सम्झनाको धरातलमा काव्यगुरु दैवज्ञराज न्यौपाने
१. सम्झनाको धरातलबाट संस्मरण
सरल मृदु लताका भावका काव्यपुञ्ज
सरस सरल वाणी माधुरी प्राच्य विम्ब
धपधपधप बल्दा चाहनाको दियालो
कतिकति सहचारी पाइबस्थे सिँयालो ।
दैवज्ञ : पद्यध्वनि पृ. ५९
सर्वप्रथम, काव्यगुरु दैवज्ञराज न्यौपानेप्रति शब्दश्रद्धा अर्पन्छु । अब उहाँको भौतिक शरीर हामीमाझ रहेन तर रहिरहनेछ उहाँको ममतापूर्ण स्नेह मेरा साहित्यिक यात्रामा पथप्रदर्शक बनेर रहिरहनेछन्, उहाँको युगचिन्तन बोकेका काव्यिक आकृति चिरन्तन चिरन्तन । अनि, रहि नै रहनेछ उहाँप्रतिको असीम श्रद्धा मेरा मानसपटलमा । मलाई गर्व लाग्छ– उहाँलाई आफ्नो काव्यगुरुका रूपमा पाउँदा तथापि अहिले म दुःखको वेदना भोगिरहेको छु किनभने अब केवल मेरा सम्झनाको धरातलमा आकारबद्ध भएर सीमित हुनुभएको छ, उहाँ । मैले नेपालीका काव्यनायकहरू भानुभक्तलाई भेटिनँ, देवकोटाहरूलाई देखिनँ र, देखिन लेखनाथ, सिद्धिचरण र रिमालहरूलाई । मैले देखेका र पढेका थुप्रै कवि प्रतिभाहरू हुनुहुन्छ, आजसम्म आइपुग्दा । क्रमशः नाम सम्झँदै जाँदा धेरै सम्झनुपर्ने व्यक्तित्वहरू छुट्नुभएको छ तर छुट्नु भएको छैन कविवर दैवज्ञराज न्यौपाने । आज सम्झन्छु दैवज्ञ गुरुकै आत्मीय सानिध्यका कारण मैले आपूफलाई त्यस परिवारको पारिवारिक सदस्यको भूमिकामा खोजेको रहेछु । त्यसैले लुटपुटिँदै छु आदरणीय गुरु केदार न्यौपाने, महेश्वर न्यौपाने तथा प्रह्लाद पोख्रेलज्यूहरूका ममत्वमा । त्यसैले म कृतार्थ छु ।
मलाई सम्झना छ मैले पहिलो पटक गुरु दैवज्ञलाई विद्यालयको पाठ्यक्रममा पढेको हुँ । र, बिस्तारै रेडियोहरूमा अनि विश्वविद्यालयमा र साहित्यिक गोष्ठी तथा अधिगोष्ठीहरूमा उहाँलाई देख्ने, सुन्ने र पढ्ने अवसरहरू पाएँ । माया र ममता पाएँ । र, पाएँ विना अवरोध उहाँका घरका चोटाकोठा चहार्ने अनुमति । सम्वत् २०५६ तिरको कुरा हो– म बानेश्वर क्याम्पसको विद्यार्थी थिएँ । त्यहीँको नेपाली कक्षामा मैले एकजना प्रभावशाली व्यक्तित्व पाएँ । उहाँ हुनुहुँदोरहेछ कविवर दैवज्ञराज न्यौपाने । पहिलो कक्षामा नै मेरो अन्तरात्माले उहाँलाई आफ्नो प्रेरक व्यक्तित्व स्विकार्यो । र, स्विकार्यो साहित्यिक वृत्तमा एउटा आदर्शको पुञ्ज । भर्खरै गाउँबाट उच्चशिक्षाको आकाङ्क्षा लिएर सहर ओर्लिएको गाउँले केटालाई घर परिवार र गाउँछिमेककै नियास्रो लागिरहेको थियो । भड्किलो सहरी परिवेशमा सहजाउन कठिन थियो । तथापि मलाई थाहा छैन कसरी म दैवज्ञ गुरुसँग नजिकिएँ । नढाँटी भन्छु मैले उहाँमा अभिभावकीय झल्को पाएँ । मिष्ठभाषी दैवज्ञ गुरुका कक्षा पढ्न पाउँदा साह्रै रमाइलो लाग्थ्यो ।
म सर्जक होइन । अहिले आएर साहित्यिक अभिव्यक्तिको तलतल लागेको छ । त्यही तलतल मेट्न केही साहित्यिक पुस्तकहरू पढ्ने गरेको छु, बस् । लेखनीमा मैले आपूफलाई निकै मस्काउनुपर्ने आपैँफलाई अनुभूत भएको छ । त्यसैले म सर्जक होइन, स्विकार्छु । तर यो सत्य हो– मलाई साहित्यको लत बसाल्ने पहिलो व्यक्ति दैवज्ञराज न्यौपाने नै हो । उहाँ हाम्रो ऐच्छिक नेपालीको कक्षा लिनुहुन्थ्यो । उहाँको कक्षा अत्यन्त सुरुचिपूर्ण हुन्थ्यो । उहाँकै शिक्षण कलाले पहिलो पटक मेरो अन्तरहृदय छोयो । आज म पनि शिक्षण पेसामै उभिएको छु ।
