मेरा शालीन गुरु : दैवज्ञराज न्यौपाने
मेरो जन्म झापामा भएको हो । म दैवज्ञराज न्यौपानेलाई उनको “किसानको रहर” कविता पढेदेखि कविको रूपमा र २०३८ सालदेखि प्रत्यक्ष रूपमा चिन्दछु । म त्यसै साल झापाबाट विवाहित रूपमा काठमाडौं आएँ । मैले दैवज्ञ गुरुको प्रस्तुत कविता ५ कक्षामा पढेकी हुँ र यो कविता स्कूलमा पढ्ने सबै साथीहरूका मुखमा अड्ने गर्थ्यो । हामी कण्ठै पढ्थ्यौँ । म ७ कक्षामा पढ्दापढ्दै काठमाडौं आएकी हुँ । मेरा श्रीमान् हरिप्रसाद पराजुलीले तिनताक भर्खर अस्थायी सहायक प्राध्यापकका रूपमा त्रि.वि. सेवामा प्रवेश गर्नुभएको थियो । दैवज्ञराज न्यौपानेसँग मेरोभन्दा बढी उहाँको चिनजान थियो । दैवज्ञराज न्यौपाने उपप्राध्यापकको रूपमा त्रि.वि.मै कार्यरत हुनुहुन्थ्यो । म झापा जाँदा–आउँदा साथीभाइलाई भन्ने गर्थेँ– बुझयौ, “किसानको रहर” कविता लेख्ने कवि दैवज्ञराज न्यौपानेलाई म राम्ररी चिन्छु, उहाँ हामीकहाँ आउनु पनि भएको छ । यस घटनालाई मेरा साथीहरू बढो महत्त्वका साथ सुन्थे । दैवज्ञराज न्यौपानेसँगको मेरो सामान्य परिचय पनि गर्व र गौरवको विषय भयो । २०३८ साल असोजतिरको कुरो हो– हामी (श्रीमान् हरिप्रसाद पराजुली र म) यत्तिकै भृकुटीमण्डपतिर घुम्दै थियौँ । दैवज्ञराज न्यौपाने उहाँका भाइ केदार न्यौपानेका साथ त्यहीँ भेटिनु भयो । उहाँले मलाई दैवज्ञ न्यौपाने सर भनेर चिनाउनु भयो । गोरो, अग्लो, हँसिलो, ढाका टोपी लगाएको, लुगा त्यस्तै सफासँग चिटिक्क पारेर लगाएको तर एकदम मिजासिलो बोली भएको मानिस दैवज्ञराज न्यौपाने भन्दा म किसानको रहर कवितासँग न्यौपानेको व्यक्तित्वको मनमनै कल्पना र तुलना गर्न थालेँ । मलाई लाग्यो त्यति राम्रो कविता लेख्ने मान्छे पनि त्यस्तै राम्रो हुनुहुँदो रहेछ । मैले उहाँसँग दैवज्ञराजका सम्बन्धमा बाटामा र घरमा प्रतिक्रिया पनि गरेँ । केही वर्षपछि हामी डेरा गरी बसेको ठाउँ कुपण्डोल छोडेर इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको प्राध्यापक आवासमा सर्यौँ । न्यौपाने सर सायद पाटन क्याम्पसमा सहायक क्याम्पस प्रमुख हुनुहुन्थ्यो । उहाँकी श्रीमती रीता न्यौपाने इन्जिनियरिङ अध्ययन संस्थानमै काम गर्नुहुन्थ्यो । कहिले काहीँ हाम्रो भेट हुन्थ्यो । मोटरसाइकलमा श्रीमती न्यौपानेका साथ हिँडेको अवस्थामा हामीले दैवज्ञ सरलाई धेरै पटक देखेका थियौँ ।
