कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञ दाइ : मेरो सम्झनामा

तारानाथ गौतम

नीलो आकाशमा टह–टह जुनेली प्रकाश छरिँदा धर्तीका रुख विरुवा वनस्पति, खोला खोल्सा र पाखा पखेराहरु पनि जुनको शीतल अंकमालमा उन्मुक्ततामा रमाइरहेको अनुभूति हुन्थ्यो । धादिङ पाल्चोकको पश्चिमपट्टिबाट कलकल बग्ने चिरौँदी खोलाको जलप्रवाहले सिर्जना गरेको स्वाँहाँ....... को एकोहोरो आवाजले रातमा कराउने लाटो कोसेरो हुचिल र कुकुर भुकाइको एकोहोरो स्वरलाई पनि जितिरहेको अनुभव हुन्थ्यो । म भर्खरै दश वर्ष टेकेको भए पनि कति पटक यसअघि मेरा बा नीलकण्ठ गौतमसित यसै चिरौँदी खोलाको घट्टमा मकै पिध्न रातमा घट्टमै बास बसेको थिएँ । त्यो बेलाको र अहिलेको चिरौदी खोलाको आवाज मलाई घेरै फरक लागिरहेको थियो । अघिपछि म बा सित घट्टमा एकरात बिताएर विहानै आफ्नो घर फर्किन्थे तर आज आमा र घरलाई छोडेर यसै खोलाको बाटो धेरै समय घर फर्किन नपाउँने गरीे बासित बिहान जुनेलीको प्रकाशमा काठमाडौँ पढ्न जान निस्किइरहेको छु, अनेक भय र आशंका मनमा बोकेर । अगाडिका डाँडा, थुम्का र उकालो बाटाको यात्रा, बागेश्वरी र सोलेको ओरालो, महेश खोला र खेष्टे खोलाको कछाडकछाडै काठमाडौँ पुग्न ३ दिनको पैदल यात्रा मेरा लागि धेरै कष्टकर रहेको थियो ।

बाले दाजु डिल्लीप्रसाद गौतमलाई पनि २/४ वर्ष अगाडि आज मलाई जस्तै काठमाडौँ पुर्‍याउनु भएको थियो । मेरो दाज्यू संस्कृत छात्रावासमा बस्नुहुन्थ्यो । म पनि बासित काठमाडौँ गएपछि छात्रावासमा दाज्यूलाई भेट्न जाने क्रममा रानीपोखरी संस्कृत छात्रावासमा दैवज्ञ दाइसँग आजभन्दा करीव ४० वर्षअघि मेरो पहिलो पटक भेट भएको थियो । मेरा दाजु डिल्लीप्रसाद र दैवज्ञ दाइको बीचमा राम्रो घनिष्ठता रहेको कारण मलाई त्यस दिन दैवज्ञ दाइले डिल्लीको भाइ भनेर धेरै माया गर्नुभयो । म्वाइँ खानुभयो, काखमा राख्नुभयो । मेरो दाजुको विवाह भइसकेको थियो । दैवज्ञ दाइले मेरी भाउजूका बारेमा सोध्नुभयो । जे–जे सोध्नुभयो मैले नढाँटी सवै कुरा भनिदिएको थिएँ । त्यसपछि मलाई झन् माया गरेर मेरा दाजुलाई के–के भनेर जिस्क्याउनु भयो, मैले सबै कुरा बुभिँफन, चुपचाप बसिरहंे । त्यो सम्झना मलाई अहिले पनि ताजै छ । मेरा दाजु स्वर्गीय भएको पनि धेरै वर्ष भइसक्यो ।

दैवज्ञ दाइ अर्थात् दैवज्ञराज न्यौपाने गोरो, अग्लो, हँसिलो सुन्दर अनुहार, प्रभावशाली व्यक्तित्व, म पटक–पटक संस्कृत छात्रावासमा मेरा दाजुलाई भेट्न जाँदा प्रायः उहाँलाई भेट्थँे, उहाँहरू कहिलेकाहीँ कोठामा खाना बनाउनु हुन्थ्यो, मगमग वास्ना आउने घिउ हालेको भात, घिउकै भुटुनमा पकाएको तरकारी, आगाका कोइला हालेर दमचुलो (फलामको सानो ओदान जस्तो भाँडोमा कोइला हालेर पकाउन मिल्ने) मा पकाएको परिकार कहिलेकाहीँ म पनि खान पाउँथे, कति मीठो ।