माघ महिना थियो । बानेश्वर क्याम्पसले वार्षित्कोत्सव समारोहको तयारी गर्दै रहेछ । यो उत्सव भव्य रूपमा सम्पन्न पनि हुँदोरहेछ, विविध शैक्षिक, बौद्धिक तथा खेलकुदका कार्यक्रमहरू आयोजना गरेर । सूचनापाटीमा प्रतियोगितात्मक कविगोष्ठीको सूचना टाँस गरिएको थियो । यसमा आँखा नपरेको त होइन तर प्रतियोगी बन्ने हीनताबोधी स्वभावकै कारणले म अघि सरेको थिइन । कार्यक्रमको समय नजिकिँदै थियो । क्याम्पस प्रशासनमा केही कविताहरू दर्ता भएछन् तर ऐच्छिक नेपाली कक्षाका विद्यार्थीहरूबाट एउटा कविता पनि गएनछ । एकदिन दैवज्ञ गुरु हातमा कविताको फाइल लिएर कक्षामा पस्नुभयो । जम्मा भएका एकदुई नमुना वाचन गरेर पनि सुनाउनुभयो । कविता लेख्ने प्रेरणा दिनुभयो । कवितामा कला थप्ने कला पनि सिकाउनुभयो । अन्त्यमा ऐच्छिक नेपालीका सम्पूर्ण विद्यार्थीलाई अनिवार्य कविता रचनाको ह्विप जारी गर्नुभयो । आज आएर मैले लेखेको कविताले कविताको स्थान पाउँछ भने त्यसको श्रेय दैवज्ञ गुरुको त्यही कक्षागत निर्देशन नै हो । क्याम्पस वार्षिकोत्सवको कविता वाचन प्रतियोगितामा प्रतियोगी बन्ने रहर साँचेर मैले पनि कविता लेखेँ । कविता सिद्धान्त वा विधा तत्त्वका आधारमा उक्त कविताले कविताको वास्तविक रूप लिन सक्यो कि सकेन तर, संयोग नै मान्नुपर्छ, मेरो अब त ब्यँुझनुपर्छ शीर्षक कविता प्रतियोगितामा प्रथम भयो । त्यही हौसला मेरो कवितायात्राको प्रारम्भिक बिन्दु हो र यसका कारक दैवज्ञ गुरु हुनुभएको छ । त्यसैले मेरा काव्यगुरु आदरणीय दैवज्ञ नै हुनुहुन्छ । मेरा लागि अर्को स्मरणीय कुरा छ– आज मेरै कतिपय रचनाले मलाई नै चित्त बुझाउन सक्दैनन् । कतिपय रचना पुनः पठन र परिमार्जनका कसीमा समेत पर्न नसकेर कन्टेनरमा फालिएका छन् ती प्रारम्भिक रचना आज आपैँफलाई लाजमर्दा लाग्छन् । मेरा तिनै विधा संरचनामा नरहेका काँचा रचना धीरतापूर्वक सुनिदिएर, पढिदिएर, स्याबासी दिएर र आवश्यक परिमार्जन समेत गरिदिएर दैवज्ञ गुरुले ठूलो ऋण लगाउनु भएको छ । र, उत्तिकै गुन लगाउनु भएको छ कवि प्रह्लाद पोख्रेलले अनि केदार न्यौपानेले । साथै रामप्रसाद ज्ञवाली र विप्लव ढकालहरूले । म उहाँहरूप्रति कृतकृत्य छु र नतमस्तक छु दैवज्ञराज न्यौपानेज्यूप्रति ।
दैवज्ञराज न्यौपाने सशरीर सबल छँदै म कयौं पटक उहाँको घरमा गएको छु । त्यहीँ मैले पुस्तकको महत्त्व र व्यवस्थापन बुझेँ । उहाँको घरका प्रायः सबै कोठामा पुस्तक रहेका थिए । बैठक कोठामा पुस्तकालय नै थियो । यत्रतत्र छरिएका थिए पुस्तक । मैले पहिलो पटक यति धेरै पुस्तक घरमा थुप्रिएको देखेको थिएँ । चार घण्टा निरन्तर पुस्तकको चाङ खोस्रिएपछि वी.पी.को आत्मवृत्तान्त पेफला पार्दा म खुसीले पुफरुङ्ग थिएँ अर्कातिर पुस्तकलाई कुनै पूर्वनिर्धारित क्रममा सङ्गृहीत गर्नुपर्ने आवश्यकताबोध समेत भएको थियो मलाई । त्यसपछि निरन्तर म उहाँको सानिध्यमा रहेँ ।