मैले प्रमाणपत्र तह र स्नातकतहको अध्ययन पद्मकन्या क्याम्पसमा पूर्ण गरेकी हुँ । त्यहाँ नेपाली पढाउने हरिप्रसाद नेपाल सर हुनुहुन्थ्यो । उहाँ पनि दैवज्ञ सरजस्तै शालीन लाग्थ्यो मलाई । उहाँसँग पढ्दा दैवज्ञ सरसँग पढ्न पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो । दैवज्ञ सर पाटन क्याम्पसमा हुनुहुन्थ्यो । मेरा लागि यो कल्पनाको विषय मात्र थियो । मैले स्नातकोत्तर तहको अध्ययन पनि पद्मकन्या क्याम्पसमै गर्ने इच्छा गरेँ । तिनताक नेपाली विषयमा स्नातकोत्तर तहको अध्ययन गर्ने सुविधा त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पसमा पनि थियो । वातावरण बुभेफकाले मेरो इच्छा पद्मकन्यामै पढ्ने थियो । अर्को कुरा त्यहाँ पढ्दा प्रवेश परीक्षामा सफल नहुने समस्या पनि थिएन । मेरा श्रीमान् प्रा.डा.हरिप्रसाद पराजुली त्रिचन्द्र क्याम्पसमा नेपाली स्नातकोत्तर कार्यक्रमको संयोजक नै हुनुहुन्थ्यो । तैपनि अन्यत्र नगएर पद्मकन्यामै पढ्ने मेरो इच्छा रह्यो । उहाँले मलाई सल्लाह दिनुभयो– पाँच पाँच वर्ष पद्मकन्यामा पढ्यौ । अब किन त्यहीँ ? कीर्तिपुर नै गएर नयाँ र परिवर्तनको अनुभव गर न ! रह्यो प्रवेश परीक्षाको कुरा, त्यो त उत्तीर्ण भइहालिन्छ नि ! मैले पनि सोचेँ– जीवनमा परिवर्तन र नवीनता नै महत्त्वपूर्ण कुराहरू हुन् । राम्रै हुन्छ कि ? कीर्तिपुर नै जाऊँ न त ।
विश्वविद्यालय क्याम्पस कीर्तिपुर पढ्ने निर्णयका साथ म २०५८ साल पौषमा नेपाली स्नातकोत्तर तहको प्रवेश परीक्षा दिन गएँ । दैवज्ञ सर पनि पाटन क्याम्पसबाट सरुवा भएर कीर्तिपुर पुग्नुभएको थियो । प्रवेश परीक्षा हलमा पस्ने बित्तिकै कापी र प्रश्नपत्र लिएर बस्ने व्यक्ति एक्लै दैवज्ञ न्यौपाने सर हुनुहुँदो रहेछ । उहाँ मुसुक्क हाँस्नुभयो । त्यसै दिनदेखि मैले दैवज्ञराज न्यौपानेलाई शालीन गुरुको रूपमा पाएकी हुँ । त्यहीँ उहाँले महादेव अवस्थी सरलाई मेरो परिचय गराएको मैले परीक्षा हलबाट भुफलुक्क देखेकी थिएँ ।
शब्दकोशहरूले शालीनको अर्थ विनीत, नम्र, सुशील आदि धेरै दिएका छन् तर मलाई लाग्छ आचार र विचारमा शुद्ध र निपुण व्यक्ति नै शालीन हो । यस परिभाषाभित्र पनि नअटाउने असल व्यक्ति न्यौपाने सर हँसमुख, रसिक र ठट्यौलो स्वभावको हुनुहुन्थ्यो । उहाँ रिसाएको मलाई कुनै पनि क्षणमा अनुभव भएन । उहाँ हामीलाई पहिलो वर्षमा पाँचौ पत्र नाटक कविता अन्तर्गत कविता र दोस्रो वर्ष सातौँ पत्र खण्डकाव्य र महाकाव्य अन्तर्गत महाकाव्य पढाउनु हुन्थ्यो । प्रतिहप्ता बुधबार र शुक्रबार उहाँ क्लास लिनुहुन्थ्यो । हामीलाई यी दिन र क्लासको समयको व्यग्र प्रतीक्षा हुन्थ्यो । विभागले उहाँलाई कवि भएकै कारण कविता र कविताको बृहत् रूप महाकाव्य पढाउन दिएको थियो, जो हामीलाई उपयुक्त लाग्थ्यो । स्वच्छन्द भाव र परिष्कृत शैलीका कवि माधवप्रसाद घिमिरेबाट अनुप्रेरित न्यौपाने सरमा गुरुकै विशेषताहरू थिए । म सामान्य विद्यार्थी भएकाले उहाँको कवि, समालोचक प्राध्यापक व्यक्तित्वको गहिराइ नाप्न सक्षम त थिइन तर मलाई उर्मिला बहिनी झ् भनेर सम्बोधन गरेको र सबै साथीहरूलाई सधैँ रसिलो र हँसिलो व्यवहार गरेको देख्दा उहाँ असल गुरु मात्र होइन, सबैका आत्मीय अभिभावक जस्तो लाग्थ्यो ।
