त्यो समय सम्झँदा
वि.सं.२०१६ वैशाख महिनामा उत्तर गुजरातबाट शास्त्री परीक्षा दिएर म घर आएको थिएँ । मेरो पढाइका बारेमा थाहा पाएपछि बुबाआमा अति नै खुसी हुनुभएको थियो । त्यही समयमा भाइ दैवज्ञराज दिङ्लामा पढ्दा रहेछन् । उनी दिङ्लाबाट आफ्नो घर गोगनेको धाइपा आउँदा संयोगवश हाम्रो भेट भएको थियो । मेरो घरमा उनी आएका थिए । त्यसबेला मेरी आमाले हामीलाई दही–चिउरा खान दिनुभएको थियो । आज म साइतमा आएछु, किनकि दाजुको भोज खान पाइयो भनी भाइले भनेका थिए । त्यसपछि भने– रिजल्ट आएपछि म तपाईंलाई दिङ्ला पाठशालामा अवश्य लानेछु । त्यहाँ एक जना गुरुको ठाउँ खाली हुनेवाला छ । उहाँ हुनुहुन्थ्यो भोला दाहाल । त्यसपछि भाइ दैवज्ञराज दसैँको छुट्टीमा घर आए । म पनि शास्त्री पास भएँ । यो सुनेर उनी खुब खुसी भए । उनले भनेको इच्छा पूरा भयो ।
भाइले मलाई दिङ्ला लान आवश्यक व्यवस्था मिलाएछन् । गुरु हरिप्रसाद काफ्लेले मन्जुर गर्नु भएछ, उहाँ हुनुहुन्थ्यो प्रधानाध्यापक । वि.सं.२०१७ साल कार्तिक महिनाको २७ गते दिङ्लाका लागि हिँड्ने तयारी गर्यौं । म मेरो घरबाट खाना खाएर आमाबुबासँग बिदा भई धाइपा पुगेँ । भाइ दैवज्ञकी आमालाई म भान्जी दिदी भन्थेँ । भान्जी दिदी खुब खुसी हुनुभयो । दाजुभाइ राम्रोसँग जानू भन्नुभयो र हामी दाजुभाइलाई बाटाका लागि खाजा पुवा हालिदिनुभएको रहेछ । त्यतिबेला ठुलाबुबा पं.गणेशप्रसाद पुराण भन्न रिमचिम जानुभएको रहेछ । हिँड्ने बेलामा बुबासँग भेट भएन । दाजु जयप्रसाद घरमा हुनुहुन्थ्यो । उहाँले भन्नुभयो – शम्भु न्यौपाने मात्रै थियो, अब तीर्थराज पनि थपियो । जाओ, दाजुभाइ राम्रो मिलेर बस्नू है । जयप्रसाद दाइ पनि मलाई माया गर्नुहुन्थ्यो । त्यसपछि हामी दिदीसँग बिदा भएर हिड्यौँ ।
तित्यानी, कात्तिके, बानुवा हुँदै हामी दाजुभाइ हिँड्दै गयौँ । पिखुवा खोलाको छेउमा बसेर खाजा–पानी खाएपछि हामी उकालो लाग्यौँ । बाटामा गुजरातका बारेमा गफ गर्दै जाँदा उकालो काटेको थाहा नै भएन । दावाँ बजारमा रहेको इलाचाको दोकान हुँदै दाजु पं.केशवानन्दको घर पुगेर बस्यौँ । दाजु पनि पुराण भन्न जानुभएको रहेछ । भोलिपल्ट पनि खाजा खाएर उकालो लाग्यौँ । उकालामा पनि गुजरातकै बारेमा गफगाफ गर्दै हिँड्यौँ । पात्लेपानीको धारामा पुगेर पानी खाई बर्छेको लेक हुँदै घुर्पिसे पुगेर एकछिन आराम गर्यौँ । ओरालो हिँड्दै तीनतले, चित्रगुप्त, निगुरे हुँदै साँझपख चिसापानी पुगेर होमनाथ भण्डारीको घरमा बास बस्यौँ । भोलिपल्ट बिहान खाना खाएर ओरालो हिँड्दै नागीको चौतारामा एकछिन बसेर दिङ्ला भञ्ज्याङ पुग्यौँ । एकैछिनमा छात्रावास पुगेर बुर्जा कोठामा केही समय आराम गरी गुरु महाराजको दर्शन गर्न गयौँ, त्यो समय थियो कार्तिक ३० गते ।
