कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

सम्झनामा दैवज्ञराज न्यौपाने

एकमणि नेपाल

धरानबाट काठमाडौँं जान भनी २०३१ साल हिउँदमा कोषराज न्यौपाने, बद्री विशाल पोखरेल र म बस चढ्यौं।हामी ३ जनामध्ये बद्री गीत गाउनमा अलिक रहर गर्ने भएकाले उसलाई हामी गीत गाउन उकास्थ्यौं र उसँग कोषराजजी र म पनि स्वर मिलाइटोपल्थ्यौं।त्यस बखतका चल्तीका नेपाली र हिन्दी गीतहरू बद्रीले गुनगुनाउने गरेको थियो।बसमा हामीले गाएको रंग न ढंग ताल न सुरका गीत सुनेर मानिसहरू हामीलाई ट्वाल्ल परेर हेर्थे, हामीले गाएको गीत मन पराए भनेर हामी झन् मच्चीमच्ची गाउँथ्यौं।त्यस बेला पूर्वपश्चिम राजमार्ग बनिसक्न लागेको थियो।धरानदेखि पथलैयासम्मको बाटो बनिसकेको भए पनि कमला नदीमा पुल बनिनसकेकोले हामी कमला नदीसम्म एउटा बसमा आई कमला नदी नाउबाट तरी अर्को बसमा बेलुका वीरगंज आएर बसेका थियौं।

त्यस बखत दास यातायातका बसहरू पन्जाबी ड्राइभरहरूले चलाउँथे।बिहान वीरगंजबाट हिँडेको बस साँझमा टुप्लुक्क काठमाडौँं पुग्थ्यो।भैंसेमा ल्याएर होटलमा पेटभरि खाना खुवाएर सकीनसकी ठस्ठसी कन्दै बस सिमभन्ज्याङ्गको उकालो चढ्थ्यो, धेरैजसोले भैंसेमा खाएको भात सिमभन्ज्याङ्ग आई नपुगी फालिसक्थे, सानो बाटो घुम्ती र मोडहरू पार गर्दै जब सिमभन्ज्याङ्गलाई बसले पार गर्थ्यो यात्रुहरू अलिक राहतको अनुभव गर्दथे। हामी बसको लगभग पछाडिको सिटमा थियौं, एक त बस चढ्न पाए पुग्ने सोचाइ, दोस्रो सित्तैँ बस चढेका हामीलाई गतिलो अगाडिको सिट कल्ले दिन्थ्यो र ! फोकटमा बस चढ्न पाएकोमा त्यसै हामी दंग थियौं।हामीले धरानदेखि नै बसमा पैसा नतिरी आउने प्रयास गरेका थियौं तर कमला नदीमा पुल नभएको र उताका बस वीरगन्जसम्म नआउने भएकोले कमला नदीसम्म सित्तैँमा र त्यहाँदेखि वीरगन्जसम्मको मात्र भाडा तिरेका थियौं। अब वीरगन्जबाट काठमाडौँंंसम्म कसरी फोकटमा जाने यही सल्लाह गरेर बिहानै उठेर हामी अञ्चलाधीशको क्वाटरमा गयौं, हामीले आफ्नो परिचय दियौं, प्रयोजन बताएर भेट गर्ने इच्छा प्रकट गर्‍यौं।त्यस बखत रत्‍नबहादुर गुरुङ अञ्चलाधीश थिए।उनका सहयोगी आएर हामीलाई सबै सोधपुछ गरे।हामी धरानबाट आएका विद्यार्थी हौं, पुस्तकालयको लागि स्रोत जुटाउन र पुस्तक संकलन गर्न काठमाडौँं जान लागेका हौं, काठमाडौँं जान लाग्ने बसको टिकटको व्यवस्था वा निःशुल्क यात्राको व्यवस्था मिलाइदिन अञ्चलाधीशसँग अनुरोध गर्न आएका भनेपछि, उनी भित्र गए, अञ्चलाधीशले हामीलाई भेट त दिएनन् तर काठमाडौँंसम्म जान बसको निःशुल्क टिकटको व्यवस्था मिलाइदिए।ठुलै उपलब्धि हासिल गरेको ठानी बसको यात्राभरि हामी कसैलाई नगन्ने भएका थियौं।

