियो । साहित्यका साथै देशमा भइरहेको राजनीतिक गतिविधिमा पनि चासो राख्ने र सोही अनुसार हामी साथीभाइहरूलाई पनि जागरुक रहने सल्लाह दिन्थे । हामी दिङ्लामा पढ्न बस्दा देशभर भर्खर पञ्चायती शासन लागु भएकाले राजनीतिक गतिविधि गर्न निषेध थियो तापनि राजनीतिक विषयमा सरसल्लाह र टीकाटिप्पणी भइरहन्थे । विद्यार्थीको हकहितका लागि सक्रिय रूपमा अगाडि बढ्न चाहने अरू साथीहरूलाई पनि हौसला दिँदै जागरुक हुन प्रेरित गर्ने कार्यमा दैवज्ञ निकै सक्रिय थिए । नेपालीहरू अशिक्षाका कारण पछाडि परेका छौं, शिक्षामा सबै वर्ग–जातिको समान अधिकार हुनुपर्छ भन्ने विचारप्रति दृढ रहेर अगाडि बढ्न उनी प्ररित गर्थे । देशभर शिक्षा पैफलाई अशिक्षितपन हटाएर चेतना अभिवृद्धि भएपछि देशमा भएको राजनीतिक विचलनको ज्ञान हुन्छ, सबै राजनीतिप्रति सजग भई आमजनताको प्रयासबाट राजनीतिक व्यवस्थामा सुधार आउँछ, राजनीतिक व्यवस्था सुदृढ भएपछि देशले आर्थिक, सामाजिक, भौतिक उन्नति गर्न सक्छ, त्यसका लागि अथक प्रयास नवयुवकको हुन आउँछ, त्यसमा पनि हामी विद्यार्थीवर्गको बढी जिम्मेवारी र क्रियाशीलता हुनुपर्छ भन्ने जस्ता राजनीतिक विषयका चिन्तन मनन गरिरहने प्रवृत्ति उनमा प्रबल रूपमा पाइन्थ्यो ।
अध्ययनका सिलसिलामा हामी दिङ्लामा बस्दा २०१८ सालमा पाठशालामा भएका अनियमितताका विषयमा दैवज्ञको अगुवाइमा विद्यार्थीवर्गले आवाज उठाएको थियो । सोही विषयलाई लिएर सञ्चालक वर्ग र सञ्चालकहरूका मतियारबाट हामी विद्यार्थीमाथि गम्भीर प्रकृतिका धम्की आउन थालेपछि सुरक्षा सहयोग पनि नपाउने अवस्था सृजना भयो । सोही कारणबाट त्यहाँ बस्न नसक्ने बाध्यता परी छात्रावासमा बस्ने साथीहरूका साथ हामी दिङ्ला छोडी हिड्यौं ।
अब अध्ययनका लागि कहाँ जाने भन्ने भएपछि त्यतिखेरको शिक्षाको केन्द्र र नाम चलेको ठाउँ भएकाले बनारस जाने सहमति भई हामी एउटै गाउँका साथीहरू दैवज्ञ, टीका न्यौपाने र म बनारस पुग्यौं । बनारसमा एक हप्ताजति बसिसकेपछि त्यहाँको भाषा–संस्कृति, रहनसहन नमिल्दा असहज भएकाले नेपालकै कुनै ठाउँ जाने भन्ने सिलसिलामा दाङ जिल्लामा संस्कृत विद्यालय छ भनी सुनेको कुरा दैवज्ञले सुझाउँदा हामी तीनैजना बनारसबाट दाङतर्पफ हिँड्यौं । दाङमा पुगेर बिजौरी भन्ने ठाउँमा रहेको संस्कृत पाठशालामा डेढ वर्ष जति पढेर २०१९ सालको परीक्षा दिई दैवज्ञजी र म घर फर्क्यौं । कुनै कारणले टीकाजी उतै बस्नुभयो ।
घर फर्किएको केही समयपछि २०२० सालमा मामा खिलनाथ पोखरेलका साथ थप अध्ययनका लागि दैवज्ञ काठमाडौँतर्पफ लागे र उतै पढ्न थाले भने म धरानको पिण्डेश्वर महाविद्यालयमा आई अध्ययन गर्न थालेँ । २०२१ सालको वैशाख महिनामा त्यतिखेरका विद्यार्थी नेता कमल चित्रकार, विपिन कोइराला लगायतको अगुवाइमा नेपालमा विद्यार्थी आन्दोलन हुँदै थियो । यसै समयमा दैवज्ञजी काठमाडौंबाट र म धरानबाट घर आयौं । सो समयमा हाम्रो गाउँमा रहेको गोगने पाठशालामा हाम्रै पहलमा प्रकाश पुस्तकालय स्थापना भएको थियो । सो पुस्तकालयको वार्षिक साधारणसभा र कार्यसमितिको चयन गर्ने लगायतका कामका लागि हामी