'सिर्जनाको लहर' मा दैवज्ञराज न्यौपाने
रोग नभै काट्न सकूँ जिन्दगीको क्षण
दैवज्ञराज न्यौपाने (१९९९–२०६८) नेपाली कविताका क्षेत्रमा सुपरिचित व्यक्तित्व हुन् । उनको पहिलो प्रकाशित कृति सिर्जनाको लहर (२०३४) हो । यस सङ्ग्रहमा ७५ वटा गीति रचना समेटिएका छन् । यो कृति गीत कविता क्षेत्रको प्रारम्भिक साधनाको चिन्तनगत आधार मात्र नभई उनको जीवन इच्छा रोग नभै काट्न सकूँ जिन्दगीको क्षण भन्ने मान्यताको सन्दर्भमा पनि स्मरणीय छ । उनको जिन्दगीको यो चाहना ठिक उल्टो भए पनि सिर्जनात्मक चाहना भने स्वस्थ र प्रगाढ नै देखिन्छ । जिन्दगीका अनेक अप्ठेरा क्षण र परिस्थितिको सहज स्वीकार सहित जीवनका ऊर्जाशील गीत गाउन पछि नहट्ने स्रष्टा न्यौपाने हुन् । विश्वास नै जीवनको आधार हो भन्ने न्यौपाने विश्वासको ज्योति अन्त हुँदा जीवन पनि सकिन्छ भन्छन् । जीवनको विश्वास आशावादी भएर अघि बढ्नु हो भन्ने मान्यता उनको देखिन्छ । उनी आफू माथि पुगेपछि अरूलाई भुल्ने, फूल हेर्दा काँडा भुल्ने, मन उदार होस्, मित्र थोरै बनून् तर शत्रु बन्ने कुरो नहोस्, सधैं पोल्ने घाम र रुझने पानी नभएको अवस्थाबाट जिन्दगीको एउटा रेखा सजिलै काट्न सकियोस् भन्ने विश्वास नै जिन्दगीको लक्ष्य भएको बोध गराउँछन् । आशावादी सङ्कल्पभित्र सुन्दरको गायन गर्ने स्रष्टा न्यौपाने हुन् । यिनै स्रष्टाको पहिलो प्रकाशित कृति सिर्जनाको लहरमा प्रयुक्त विविध विषयको भावपरक पठन यस लेखमा प्रस्तुत छ ।
सुनभन्दा पनि राम्रो सिर्जनाको धुन
दैवज्ञराज न्यौपानेको जीवन सङ्कल्प सिर्जनाका धुनमा रमाउने देखिन्छ । भौतिक कम र आत्मिक अझ सिर्जनात्मक क्षेत्रमा समर्पित व्यक्तित्व नै न्यौपाने हो । जीवनका अनेक यात्रा, प्रसङ्ग र गतिमा सिर्जनाको धुन राम्रो मानेर त्यसैको लयात्मक गुनगुनमा समर्पित प्रतिभा न्यौपाने हुन् । उनी आफ्ना जीवनका महत्त्वपूर्ण क्षण सिर्जनात्मक साधनामा नै बिताउन समर्पित देखिन्छन् । उनको यो सङ्कल्प सिर्जनात्मक जीवन यात्राको लक्ष्य प्रस्फुटन सिर्जनाको लहर कृतिमा नै भएको हो । उनी आँसु त्यसै सुक्छ गीतमा मनको इन्द्रधनुभित्र सिर्जनाको लहर खोज्छन् । प्राकृतिक सौन्दर्य, जिन्दगीका यात्रा, राष्ट्रिय गौरव, मायाप्रीतिका धुनका अनुभूतिजन्य यथार्थ आफ्नो सिर्जनात्मक चिन्तन भएको पनि यस सङ्ग्रहका गीतमा प्रस्तुत छ । बचाइ, सुख, प्रिय कुरा, दुःख, देश, बाँचुन्जेलको काम माटामा पसिना