कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक समीक्षा

पद्यमा ध्वनित कवि दैवज्ञ

भूषण ढुङ्गेल

एउटा सुमधुर भावका सुललित कवि रुग्णशयामा परी सिर्जनशीलताबाट टाढिनुपर्दा एकैचोटि पहुपक्षीय हानि सहनु पर्नेरहेछ । स्वयं कविले, कविता जगत्, काव्यपिपासु, काव्यपारखी, काव्यशिष्य, काव्यटोली, साक्षात् कविता र अन्य कति कतिले । कविताले धेरै कुरा थोरैमा पनि व्यक्त गर्ने सामर्थ्य राख्दछ । अन्यान्य विषयले स्पर्श गर्न नसकेका कुरा पनि कविताले सहजै समात्न सक्छ । यी र यस्तै थुप्रै कुराहरूका कारण कविता यति धेरै लोकप्रिय हुन पुगेको हो । भाषिक अभिव्यक्तिकलाको सर्वश्रेष्ठ माध्यमका रूपमा चिनिने कविता जब दैवज्ञ न्यौपाने जस्ता गुणी कविको सिर्जना बनेर देखा पर्छ तब त्यस कवितामा सौन्दर्य द्विगुणित बन्न पुग्छ : यो अत्युक्ति होइन । पक्षाघातको निर्मम आक्रमणपश्चात् थलिएका कवि दैवज्ञको स्वास्थ्यलाभको कामना गर्दै उनका सहृदयी एवम् उनैका कोकगोष्ठी (कोठे कविता गोष्ठी)का सहयात्री कविहरूले उनको आरोग्यको कामना गर्दै कविता लेखेर उनलाई सुनाए उनैका घरमा भेला भएर । पुस्तक निकाल्ने सन्दर्भसम्म पुग्दा “एक थुकी सुकी, सय थुकी नदी” भनेभैंफ जम्मा उनन्साठीवटा कविता जुटेछन् । ती कवितालाई भेला पारेर प्रह्लाद पोखरेलले सम्पादन गरे । परिणामस्वरूप त्यसले एउटा सुन्दर पुस्तकको आकार लियो जसलाई “दैवज्ञ : पद्यध्वनि” नामकरण गरियो । सम्भवतः यो आफ्नो प्रकारको अद्वितीय ग्रन्थ हो । एउटा कविको आरोग्यकामना गरेर लेखिएका कविताहरूको सङ्कलन तयार हुन पुगेको र त्यसमा पनि दुई चारवटा बाहेक सबै रचना छन्दमा नै भएको यस्तो कृति सायद यो पहिलो हुनुपर्छ । छन्दका कवि दैवज्ञप्रति समर्पित रचनामा छन्दोबद्ध कविताकै बाहुल्य हुनु स्वाभाविक पनि हो ।

कवि दैवज्ञ न्यौपाने भौतिक रूपमा अब यस संसारमा छैनन् । तर “दैवज्ञ : पद्यध्वनि” नामक यस कृतिले के प्रमाणित गरेको छ भने उनी नेपाली काव्यधराका कणकणमा जीवन्त रूपले उपस्थित छन् । यद्यपि दैवज्ञ न्यौपानेका काव्य कृतिहरू नै के कुराका लागि पर्याप्त प्रमाण हुन् भने, नेपाली कविताका पाठकका मुटुमुटुमा बस्न उनी सफल भइसकेका छन् । “दैवज्ञ : पद्यध्वनि”को उल्लेख्य विशेषता के हो भने उनका सहयात्री कविहरू उनको अनुपस्थितिमा कति व्यथित र व्याकुल छन् । त्यसैले उनीहरू चाहन्छन्, दैवज्ञ पुनः स्वस्थ भएर आऊन् अनि पूर्ववत् काव्य कार्यशालामा काव्यसन्धानको सक्रियता बढाऊन् । कालका त्रूफर नखायुधले त्यो कुरा सम्भव नभए पनि कवि दैवज्ञले यति धेरै कविहरूको स्नेहसिक्त एवं प्रेमार्द्र भावाभिव्यक्ति प्राप्त गर्नु निश्चय नै उनको लोकप्रियताको द्योतक हो ।