दैवज्ञ न्यौपाने मलाई आत्मीय अभिभावक लाग्नुमा अर्को एउटा कारण पनि छ– त्यो के भने उहाँ मेरा श्रीमान्का अभिन्न सखा कोषराज न्यौपाने सरका पनि आदर्शपुरुष र आफन्त हुनुहुन्थ्यो । सुनेकी थिएँ– कोषराज न्यौपानेले आफ्नो जीवनलाई दैवज्ञ सरकै अनुप्रेरणाबाट गतिशीलता दिनुभएको हो । म त ठान्छु– सायद कविगुण पनि उहाँबाटै प्राप्त गरेर त्यसलाई आशुत्व प्रदान गर्नुभएको हो । कोषराज सर त्यस्तो व्यक्ति हुनुहुन्छ– मैले काठमाडौंलाई आफ्नो कार्यथलो बनाउन अस्वीकार गरिरहेको अवस्थामा पनि यसको महत्त्व देखाएर आपूफसँगै जग्गा किनाएर राख्नुभएको छ । मलाई गर्व लाग्छ– उहाँले त्रि.वि.मा दीर्घसेवा पदक प्राप्त गरेपछि प्रवेश गर्ने मसँग उहाँको साख्यभाव स्थापित भएको छ । व्यावहारिक रूपमा उहाँले मसँग कुरा गर्दा र मैले उहाँसँग कुरा गर्दा आत्मीयता र निसङ्कोचपनको अनुभूति हुन्छ तर सिद्धान्तनिष्ठ न्यौपाने सरको मैले विचार पढेकी छु । उहाँ मन, वचन र व्यवहारमा अनेकता देखाउने जोकोहीलाई पनि सक्दो घृणा गर्नुहुन्छ । यस्तो व्यक्तिका अभिव्यक्तिहरूमा विरोधाभास पाउँदा भने मलाई थोरै आश्चर्य लाग्छ । हालै उहाँको “आकुञ्चन” ४/४ मा प्रकाशित लेख पनि मैले पढेकी छु । त्यस लेखमा उहाँले ठुला भनेको केही मानिसहरू मैलाई पनि ठुला लाग्दैनन् । आलेखमा ठुला मानिसहरूलाई महत्त्व दिँदै जाँदा कतै उहाँले आपैँफलाई सानो ठानेका र भावना र व्यवहारमा धेरै महत्त्व दिएका व्यक्तिहरूलाई लेखनमा बिर्सिएको आभास पाउँछु ।
जे होस्, आखिर यो अनित्य जीवनमा सम्झनै त ठुलो कुरो रहेछ तर हामी यस वास्तविकताबाट धेरै टाढा र स्वार्थी छौँ । कहिले काहीँ हामी कुरा पनि गर्छौँ– सक्षम व्यक्तिले मानिसलाई लेखेर सम्झनुपर्छ । नसक्नेले भावनाले सम्झिनुपर्छ, मुखले सम्झिनुपर्छ । हाम्रा धेरैजसो साथीभाइहरू यस्तो सम्झना आपैँफले मात्र पाइरहँू भन्ने ठान्छन् । सम्झना मात्र होइन, सहयोग पनि आपैँफलाई मात्र होस् भनी ठान्छन् तर अर्कालाई सम्झिनमा ठुलो गरिबी देखाउँछन् । दैवज्ञराज न्यौपाने सरले भने यो स्वार्थी मान्यतालाई सँधै घृणा गर्नुभयो । कविता र काव्यमा नेपाल र नेपालीलाई सम्झिनुभयो । नेपाली भाषा, संस्कृति, कला र प्रकृतिप्रति गर्व गर्नुभयो । क्लासमा