त्यस बखत काठमाडौँंलाई नेपाल भनिन्थ्यो, नेपाल जान महाभारत थियो, हिँडेर आउन सम्भवै थिएन। विराटनगरबाट जोगवनी हुँदै रेल चढेर रक्सौल आउने र त्यहाँबाट बसमा काठमाडौँं आउँदा झन्डै ३ दिन लाग्थ्यो, त्यसबेला नेपाल खाल्डोमा पूर्वतिरको त्यति पहुँच थिएन। काठमाडौँंमा हामीले चिनेजानेका मानिसको बसोबास ज्यादै कम थियो। हामी काठमाडौँंमा उत्रँदा झलमल्ल बत्ती बलिसकेको थियो, सडक पनि त्यस बखत ठुलाठुला र चौडा लागेका थिए।हामीलाई साह्रै रमाइलो लागेको थियो काठ काठमाडौँं।त्यस रात हामी संस्कृत छात्रावासमा बसेका थियौं।

स्नातकोत्तरको पढाइ त्यसबखत काठमाडौँंमा मात्र हुन्थ्यो।पढाइ पूरा गर्ने र काठमाडौँंमा नै जागिर खाने सपना धेरैको भए पनि त्यो सपना सबैको पूरा हुँदैनथ्यो।त्यसैले धेरैजसो स्नातकको पढाइ सकेपछि आ-आफ्नै जिल्लामा गएर शिक्षक पेसा अँगाल्दथे।स्नातकोत्तरको पढाइ पूरा गर्न काठमाडौँं आइपुग्ने संख्या भने न्यून हुन्थ्यो। काठमाडौँंमा सहज पहुँच नभएका र आर्थिक अवस्थाको कारणले पनि त्यसबखत काठमाडौँं आउन धेरैलाई कठिन थियो।हामी बाहिरबाट आएकाहरूले कि त होटलमा बस्नु पर्थ्यो नत्र साथीभाइ चिनेजानेकाहरूको डेरामा शरण लिनु पर्थ्यो।त्यसरी डेरामा बसेकाहरूसँग पाहुनाको लागि सिरक डस्ना नहुने भएकाले हामीले आफूलाई चाहिने सिरक डस्ना बोकेरै ल्याएका थियौं।त्यस बेला हामी काठमाडौँंमा १५ दिन जति बस्यौं ।

त्यसको डेढ वर्षपछि मैले धरानबाट स्नातक पूरा गरें।त्यसबेला स्नातक पूरा भएपछि कि गाउँघरतिर गएर शिक्षक जागिर खानु पर्थ्यो कि स्नातकोत्तर पढन काठमाडौँं आउनु पर्दथ्यो।काठमाडौँं आउन मेरो त्यति अनुकूल वातावरण थिएन।घरपरिवारबाट बलियो सपोर्ट थिएन, अलमलमा थिएँ।काठमाडौँं आउन र यहाँ गुजारा गर्न त्यति सजिलो थिएन।

धरानमा पुरुषोत्तम गुरुको छत्रछायामा बसेर पढियो।पढाइको साथसाथै व्यावहारिक जीवनमा काम लाग्ने धेरै कुराहरू गुरुको संगतबाट सिक्ने मौका पाइयो।धरान बस्दा एकदिन गुरुले बैंकमा खाता खोलिदिनुभयो र महिनैपिच्छे केही रकम बचत गर्न सिकाउनुभयो।त्यसबखत १०० रुपैयाँ छात्रवृत्ति पाइन्थ्यो।त्यसबाट बचाएर केही रकम बैंकमा जम्मा गर्ने बानी हामीले बसाल्यौं र कहिलेकाहीँ रकम जम्मा गर्दा करिब १००० रुपैयाँ बैंकमा जम्मा भएको रहेछ।रकम बचत गर्न सिक्नु पर्दछ, बचत गरेर राख्यो भने त्यसले एकदिन ठुलो काम दिन्छ भनेर गुरुले हामीलाई सिकाउनु भएको थियो।घरपरिवारबाट अनुकूल हुँदा नहुँदै काठमाडौँं जानुपर्छ भनी गुरुले दिनुभएको हिम्मत र त्यही एक हजार रुपैयाँ लिएर म यो अहिलेको महानगरी भन्ने काठमाडौँंमा हाम फालेको थिएँ।आँट गरेपछि भगवान्‍ले पुर्‍याउँछन् भन्ने हिम्मत लिएर म तेस्रो पटक काठमाडौँं छिरें।यो २०३३ साल साउनको कुरो हो ।