छर्ने विश्वास, जाँगरका बिउ छर्न तथा माया प्रीतिको लहलहाउँदो जोवनको गीत गाउन अनि सिर्जनात्मक विश्लेषण गर्न गीतकार केन्द्रित छन् । यिनका गीतमा जीवन बचाइको यथार्थ नै सिर्जनात्मक धुन हो भन्ने चिन्तन देखिन्छ । भूल छोडेर फूल बन्न सक्दा नै सिर्जनाको प्रगाढ अर्थ लेखिने विश्वास गीतकारको देखिन्छ । यही जीवन यथार्थ पढ्न सिर्जनात्मक साधनाको रोजाइ न्यौपानेको जीवनको उल्लेख्य पक्ष हो ।
विचारमा बिउ छर्ने जिन्दगीका खेत
सिर्जनाको लहरभित्रको एक लहर जिन्दगीप्रतिको सम्बोधन या चिन्तन हो । जीवनमा केही सत्कार्यको सङ्कल्प आवश्यक छ र आशामुखी जीवन लक्ष्यको सम्बोधन न्यौपानेको गीति चिन्तनको आदर्श हो । जिउँदै मर्नुभन्दा मरेर पनि जिउन सक्नु उत्तम हुने उनको जीवनको मान्यता छ । जीवनमा सुख सपना हो र दुःख यात्राको साथी हो भन्ने गीतकार यही आधारमा जिन्दगीको आफ्नो बाटो बोध गर्न उत्सुक छन् । विचार मनमा लेखिने भाव भएकाले त्यही भाव पढ्ने दृष्टि चिन्तन हुने मान्यताभित्र मनको त्यो सौन्दर्य गुणको उपासना हुँदा नै गीतकार मख्ख पर्छन् । धन या भौतिक सुख सामान्य भए पनि आत्मिक सुखभित्र जीवन बोध गर्न खोजेका गीतकार मान्छे बनी बाँच्न सकूँ भन्ने आदर्श रोज्छन् । मान्छे पूजा गर्ने देउता बन्ने होइन, मान्छे भएर नै सुखदुःखको जिन्दगीको मूल्यबोध गर्न गीतकार पछि पर्दैनन् । जीवन घाम–छाया भए पनि यसको महत्त्वबोध गरी बचाइको आदर्श बाटो रोज्नु नै जीवनको महत्त्वपूर्ण पठन हो भन्ने मत गीतकारको छ । जीवनमा जितहार, दुःखसुख, तलमाथि, भूल, सच्चाइ, जाँगर, अल्छीजस्ता पक्ष हुने हुँदा यी पक्षको मर्मबोध गरी मानिस भएर बाँच्न सक्नु नै उत्तम हो भन्ने जीवन आदर्श यिनका गीतमा आएको छ । जीवनमा असल पक्ष चयन गरी मृत्युबोध गर्ने सङ्कल्पमा गीतकार लेख्छन् ः–
जन्मेपछि मर्नै पर्छ सबले एक पाली
कसको आश राखौं हामी व्यर्थै जुनी फाली
पर्खे पनि अर्को हुन्न हाम्रो काम गर्ने
हामी आफँै निर्माता हौं जस्तो पनि गर्ने
जीवनमा आफ्ना अनेक कर्मसँगै जिन्दगीले नयाँ मोड लिने र जीवनको अर्थबोध हुने मान्यता यस सङ्ग्रहका गीतमा एक विशेषता भएर आएको देखिन्छ ।
जन्मैदेखि स्वतन्त्र यो राष्ट्र शक्तिशाली
