जीवन : जन्मको उद्गम र मृत्युको सङ्गम
दैवज्ञ न्यौपाने मेरा प्रिय मित्र र लामो समयसम्मका सहकर्मी हुनुहुन्थ्यो । मेरा मनमा उहाँसित सम्बन्धित सम्झनाका अनेकौं तरेलीहरू छन् । मेरो उहाँसित सामान्य परिचय त छात्रावस्थादेखि नै भएको हो । समय क्रममा त्यो परिचय गाढिँदै गयो । प्रथमतः म उहाँको निश्छल एवं सरल स्वभाव र मन्द मुस्कानका साथ कुरा गर्ने शैलीबाट प्रभावित भएको हुँ । पछि उहाँका हृदयस्पर्शी कविता र गीत पनि सुन्ने अवसर मैले पाउन थालेँ । नेपालीमा एम.ए. गरेपछि उहाँले शिक्षण पेसा रोज्नुभयो र क्याम्पसमा पढाउन थाल्नुभयो । उहाँभन्दा सात–आठ महिनापछि म पनि त्यतैतिर तानिएँ । त्रि.वि.सेवामा पहिले मैले अङ्ग्रेजी शिक्षकका रूपमा प्रवेश गरेको थिएँ । पछि विषय परिवर्तन गरेर नेपालीकै शिक्षक बनेँ र मेरो सरुवा २०३५ सालमा पद्मकन्या क्याम्पसबाट नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा भयो । केही वर्षपछि दैवज्ञजीको पनि पाटन संयुक्त क्याम्पसबाट नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा नै सरुवा भयो । त्यसले गर्दा हामी दुई झनै नजिकियौँ ।
हामी सँगै काम गर्ने साथी भएकाले परस्पर अनेक विषयमा कुराकानी गर्थ्यौँ । हाम्रा कुरा कहिले आफ्नै प्राध्यापन कार्यसित सम्बन्धित हुन्थे, हामी दुवै जनाको आफ्ना धर्म र संस्कृतिप्रति पनि प्रचुर आस्था भएकाले कहिलेकाहीँ यी विषयमा पनि कुरा गर्थ्यौंँ । हाम्राबीच नेपाली कवि र कविताबारे पनि कुरा हुन्थे । उहाँ कविका रूपमा मभन्दा अग्रणी भए पनि दुबै जना छन्दमै कविता लेख्ने भएकाले एक–अर्काका कविता सुन्ने र सुनाउने पनि गर्थ्यौंँ । मैले विभागकै कार्यालयमा बसेर उहाँका कयौं गीत, कविता उहाँकै मुखबाट सुन्ने अवसर पाएको थिएँ । उहाँका भावसघन तर सुनिर्मित कविता र अनुभूति तरल गीत सुन्दा म आनन्दविभोर पनि हुन्थेंँ । साँच्चै उहाँ सहज प्रतिभाशाली कवि हुनुहुन्थ्यो । उहाँका कविताहरू प्रतिभा प्रसूत र साधनाद्वारा सुनिर्मित हुन्थे । उहाँले पनि मेरा पुफटकर कविता मात्र होइन, विभागकै कार्यालयमा बसेर सिङ्गै खण्डकाव्य नै सुन्नुभएको सम्झना मलाई छ ।
दैवज्ञजी र म केही साहित्यिक एवं प्राज्ञिक यात्रामा सँगै पनि गएका थियाँैं । त्यस्ता यात्रामध्ये एउटा यात्रा प्रसङ्गको सम्झना मलाई छ । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा, २०४२ सालतिर जस्तो लाग्छ, गोरखा जिल्लाको सदरमुकाममा कवि गोष्ठीको आयोजना गरिएको थियो । त्यसमा काठमाडौंबाट विजय मल्ल लगायत केही प्राज्ञहरूका साथै भरतराज पन्त, दैवज्ञ न्यौपाने र म जस्ता छन्दका कवि पनि सम्मिलित भएका थियौं । त्यहाँ पुगेपछि साँझ हामीले के सल्लाह गर्यौंँ भने हामी आज राती “गोरखा” बारे छन्दमा एक–एकओटा कविता लेखौं र भोलि बिहान सुनाऔं । त्यसै अनुसार हामीले एक–एक ओटा कविता कोरेर भोलिपल्ट बिहान सुनाएका थियौँ । भरतराज पन्तको कविता ठट्यौली पाराको थियो । कविवर माधव घिमिरेका कविताको एउटा पङ्क्तिलाई आधार बनाएर उनले हँसाउने किसिमका केही हरफ लेखेका थिए । मलाई अहिले जम्मा दुई हरफको सम्झना छ ः–