सबै विद्यार्थीलाई सम्झिनुभयो र साथीहरूलाई सम्मान दिनुभयो । उहाँ एक दुई क्लास लिनेबित्तिकै सबै विद्यार्थीको नाम याद गर्नुहुन्थ्यो र बढो आत्मीयताका साथ विद्यार्थीहरूलाई नामले सम्बोधन गरेर व्यवहार गर्नुहुन्थ्यो । मलाई घमण्डै थियो– सरकी म प्रिय शिष्या हुँ । कोही कक्षामा गफगाफ गर्दै किन नहोस्, उहाँले त्यसलाई कहिल्यै वास्ता गर्नु भएन, अन्यथा लिनु भएन । प्रसन्न मुद्रामा आफ्नो अध्यापनको शैलीमा निरन्तर प्रतिबद्ध रहनुभयो । उहाँको यो स्वभाव र अभिनयात्मक शिक्षणकला मलाई साह्रै मन पर्थ्यो । उहाँको आकार र मुद्रामा देखिने प्रसन्नता, रसिक, शृङ्गारिक र मनोविनोदी अभिव्यक्ति र त्यसमा मिश्रित अभिनयात्मकता विद्यार्थीलाई सम्प्रेषण र आकर्षण दिने महत्त्वपूर्ण कला थिए । उहाँको यस्तो शिक्षणकलामा मुग्ध विद्यार्थीहरू अरू कुराको अपेक्षा राख्दैनथे ।
मेरा गुरु, कवि तथा प्राध्यापक दैवज्ञराज न्यौपानेको नितान्त व्यक्तिगत जीवनलाई लिएर थरीथरीका टिप्पणी–प्रतिटिप्पणीहरू नसुनिएका होइनन् । यस्ता टिप्पणीहरू औपचारिक रूपमा भन्दा अनौपचारिक रूपमा बढी गरिएका छन्, सुनिएका छन् । यससँग मेरो खासै चासो छैन । तर गुरुका हैसियतले र कविका रूपमा उहाँले गरेको काम र व्यवहारबाट म निकै प्रभावित छु । यसलाई उहाँको पारिवारिक र व्यक्तिगत कुरा जोडेर कदापि धमिल्याउन चाहन्न । उहाँको गरिमामय गुरुत्वभित्र रहेर २०५९–६० दुई वर्ष मैले नेपाली स्नातकोत्तर तहको औपचारिक शिक्षा लिएँ । तिनताका (अहिले पनि यथावत् छ) स्नातकोत्तर तहका विद्यार्थीहरूले कुञ्जिनी नामक मुखपत्र प्रकाशित गर्थे । नेपाली केन्द्रीय विभागलाई चिनाउने यो महत्त्वपूर्ण अनुसन्धानात्मक र प्राज्ञिक कार्य मानिन्थ्यो । यो काम विद्यार्थीको संस्था साहित्यकुञ्जको कार्यकारिणी समितिबाट सम्पन्न हुन्थ्यो । म पनि “सहसचिव” पदमा निर्वाचित भएकी थिएँ । आफ्नै विरुद्ध “बागी” उमेदवारीलाई समेत बेहोर्दै मैले अत्यधिक मत पाएर विजयी भएकोमा “कुञ्जिनी” का वरिष्ठ सल्लाहकारका रूपमा दैवज्ञ सर र डा.व्रतराज आचार्य सरसमेतले ठुलो खुसियालीका साथ मलाई बधाई दिनुभएको थियो । यी दिनहरू मेरो सम्झनामा ताजै छन् । तर समयले टाढा ल्याइपुर्याएको छ र शालीन गुरु दैवज्ञराज न्यौपानेलाई हामीबाट टाढा लगेको पनि वर्षदिन बित्न लागिसकेको छ । हामी जुन कुरा टाढा देख्छौँ त्यसलाई समयले नजिक्याइरहेको हुन्छ र जुन कुरालाई नजिक देखिरहेका हुन्छौँ, त्यसलाई टाढा पुर्याइरहेको हुन्छ । समयको यही असामान्य क्षमता मानव जीवनमा सर्वाधिकारी भएर रहेको हुन्छ । यो वास्तविकता नबुझने हामी अबोधहरू असन्तोष र पीडामा छट्पटाईरहेका हुन्छौँ ।
