कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

एक कृति स्रष्टाका

कमल दीक्षित

तिथिमिति याद भएन, साल पनि सम्झन्नँ, तर आजभन्दा ४०/४५ वर्ष पहिलेको कुरो हो । श्रीदरवारटोलबाट म एक दिन गैरीधारा गएको थिएँ, आफ्नो हजुर्बाको घर । हामी त्यो घरलाई “ठुलो घर” भन्थ्यौं । ठुलोघरमा त्यसदिन एउटा भर्‍याङ उक्लेर म मटानमा मात्र पुगेको थिएँ, त्यहाँको सानो कोठाबाट एकजना मान्छे निस्केर आयो । राम्ररी दौरासुरुवाल कोट लगाएको अग्लो, गोरो राम्रो व्यक्तित्वको धनी मान्छे । तर मैले नचिनेको, कहिल्यै नभेटेको मान्छे । हाम्रो सदाम वन्दगी क्यै भएन । उनी खुरुखुरु तल ओर्ले म हजुर्बुवाको कोठातर्पफ लागें । हजुर्बुवाको दर्शन गरेपछि मैले त्यही हुनुभएका काछुबाबु (मेरो कान्छा काका) लाई त्यो सानो कोठामा ऐले को बसेको हँ ? भनेर सोधें । उहाँले भन्नुभयो “ए, एकजना विद्यार्थी हुन् रानीपोखरी वाल्मीकि कलेजमा पढ्छन् । हालै तीनधारा पाठशाला छाडे । भिनाजु चूडानाथ भट्टरायले हाम्रो केटाकेटीलाई पनि पढाइदिन्छन्, तिम्रो मणिकोशमा पनि मद्दत गर्छन् भनेर मिलाइदिएको । यहीँ बस्छन् । यहीँ बस्छन् पनि पढाउँछन् पनि, अनि बाबाको मणिकोशको काममा मलाई सघाउँछन् पनि ।” इत्यादि भनेर अर्थ्याउनुभयो । मैले ए भनें, तर नाम पनि सोधिनछु उनको त्यसबेला ।

त्यसका केही दिनपछि नै वासुदेव त्रिपाठीले बोलाएको एउटा कविगोष्ठी हो कि साहित्य आयोजनामा पुगेको थिएँ । तिनै व्यक्ति देखिए पेफरि । यस पटक मैले नाम सोधेँ त्रिपाठीजीसँग, चिनाइमागेँ । वासुदेवजीले उनलाई बोलाएर चिनाउनु भयो “यिनी दैवज्ञराज न्यौपाने, भोजपुरका, राम्रो कविता लेख्छन् ।” अनि मलाई चिनाउनुभयो “उहाँ कमलमणि मदन पुरस्कार गुठीका सचिव ।” दैवज्ञजीले उल्टै भने– “म चिन्छु । उहाँबारे मलाई केशवमणिजीले बताइसक्नु भएको छ
(केशवमणि भनेको मेरा काका) । ” काछुबाबु (उहाँका माध्यमबाट मेरो घनघनै भेट भयो उनीसँग, त्यसै अफिसमा, मणिकोशको काममा उहाँलाई सघाइराखेका बेला । हाम्रो भेटघाट पनि बाक्लियो । तर केहीपछि उनी त्यहाँ देखिएनन् । उनी त बिहे गर्ने तरखरमा लागेछन् । डेरा सरेछन् । अनि धरानतिर कता बिहे गरे रे । हाम्रो भेटघाट छुट्यो । त्यो भेटघाट प्रारम्भमा हाम्रो जसरी सुरु भएको थियो, त्यस्तै गरेर चटक्कै छुट्यो । तर पेफरि हामी जोडियौं पाटन कलेजमा । म सञ्चालनतर्पफ थिएँ, त्यहाँ उनी शिक्षणतर्पफ । तर हाम्रो साहित्य–चर्चा गर्न केहीले रोक्दैनथ्यो । भनूँ भने, दैवज्ञजीको र मेरो भेटघाट पहिले नाटकीय ढङ्गले सुरु भए पनि पछि यो काव्यिक पाराले अघि बढ्यो– कविता र काव्यका माध्यमले उत्तरोत्तर प्रगतिमा गयो यो । ठिक्क भर्तृहरिका “दिनस्य परार्ध छाया” जस्तै “लघ्वी पुरा वृद्धिमुपैति पश्चात्” भएर । त्यसको फल के भयो भने, म साल्ट ट्रेडिङमा छँदा त्यहाँ स्थापित “बालहितकारी पुरस्कार” द्वारा उनलाई सम्मान गर्न सकियो ।

कवि त दैवज्ञजी अव्वल थिए नै, तर शिक्षक पनि उनी उत्तिकै नोख थिए । राम्रो असल र सहृदयी “टिचर” का रूपमा ख्याति कमाएका थिए दैवज्ञजीले । अझ क्याम्पस चिफ हुँदा समेत उनको शालीनतामा अलिकति पनि कम बेसी आएन । उनी उही रहे– सौम्य, गम्भीर र भद्र अनि अम्लान । मेरो विचारमा त्यसको मुख्य कारकतत्त्व थियो, उनको कविहृदय । दैवज्ञराज न्यौपानेको कविहृदय कहिल्यै पनि ओभेफलमा परेन । त्यसको सृजनशीलता भनूँ, सृष्टि–धर्मिता कहिल्यै थामिएन । यता पढाउँदैछन्, प्रशासन पनि चलाउँदैछन्, उता सिर्जना पनि गर्दैछन् । यस्ता दैवज्ञ । कति कृति जन्माए उनले थाह छैन, तर जन्मेका सबै प्रकाशमा आएका छैनन् । किनभने उनका नामका मदन पुरस्कार पुस्तकालयमा समेत सबै विधाका गरी जम्मा १० ओटा किताप मात्र दर्ता रहेका छन् ।् कृति र पुस्तकको त के लेखा भयो र ? दैवज्ञ स्वयम् सशरीर नै एक कृति थिए स्रष्टाका !

१६ माघ २०६८