आरोग्यकामनाका उनन्साठीवटा कविताहरूबाहेक यस कृतिभित्र तीनवटा परिशिष्टहरू पनि समाविष्ट छन् । पहिलो परिशिष्टमा कवि दैवज्ञ न्यौपानेका छवटा काव्य रचनाहरू छन् भने दोस्रो परिशिष्टमा कविको आरोग्य कामनार्थ भएको कोकगोष्ठीमा वाचित कविताहरूमाथि कोषराज न्यौपानेले गर्नुभएको कवितात्मक टिप्पणी समेत रहेको छ । तेस्रो परिशिष्टमा चाहि कवि दैवज्ञ न्यौपानेका पुस्तकाकार कृतिहरूको विवरण रहेको छ । तीनवटै परिशिष्टले कृतिको आकर्षण अझ बढेको महसुस हुन्छ । किनभने तीनवटै परिशिष्ट कविनायककै व्यक्तित्व र कृतित्वलाई विस्तारमा परिचित गराउनका लागि झन् बढी सहायक देखिन्छन् ः–

टाढा हेर्दै प्रथम वयमा शैलका खोंचबाट

नाघ्दै आयौ विकट पहरा भीर मैदान फाँट

देख्यौ टाढा क्षितिज सहसा जोशले जुर्मुरायौ

छर्दै आभा तरुण रविभैंफ पूर्वबाटै उदायौ

शरदकुमार भट्टराईका यिनै काव्यपंक्तिहरू नै “दैवज्ञ : पद्यध्वनि”को बीजारोपण हुन पुगेको सम्पादक प्रह्लाद पोख्रेलका सम्पादकीय अभिव्यक्तिबाट ज्ञात हुन्छ । कवि दैवज्ञका व्यक्तित्व र कृतित्वका वर्णनमा यसरी कवितामै परिचय गराउँदै कोकगोष्ठीमा रौनक बनेका काव्यनायकको रुग्णताका कारण हुने अनुपस्थितिले कोकगोष्ठीको आभा नै विलीन भएर कवि भट्टराई उक्त कवितामा यस्तो आह्वान पनि गर्दछन् ः–

हामी दिन्छौं भर उठ तिमी हात हाम्रो समाऊ

सारा चिन्ता पर गर तिमी स्वस्थ भै झट्ट आऊ

तिम्रा राम्रा सरस कविता लौ न आऊ सुनाऊ

आऊ प्यारा तरुण कवि हे ! पूफलभैंफ मुस्कुराऊ

रोगले लाचार भएका कविका अमृतमय काव्यवर्षाबाट वञ्चित हुन पुगेको कोकगोष्ठी परिवार उनको पुनरागमनको प्रतीक्षा प्रेमपूर्वक एवं व्यग्रताका साथ गरिरहेको मर्म यहाँ भेटिन्छ ।

वयोबृद्ध राष्ट्रकवि माधव घिमिरेको शुभाशिष शीर्षकको दुई श्लोकी संक्षिप्त कविताले भूमिका स्वरूप पहिलो श्लोक र निष्कर्षस्वरूप दोस्रो श्लोक रहेको देखाएको छ । कविवरको हस्ताक्षर सहितको कविता नै मुद्रण गरेर यस कविता ग्रन्थलाई अभिलेख्य पनि बनाइएको छ । कवि दैवज्ञ स्वयं नै लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरेका त्रिवेणी हुन् भन्दा अतिशयोक्ति नहोला । त्रिवेणीमध्येका एक वेणीको काव्यरचना पनि यसमा समावेश हुनु कृतिको गौरव बृद्धि हुनु हो भन्ने ठान्न सकिन्छ । राष्ट्रकविको शुभाशिष यसरी प्रकट भएको छ ः–