यद्यपि घरमा आएर पल्टाएर हेर्दा सबै सम्मजस्तो लाग्थ्यो तर दैवज्ञ सरले कक्षामा पढाएको सुन्दा भने कक्षा पूरै हँसिलो हुन्थ्यो र सबै छर्लङ्ग भएजस्तो लाग्थ्यो । उहाँले हामीलाई लेखनाथको “पिँजराको सुगा”, समको “स्वर्ग र देवता”, देवकोटाको “शाहजहाँको इच्छा”, माधवप्रसाद घिमिरेको “काली गण्डकी”, मोहन कोइरालाको “फर्सीको जरा” र वैरागी काइँलाको “पर्वत” जस्ता प्रतिनिधि कविका स्तरीय कविताहरू पढाउनुभयो । आधुनिक नेपाली कविताको इतिहासमा विकसित परिष्कारवादी धारा, स्वच्छन्दतावादी धारा र प्रयोगवादी धाराका मूलभूत मान्यताका सन्दर्भमा उक्त कविका कविताहरू उहाँले हामीलाई पढाउनुभएको थियो । न्यौपाने सर लेखनाथका “पिँजराको सुगा”, मेरो कैशोर, घिमिरेका “काली गण्डकी” र दुलही हिमाल कञ्चनजङ्घा पढाउँदा जति अत्युच्चरूपमा खुल्नुहुन्थ्यो । समको “स्वर्ग र देवता”, देवकोटाको “शाहजहाँको इच्छा” पढाउँदा त्यो उच्च स्पुफरणमा केही कमी देखिएको हामी अनुभव गर्थ्यौ । मोहन कोइरालाको “फर्सीको जरा” र वैरागी काइँलाको “पर्वत” मा आइपुग्दा त उहाँको भावभङ्गिमा, दिव्यस्पुफरण र प्रसन्नता अनि अभिनयात्मकतामा निश्चय पनि कमीको आभास पाइन्थ्यो ।
उहाँले “पिञ्जराको सुगा” कविता मीठो लयात्मक वाचनका साथ दार्शनिक, राजनीतिक र सुगाको जीवनसम्बद्ध सामाजिक तीन अर्थ दिएर बडो अभिनयका साथ कारुणिक मुद्रामा पढाउनुभएको थियो । “स्वर्ग र देवता” कवितामा पृथ्वी अर्थात् नेपाल नै स्वर्ग हो र मानिस अथवा नेपाली नै देवता हुन् भन्दा म निकै गम्भीर भएकी थिएँ । घिमिरेका “काली गण्डकी” र “दुलही हिमाल कञ्चनजङ्घा” पढाउँदाको उहाँको अभिनय हेर्नलायक हुन्थ्यो र कविताहरूमा पाइने प्रकृति चित्रण र भावाभिव्यञ्जनालाई उहाँ शब्दका साथै विशेष गरी हाउभाउकै माध्यमबाट बुझाउने गर्नुहुन्थ्यो । उहाँले “फर्सीको जरा” र “पर्वत” कविता पढाउँदा पनि सामान्य रूपमा आफ्नो अध्यापन शैलीलाई छोड्नु भएन ।
न्यौपाने सरले हामीलाई महाकाव्य पनि पढाउनुभयो । सोमनाथ सिग्देलको “आदर्शराघव” महाकाव्य, लेखनाथको “तरुणतपसी” नव्यकाव्य, जगदीश शमशेर जबराको “नरसिंह अवतार” नामक महाकाव्यहरू पनि रोचक ढङ्गले पढाउनुभयो तर देवकोटाका “शाकुन्तल”, “महाराणा प्रताप” र “प्रमिथस” पढाएको प्रसङ्ग मेरा लागि अविस्मरणीय र ताजै रहेको छ । “महाराणा प्रताप” मा न्यौपाने सर घोडा चढेको अभिनय गरेरै महाराणा प्रताप बन्नुहुन्थ्यो । “प्रमिथस” मा आगो चोरेर कुद्ने प्रमिथस बन्दा रमाइलो र हँसिलो अभिनय गरेर देखाउनुहुन्थ्यो । “शाकुन्तल” को मङ्गलाचरण पठाउँदा उहाँले जस्तो हाउभाउ र अभिनयात्मकता देखाउनुभयो, त्यो झनै सम्झनलायक छ र चित्ताकर्षक, रोमाञ्चकारी र मनमोहक पनि ।