जहाँ रमाए अघिदेखि पुर्खा
बाटा भरी नै अति नै छ गिर्खा ।
दैवज्ञजीले अनुष्टुप् छन्दका केही पङ्क्ति सुनाउनु भएको थियो र यसलाई पछि परिमार्जन गर्छु भन्नु भएको थियो । के गर्नुभयो मलाई थाहा छैन । मैले पनि “गोर्खा” शीर्षकमा अनुष्टुप् छन्दमा केही हरफ कोरेको थिएँ जुन केही परिमार्जनका साथ पहिले एउटा पत्रिकामा छापियो र पछि मेरा पुफटकर कविताहरूको सङ्ग्रहमा सङ्कलित भयो । ती हरफ यस प्रकारका छन् ः–
छोडेर आज आएँ म जनसङ्कुल त्यो पुर
छोडेर मनका चिन्ता गोर्खा ! तिमी भएतिर
ग्रीष्मान्त पहिलो वर्षा तिम्रो प्रथम दर्शन
हे राष्ट्रजननी ! आओस् सधैँ यो मधुर क्षण ।
देख्यौँ नेपाल हामीले तिम्रै उज्ज्वल ज्योतिमा
तिमीले नै दियौ मीठो राष्ट्रको नवकल्पना
अझै पनि त्यही ज्योति छ हाम्रो मार्गदर्शक
तिम्रै अतीतको गाथा छ अभैफ प्रेरणाप्रद ।
जब यी पाउले मेरा कुनै गति नपाउलान्
जब जाँगर, उत्साह अघि बढ्न डराउलान्
अप्ठ्यारामा कुनै बेला लाग्ला आत्तिन यो मन
आउँला जननी ! तिम्रै पाउमा प्रेरणा लिन ।
हाम्रो उल्लेखनीय प्राज्ञिक यात्रा स्नातक तहको ऐच्छिक नेपाली विषयको पाठ्यव्रफम परिमार्जन सम्बन्धी त्रि.वि.द्वारा आयोजित गोष्ठीका सिलसिलामा गरिएको धरानको यात्रा थियो । त्यो गोष्ठी नेपाली केन्द्रीय विभागका तत्कालीन प्रमुख डा.वासुदेव त्रिपाठीको संयोजनमा सम्पन्न भएको थियो । त्यस गोष्ठीमा हामीले पनि कार्यपत्र प्रस्तुत गरेका थियौँ । धरान बसाइका क्रममा हामी दुबै जनालाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाइएको रहेछ । त्यतिखेर मैले दैवज्ञजीको दिनचर्यालाई राम्ररी नियाल्ने मौका पाएको थिएँ । मैले नियालेका कुरामध्ये एउटा कुरा के उल्लेखनीय लाग्यो भने उहाँ यात्रामा पनि चिराइतो र लसुन बोकेर हिँड्नु हुँदोरहेछ । उहाँलाई सुगर र प्रेसर दुबैको रोग छ भन्ने मलाई थाह थियो तर यस्ता रोगमा चिराइतो र लसुनको के उपयोगिता छ भन्ने चाहिँ थाहा थिएन । आयुर्वेदीय पद्धतिमा चिराइतोको ठुलो महत्त्व छ, कडा ज्वरोदेखि लिएर अन्य कयौं रोगहरूमा यो काम लाग्छ भन्ने कुरा उहाँबाट थाहा पाएँ । त्यस्तै लसुन पनि ब्लड प्रेसर र मुटुसम्बन्धी रोगका साथै श्वासप्रशोधनका दृष्टिले पनि उपयोगी हुन्छ भन्ने जानकारी उहाँबाट मैले पाएँ । धरानमा त्यतिखेर बाँसका चोइटाबाट बनेको सानो पेरुङ्गोजस्तो भाँडामा चिराइतो पाइँदो रहेछ, दैवज्ञजीबाट यसको उपयोगिताबारे सुनिसकेपछि मैले पनि चिराइतोका चारओटा पेरुङ्गा किनेर ल्याएको थिएँ र उहाँले जस्तै राती भिजाएर बिहानै त्यसको तितो पानी केही दिनसम्म पिएको थिएँ । त्यसैगरी उहाँकै देखासिकीमा बिहान–बिहानै एक–दुई केस्रा लसुन पनि खान थालेको थिएँ तर म कुनै कुरामा पनि नियमित नभएकाले केही दिनपछि छोडिदिएँ ।