दैवज्ञ दाइ र डिल्ली दाइसँगै पीताम्बर दाहाल पनि छात्रावासमा नै बस्नुहुन्थ्यो । एकदिन म दाजुलाई भेट्न गएको थिएं, त्यस्तै दिनको ४ बजेको समय थियो होला, खै के विषयमा हो पीताम्बर दाहाल र दैवज्ञ दाइ ठुलो–ठुलो स्वरले कराएर बाझेको जस्तो शैलीमा भनाभन गर्दै हुनुहुन्थ्यो । म सानै थिएँ । विषय पनि मलाई सम्झना छैन तर सुरुमा दैवज्ञ दाइले मलाई माया गरेकाले उहाँसँग भनाभन भएको सुनेर मेरो मनमा पीर परेको थियो । अलि नमज्जा लाग्यो, किन दैवज्ञ दाइलाई यसरी गाली गरेको होला भनेर ।

म स्कुलमा पढ्दादेखि कहिलेकाहीँ छन्दमा कविता कोर्ने गर्थेँ । दैवज्ञ दाइले लेख्नु भएको छन्दका कविता अत्यन्त सुन्दर शैलीमा वाचन गरेको सुन्दा ओहो ! म पनि यस्तै कविता लेखेर यसै गरी वाचन गर्न पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो । तर मैले त्यस्तो गर्न सकिन । दैवज्ञ दाइको साहित्यिक र विद्वान् व्यक्तित्वका बारेमा चर्चा गर्न मेरो क्षमता पुग्दैन । त्यसैले त्यस बारेमा विद्वान् साहित्यिक समालोचकज्यूहरुबाट लेखिएका कुराहरू मेरो अध्ययनको विषय बन्नेछ । कति वर्ष अगाडि उहाँले रचना गरी वाचन गर्नु भएको कविताको हरफ मलाई कसरी कन्ठ भएको थियो ः–

बाटो हेर्लिन् विरह दिनका नित्य आँैला गनेर

सुस्केरामै मिरमिर हुनन् रात कोल्टो फिरेर

तिम्रैजस्तो म पनि दिनहँू देख्छु संसारलाई

भन्ने मेरो खवर लगिद्यौ कल्पदी वँैशलाई ।।

प्रियालाई सन्देश, २०२२ वैशाख

बेलाबेला यो कविताका हरफ भन्दै उहाँलाई सम्भिँफदै गर्छु । यो कविता जोर मुरली भन्ने कृतिमा रहेको कुरा मेरा साथी पूर्वाञ्चल विश्वविद्यालयका डीन डा. शम्भु कोइरालाबाट मैले जानकारी पाएँ । मैले आफँै अध्ययन गर्न सकेको थिइँन ।