न्यौपानेका गीतमा देशभक्ति र राष्ट्रिय स्वाभिमानको गायन पाइन्छ । उनी नेपाल र नेपाली जातिको सुन्दर र गौरवको खोजी गर्ने गीतकार हुन् । उनका गीतमा देशभक्तिको बखान मात्र नभई श्रम र सिर्जनाको सङ्गल्प पनि भेटिन्छ । गुराँससँग वीरता साटिएको मन्दिरै मन्दिरको देश या भूमिमा अनेक रङ र सिर्जनाको खानी भएको बोध गीतकारमा देखिन्छ । यो देश शक्तिशाली भएको राष्ट्रिय अभिमान पनि यिनका गीतमा आएको छ । हिमाल, पहाड, तराईभित्र वन जङ्गल नदीनालाको सङ्गमको अतुलनीय अवस्थिति नेपाली भूमि हो भन्ने व्याख्या गीतका पङ्क्ति–पङ्क्तिभित्र आएका छन् । देशको भौगोलिक र स्वाधीन अस्मिता तथा सांस्कृतिक पहिचान दिने नेपाली जातिको गौरव बुद्धभूमि भएर साटिएको मत यिनका गीतमा प्रस्तुत छ । नेपाली राष्ट्रियता र देशको उचाइ बोध गर्दै गीतकार लेख्छन् ः–
चेतनाको ज्योति राम्रो सिर्जनाको मूल
लेख बेँसी तराईको यौटै थुँगो फूल
गण्डकी र कौशिकीले पवित्र यो देश
मेरै जस्तो देश अर्को संसारमा के छ ?
आफ्नो बाँसुरीमा देशको गीत गाउन उत्सुक गीतकार यस देशको माटामा रसयुक्त जीवन र पसिना सिञ्चित सिर्जनाको सौन्दर्यमा रमाउने प्रतिज्ञा गर्छन् । उनी देशका लागि श्रम–शक्ति तथा सिर्जना आवश्यक भएकाले यस तीर्थस्थलमा स्वर्ग झार्न सकौं भन्ने सङ्कल्प व्यक्त गर्छन् । नेपाल भूमिप्रति सम्बोधन गर्दै गीतकार मेरो जन्मभूमि यही हो भन्ने गर्व गर्छन् । यही राष्ट्रिय अभिमानको गायन यस सङ्ग्रहका गीतमा स्पष्टसँग आएको छ । यस सङ्ग्रहभित्रका गीतमा राष्ट्रवन्दना, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय गौरवको गायन मूल प्रवृत्ति नै बनेको देखिन्छ ।
पर्वतको शिखरमा सौन्दर्यको मूल
न्यौपानेका गीतमा नेपाली प्रकृतिको सौन्दर्यात्मक उपासना देखिन्छ । नेपालका हिमाल, पहाड, तराई, नदीनाला, पूफल, ऋतु आदि प्राकृतिक सौन्दर्यको महिमागान न्यौपानेका गीतमा देखिन्छ । उनी प्राकृतिक सौन्दर्यको उपासना गर्दा नेपालीपनको गौरवबोध गर्छन् । जीवनका विविध पक्षको संश्लेषण गर्नु या प्राकृतिक सौन्दर्यमा जीवनको रस भर्नु न्यौपानेको गीतिलेखनको विशेषता हो । प्राकृतिक सौन्दर्यमा हराउँदै गीतकारको बोल यसरी फुटेको छ ः–
पहाडको टाकुरीमा कसले खेल्यो होली
लालीगुराँस फुलै फुल्यो रातै रङ्ग घोली