त्यहाँ भेला हुने गर्थ्यौं । साधारणसभा सम्पन्न भै कार्यसमिति चयन भइसकेको थियो । एकदिन पुस्तकालयमा टाँसेका तस्विरहरूमा धमिरा लागी, फाटी, कुरूप भएकालाई हटाई सरसफाइ गरिएको थियो । ती फाटेका तस्विरहरूमा राजामहाराजाका तस्विर पनि रहेछन् । सोही कामलाई बङ्ग्याई राजाको तस्विर जलाई राजाविरोधी काम गरे, गराएको साथै विद्यार्थी आन्दोलन चर्काएको आरोप हाम्रा विरोधी साथीभाइहरूले लगाई उजुर गरेछन् । दैवज्ञजीलाई काठमाडौंको विद्यार्थी प्रतिनिधि र मलाई धरानबाट आएको प्रतिनिधि भनी विद्यार्थी आन्दोलन चर्काएर व्यवस्थाविरोधी काम गरेको अभियोग हामीमाथि लगाउने कार्य गरिएछ । हाम्रो क्रियाकलाप मन नपराउनेहरूले प्रशासनमा दिएको सिकायत र उजुरीका आधारमा भोजपुरका बडाहाकिम युगनाथ शर्माले पव्रफाउ पूर्जीका साथ सुरक्षाकर्मी खटाई हामीलाई भोजपुर लगियो । एकदिन प्रहरी थानामा राखी भोलिपल्ट बडाहाकिम कार्यालय गोस्वारामा पेस गरी हामीलाई सोधपुछ गरियो । हामीमाथि लगाइएको आरोपमा सत्यता नभएको कुरा बताउँदा पनि “नेपाल अधिराज्यको शान्ति सुरक्षा खलल हुने काम गरेकाले “क” श्रेणीको सिधा खाने गरी नजरबन्दमा राखिएको छ” भन्ने पूर्जीका साथ दैवज्ञजी र मलाई भोजपुर जेल चलान गरियो ।
भोजपुर जेल बसाइको सिलसिलामा हाम्रा राजनीतिक–साहित्यिक गतिविधिको चर्चा उपचर्चा भइरहन्थे र जेलका अन्य साथीहरू पनि हामीमाथि सहानुभूति राख्दथे । यही सिलसिलामा दैवज्ञजीले २/४ वटा साहित्यिक रचना गर्नुभयो । आपूफले रचना गरेका कविता मलाई सुनाउने गर्नुहुन्थ्यो । ती मिठासपूर्ण रचना सुन्दा आनन्द लाग्थ्यो ।
जेल परेको ७४ औं दिनमा हामीलाई जेलबाट गोस्वारा अड्डा लगियो र बडाहाकिम युगनाथ शर्माले “तपाईंहरू जस्तो देशको भविष्यका कर्णधारलाई यसरी थुन्नु भूल भएछ, मेरो कारणले तपाईंहरूको पढाइमा पनि क्षति भयो” जस्ता चिप्ला कुरा गर्दा मलाई रिस उठेछ । “हिजो हामीलाई सफाइको मौका नदिई थुन्ने, अहिले चिप्लो सहानुभूति दिने ? तपाईं अधिकारवाला मान्छे, हामीलाई अरू थुन्नुहोस्, आखिर १ वर्षसम्म थुन्ने अधिकार छँदैछ” भनेर मैले बडाहाकिमलाई भन्दा दैवज्ञजीले मलाई थामथुम पारी साम्य बनाउनुभयो । भोलिपल्ट जेलबाट हामी छुट्दा हाम्रा समर्थक साथीहरूले पूफलमाला अविरसहित हामीलाई बजार परिव्रफमा गराएर भव्य स्वागत गरे ।
त्यसपछि हामी दुई भाइ आ–आफ्नो गन्तव्यतिर लाग्यौं । दैवज्ञजी काठमाडौं गएर उच्च शिक्षा अध्ययन गर्दै साहित्यिक क्षेत्रमा लाग्नु भयो, प्राध्यापन कार्यमा संलग्न हुनुभयो र साहित्य एवं प्राध्यापन दुवै क्षेत्रमा उचाइ प्राप्त गर्दै राष्ट्रिय प्रतिभा हुनुभयो । म अध्ययनपछि निजामती सेवामा प्रवेश गरी सेवा निवृत्त भएर हाल विराटनगरमा बसिरहेको छु । मेरो बाल्यकालदेखिका अति मिलनसार सहयोगी एवं दुःखसुखका साथी प्रिय मित्र दैवज्ञराज न्यौपानेको सम्झनामा यति लेख्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।
२०६९ साउन
हाल विराटनगर
आयो काल टिपी लग्यो प्रिय सखा दैवज्ञलाई पर
सम्झन्छौँ तिनका सबै गुन यहाँ हामीहरू सुन्दर।
प्रा.डा. ऋषिराम पोखरेल