एउटा विशेष साहित्यिक कार्यक्रम– भानुजयन्ती मनाउने क्रममा २०२९ सालमा उहाँसँगै तनहुँको चुँदी रम्घा जाने मौका मैले पाएको थिएँ । दैवज्ञ दाइसँगै माधव घिमिरे, क्षेत्रप्रताप अधिकारी, धर्मराज थापा, नरहरि आचार्य हुनुहुन्थ्यो । म र मेरा साथीहरु मोहन तिमल्सिना, श्री आचार्य, राजेन्द्रदेव आचार्य, तेजप्रकाश पण्डित पनि सँगै गएका थियौँ, तनहुँ– चुँदी रम्घामा । पृथ्वी राजमार्ग छोडेर भन्सारतिरबाट हामी सबै पैदलै गयौँ । त्यो वेला चुँदीसम्म मोटरको बाटो थिएन । चुँदी जाने क्रममा पहाडी बाटो एउटा सानो सुन्दर गाउँमा हामी पुग्यौँ, यौटा ठुलो चौतारो थियो । चौताराकै छेउमा चिटिक्क परेको एउटा सुन्दर घर, २ जना हिस्सी परेका गुरुङ युवतीहरू रहेको त्यस घरमा हामीले पिउने पानी माग्यौँ, पानी पिइसकेपछि धर्मराज थापाले एउटा गीत गाइहाल्नुभयो– जुका स्याउँ–स्याउँ, जुका स्याउँ–स्याउँ.., चुँदी खोला तरेपछि जुका स्याउँ–स्याउँ यस्तै– मेरी माया यतै छिन् हिउँको छाहारीमा, एक्लै गुन–गुन गर्दैछिन् मनको विरहमा । त्यो गीत ती दुई गुरुङ युवतीहरूलाई लक्षित गरेर धर्मराज थापाले गाउनुभएको हामीले महसुस गर्‍यौ, दैवज्ञ दाइ भने केही नबोली मुसु–मुसु हाँसी मात्र रहनुभयो । धर्मराज थापाले गाउनुभएको त्यो गीतको लय मलाई अहिले पनि आउँछ र झन्डै उहाँले गाउँनुभए जस्तै गरी अहिले पनि म गाउन सक्छु भन्ने मलाई लाग्छ ।

भोलिपल्ट चुँदी रम्घा गाउँमा पुगेर आदिकवि भानुभक्तको घर र भानुभक्तले प्रयोग गर्ने गरेका केही सामानहरु हेरियो । दैवज्ञ दाइले भानुभक्तको बारेमा आफैंले रचना गरेको शार्दूलविक्रीडित छन्दको एउटा सुन्दर कविता लय हालेर भानुभक्तको घरको ढुँगामा उभिएर वाचन गर्नुभयो । धर्मराज थापाले पनि छन्दकै कविता वाचन गर्नुभयो ।

त्यसैदिन तल चुँदी फाँटमा रहेको सेपा वगैचामा भानुजयन्तीकै सन्दर्भमा प्रतियोगितात्मक कविता गोष्ठी गरिएको थियो । मैले पनि भानुभक्तको बारेमा छन्दमा एउटा कविता सुनाएँ । दैवज्ञ दाइ परीक्षक मण्डलमा हुनुहुन्थ्यो, मेरो कविता ठिकै लागेर हो कि पहिल्यैदेखि मलाई माया गर्ने भएर हो मलाई दाइले द्वितीय पुरस्कार दिनुभयो । म हर्षले गद्गद् भएँ ।

दैवज्ञ दाइका कविताहरू विभिन्न पत्रिकाहरूमा छापिएका हुन्थे । खास गरी तत्कालीन अवस्थामा त्रि.वि.वि.कीर्तिपुरबाट निस्किने द्यौराली, गण्डकी छात्र समितिबाट निस्किने विवेक विन्दु, पश्चिम १ नं. छात्र समितिबाट निस्किने खोजी र सुदूर पश्चिमाञ्चलबाट निस्किने मालिका नाम गरेका पत्रिकाहरूमा उहाँका कविता छापिन्थे र उहाँले आफ्नो नाम पछि ठेगाना लेख्ने गर्नुहुन्थ्यो, भोजपुर, गोगने । ममा कौतुहल जाग्थ्यो, भोजपुर, गोगने भन्ने कहाँ होला, कस्तो होला आदि–आदि । अनि दैवज्ञ दाइको नाम देख्ने बित्तिकै भोजपुर, गोगने म सम्झिइहाल्थेँ ।