यिनका गीतमा आरु फुलेको सौन्दर्य, लेकबेंसीको यात्रा, ऐंसेलु, काफल, देउराली र चौतारीको शीतल आदि प्राकृतिक तथ्यभित्र सौन्दर्य खोजी गरिएको छ । प्रकृतिभित्र जीवन र संस्कारको सिर्जनात्मक धुन सुसेल्न कवि न्यौपाने उत्सुक छन् । यस सङ्ग्रहका गीतमा यो पक्ष एक प्रवृत्ति बनेको छ । कवि चराबाट सिकेको भाका, खोला र छालबाट सिकेको हिँड्ने कला, फूलबाट मुस्कानको सौन्दर्य, शीतका थोपाबाट रुने कला, वेदनाका चोटबाट दुःख र आनन्दका सोतबाट सुख सिकेको गीति अभिव्यक्तिमा पनि सौन्दर्यको मूल अभिव्यक्त भएको छ । साउन फर्केर धर्तीमा पानी बर्सने रितसँग धर्ती/पहाड हरियो हुने सन्दर्भमा पनि सौन्दर्यात्मक व्याख्या छ ः–
ताराले अँासु झार्ने छन् धर्तीको नीद ब्युँझन्छ
सुसेली हाल्दै छहरा उन्नति गीत छर्दिन्छ
कुलाले मात्रै पुग्दैन खोलाको भेल उर्लन्छ
झमझम झिलिमिली गरेर दरर पानी दर्कन्छ
प्राकृतिक सन्दर्भमा जीवन र सिर्जनाको अर्थ खोज्ने गीतकार दैवज्ञराज न्यौपाने हुन् ।
फक्रेर मात्र फूलले हुन्न सुगन्ध चाहिन्छ
न्यौपाने मायाप्रीतिका गीत लेख्न पनि सजग र सचेत छन् । यस सङ्ग्रहका गीतमा सङ्ख्यात्मक र गुणात्मक रूपमा पनि मायाप्रीतिकै बोल अगाडि देखिन्छ । प्रीतिको आदर्श व्याख्या, प्रेमको प्रगाढ मूल्य र जोवनको रसिलो अर्थ अन्वेषणमा गीतकार न्यौपाने सचेत छन् । उनी प्रेमको रसिक तिर्सनाभन्दा जोवनको यथार्थबोध गराउन उत्सुक छन् । फक्रेको जोवनमा कर्तव्यबोध र जिम्मेवारीभित्र सिर्जनात्मक अर्थ खोज्ने गीतकार जीवन बोधभित्र सुगन्ध खोजी गर्छन् । आफ्नै रूपले अलमल पार्ने, चढेको बैंससँगै पानी बनी बग्ने मनको यथार्थ बोध गराउँदै गीतकार यसरी फक्रेर मात्र नहुने यस फक्राइमा गुण या सुगन्ध या शील–गाम्भीर्यको खोजी गर्छन् । नओइलिने नमैलिने प्रीति नौलो सुगन्ध भएकाले त्यस सुगन्धमा मान्छेको अर्थ प्रगाढ भएको दृष्टान्त पनि बोध हुनुपर्ने उनको मत छ । पहिलो दृष्टि परेको या प्रीति बसेको ठाउँमा नै माया बढ्छ भन्ने सन्दर्भभित्र प्रीतिको बखान पनि गीतमा आएको छ । प्रीति बोली हो र यो प्यासलाई तृप्ति दिने मिठो माद पनि हो भन्ने बोल यस सङ्ग्रहका गीतमा आएको छ । बिर्सँूभन्दा पनि सधैं स्मृतिमा रहने मुटुको नाद भएर ढुक्ढुकीमा साटिने, फूलको आभा भएर चम्किने प्रीति सुगन्धमा नै अर्थपूर्ण हुने र यसलाई प्रीति शब्दमा साट्न नसकिने भन्दै गीतकार लेख्छन् ः–
जूनभन्दा भिन्नै अनि फूलभन्दा भिन्नै
वसन्तकी रागिनीको गीतभन्दा भिन्नै
यस्तो भन्ने अर्को छैन भनूँ कस्तो कस्तो
भनूँ भन्नै नसकिने मनले चाहे जस्तो
एकान्तको बाँसुरीमा सधैँ बज्ने त्यही अमर प्रीतिको धुनमा जीवनको लय सरस र गम्भीर हुने यथार्थमा गीतकार रूप मात्र नभई गुणको आस्वादन गर्छन् । यही विश्वासमा नै प्रीतिको अर्थ प्रगाढ हुने उनको मान्यता छ । सिर्जनाको लहरभित्रका गीतमा यो बोल एक प्रवृत्ति भएर रहेको छ ।