त्यै इन्द्रिनी भैंफ वन कर्कलामा

दैवज्ञ आफ्ना कविता कलामा

छिटा छिटा अक्षर लेखि नै रहू

छटा छटा सुन्दर पोखि नै रहू

अर्का वयोवृद्ध कवि किञ्जल्क एक श्लोक संस्कृत र एक श्लोक नेपाली काव्यका साथ आफ्नो हार्दिक स्वास्थ्यकामना अर्पण गर्छन् । त्यसैगरी वयोवृद्ध कवि पं.खगेश्वर न्यौपाने पनि आफ्ना त्रिश्लोकी कवितामा कवि दैवज्ञलाई समग्रतामा चिनाउँदै ईश्वरप्रति काव्यनायकको स्वास्थ्यलाभका लागि अभ्यर्थना गर्न पुगेका छन् । दैवज्ञ न्यौपानेभन्दा करिब डेढ गुना बढी उमेरका यी त्रिमूर्ति कविका काव्य कामनाले यो कृतिको गरिमा अभिवृद्धि भएको प्रमाणित हुन्छ ।

कवि ओमी शर्माको रचना कवि दैवज्ञकै कविता सङ्ग्रह “सिर्जनाका लहर” भित्रका विभिन्न कविताहरूकै भाव सादृश्यमा रचिएका देखिन्छन् । जसको एउटा पुञ्जले मानिस र जीवनको दुर्बोध्य यथार्थलाई गम्भीररूपमा उद्घाटन गरेको छ ः–

साँचो कुरा जीवन बुझन गाह्रो

विस्तारमा बुझन झनै छ गाह्रो

विश्वासको मानिस बन्न गाह्रो

साँच्चै भनूँ मानिस बन्न गाह्रो

कलानिधि दाहालको यस काव्यांशले कवि दैवज्ञको व्यक्तित्व परिचित गराउन निकै सहयोग पुर्‍याउँछ ः–

बल्दो धप्धप् तन पनि सफा हैमको रङ्ग जस्तो

मुस्मुस् हाँस्ने वदन हँसिलो प्रातलाली लुकेको

इन्द्रेनीको कणसरि हुँदा चर्मका हावभाव

मत्ता हात्तीसरि सडकमा ओर्लंदाको स्वभाव

कविराज न्यौपाने काव्यनायकको सुस्वास्थ्यको कामनामा सबै देवी देवता पुकारा गर्दै यसो भन्छन् ः–

ट्याम्केका सिद्ध बाबा हे ! शतायु यिनमा भर

सिद्धकाली महामाता कल्याण यिनको गर

मष्ट ! हाम्रा सबै आऊ रक्षार्थ कुलभूषण

स्वास्थ्य सम्पत्ति अर्पेर भर आनन्दको मन

कालीप्रसाद रिजाल कोमल गीतका माध्यमले काव्यनायकलाई यसरी सम्बोधन गर्छन् ः–

नजिक आऊ यता बस मेरो छेउमा आई

गाउँदा गाउँदै गीत किन रोकियौ नि भाइ

कुलप्रसाद पराजुली त एउटै श्लोकमा काव्य नायकको पारिवारिक परिचय नै दिन भ्याउँछन् ः–

आमा उमा बाबु थिए गणेश

रीता–सुधाका पति हे कवीन्द्र

सन्तान हुन् भूषण उज्ज्वलार्चना

सुनाम हो सौरभ योग्य सम्झना

कविको अस्वस्थताप्रति चिन्तित कवि डा.कृष्णप्रसाद दाहाल काव्यनायकलाई यसरी जगाउने जमर्को गर्छन् ः–