अचानक उहाँलाई पक्षाघातको कडा रोगले समात्यो । उहाँको आकर्षक शारीरिक व्यक्तित्व पक्षाघातले विकृत बनाइदियो । यो समयको निष्ठुर प्रहार हो । यसअघि नै उच्च रक्तचाप तथा मधुमेह जस्ता रोगबाट पनि पीडित हुनुहुन्थ्यो, उहाँ ।
समय निठुर बन्दै दानवी चाल चाल्यो
सनक पनि बढी नै घातले माथ ढाल्यो
जलचर नभदेवी देव भाकी म हिँड्छु
मनवचन दुवैले कर्मले ताप लिन्छु ।
दैवज्ञ : पद्यध्वनि पृ. ५९
कहिले कहिले समय साँच्चै निर्दयी बनेर आइदिन्छ । वि.सं.२०६२ भाद्र १५ गतको समयले जब उहाँलाई पक्षाघाती चट्याङ हान्यो त्यसका पीडाबाट उहाँले मुक्ति पाउनु भएन । आफ्नै आँखाले नदेख्दासम्म यो खबर मलाई अविश्वसनीय नै रह्यो । पुरानै सुन्दर व्यक्तित्व पुफर्तिलो र गर्विलो पाराले हिँडेको, बोलेको, हाँसेको कोमल अनुहार आँखा वरिपरि घुमिरह्यो । पहिलो पटक त्यस्तो अवस्थामा देख्दा कण्ठ रुद्ध भयो । आँखाले रससिक्त भई हेरिरहे, टुलुटुलु निरीह बनेर आफ्नो आदर्श व्यक्तिको अनुहार । त्यस दिन मेरो बोल्ने साहस आएन र बोलिनँ पनि । मनले शीघ्र स्वास्थ्यलाभको कामना गरेर फर्किएँ । त्यसपछि कयौँ पटक उहाँसँग साक्षात्कार भयो, विडम्बना ! बोल्न चाहने ओठभित्र जिब्रो लर्बरिइरहेको थियो, हेर्न चाहने आँखाभित्र नानी धमिलिँदै गएका थिए, लेख्न चाहने औँलाहरू बोकेर हात थर्थराइरहेका थिए अनि हिँड्न चाहने गोडाहरू क्रमशः कुँजिएका थिए । यस्तो विषम परिस्थितिमा पनि समालिएर बस्ने परिवारजनको धैर्य साँच्चै आदर गर्न लायक थियो ।
कवि कलाकारको पहिलो स्वार्थ जहिले पनि राष्ट्र र राष्ट्रियता नै बन्यो । यसका बदलामा आपूफ रोग, भोक शोकसँग पौँठेजोरी खेलिरहँदा राज्य मूकदर्शक भई अमूक स्थानमा तमासे बनेको तीतो यथार्थ देवकोटा र रिमालहरूले भोगे । त्यसैको पछिल्लो पीडा भोग्दै सम्वत् २०६८ पौष २ गते शनिबार दैवज्ञराज न्यौपानेले नश्वर शरीर हामीलाई सुम्पिएर बिदा हुनुभयो । यो अभावको क्षति समयले खाटा पुर्न हाम्रा आदरणीय दैवज्ञराज न्यौपाने हामीलाई फिर्ता दिनैपर्छ । यदि यसो भएका खण्डमा कोकगोष्ठीको आरोग्यकामना कविता, विभिन्न साहित्यिक–सामाजिक सङ्घसंस्थाको स्वास्थ्यलाभको कामनासहित सार्वजनिक अभिनन्दन तथा अन्य मित्र सहृदयीको शुभकामनाले मूर्त रूप पाउन सक्ने थियो । तर, यो मेरो स्वैरकल्पना बन्ला सायद, यद्यपि उहाँ हाम्रा सम्झनाका धरातलबाट चिहाइरहनुहुनेछ ।
आदरणीय गुरू दैवज्ञराज न्यौपानेज्यूको बिदाइसँगै मैले आफ्ना दुई आकाङ्क्षा बिदाइ गरेको छु ः–
क. आपूफले तयार पार्दै रहेको कवितासङ्ग्रह आफ्ना काव्यगुरुबाट आशीर्वचनका साथ विमोचन गर्ने रहर,
ख. आपूफ जहाँ र जस्तो अवस्थामा भए पनि गुरुका लागि श्रद्धाञ्जलि प्रकट गर्ने रहर ।
यी रहरहरूलाई सदासदाका लागि मुटुमा गाँठो पारेर आज उभिएको छु, सम्झनाको धरातलबाट आफ्ना अति आदरणीय गुरुको स्मृतिपट उघार्न । गुरुलाई हृदयभरिको श्रद्धा !!!