समयको अन्तरालसँगै मैले २०५२ सालमा भोजपुरको प्रमुख जिल्ला अधिकारी भएर जाने अवसर पाएँ । अनि म गोगने गएँ, दैवज्ञ दाइको घर भोजपुर गोगने । त्यहाँ पुगेर कल्पना गरेँ दैवज्ञ दाइ गोगनेका यही पाखा पखेरामा डुल्नुभएको थियो, यिनै खोला खोल्छा, रुख बिरुवा र वनस्पतिसँग हुर्किनुभएको थियो । कतिदिन दर्के पानीले पिटिनु भयो होला, कतिदिन घामको प्रखरतामा पिल्सिनु भयो होला र जाडोमा कठ्यांग्रिनु भयो होला । अनि एकछिन भावुक भएर दाइको त्यो सुन्दर र हँसिलो अनुहार सम्भिँफदै टोलाएँछु, मेरा सहयोगी र सुरक्षाकर्मीहरूले केही अनुभूति गरेछन् क्यार अनि बोल्ने बहानामा सर अब जाने होइन भनेपछि पो म झल्याँस्स भएँ ।

भोजपुरको प्र.जि.अ. भएकै वेला मैले “भोजपुर” नाम राखेर भोजपुर खण्डकाव्य लेखेँ । अनि त्यसको भूमिका दैवज्ञ दाइसँग लेखाएँ । उहाँले त्यस खण्डकाव्यलाई शतक काव्य भन्ने नामकरण गरिदिनुभयो, त्यसमा शार्दूलविक्रीडित छन्दका १०० श्लोक थिए, त्यसैले त्यसलाई शतक काव्य भनेर लेख्नु भएको हो ।

भोजपुरको साल्पा पोखरीको वर्णनमा मैले लेखेको उक्त खण्डकाव्यको एक श्लोक–

एक्लै पर्खिइ बस्तछयौ कति तिमी हेमन्तको रातमा

छाती छेड्दछ वेगले दिनदिनै चर्को सिरेटो यहाँ

तातो स्पर्श र अंकमाल रविको भित्र्याउने चाहना

होला त्यो दिल भित्रभित्र हिमकी हे बैँसशाली मुना ।

त्यस्तै ढाकर बोकेर जिन्दगी बिताउने भरियाहरूलाई प्राकृतिक सौन्दर्यले केही प्रभाव पार्न सक्दैन भनेर लेखिएकोः–

बुक्की देख्छ गुराँस देख्छ कविले छाँगा चुली देख्दछ

खोल्सी देख्छ हिमाल देख्छ मनका संवेदना देख्दछ

झर्ना देख्छ पहाड देख्छ कविता देखेर त्यै लेख्दछ

भारी ढाकरमा लिएर भरिया खै के यहाँ देख्दछ ।

त्यस्तै भोजपुरको होम्ताङ क्षेत्र अति सुख्खा र अनुत्पादक ठाउँ छ, भोजपुरकै सुन्दर र अति उर्वर ठाउँ पनि छन्, धर्तीका सबै भू–भाग र सन्तान बराबर हुनुपर्नेमा किन पक्षपात भएको होला भन्ने आशयको एउटा श्लोक ः–

गर्छ्यौ हे ! किन पक्षपात धरती आमा बनेरै कति

यो व्रह्माण्ड विशाल माथि जिउने तिम्रै त हुन् सन्तति

काहीं छन् कति उर्वरा लहलहै बालीहरू सुन्दर

सुख्खा निर्जल छन् कहीँतिर भने होस्ताङ झै जर्जर ।

यी श्लोकहरू विशेष चर्चा गर्न योग्य भनेर उक्त भूमिकामा लेखेर मलाई उत्साह थपिदिनु भएको थियो । मेरो जीवनपर्यन्त उहाँको स्मृति र श्रद्धा सधैँ जीवन्त र अविस्मरणीय भएर रहिरहनेछ ।

वैशाख २७, २०६९

हाल : प्रमुख जिल्ला अधिकारी, मोरङ, विराटनगर

यौटै स्वप्न छरेर बीज उसको साहित्यझैँ सुन्दर

ब्यूँझाएर सुषुप्त भाव मनका सङ्गीत राम्रो स्वर

मान्छे बन्न सकून् अनन्त युगका सम्बन्ध मौलाउने

छोडी आपस भेदभाव कटुता विश्‍वास फैलाउने।

दैवज्ञराज न्यौपाने

शान्ति कामना (काव्य)