पाऊ शक्ति प्रखर कवि हे स्वस्थ भै हिँड्नलाई

बिन्ती मेरा कवि ! उठ तिमी काव्यभाका सजाई

हाम्रा प्यारा कवि मुकुटमा दाग केही नलागोस्

क्वैली जस्तै कुहकुहु गरी गाउने शक्ति जागोस्

कृष्णप्रसाद पराजुलीले आपूफलाई पनि त्यस्तै रोगले आक्रमण गरेको सम्झना गर्न पुगेका छन् भने काव्यनायकका सहोदर भाइ केदार न्यौपाने दाजुको त्यस्तो अवस्था हुँदा पनि आपूफले केही गर्न नसकेको विवशतामा व्यथित हुन पुगेका छन् । कवि कोषराज न्यौपानेले काव्यनायकको मनमोहक, नयनाभिराम र सुदीप्त कायाको सुन्दर परिचय गराएका छन् । कवि प्रह्लाद पोख्रेलले मिश्रित छन्दका नौवटा श्लोकहरूमा काव्यनायकको विविध व्यक्तित्वलाई पद्यवद्ध चित्रण गरेका छन् । डा.बमबहादुर थापा “जिताली”ले आफ्नो चारु काव्यरचनाका माध्यमले आरोग्यकामना गरेका छन् । ब्रह्मप्रिय प्रेमस्वरूपले काव्यनायकका लागि गजलधारा बगाएका छन् । भुवनहरि सिग्देलले स्रग्धराको मधुर भावमा कविलाई पुनः सक्रिय हुने आह्वान गरेका छन् । प्रा.महेश्वर न्यौपाने आफ्ना सहोदर दाजुको त्यस्तो अवस्थाप्रति भित्रैदेखि व्यथित बन्दै आफ्ना लाचारीप्रति साह्रै चित्त दुखाउँछन् । आफ्ना दाँैतरी कवि थलिएर ओछ्यान पर्दा कवि मेदिनी सुवेदीको मन पनि रोएको छ । अर्का कवि रमेश खकुरेल काव्यनायकलाई कसैको नजर लागेर पूर्णिमाको जून पनि राहुको छायाले अन्धकार भएको हो कि भन्ने आशङ्का गर्छन् । वासुदेव त्रिपाठी छब्बीस श्लोके लामो कवितामा कविको स्वास्थलाभको हार्दिक कामना गर्दछन् । वियोगी बुढाथोकीले सुन्दर काफियाको प्रयोग गर्दे गजलको माध्यमले काव्यनायकलाई प्रेरणास्रोत र मानतावादीका रूपमा देखाएका छन् । आफ्ना नायकको रुग्णावस्थाप्रति संवेदनशील हुँदै कवि दैवज्ञकी सहधर्मिणी सुधा न्यौपाने (कोइराला) भावपूर्ण गीतका माध्यमले “भन के दिऊँ म ?” भनी भक्कानिन्छिन् । आफ्ना गुरुको गम्भीर अवस्थाप्रति दुःखी बनेका सुमन्तराज न्यौपाने स्रग्विणीमा गुरुभक्तिको चित्ताकर्षक हृदयग्राही भावोद्गार प्रकट गर्दछन् ।

