कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञ दाइप्रति श्रद्धासुमन

प्रा. चित्रकुमार गुरुङ

आजभन्दा चार दशक अघिको कुरो हो - जागिरे जीवनको क्रममा डा.केदार न्यौपानेसँग मेरो मित्रताको प्रगाढता फैलँदो थियो।त्यस समयमा बानेश्वरको शेरगण ब्यारेक (हालको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) पछाडि साथी केदार न्यौपाने बस्ने गर्नुहुन्थ्यो।भन्नुहुन्थ्यो - म दाजुसँग बसेको छु। मित्रको निमन्त्रणालाई स्वीकार गरेर साथीको बासस्थान अर्थात् दाजुको घरमा आएका थियौँ।ब्यारेकका सैनिक पालेहरूले कता केटा हो ! भनेर हामीसँग जिस्किएको अझै सम्झना छ।हामी मित्र केदारजीको डेरा अर्थात् दाजुको घरमा आवत-जावत गर्थ्यौँ। एक दिन दाजुसँग भेट भयो। गोरो, अग्लो, हँसिलो अनुहारको व्यक्तित्वलाई मित्रले हाम्रा दाजु भनेर चिनाउनुभयो।उहाँ हुनुहुन्थ्यो - दैवज्ञराज न्यौपाने।उहाँका कविताले प्रभाव त पार्थे नै।अझ उहाँको हँसिलो र रसिलो बोली-वचनले निकै छाप पार्‍यो। के छ केटा हो ! भनेर हामीलाई सम्बोधन गर्नुहुन्थ्यो।त्यसबेलासम्म मैले प्रत्यक्ष रूपमा उहाँको कवित्वशक्तिको रसपान गर्न पाएको थिइन। उहाँको कविताको रस पान गर्न पाएपछि त उहाँप्रतिको श्रद्धा अझ बढ्दै गयो।उहाँलाई अहिले सम्झँदा उहाँले हामीप्रति देखाउनुभएको प्रेम र माया अनि प्रदान गर्नुभएको उत्साहलाई नै अगाडि राख्‍नुपर्छ किनभने उहाँले हाम्रो व्यवसायलाई औँल्याएर मलाई भन्नुहुन्थ्यो– चित्र भाइ ! तिमी पनि बाहुन हौ, कहाँ गुरुङ हो र ! कार्यले बाहुन बनाएको छ।ब्राह्मण अर्थात् अरूलाई शिक्षा दिने गर्छौ, त्यसैले तिमी ब्राह्मण भयौ बाबु ! यो वाक्य आज मलाई प्राध्यापक पदसम्म पुग्ने प्रेरणाको स्रोत बन्यो।नत्र भने शिक्षण पेसालाई आदरका साथ हेर्ने परिपाटी नभएकाले वितृष्णा जागेर प्राध्यापन पेसा छोड्दै जाने मन:स्थिति पनि आउन सक्थ्यो।साँच्चै भन्ने हो भने प्राध्यापन पेसाप्रति मेरो मनमा श्रद्धा उत्पन्न गराउने परिस्थिति बनाइदिने काममा दैवज्ञ दाइका वचनले अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानमा मैले जागिर खाएको हुँ।त्यस संस्थानको महाराजगञ्ज क्याम्पसमा बेलाबेला अतिरिक्त क्रियाकलापका रूपमा साहित्यिक कार्क्रमहरूको आयोजना गर्ने गरिन्थ्यो।साहित्यिक थलोमा राष्ट्रकवि माधव घिमिरे, भूपी शेरचन, हरिभक्त कटुवाल लगायत त्यतिखेरका नामी कविहरूलाई बोलएर कविता वाचन गर्न लगाइन्थ्यो। त्यस क्रममा हाम्रा श्रद्धालु दाइ दैवज्ञ न्यौपानेलाई पनि निम्त्याउन चुक्तैनथ्यौँ। उहाँको कविता वाचन र प्रस्तुतीकरण ज्यादै आकर्षक र रोचक हुन्थ्यो। यस्तो अवसरमा मैले दैवज्ञ दाइको कवित्वशक्तिलाई राम्ररी चिन्ने मौका पाएको हुँ।लेख लेख्‍ने काममा पनि उहाँ मलाई हौस्याउनुहुन्थ्यो।बेलाबेलामा उहाँको सम्पादनमा प्रकाशन हुने पत्रिकाका लागि आधुनिक विषयमा लेख लेख्‍न मलाई प्रेरित गर्नुहुन्थ्यो।लेख लेखेपछि लेखकस्व या पारिश्रमिक पाइन्छ भन्ने कुरा पनि सर्वप्रथम मैले उहाँबाटै थाहा पाएको हुँ।

यिनै सम्झनाका क्षणहरू प्रस्तुत गर्दै उहाँप्रति नतमस्तक भएर हार्दिक श्रद्धासुमन अर्पण गर्छु।