काठमाडौँं आएपछि पनि के गर्ने भन्ने निश्चय थिएन।एम‌.ए.मा भर्ना भएर पढ्ने कि जागिर खोज्ने द्विविधामा नै केही समय बित्यो।एम.ए र आचार्यको दुवै प्रवेश परीक्षा दिएँ।त्यसको केही समयपछि ठूल्दाजु ज्ञानमणि नेपाल र भवकृष्ण नेपाल काठमाडौँंमा नै बस्ने र व्यवसाय गर्ने भनी आउनुभयो।त्यस बेलासम्म म माइला दाजु टंकमणि नेपालसँगै बसेको थिएँ।त्यसले गर्दा पनि एउटा आधार र भरोसा भने थियो।तर सबै परिस्थिति विचार गर्दा पढाइभन्दा पहिले जागिर खोज्नु पर्ने बाध्यता अनुभव हुँदै गएको थियो।त्यसैले जागिर खोज्ने कार्यलाई मैले प्राथमिकतामा राखें । तर यो महानगरमा भर्खर छिरेको म बबुराको कहाँ पहुँच हुनु र जागिर पाउनु।त्यसबखत हामीले चिनेजानेका, काठमाडौँंमा अलिक स्थापित भैसकेका र सबैले आशा भरोसा गर्ने एक मात्र व्यक्ति हुनुहुन्थ्यो- दैवज्ञराज न्यौपाने।भोजपुरतर्फका त्यसबखत यहाँ आएर बस्ने प्रायः सबैजना शनिवारको दिन उहाँकोमा जाने गर्दथ्यौं।कसैलाई जागिर चाहियो भनसुन गर्नु पर्‍यो, कसैलाई डेरा चाहियो, डेरा भाडा तिर्न पैसा सापटी चाहियो, परिवारबाट पैसा आएन खाँचो टार्नु पर्‍यो, सबै ठोकिने ठाउँ त्यही एउटा थियो।एक किसिमले भनौ अभिभावक वा आशाको केन्द्र उहाँ नै हुनुहुन्थ्यो।

दैवज्ञराज न्यौपानेको व्यक्तित्व उपत्यकामा स्थापित भैसकेको थियो, उहाँका सरस र रोमान्टिक कविताले, विद्वत्ता र शारीरिक व्यक्तित्वले उहाँको छवि उच्च र घनीभूत भैसकेको थियो।कविवर्ग र विद्वत् क्षेत्रमा मात्र नभएर राजनीतिक उच्च तह र प्रशासनिक उच्च ओहोदाका व्यक्तिहरूसँग पनि उहाँको पहुँच बनिसकेको अवस्था थियो।दैवज्ञराज न्यौपानेद्वारा छन्दमा लेखिएका रोमान्टिक कविताले त्यसबखत मुलुकभर एक प्रकारको तरंग नै ल्याएको थियो।उहाँको लेखनीको उर्वरकाल नै त्यतिवेला थियो भन्दा हुन्छ।कालीदासको मेघदूतको झल्को दिने खालका कविताहरू नेपालीमा लेखिँदै थिए,- भन्ने मेरो खबर लगिद्यौ कल्पदी वैंशलाई र ए बैनी हो ! रिबन चुँडिद्यौ स्यूर लालीगुराँस जस्ता कविताले उहाँको व्यक्तित्वलई अझ उचाइमा लैजाँदै थिए।

ज्ञानमणि दाजु र भवकृष्ण काठमाडौँ आएपछि पहिले नरदेवीमा डेरा लिएर बस्न थाल्नुभयो।केही समयपछि मछिन्द्रवहालमा डेरा खोजेर म पनि त्यहीँ बस्न थालेँ।त्यही बेला भोजपुर क्याम्पसमा प्राध्यापन गरिरहेका हरिप्रसाद नेपाललाई काँग्रेसी राजनीति गरेको आरोपमा तत्कालीन पञ्चायती सरकारले भोजपुरबाट पद्मकन्या क्याम्पसमा सरुवा गरिदियो।काठमाडौँ आएपछि हरिप्रसाद हामीसँगै बस्न थाले।हामी चार जना भयौं।

त्यस बखत काठमाडौँ उपत्यका नगर विकास आयोजना भर्खरै लागु भएको थियो।त्यस आयोजनाको प्रमुखमा तत्कालीन वाग्मती अञ्चलाधीश कार्यालयका सह-अञ्चलाधीश तेजप्रसाद उपाध्याय पोखरेल हुनुहुन्थ्यो। त्यस आयोजनाका लागि केही कर्मचारी आवश्यक छ भन्ने कुरा थाहा पाएपछि अब त्यहाँसम्म कसरी पुग्ने? उपाय एउटै थियो- दैवज्ञराज न्यौपाने।उहाँको नरम स्वभाव र सहयोगी व्यक्तित्व भएकाले उहाँसँग सबैको पहुँच सरल थियो। पदीय हिसावबाट उहाँ त्रिभुवन विश्वविद्यालय अन्तर्गतको उपप्राध्यापक र राम्रा कविता लेख्‍ने एक लेखक बाहेकको ठुलो हैसियत थिएन तर उहाँको व्यक्तित्व भने माथिल्लो तहको थियो र उच्च ओहदाका व्यक्तिहरू पनि उहाँको कदर गर्थे।उहाँ जस्तोसुकै समस्या लिएर गए पनि सम्झाएर बुझाएर पठाउनुहुन्थ्यो। झर्कोफर्को गरेर अँध्यारो मुख समेत लगाएको कहिले देखिएन। बिस्तारै बोल्ने, २५% कुरा त उहाँले बोलेको म चाहिँ बुझ्दिनथेँ।तर मसिनो नम्र बोली र सरल स्वभावका धनी दैवज्ञराज न्यौपानेसँग हुँदैन भन्ने शब्द नै थिएन।