रसमय जग सारा हुन्न केही असार
अब सब अमरै हुन् भाव भाषा विचार ।
दैवज्ञ : पद्यध्वनि पृ. ५९
२. सम्झनाको धरातलबाट : समीक्षा
२.१.पूर्व सन्दर्भ
दैवज्ञराज न्यौपाने (वि.सं. १९९९–२०६८) बहुमुखी प्रतिभासम्पन्न व्यक्तित्व हुनुहुन्छ । नेपाली भाषा साहित्यका कुशल स्रष्टा, तथा सम्यक् द्रष्टा, वरिष्ठ कवि एवं प्राध्यापक न्यौपाने विभिन्न सामाजिक तथा साहित्यिक सङ्घसंस्थाका पथप्रदर्शक हुनुहुन्थ्यो । उहाँका व्यक्तित्वका विविध आयामहरू छन् । व्यक्ति एक व्यक्तित्व अनेक उक्ति उहाँमा सार्थक देखिन्छ । उहाँ बाल, वृद्ध वनिता सबैका प्रिय, भद्र एवं मिलनसार हुनुहुन्थ्यो ः–
उनी सानादेखि ठूलासम्म सबैलाई स्नेह, सम्मान र आदर गर्छन् । उनले आफ्नो चरित्रलाई सधँै सक्दो आदर्शवान् बनाउने प्रयास गर्दै आएका छन् (त्रिपाठी र अन्य, २०६६) ।
दैवज्ञराज न्यौपाने विद्यार्थी कालदेखि नै कवितालेखनमा प्रवृत्त हुनुभएको देखिन्छ । उनीमा निम्तो कविताबाट साहित्यिक यात्रामा निस्कनु भएका न्यौपानेले सफल काव्यिक यात्रा पूरा गर्नुभएको छ । तोतेबोली (२०३८), गाउँखाने कविता (२०४३), जोर मुरली (२०४६), सम्झनाको धरातलबाट (२०६३) जस्ता कविता काव्यले उहाँको काव्यिक उचाइ चुल्याएका छन् । करिब एक दर्जन काव्यकृतिका सर्जन न्यौपानेज्यू मात्रिक एवं वर्णमात्रिक छन्दमा भावपूर्ण कविता रचना गर्न कुशल मानिनुहुन्छ । कविता इतर गीत, जीवनी, समालोचना, निबन्ध, कथाजस्ता साहित्यका अन्य विधामा पनि उहाँको कलम चलेको देखिन्छ । बालसाहित्यकारका रूपमा उहाँको ख्याति विशेष उल्लेख्य रहेको छ । यसका अतिरिक्त विभिन्न पुस्तक तथा पत्रपत्रिकाको सम्पादन, नाट्य अभिनय एवं भूमिका लेखनमा समेत उहाँको सक्रियता रहेको देखिन्छ । अतः उहाँमा स्रष्टा तथा द्रष्टा दुवै व्यक्तित्वको विकास समान रहेको थियो भन्न सकिन्छ । “नेपाली साहित्यले थोरै मात्र यस्ता प्रतिभाको साथ पाएको छ जो आपैँफ सफल सर्जक, सफल समालोचक र सफल प्राध्यापक पनि हुनुहुन्छ (न्यौपाने, २०६३ आवरण आलेख) ।
आधुनिक नेपाली कवितामा परिष्कारपूर्ण लेखनको प्रारम्भ लेखनाथबाटै भएको हो । लेखनाथीय परिष्कृति देवकोटासम्म आइपुग्दा सहजानुभूतिका साथ स्वच्छन्द भावभूमिमा प्रवृत्त भयो । वर्तमानमा यी दुवैको सम्मिश्रणका प्रतिनिधि पात्र हुन्– माधव घिमिरे । घिमिरेको काव्य प्रवृत्ति लेखनाथको शास्त्रीय लगाम र देवकोटाको उन्मुक्त उडान हो । हा,े यही स्वभाव आत्मसात् गरी शैलीगत परिष्कार र भावगत स्वच्छन्दता मिश्रित सम्यक् प्रस्तुतिमा दैवज्ञराज न्यौपानेज्यूको निजत्व स्थापित हुन पुगेको छ ः–
आधुनिक नेपाली कविता साहित्यको समसामयिक धारामा रहेर आफ्ना सुमधुर अभिव्यक्तिबाट नेपाली पाठकलाई गतिलो खुराक प्रदान गर्न सक्षम कवि दैवज्ञराज न्यौपाने विभिन्न काव्यहरूका नयाँनयाँ बान्की प्रस्तुत गर्दै छन्दोबद्ध कविता, गीतिकविता र बालसाहित्यका क्षेत्रमा आफ्नो साधिकार उपस्थिति कायम राखी नेपाली वाङ्मयको भण्डार भर्ने स्वनामधन्य साहित्यकार हुन् (पोख्रेल, दैवज्ञ : पद्यध्वनि, २०६६, सम्पादकीय)