मेरै मन ममा छैन कसले लग्यो छली
गीतकार न्यौपाने प्रीतिका विविध सन्दर्भ बोध गराउन शब्द साधनामा लागिपरेका छन् । प्रीतिको भाव पढ्ने सन्दर्भमा उनी बैंसका उत्ताल छालको भाव सञ्चय गर्छन् । उमेरको यो अवस्था र आकर्षण मनको उन्माद भई आफँैलाई छलेर पोखिन आतुर भएको अवस्थाप्रति गीतकार सम्बोधन गर्छन् । यो सम्बोधन वसन्तको पहिलो प्रीति, जोवनको रसिक उपस्थिति र आफैँलाई छलेको अवस्था आदिबाट प्रस्तुत छ । वसन्तको पहिलो प्रीतिलाई बोली दिने शब्द नपाउँदा गीतकार लेख्न पुग्छन् ः–
केही केही सुख जस्तो केही दुःख जस्तो
मनभित्र मनै राखी मनै साटौं जस्तो
त्यसै पनि मात लाग्ने रंग चढ्यो कस्तो
पोखिएर पहिलो चोटि बगौं बगौं जस्तो
जीवनको यो अवस्था पृथक् छ अनि मनका उत्ताल छालमा आफ्नै विशेषताको मोहनी छ भन्ने गीतकार यो अवस्था शब्दमा भन्न उत्सुक छन् । मनको धुक्धुकीमा कोही बसेर गाएजस्तो, आपूफसरि बसन्तले शिल्प भरेजस्तो, सपनीमा सताउने अवस्थाको सहजभाव यिनका गीतमा लेखिएको छ । यो बैंसालु मनको बोल गीतकारका शब्दमा यसरी प्रस्तुत छ ः–
कस्तो बैंस चढ्यो मलाई लाग्ने त्यसै लाज
आफ्नै छाया हेरी हेरी टोलाउँछु आज
सिर्जनाको लहरमा यही आफ्नो मन आफ्नै वशमा नहुने बैंसालु अवस्थाको बोल सहज रूपमा आएको छ । यो प्रवृत्ति पनि गीतकार न्यौपानेको सशक्त पक्ष हो ।
तिमीविना जिन्दगीका गीत हुन्नन् पूरा
न्यौपानेका गीतमा तिमीप्रति गरिएको सम्बोधन पनि विशेष अर्थपूर्ण देखिन्छ । गीतकार तिमीको प्रतीक्षासँगै विभिन्न सन्दर्भ र प्रसङ्गमा तिमीप्रति सम्बोधन गर्छन् । यस सम्बोधनमा “तिम्रो प्रीत मिठो भएको” बोध छ । गीतकार सपनीमा मात्र नभई बिपनीमा पनि आउने गर भन्दै “तिमी” सधैं मन पर्ने मायालु भएको स्पष्ट पार्छन् । यस क्रममा “तिमी” लाई जीवन साँची ल्याउने माया, आफ्नै मुटु दिन वाचा गर्ने, आफूलाई राजा सम्झी दिने, नौ डाँडावारि भए पनि बाडुलीमा आउने, उनकै गीत गाउन मन लाग्नेजस्ता सन्दर्भसहित सम्बोधन गरिएको छ । यो सम्बोधनभित्रै तिमीको परिचय पनि आएको छ । फूल–काँडा, घाम–छायाभित्र यो सम्बन्ध अर्थपूर्ण हुने मान्यता पनि गीतकारको छ । तिमीलाई आफ्नो मुटु ठान भन्दै गीतकार एकै टिको सिन्दुरले यो ममता रङ्ग्याइएको सन्दर्भ जोड्दै लेख्छन् ः–
माया मारे जिन्दगी यो बन्छ भुलै भूल