“दैवज्ञ : पद्यध्वनि”को एउटा अर्को विशेषता के देखिन्छ भने, अधिकांश रचनाको पुछारमा यथासम्भव प्रसङ्ग मिल्ने गरी दैवज्ञराज न्यौपानेका काव्य अंशहरू दिइएका छन् । जो प्रासङ्गिकताका दृष्टिले मात्र नभई काव्यसौन्दर्यको दृष्टिले पनि उत्कृष्ट छन् । ती काव्यांशको विवेचना गर्न छुट्टै समय आवश्यक पर्ला । त्यस्तै पुस्तकको अर्को उल्लेखनीय पक्ष यसको परिशिष्ट भाग हो जसमा काव्यनायकका विविध स्वाद र शैलीका आधा दर्जन गीत र कविताहरू पनि समाविष्ट छन् । दैवज्ञराज न्यौपाने जति सुन्दर कविता रच्छन् त्यति नै मीठा गीतहरू पनि सिर्जना गर्छन् । उनका बालगीत र कवितामा पाइने बालसुलभ निश्छल अभिव्यक्तिले बाल पाठक मात्र होइन युवा, प्रौढ र वृद्ध पाठकलाई पनि आकर्षित गर्दछ । त्यसको सानो उदाहरण परिशिष्टमा राखिएका रचनाले दिएका छन् । अर्को परिशिष्टमा कोकगोष्ठीमा वाचित कविताको प्रतिक्रिया कोषराज न्यौपानेले संक्षेपमा कवितामै गरेको रोचक सन्दर्भ राखिएको छ । जसले कवितालाई बुझन सहज बनाउनुका साथै कोषराज न्यौपानेको काव्यप्रतिभाको अथवा भनौं आशुकवित्वको परिचय पनि दिएको छ । कोषराज न्यौपाने प्रतिक्रिया मात्र दिने कवि नभएर काव्यरूपी क्रियाकै कवि हुन् । किनभने यिनका अन्य प्रकाशित काव्य रचनाहरू पनि यसका प्रमाणस्वरूप रहेका छन् । तेस्रो परिशिष्टमा चाहिं काव्यनायकका कृतिहरूको विवरण छ । कवि, गीतकार दैवज्ञराज न्यौपाने समालोचक पनि भएको कुरा उनका समालोचनात्मक कृतिहरूले देखाएका छन् ।

जीवनोपरान्त आफ्ना प्रियजनलाई श्रद्धा अर्पण गर्ने हाम्रो चलन रहिआएको देखिन्छ । तर दैवज्ञराज न्यौपाने जस्ता सुललित कविलाई जीवन छँदै उनकै रोगशयामा पुगेर कोकगोष्ठी परिवारले उनीप्रति आरोग्यकामनास्वरूप कविता वाचन गर्‍यो । कविताहरू कविले भावुकतासाथ आस्वादन गर्दै सुने तर रोगरूपी दैत्यले उनलाई राम्रो बोल्न पनि नसक्ने गराएकाले खुलेर आफ्नो प्रतिक्रिया दिन भने सकेनन् । त्यतिका कविहरू उपस्थित भएर सुस्वास्थ्यका लागि वाचन गरिएका कविताहरू श्रवण गरेर कविको मन रमाएको भने पक्कै थियो । शुभकामनाका यही प्रभावले होला सायद कालले पनि उनलाई सजिलै लैजान सकेन । मुसा र बिरालाको खेलमा अन्ततः बिरालै विजयी भएभैंफ कालले विजय प्राप्त गर्‍यो र हाम्रा चारु कविको भौतिक रूप विलीन हुन पुग्यो । उमेरका हिसाबले कविको महायात्राको समय भैसकेको थिएन । तर यस्तो हिसाब किताब पनि यदाकदा यत्रतत्र देखिने गर्छ । जुन पृष्ठभूमिमा “दैवज्ञ : पद्यध्वनि”को बीजाधान र फलागम भयो त्यो आपैंफमा एउटा अकल्पनीय यथार्थ रहेको कुरा वर्णन भइसकेकै छ । आरोग्य कामना गरिएको यो अनुपम कृति अहिले आएर श्रद्धाञ्जलि काव्यका रूपमा रूपान्तरित भएको पनि मान्न सकिएला । अथवा यस कृतिलाई काव्याञ्जलि, शब्दाञ्जलि, रिक्ताञ्जलि, भावाञ्जलि, अक्षराञ्जलि, पद्याञ्जलि, प्रेमाञ्जलि, स्नेहाञ्जलि, रागाञ्जलि अथवा पुष्पाञ्जलि नै भने पनि अस्वाभाविक होला जस्तो लाग्दैन । जसको बोलीमा माधुर्य थियो उही बोल्नै नसक्ने भयो । जसको चालमा मादकता थियो हिँड्नै नसक्ने गरी थला पर्‍यो । जसले साहित्याकाशमा अभैफ कति जूनतारा टाँस्न सक्थ्यो आपैंफ अस्ताएर गयो । जसका गीत र कवितामा लहरा बोल्थे, पहरा बोल्थे ऊ आपैँफ चुप लाग्न पुग्यो । जसका रचनामा भीर–पाखा अनि मेची र काली घन्किएका छन्, हिमाल, पहाड, तराई सबै अटाएका छन् उही स्वयं आज यस पृथ्वीमा अटाउन नसकी अर्कै लोकतिर लाग्यो । यो हो वास्तविकता र विडम्बना ।