काठमाडौँमा टिक्न मेरा लागि जागिरको सख्त जरुरी थियो।नगर विकास आयोजनामा प्रवेश गर्न बेलुका भवकृष्णसँग सल्लाह भयो।भवकृष्णले योजना बनाए, ठूला काका (ज्ञानमणि) र दैवज्ञ काकालाई लिएर जानुपर्दछ, उहाँहरू गएपछि तेजप्रसादजीले पक्कै नाइँ भन्न सक्नुहुन्न, उहाँहरूलाई अगाडि राखेपछि अरू कुरा मिलाएर म गरिहाल्छु।भवकृष्ण नेपाल कुरा गर्नमा अत्यन्तै सिपालु र आफ्ना कुरा राख्‍न सक्ने खुवी उनमा भएकाले त्यही सल्लाह बमोजिम दैवज्ञ काकाकोमा बिहानै गएर भेटेँ।उहाँले तेजप्रसादजीसँग मेरो चिनाजानी पनि छ हुन्छ, कुन दिन जाने हो जाऊँ भन्नुभयो।त्यसबखत उहाँको डेरा बबरमहलमा थियो।नगर विकास आयोजनाको कार्यालय भृकुटीमण्डपमा थियो।अर्को दिन दिउँसो दैवज्ञ काका, ज्ञानमणि दाजु, भवकृष्ण र म नगर विकासको कार्यालयमा गयौं। गोरा, मोटा, खाइलाग्दो ज्यान भएका, बडाहाकिम जस्तो लाग्ने तेजप्रसाद पोखरेलको व्यक्तित्व थियो।व्यक्तित्व अनुसार अरूलाई सक्दो सहयोग गर्नुपर्दछ भन्ने भावना भएको मानिस उहाँ हुनुहुँदो रहेछ।मेरो जागिरका लागि आएको भनेपछि एक वचनमा उहाँले- हुन्छ दरखास्त दिएर जानू, केही दिनमा नियुक्ति दिन्छु भन्नुभयो।केही दिनपछि काठमाडौँ उपत्यका नगर विकास कार्यान्वयन समिति ललितपुरको जाँचकी ना.सु.पदमा मेरो नियुक्ति भयो।

त्यस बखत धरानमा पढेका समकक्षीहरूमध्ये प्रह्लाद पोख्रेल र म मात्र अहिले प्रशासन सेवामा छौं।अरू सबै कि त माध्यमिक शिक्षकमा कि त विश्वविद्यालय अन्तर्गत प्राध्यापन सेवामा छन्।प्रशासन सेवामा मेरो प्रवेशको सुरुवात यहीँबाट भएको थियो।अहिले म जुन अवस्थामा छु, त्यो अवस्थामा पुग्ने पहिलो खुट्किलो यही थियो।ना.सु.पदमा जागिर नखाएको भए सायद मेरो प्रशासन सेवामा प्रवेश हुँदैनथ्यो होला।यसको सबै श्रेय कवि दैवज्ञराज न्यौपानेलाई जान्छ।

उहाँ अहिले हाम्रा सामु हुनुहुन्न तर उहाँले गर्नु भएका सयौं उपकारी कार्य र गुणहरू हामी किमार्थ भुल्न सक्तैनौँ।साहित्यिक फाँटमा उहाँको अत्यन्त ठुलो लगानी छ, उहाँका साहित्यिक क्षेत्रका कालजयी रचनाले भावी पुस्तालाई पनि प्रेरणा प्रदान गरिरहने छन्, यिनै रचनाले उहाँलाई अमर बनाइरहने छन्।उहाँ भौतिक रूपमा हाम्रा सामु हुनुहुन्न तर उहाँले राज्यलाई दिनु भएको योगदानले हामीलाई सधैँभरि सम्झाइरहने छ।यस सन्दर्भमा कवि एवं प्राध्यापक दैवज्ञराज न्यौपानेप्रति हार्दिक श्रद्धासुमन समर्पण गर्दछु।अस्तु।