२.२. काव्य परिचय
सम्झनाको धरातलबाट (२०६३) काव्य सङ्ग्रह हो । यसमा ६ ओटा काव्य सङ्गृहीत छन् । यी लघुकाव्यिक आयाममा छन् तथापि आदि, मध्य र अन्त्यको अन्वितिपूर्ण शृङ्खलामा बद्ध छन् । शार्दूलविक्रीडित तथा अनुष्टुप् छन्दको लयविधानमा संरचित काव्य विचार र कला दुवैले पूर्ण छन् । काव्य भएकाले भावप्राञ्जलता छताछुल्ल छचल्किएको भेटिन्छ भने आवश्यक आख्यानसूत्रले समेत गति लिएको छ । काव्यका केही अंशमा छन्द विचलन भएको छ र केही अंशमा व्याकरण विचलन । तथापि अस्वाभाविक नै रूप लिएको छैन । यी र यस्ता सामान्य त्रुटिलाई कवि स्वयंले स्विकार्नुभएको छ । मेरो मन र मस्तिष्कले समेत राम्रो काम नगरिरहेको बेला यो कस्तो भयो ? मैले पाठककै विचारमा छाडेको छु (न्यौपाने, २०६३ आत्मकथन) । उहाँ शारीरिक र मानसिक रूपमै चरम दलदलमा भासिएका बेला यो काव्यकृति हिलामा कमलको पूफल बनेर फक्रिएको छ । यसो भन्दा आग्रह वा पूर्वाग्रह राखेको छु भन्ने मलाई लाग्दैन ।
सङ्ग्रहको पहिलो काव्य शोभा प्रकृति काव्य हो । यसले प्राकृतिक सौन्दर्यलाई नै शोभाका रूपमा अर्थ्याएको छ । कविको तरुणवय प्रकृतिको तरुनी स्वरूपप्रति आकर्षित भएको प्रेमिल अभिव्यक्ति काव्यमा पोखिएको छ । म पात्र र शोभाबीचको बालक्रीडाको संस्मरणात्मक पूर्वस्मृति (नोस्टाल्जिया) हो, शोभा । ५ खण्डमा विभक्त १४ श्लोकी यो कविता स्वच्छन्दतावादी भावधाराको सुन्दर प्रस्तुति हो । वसन्तले ल्याएको सौन्दर्यको क्षणिकता र यसले कविहृदयमा दिने पीडा काव्यमा व्यक्तिएको छ ।
राजा त्रिभुवन स्तुतिकाव्य हो । दुई खण्डमा विभक्त यस काव्यलाई कविले इतिहास–काव्य भन्नुभएको छ । निरङ्कुश जहाँनिया राणा शासनको जन्जिरबाट नेपाल र नेपालीको मुक्तिका लागि गद्दी त्याग गरेका राजा त्रिभुवन यस काव्यका नायक हुन् । यहाँ त्रिभुवन शौर्य, वीरता, धीरता, उत्साह र साहसिक भावनाका उद्बोधक बनेर आएका छन् ।
शान्तिकामना बुद्धकाव्य हो । अर्धशतक काव्यको पहिचान बोकेको ५ खण्डमा विस्तारित यस काव्यले शान्तिको कामना गरेको छ । विश्व भयाक्रान्त छ । सहरीकरणसँगै मानव जीवनमा बढ्दै गएको यान्त्रीकरण यसको जड हो । हामी विश्वशान्तिको कामना गर्छौं तर जताततै क्रान्तिको ज्वाला दन्किरहेको छ – दनदनी । व्यक्तिवादी प्रवृत्ति यसको अर्को कारक बनेर उभिएको छ । शान्ति कामनाले मानव जातिलाई स्वार्थलिप्सा त्याग्न आह्वान गरेको छ ।
सम्झनाको धरातलबाट पत्रकाव्य हो । कविले आफ्ना बालसखा विष्णुराज कुसमलाई सम्बोधन गरेर लेखिएको यस काव्यमा सहपाठी, सहधर्मी तथा सहकर्मी साथीहरूको संस्मरण गर्नुभएको छ । नौ खण्डमा संरचित यस काव्यको सातौँ खण्ड २ श्लोकी छ । पत्रका माध्यमबाट विगतको मीठो स्मृति र आगतको विद्रूप अवस्थाबीच तुलनात्मक शब्दचित्र कोरिएको यस काव्यले विगतलाई सम्झनाको धरातलबाट चिहाएर वर्तमानमा भविष्यको सुनौलो सपना बुन्ने प्रेरणा दिन्छ ।