मैले “शाकुन्तल” का पङ्क्तिहरूको सामान्य अर्थ पनि बुभेफजस्तो लाग्दैन । मेरा जीवनसाथी हरिप्रसाद पराजुलीलाई सोद्धा उहाँले पनि सामान्य बाहेक म पनि विशेष अर्थ बुझिदन भन्नुभयो । प्राध्यापक भएको डेढ दशक पार गर्दा पनि उहाँले बुझनुभएको छैन भने म त संस्कृत पृष्ठभूमिकी विद्यार्थी पनि होइन । कसरी बुझन सक्छु ? तर मैले सुनेकी छु– प्रा.डा.वासुदेव त्रिपाठी सर यस श्लोकको उच्च, बौद्धिक र सविस्तार व्याख्या गर्नुहुन्थ्यो रे । झट्ट हेर्दा यो श्लोक आशीर्वादात्मक मङ्गलाचरणजस्तो लाग्छ तर यसमा स्पष्ट रूपमा वस्तुनिर्देश छ र नमस्कारात्मकता पनि अन्तर्निहित छ । मङ्गलाचरणका वस्तुनिर्देशात्मकता, आशीर्वादात्मकता र नमस्कारात्मकता तीनवटै विशेषतालाई समाहित गरेर रचना गरिएको महाकवि देवकोटाको तीनमहिने महत्त्वपूर्ण महाकाव्य “शाकुन्तल” को पहिलो श्लोक अवश्य पनि अर्थगाम्भीर्यले ओतप्रोत हुनुपर्छ ।
“शाकुन्तल” महाकाव्यको सविस्तार अध्यापनको प्रसङ्ग थियो, दैवज्ञ सर क्लासमा आउनुभयो । कविता पढाउँदै कवि देवकोटा र उनका प्रवृत्तिहरूको सामान्य विवेचना गरिएको थियो । नेपाली कविताका भागीरथी देवकोटा हामीले थामेर थामिने प्रतिभा त थिएनन् तर दैवज्ञ सर त्यो प्रयत्न गरिरहनुभएको थियो । उहाँले सिधै “शाकुन्तल” को पुस्तक लिएर मङ्गलाचरण श्लोक पल्टाउनु भयो र चट्ट हातले चुड्की बजाएर भट्ट्याउँदै अभिनय गर्न थाल्नुभयो ः– “चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका” आँखा चिम्लिन थाल्नुभयो । तपस्या गरेको अभिनय गर्नुभयो । सुन्दर तालले नाच्न थाल्नुभयो । नचिनेको भान गर्न थाल्नुभयो र रुनु पनि भयो । यतिसम्म हामी साथीहरू कहिले हाँस्दै र कहिले गम्भीर हुँदै अनि घरि–घरि रोमाञ्चित हुँदै सुनिरहेका थियौँ, हेरिरहेका थियौँ । जब उहाँले एक्कासि मुस्कुराएर धत्तेरी मोरी ! किन त्यत्तिकैमा रोएकी ? भनेर प्याट्ट पिटेजस्तो गरेर चुम्बन दिएको अभिनय गर्नुभयो, सारा कक्षा खित्का छोडेर हाँस्न थाल्यो र छिनभरमै गम्भीर भयो । शिव बनेर रोइरहेकी आफ्नी गौरीलाई उहाँले पुफल्याएको रहेछ । दैवज्ञ सरले “शाकुन्तल” महाकाव्यको सिङ्गो पहिलो सर्ग नै यसै गरी व्याख्या गर्नुभयो । उहाँको व्याख्या थोरै अनौपचारिकता, अलिकति प्रहसन, अलिकति गम्भीरता र बढी हाउभाउ मिसिएको मधुपर्कतुल्य हुन्थ्यो । हामी यसमा लट्ठ हुन्थ्यौँ ।