एउटा अर्को प्रसङ्ग पनि म सम्झन्छु । संस्कृतमा कविता लेख्ने क्षमता मेरो नभए पनि दैवज्ञजीकै आग्रहले मैले “जयतु संस्कृतम्” को स्वर्णजयन्तीका अवसरमा प्रकाशित हुने स्मारिकाका लागि एउटा कविता लेखेर दिएको थिएँ जुन त्यस स्मारिकामा प्रकाशित पनि भएको छ । विभिन्न किसिमका प्रसङ्गहरूको चर्चाका क्रममा म एउटा भिन्नै किसिमका प्रसङ्गको पनि उल्लेख गर्न चाहन्छु । त्यो के हो भने मेरी श्रीमती सुभद्राले कुनै बेला सानोठिमीमा पनि पढेकी रहिछन् र त्यहाँ दैवज्ञजीले पनि पढाउनु भएको रहेछ । त्यसैले मसँगै सुभद्रा पनि भएको बेला उनलाई “म त भाउजू नभनेर चेली भन्छु” भन्नु हुन्थ्यो । उहाँकी धर्मपत्नी सुधालाई चाहिँ “यी तपाईँकी चेली” भन्नुहुन्थ्यो तर सुधाजी मेरा साथी विपिन कोइरालाकी बहिनी भएका नाताले म उहाँलाई बहिनी नै भन्थेँ ।
माथि मैले मित्रवर दैवज्ञजीलाई अहिले सम्झन खोज्दा मेरा मनमा तत्काल उठेका स्मृतिका छाहरूका आधारमा केही कुरा भनेँ । उहाँका बारे भन्न सकिने अरू पनि धेरै कुरा छन् । उहाँको आकृतिमा जुन रूप सौन्दर्य थियो त्यसको पनि मलाई अहिले सम्झना भइरहेको छ । त्यस्तै प्राध्यापकका रूपमा उहाँले आफ्ना छात्रछात्राहरूमा र हामी सहकर्मी प्राध्यापकहरूमा पनि जुन छाप छोड्नु भएको थियो त्यसलाई पनि म सम्झन्छु । सही अर्थमा उहाँ एउटा कुशल र सफल प्राध्यापक हुनुहुन्थ्यो । सबैभन्दा ठुलो कुरा त उहाँ कवि हुनुहुन्थ्यो, सारस्वत प्रतिभा भएका राष्ट्रियस्तरका कवि । उहाँसित सम्बन्धित अनेकौं सम्झनाहरू समयका क्रममा धुमिल हुँदै गए पनि उहाँका हृदयस्पर्शी कविता र गीतको प्रभाव धुमिल हुने छैन, आउने धेरै दिनसम्म भावसघन र अनुभूति तरल कविता र गीतका पाठकहरूलाई तिनले प्रभावित पारिरहने छन् ।
अन्त्यमा, जीवन भन्नु एउटा यात्रा मात्र रहेछ, जन्मको उद्गमबाट मृत्युको सङ्गमसम्म गरिएको यात्रा । जो जन्मन्छ उसको मृत्यु निश्चित रहेछ । यसलाई नियति भनौं वा दैवी विधान, जुन दुर्लङ्घ्य छ, टारेर टर्दैन । दैवज्ञजी भौतिक रूपमा अब हामीबीच हुनुहुन्न । तर उहाँले आफ्ना कालजयी कृतिहरू छोडेर जानुभएको छ जुन उहाँका जीवन्त स्मारक हुन् र जसले हामीलाई प्रेरणा दिइरहने छन् । यी शब्दका साथ म आफ्ना मित्रवरप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।
२०६९ श्रावण २०
कुलेश्वर, काठमाडौंँ