भाइले सबै गुरुहरूसँग परिचय गराएपछि प्रधानाध्यापकसँग पनि परिचय भयो । वि.सं.२०१७ साल मङ्सिर १ गते मैले शिक्षकका रूपमा नियुक्ति पाएँ, सचिव भैरवनाथ चापागाईंबाट मासिक रू.६० पाउने गरी । यो व्यवस्था मिलाइदिने व्यक्ति भाइ दैवज्ञराज नै थिए । म कक्षा १० लाई पढाउन कक्षामा गएँ । नयाँ भएकाले र पहिलो अनुभव भएकाले म केही भयभीत थिएँ । जसोतसो कक्षाबाट बाहिरिएँ । उता भाइलाई दाजु डराउनु भयो होला भनी चिन्ता भएछ । क्रमशः बानी पर्दै म दिङ्लामा बस्न थालेँ । म भाइ दैवज्ञराजको सहयोगले नै दिङ्ला बसेको थिएँ ।
वि.सं.२०१८ साल माघ २८ गते शनिबारका दिन स्थानीय एक चापागाईं थरका व्यक्तिले हाटमा चामल किन्ने सामान्य निहुँमा कठालोमा समाती भाइलाई घोक्र्याईमुन्ट्याई गरेछन् । बेलुका त्यो कुरा थाहा पाएपछि मलाई साह्रै दुःख लाग्यो । त्यस घटनाबाट आहत भएका उनले दिङ्लामा बस्न मन गरेनन् । साथै हामी सबैको सल्लाह अनुसार उनले दिङ्ला छोड्ने नै भए । त्यसबेला उनका साथीहरू वासुदेव भट्टराई, चण्डी भट्टराई लगायत ४१ विद्यार्थीहरूले अन्यत्र नै जाने निधो गरे । त्यसपछि उनी दाङतिर गएछन् । यो घटनाले मलाई जीवनमा सबैभन्दा बढी दुःख लागेको थियो ।
त्यसपछिका दिनहरूमा आ–आफ्नै ढङ्गले जीवन भोगियो । जीवनमा अनेकौँ सङ्घर्ष गरेर हामी सबैले गौरव गर्ने गरी भाइ दैवज्ञ राष्ट्रिय रूपमा कवि र विश्वविद्यालयका प्राध्यापक बनी राष्ट्रिय व्यक्तित्व भए । र, अप्रत्यासित रूपमा यो संसार छाडेर गए । मेरा प्रिय भाइमा भावपूर्ण श्रद्धाञ्जलि ः–
मलाई अति नै माया गर्थ्यौ दाइ भनीकन
आज संसार छाडेर गयौ भाइ झ् छिटै किन ?
परोपकारमै तिम्रो बित्यो जीवन्त जीवन
स्रष्टा जीवन्त हे भाइ झ् श्रद्धाञ्जलि समर्पण ।
गोगने, तलाघर
हाल : कोटेश्वर, काठमाडौँ
मान्छे सभ्य बन्यो उठ्यो कि अघिको भन्दा गिर्यो जीवन
सारा बन्धन तोडिए तर बन्यो धर्ती स्वयं बन्धन
बोलीका जति छन् कुरा सब तिनै हुन् कामना भिन्न छन्
छन् आडम्बरका सहस्र नमुना साँचा कुरा बन्द छन्
दैवज्ञराज न्यौपाने, शान्तिकामना, २०६३
प्रजातन्त्र भए राम्रो जनता हक पाउँछन्
मर्यादा देशको हुन्छ सबै मित्र रमाउँछन्
उद्योग गरिँदा राम्रो देशले सुख पाउँछ
अर्को जन्म भए फेरि त्यसैमा फुल्न चाह छ।
दैवज्ञराज न्यौपाने, अर्को जन्म भए फेरि, गरिमा, २०६४