चासो र चिन्तन बौद्धिक पलायनप्रति चिन्ता प्रकट गरिएको काव्य हो । स्वदेशमा अवसरको अभाव र विदेशमा रोजगारीको खोजी गर्न मातृभूमि त्याग गरेका दक्ष तथा अदक्ष जनशक्ति आफ्नो मौलिक कला, सभ्यता, सँस्कृति गुमाएर पहिचानविहीन बन्ने पो हुन् कि भन्ने सन्देह प्रतीकात्मक रूपमा काव्यमा आएको छ । कविले आफ्नो पारिवारिक वृत्तमा व्यक्त गर्नुभएको चासो र चिन्तन साधारणीकरण हुन गई सामाजिक काव्यको स्वरूप निर्माण भएको छ । आफन्त बिदेसिएकाहरूको व्यथा हो, चासो र चिन्तन ।
ती रोइन् त्यसरी किन ? विधवा नारीको समस्याको जीवन्त चित्र हो । ४ खण्ड र १४ उपखण्डमा संरचित यो काव्य तुलनात्मक रूपमा लामो देखिए पनि लघुकाव्य नै हो । मानिस नियतिको सिकार कसरी बन्छ ? नियतिद्वारा नै ठगिएका व्यक्तिको सामाजिक अवस्था कस्तो हुन्छ ? यी र यस्तै प्रश्नको उत्तर खोजी गरेको छ, काव्यले । आलङ्कारिक प्रस्तुतिले यस काव्यलाई उत्कृष्ट बनाएको छ ।
२.३. काव्यांश चर्चा
सम्झनाको धरातलबाट कवि दैवज्ञराज न्यौपानेको प्रतिनिधि काव्य हो । यसमा ६ ओटा लघुकाव्य सङ्गृहीत छन् । यस काव्यकृतिलाई खण्डकाव्य सङ्ग्रह भनिए पनि पुफटकर कविताभन्दा लामो र परम्परित खण्डकाव्यभन्दा छोटो आयामका कारण यसलाई लघुकाव्य भन्नु नै उपयुक्त देखिन्छ । यसमा सङ्कलित ६ ओटा काव्य विविध समयमा लेखिएका र प्रकाशनमा समेत आएका छन् । यस आलेखमा प्रतिनिधि काव्यांशका रूपमा ती रोइन् त्यसरी किन ? लाई चयन गरी संक्षिप्त चर्चा गरिएको छ ।
२.३.१ रचनागर्भ
ती रोइन् त्यसरी किन ? अनुष्टुप् छन्दका २८२ श्लोकमा संरचित नारीकेन्द्रित काव्य हो । दाङको परिवेश चित्रण गरिएको यस काव्यले कवि न्यौपाने युवाकालमा भ्रमणमा निस्केका बेला नेपाले परिवारमा देखिएको नियतिपूर्ण घटनालाई विषय बनाएको छ । अतः नियतिले मानव जीवनमा पार्ने प्रभावलाई काव्यकलाका माध्यमबाट प्रस्तुत गर्ने कवि चाहना यसको रचनागर्भमा रहेको देखिन्छ ।
२.३.२ संरचना
चार खण्ड र चौध उपखण्डमा रचना गरिएको यस काव्यको बाहिरी संरचना (बनोट) २८२ श्लोकसम्म बिस्तार भएको छ । खण्ड एकमा चार उपखण्ड, खण्ड दुईमा ५ उपखण्ड तथा खण्ड तीनमा ५ उपखण्ड र उपसंहारमा ६ श्लोकले काव्यको बनोट पूर्ण देखिन्छ । यस काव्यको आन्तरिक संरचना (बुनोट) आदि, मध्य र अन्त्यको क्रममा छ । सरल तथा सहज किसिमको अभिव्यक्तिले काव्यलाई हृदयग्राही बनाएको छ । भाषा सरस छ । आयामगत संरचना तथा विषयवस्तुगत संरचना दुवै लघु काव्यानुकूल देखिन्छन् ।
२.३.३ आख्यानसूत्र
काव्य भावनाको उदात्त प्रस्तुति हो । तथापि काव्यभित्र भावनाको केन्द्रीकरणका लागि आख्यानसूत्र अन्तर्गर्भित रहेको हुन्छ । कवि भ्रमणमा निस्कनु– भोजनका लागि नेपालेको घर पुग्नु– घरका सम्पूर्ण सदस्य महिलाहरू विधवा हुनु– विधवा सासू तथा सानीले बटुवासँग आफ्ना सम्पूर्ण व्यथा पोख्नु– विधवाका पीडाले कवि द्रवित हुनु– बटुवा बाटो लाग्दा सानी रुनु– उसको रुवाइको कविद्वारा अनेक व्याख्या गरिनु– सानीले नियमित रूपमा आँसुबाट पीडा पोख्ने गर्नु– कविद्वारा सानीको विगत वर्णन गर्नु– सानीका नन्द आमाजूसमेत विधवा हुनु– छोरी र बुहारी सबै विधवा भएपछि चिन्ताका कारण बूढाको मृत्यु हुँदा सासू पनि विधवा बन्नु– हार नखाई सङ्घर्ष गरेर बाँच्नु– सानीको जवानी र विधवा जीवनले कविलाई तत्त्वबोधी बनाउनु यस काव्यका मूलभूत आख्यानसूत्र हुन् । यिनै आख्यानसूत्रको भावनात्मक संयोजन र प्रस्तुतीकरण हो, काव्य ।