२०६० मा म पढाइ पूरा गरेर शोधकार्य गर्नतिर लागेँ । ६१ सालको सुरुदेखि नै मेरो कीर्तिपुर नेपाली विभाग जाने काम परेन । केही समयपछि मैले सुनेँ– दैवज्ञ सर बिरामी हुनुभएको छ रे झ् उच्च रक्तचाप र मधुमेहका कारण उहाँलाई पक्षाघात भएको छ रे झ् म स्तब्ध र चेतनाशून्य भएँ । दैवज्ञ सरको नाम लिँदा उहाँसँग पढेर विश्वविद्यालयमा शिक्षिकाका रूपमा प्रवेश लिइसकेपछि पनि म उही बाल्यकालमा पढेको “किसानको रहर” कविताभित्रको दैवज्ञराज न्यौपाने सम्झिन्छु र त्यही कविताका केही अंश अहिले पनि गुनगुनाउने गर्दछु ः–
काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्न गर्नु नै पर्ने उकाली–ओराली
हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।
वार्णिक छन्द, झयाउरे लय र गीति भाकामा कवि दैवज्ञलाई खोज्न सकिन्छ । उहाँका असङ्ख्य कविताहरूमा गहिराइ नाप्न सकिन्छ, सबै विद्यार्थी र प्रबुद्ध नेपालीको अनुभवलाई सुन्न र पढ्न सकिन्छ । मैले उहाँका बारेमा धेरै बुझन सकेकी छैन तापनि मेरो बाल्यकाललाई सधैँ झस्काइराख्ने उहाँको प्रस्तुत एउटा कविता नै उहाँका मूलभूत काव्यप्रवृत्तिहरूको प्रतिनिधित्व गर्न सक्षम छ जस्तो म ठान्दछु ।
यो कविता १८ वटा लोकलयका पङ्क्तिहरूमा लेखिएको छ । कृषिप्रधान देश नेपालका किसान र उसको दैनिकीलाई यसले विषय बनाएको छ । किसानको रहर खेती गरेर आफ्नो दैनिकी सञ्चालन गर्नु हो । यसको मूलभाव पनि यही नै हो तापनि यस कवितामा के छैन ? राष्ट्रियता छैन कि ? नेपाली प्रकृति चित्रण र काव्यात्मक परिष्कार छैन कि, स्वच्छन्द भाव छैन कि ? यसमा नेपाली खेतबारीको चित्रण छ, परिश्रमको महत्त्वको बयान छ, हलो र जुवाको वर्णन छ र साँझ–बिहान, उकाली–ओराली, खोला, बाढी, घाम–पानी, बतास, भोक–तिर्खा, जून, शीत आदि नेपाली जीवनका प्राकृतिक सन्दर्भहरूको बयान छ । त्यति मात्र होइन, यस कविताले छोटै आकारमा जीवनको दृष्टान्त र आदर्श पनि प्रस्तुत गरेको छ । किसानले फलाएको धानका बालाको बयान गर्दै कवि लेख्छन् ः–
सुनौला बाला भुफलेर होला भुईँलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?
अहिले लोक भन्छ– दैवज्ञ सर हुनुहुन्न तर यसमा मलाई कत्ति पनि विश्वास लाग्दैन । म भन्छु– भौतिक र शारीरिक रूपमा उहाँ हाम्रा अगाडि अदृश्य हुनुभएको छ तर असङ्ख्य कविता र गीतमा, सङ्घ–संस्थाको नेतृत्वको परम्परामा, नेपाली राष्ट्रियता र प्रकृतिमा, प्राध्यापकहरूको जिम्मेवारीमा र विद्यार्थीहरूमा उहाँ अजरामर हुनुहुन्छ । उहाँको निष्ठा, शालीनता, सरलता, परोपकारी भावना र स्वच्छ तथा प्रसन्न व्यक्तित्वबाट अनुप्रेरणा लिएर कर्तव्य निर्वाह गर्न सके उहाँको सच्चा स्मृति र उहाँप्रति श्रद्धाञ्जलि हुने विश्वास गर्दछु ।