मुटुभरि फुल्छ नयाँ पिरतीको फूल
मेरो दिल खोली हेरे देख्छौ उनकै छाया
एकै टिको सिन्दुरले रङ्गाएँछु माया ।
सिर्जनाको लहरमा “तिमी” प्रतिको सम्बोधनको विशेष अर्थ र भाव छ । यही “तिमी” प्रतिको विश्वास र ममताको गायन न्यौपानेको अर्को विशेषता हो ।
चेलीलाई पर्दैन रोइरनै
न्यौपानेका गीतमा सांस्कृतिक पक्ष पनि अन्तर्घुलन भएर आएको हुन्छ । दसैं, तिहार, तीज जस्ता सांस्कृतिक पर्वभित्रको अर्थबोध र सामाजिक मान्यताको चित्रण यिनका गीतमा आएको छ । सिर्जनाको लहर गीतिसङ्ग्रहको माइती राजै शीर्षकका गीतमा परदेशी दाजुलाई सम्झेर बिलौना गर्ने बहिनीको मर्मभित्र सांस्कृतिक प्रभाव घनीभूत भएको छ । यो चिन्तन गीतका हरफमा यसरी आएको छ ः–
दसँै आउला तिहार आउला
निधारमा को टीका लाउला
मखमलीका फूल थुँगा टिपी
माला गाँसी मै रोइरहुँला
यस सङ्ग्रहका गीतका विभिन्न सन्दर्भमा सांस्कृतिक पक्षको अङ्कन भएको छ । सांस्कृतिक सन्दर्भबाट जीवनको गीत गाउनु पनि न्यौपानेको गीति लेखनको अर्को मौलिक विशेषता हो ।
टाँकी फूल झरे पनि सम्झना छ बाँकी
अन्तमा गीतकार न्यौपानेको सम्झनामा टाँकी फूल झरे पनि सम्झना छ बाँकी भन्न मन लागेको छ । सिर्जनाको लहरको भाका समातेर यसो भन्दा ममा वि.सं. २०५३–५५ मा स्नातकोत्तर तहको विद्यार्थी भएर न्यौपाने सरको कक्षामा कविताको रसिक पठनको स्मृति ताजा हुन्छ । यस समयभन्दा अघि नै २०४८ सालतिर सिर्जनाको लहर पढेर स्रष्टाप्रति बनाएको प्रभावको पनि स्मृति मेटिँदैन । यही चिनारीभित्र औपचारिक चिनजानपछिको ममता गाँठो पर्छ । यसपछि वि.सं. २०६२ मा म नेपाली केन्द्रीय विभागमा प्राध्यापनको जिम्मा लिएर आउँदाको समय बल्झिन्छ । यही समयमा रोगले थला परेका गुरु दैवज्ञराज न्यौपानेको मधुर बोली नबुझिएको सुन्दा जीवनको विसङ्गत अर्थ केलाउन मन लाग्छ । अनि संयोग नै भनौं उहाँले त्यस वर्ष जिम्मा लिएको कविता पढाउन कक्षामा पुग्दाको मर्म ममा दोहोरिन्छ । कहिलेकाहीँ रोगलाई जितेर उहाँ विभागमा आउँदाको भेट झनै भावुक रहेको छ । उहाँलाई अँगालोमा सहरा दिँदै टेक्सीसम्म पुर्याउँदाको स्मृति ममा बल्झिन्छ । जीवनका गीत लेख्ने गीतकार न्यौपानेको कृति पठनभन्दा ममा यही वैयक्तिक स्मृतिको मिठो ममता आँखा वरिपरि नाँच्दै रुन्झुनाउँछ । विश्वासको ममता अर्थात् नओइलिने यात्रा यसरी नै प्रगाढ हुने त रहेछ नि ! साँच्चै नै हो, मान्छे मान्छे हुँदैनथ्यो प्रीति यौटा नभै दिए !
कीर्तिपुर