२.३.४ विचारसूत्र
हाम्रो देश पितृसत्तात्मक सामाजिक संरचना भएको देश हो । यहाँ नारीको जीवन पुरुषको सहायिकाभन्दा केही होइन । नारीको पहिचान पुरुषको नाम हो । आधुनिकताले यस अवधारणामा परिवर्तन ल्याउँदै छ । तथापि आजसम्म नेपाली नारी आँसु पिएर बाँच्न विवश छन् । पौरुष सहारा गुमाएका एकल नारी समाजको वक्र दृष्टि एवं लाञ्छनाबाट आपूफलाई जोगाउन असमर्थ नै छन् । यही सत्यलाई आत्मसात् गर्दै नारी जागरणको आवाज काव्यमा घन्किएको छ । कुनै पुरुष अनुहारविना त्यस घरका ७–७ जना नारीहरू सङ्घर्ष गरेर बाँच्न तयार छन् । अतः नेपाले घरको उदाहरण देखाएर नारीमुक्ति र नारी सशक्तीकरणको विचारसूत्र कवि दैवज्ञराज न्यौपानेले प्रस्तुत गर्नुभएको छ ।
२.३.५ जीवन दर्शन
यस काव्यले शून्यवादी जीवन दर्शन प्रस्तुत गरेको छ । यो संसार यस्तै छ, पूर्ण छैन । पूर्णापूर्ण केवल संयोग मात्र हुन् । सपनाको दृश्य जसरी पूर्ण छैन, जीवन पनि त्यस्तै हो ः–
पूर्णापूर्ण दुवै भिन्न खालि संयोग मात्र हो
देखेको सपना जस्तै बिर्सेको पनि खेल हो ।
यस काव्यका पात्र भाग्य वा नियतिको वरिपरि घुमेका छन् । उनीहरू जुन पीडाले आक्रान्त छन् त्यसको जड भाग्यलाई ठान्छन् । पूर्वजन्मको कर्म यस जन्मको आधार स्विकार्दै ईश्वरको भर पर्छन् । अतः यो काव्य नियतिवाद, भाग्यवाद र ईश्वरवादको जीवन दर्शनबाट प्रभावित देखिन्छ । यस्तो परनिर्भरताका विरुद्ध आवाज उठाउँदै कवि मुक्तिको बाटो खोज्ने सन्देश पनि दिन्छन् ।
२.३.६ ध्वन्यात्मकता
जीवन सङ्घर्षको पर्याय हो । व्यक्तिले जन्मदेखि मृत्युपर्यन्त सङ्घर्ष गर्नुपर्छ । जसले सङ्घर्ष गर्न सक्छ उसैले अस्तित्व जोगाउन पनि सक्छ । परनिर्भरता मृत्यून्मुखी प्रवृत्ति हो । यसले मानिसलाई निराश, हताश र कमजोर बनाउँछ । हरेक चुनौतीको सामना गर्दै विजयपथमा लम्कनुपर्छ भन्ने ध्वन्यात्मक अर्थ काव्यमा पाइन्छ ।
२.३.७ आलङ्कारिकता
अलङ्कार योजनाका हिसाबले काव्य सफल छ । यस काव्यमा शब्दालङ्कार तथा अर्थालङ्कार दुबैको प्रयोग भेटिन्छ । अनुप्रास अलङ्कारको पूर्ण पालना गरिएको छ । साथै रूपक, उपमा, दृष्टान्त, अर्थान्तरन्यास, उत्प्रेक्षा, अतिशयोक्तिजस्ता अलङ्कार काव्यमा आएका छन् ।
रूपक अलङ्कार :
खानाको माग राख्तैमा हुन्छ बाबू बसौं भनिन्
ग्रीष्मकी पहिली वर्षा प्यासीकी सरिता बनिन् ।
उपमा अलङ्कार :
राम्रा कमलभैँफ आँखा जुँगाको रेखि सुन्दर
निधार पोटिलो होला मुख हेर्दै मनोहर ।
दृष्टान्त अलङ्कार :
जवानी जिन्दगी यात्रा सधैँ बन्दैन सुस्थिर
जानैपर्छ सबैलाई कुनै गन्तव्य खातिर ।
अर्थान्तरन्यास अलङ्कारः
पालुवा पुष्प लाग्दैनन् फल्दैनन् रसिला फल
जस्तो शून्य खरानी छ उस्तै भीषण बादल ।
उत्प्रेक्षा अलङ्कारः
विशुद्ध मनकी आशा माया सन्तोषकारिणी