जति सुन्दर र आकर्षक व्यक्तित्वका धनी कवि दैवज्ञ थिए त्यस्तै सौन्दर्य एवं आकर्षण उनका रचनामा पनि प्रतिविम्बित छन् । आधुनिक नेपाली कविताको समसामयिक धारालाई प्रतिनिधित्व गरे पनि दैवज्ञका कवितामा लेखनाथको परिष्कार, देवकोटाको स्वच्छन्दता र माधव घिमिरेको शिल्पकारिता देख्न पाइन्छ । यस्तो विशेषता समसामयिक अन्य कविमा हम्मेसि देख्न पाइँदैन । छन्दमा काव्यरचना गरेर पनि भाषिक नियमको उल्लङ्घन नगर्नु कवि दैवज्ञको काव्यात्मक सामर्थ्य हो । निबन्धकार, समालोचक र सम्पादकजस्ता बहुविध व्यक्तित्व समेत भए पनि सर्वोपरि रूपमा यिनको कविव्यक्तित्व नै रहेको छ । दैवज्ञराज न्यौपानेको अनुपस्थितिले नेपाली काव्यबाटिका मलिन हुन पुगेको छ । यस बाटिकालाई उनले सक्दो मलजल गरेर विस्तारित गरे । त्यसैको परिणमस्वरूप आज दैवज्ञराज न्यौपाने नेपाली काव्यपाठकका हृदयमा विराजमान छन् । यसैको एउटा प्रमाणस्वरूप कोकगोष्ठी परिवारको प्रकाशन बनेर देखा परेको हो – “दैवज्ञ : पद्यध्वनि” । उदीयमान युवा कविदेखि स्थापित वयोवृद्ध कविसम्मको प्रतिनिधित्व भएको यो एउटा अनुपम र अनमोल कृति हो ।

ढकमक्क गुराँस पुफलेको मनै लोभ्याउने पहाडी दृश्यचित्रलाई मुखपृष्ठमा राखेर दैवज्ञकै कुनै कविताको प्राकृतिक सौन्दर्यलाई कैद गरिएको हो कि जस्तो लाग्छ । यी सन्दर्भहरूमा सुललित काव्यका सुरम्य स्रष्टा कवि तथा गीतकार दैवज्ञराज न्यौपानेलाई मेरो श्रद्धासिक्त नमन । अन्त्यमा उनै काव्यनायक दैवज्ञराज न्यौपानेप्रति समर्पित केही पद्य –

राम्रो काव्यधरा सजाउन तिमी गर्दै थियौ तर्खर

एकाएक गर्‍यौ प्रयाण किन हो ? बेला नभै सत्वर

केले रुष्ट भई परै पर गयौ विच्छेद सञ्चार भो

हे दैवज्ञ ! गर्‍यौ हतार किन हो ? छोडेर संसार यो

जैलेसम्म प्रवाह हुन्छ कविताधारा यहाँ निर्झर

नेपाली मुटुभित्र जग्मग बनी बग्छौ स्वयं झर्झर

कैले देख्दछु दिव्य मूर्ति कविको सर्वत्र नै झल्झली

हे दैवज्ञ ! महामना कविप्रभा अर्पन्छु श्रद्धाञ्जली

विराटनगर

२०६९ भदौ