थिइन् कि वनकी देवी कुनै कान्तारचारिणी ।
प्रस्तुत काव्य आलङ्कारिक छ । अभिधार्थमा नेपाले परिवारको कारुणिक क्रन्दन हृदयविदारक दृश्यचित्रले कविहृदय आहत बनेको छ, रससिक्त भएको छ । र, उक्त परिवार अझ सानीप्रति तीव्र सहानुभूति काव्यिक स्वरूपमा प्रस्तुत भएको छ । यस्ता अभिव्यक्ति प्रतीकात्मक रूपमा आएकाले अलङ्कार योजना स्वाभाविक देखिन्छ ।
२.३.८ रस संयोजन
यो करुण काव्य हो । आफ्ना पति गुमाएका सात जना ग्रामीण महिलाको विदीर्ण हृदयको अभिव्यक्ति काव्यमा आएको छ । विशेष गरी भर्खरै यौवन अनुभूत गर्दै गरेकी सानीको वैधव्य जीवन कहालीलाग्दो छ । यौवनसितै चुलिँदै गएको शरीरसुखको चाहना र पतिको मृत्यु विडम्बनापूर्ण देखिन्छ । त्यसैले ऊ बटुवाको बिदाइमा पनि द्रवीभूत भई रोएकी छे । उसको आँसुले कविलाई विचलित बनाएको छ । एक्लो निरस भविष्य देखेर ? अथवा बटुवालाई देख्दा जागृत भएको शारीरिक प्यास अतृप्त रहेर ? जे होस् सानी र अन्यको लयविहीन भविष्यको करुणाजन्य प्रस्तुति काव्यमा भएको छ । अतः काव्यमा केन्द्रीय रूपमा करुण रस आएको छ ।
अङ्गी रस करुण भए पनि अङ्ग रसका रूपमा स्वाभाविक आवश्यकता अनुरूप शृङ्गार, वीर र शान्त रसजस्ता अन्य रसका झिल्काझिल्की काव्यमा पाइन्छन् । करुण रसको केन्द्रीयतापछि शान्त रसको अधिकताले काव्यलाई स्वाभाविक गति दिएको छ ।
२.४ उपसंहार
नियतिका कारण परिवारका पुरुष सदस्य गुमाएका नेपाले परिवारको करुण गाथा हो–ती रोइन् त्यसरी किन ?” काव्यलाई अधिक करुणाजन्य बनाउन सफल छवटा पति गुमाएका सातवटी महिलाको कथा । पुरुषप्रधान समाजमा धन सम्पत्ति भएर पनि महिलाहरूले सामाजिक अवहेलना सहनु परेको यथार्थ काव्यमा जीवन्त रूपमा आएको छ । काव्यका पात्रहरू निराश छन् तर मृत्यून्मुखी छैनन् । उनीहरू समाजमा आफ्नो भूमिका खोजिरहेका छन् । उनीहरूलाई भाग्यले ठगेको छ, परिवार सुखबाट वञ्चित गराएको छ । यसमा गुनासो पोखेका छन् । तर, अन्धकार भविष्यका बीच उज्यालोको खोजी गरेका छन् ।
काव्यमा कवि न्यौपानेको नारीवादी चिन्तन प्रस्तुत भएको छ । समाज, समय र नियतिद्वारा ठगिएर शारीरिक एवं मानसिक रूपमा आहत बनेका ती नारी पात्रलाई काव्य विषय बनाएर भावुक हृदयमा सहानुभूतिको सागर उराल्न कवि सफल बन्नु भएको छ । विषय र शैली दुवैमा काव्य सशक्त छ ।
२.५ सन्दर्भग्रन्थ सूची
न्यौपाने, दैवज्ञराज, “सिर्जनाको लहर”, काठमाडौंः साझा प्रकाशन, २०३५ ।
––––––––—————, “तोते बोली”, काठमाडौंः साझा प्रकाशन, २०३८ ।
––––––––—————, “जोर मुरली”, काठमाडौंः ने.रा.प्र.प्र., २०४६ ।
––––––––—————, “सबै हाम्रा साथी”, काठमाडौंः आगम प्रकाशन, २०५६ ।
––––––––—————, “सम्झनाको धरातलबाट”, काठमाडौंः भूषणराज न्यौपाने र अर्चना आचार्य, २०६३ ।
त्रिपाठी, वासुदेव र अन्य, “दैवज्ञराज न्यौपानेः जीवनी, कृतित्व तथा अभिनन्दन”, काठमाडौंः साहित्यकार
प्रा.दैवज्ञराज न्यौपाने अभिनन्दन समिति, २०६६ ।
पोख्रेल, प्रह्लाद, “दैवज्ञः पद्यध्वनि” (सम्पा.), काठमाडौंः कोकगोष्ठी, २०६६ ।