कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक समीक्षा

काव्यकार दैवज्ञ : सम्झनाको धरातलबाट काव्यमा

प्रा.डा. बद्री विशाल भट्टराई

०. आमुख

दैवज्ञराज न्यौपाने (१९९९–२०६८) नेपाली साहित्य वाटिकाका एक माली हुन् । आफैँ सिर्जनाका सुन्दर पुफल पुफलाउने र अरूद्वारा सृजित रचनाको सौन्दर्यको पारख गर्ने चेतना पनि उनमा देखिन्छ । त्यसैले उनी काव्य वाटिकाका माली मात्र नभएर काव्य सौन्दर्यका पारखी पनि हुन् अथवा स्रष्टा र समालोचक दुबै हुन् । सृजना र समालोचना गरी एक दर्जन कृतिका रचयिता दैवज्ञ सृजनाको क्षेत्रमा कवि, काव्यकार तथा गीतकारका रूपमा बढी परिचित देखिन्छन् । उनी बाल साहित्यकार पनि हुन् । बाल साहित्य अन्तर्गत उनले बालगीत, कविता, कथा, बालोपयोगी जीवनी आदि लेखेका छन् । यसलाई उनको अर्को विशिष्ट पाटो मान्न सकिन्छ जहाँ उनले आफ्नो छुट्टै परिचय कायम गरेका छन् । फुटकर कविता तथा काव्यमा उनका छुट्टै वैशिष्ट्य पाइन्छन् । उनले जसरी पोल्टाका गीत जस्ता कृति दिएका छन् त्यसरी नै जवानोपयोगी प्रियालाई सन्देश जस्ता कविता हरू रचेका छन् । उनको सृजनात्मक प्रतिभाबाट प्रौढ तथा प्र्रौढोत्तरहरूका लागि उचित भाव र भाषा मिलेका काव्य तथा खण्डकाव्यहरू सृजित देखिन्छन् । वास्तवमा उनको साहित्यिक फाँट निकै फराकिलो छ । प्रस्तुत लेखमा काव्यकार दैवज्ञको सम्झनाको धरातलबाट काव्य सङ्ग्रहभित्रका रचनाहरूलाई सरसर्ती हेर्ने प्रयास गरिन्छ ।

१. सम्झनाको धरातलबाट काव्य सङ्ग्रहको संरचनात्मक पक्ष

सम्झनाको धरातलबाट मा लामा–छोटा गरी छ ओटा रचनाहरू सङ्कलित छन् । वि.सं. २०२३ देखि २०६० सम्मका विभिन्न कालखण्डमा रचित ती रचनाहरूमध्ये पहिलो रचना शोभा चार चार श्लोकका तिन गुच्छक र दुई श्लोकको एक गुच्छक गरी जम्मा १४ श्लोकमा रचित देखिन्छ । १७ –१७ श्लोकका पूर्वार्ध र उत्तरार्ध खण्डको कलेवरमा राजा त्रिभुवन काव्य रचित छ । अर्ध शतक काव्य शान्ति कामना मा जम्मा पाँच गुच्छक अन्तर्गत ५० श्लोक देखिन्छन् । पहिलो गुच्छकमा नौ, श्लोक, दोस्रोमा छ, तेस्रोमा १५, चौथोमा १२ र पाँचौ वा अन्तिम गुच्छकमा आठ श्लोकद्वारा यस रचनाले स्वरूप ग्रहण गरेको छ । सम्झनाको धरातलबाट यस सङ्ग्रहको चौथो रचना हो । सङ्ग्रहको नाम नै यसबाट रहन गएको छ । अनुष्टुप् छन्दका जम्मा १०६ श्लोकमा रचित यस कृतिमा जम्मा नौ गुच्छक देखिन्छन् । पत्रकाव्य भनी चिनाइएको यस रचनाको पहिलो गुच्छकमा २९, दोस्रोमा छ, तेस्रोमा ११, चौथोमा १४, पाँचौँमा १२, छैटौमा १४, सातौँमा केवल दुई, आठौँमा १०, र नवौँ वा अन्तिम गुच्छकमा आठ श्लोक रहेका देखिन्छन् ।

यस सङ्ग्रहमा खण्डकाव्य भनी चिनाइएका दुई काव्य देखिन्छन् ती हुन्—चासो र चिन्तन अनि ती रोइन् त्यसरी किन ? यी दुबै काव्य अनुष्टुप् छन्दमा रचित छन् । यी मध्ये चासो र चिन्तन मा कथ्यपृष्ठांशको रूपमा रहेका दुई श्लोक सहित १५४ श्लोक देखिन्छन् । उक्त श्लोकहरू व्रफमशः प्रथम गुच्छकमा ३६, द्वितीय गुच्छकमा ४०, तृतीय गुच्छकमा १४, चतुर्थ गुच्छकमा १८, पाँचौँ गुच्छकमा १४, छैटौँमा १९ र सातौँ वा अन्तिम गुच्छकमा ११ श्लोक विभाजित देखिन्छन् । यस सङ्कलनको अन्तिम कृति ती रोइन् त्यसरी किन ? तिन खण्ड र उपसंहार गरी चार भागमा प्रबन्धित देखिन्छ । पहिलो खण्ड अन्तर्गत पर्ने चार गुच्छकमा ९८ श्लोकहरू रहेका छन् । पाँच पाँच गुच्छक कविता रहेका दुई खण्डमध्ये दोस्रोमा ९२ र तेस्रो खण्डमा ८५ श्लोक देखिन्छन् । अन्त्यमा उपसंहार अन्तर्गत पाँच श्लोक रहेका छन् । अभिव्यक्तिका खण्ड र उपर्युक्त श्लोकसङ्ख्यामा रहेका छ रचनामध्ये सुरुका चार रचनालाई कविले काव्य भनी चिनाएका छन् भने अन्त्यका दुई रचनालाई खण्डकाव्य नामले चिनाएका छन् ।

२. प्रथम काव्य शोभा

शोभा यस सङ्ग्रहको पहिलो काव्य हो । प्रकृति काव्य भनी चिनाइएको यो कृति स्रष्टा न्यौपानेले कैशोर्यको अन्तिम खुड्किलोमा उक्लँदा वा १९ वर्षको हुँदा रचित कृति हो । तसर्थ कैशोर्यको समाप्ति र प्रारम्भिक जबानीको रचनाको रूपमा यो काव्य देखिएको छ । स्मृति र अभिव्यक्तिको सङ्गम यस काव्यलाई दुई पाटाबाट हेर्न सकिन्छ । ती दुई पाटा हुन्— प्रकृति र विगत जीवन । शार्दूलविक्रीडित छन्दमा रचित १४ श्लोक मात्र रहेको यो कृति आकृतिका दृष्टिले फुटकर कविताकै सीमामा देखिन्छ । विषय र शिल्पका दृष्टिले पनि खण्डकाव्य भन्न नसकिने रचना हो । तर, चार गुच्छकको संरचनात्मक कलेवर र तिनमा अनुमान हुने तर स्पष्ट थाहा नहुने कथ्यको प्रस्तुतिका कारण पुफटकर कविताको सीमा नाघेर केही अगि बढेको रचनाका रूपमा देखा परेको छ । तसर्थ न कविता न खण्डकाव्य बरु काव्य भनी स्रष्टाले नै यसको स्वरूप सम्बन्धी अलमललाई टुङ्ग्याइ दिएका छन् । भाव वाचक र व्यक्ति वाचक दुबै नामका निम्ति प्रयुक्त हुने शोभा शीर्षक राखिएको यो रचना कविको किशोर कालीन प्रकृति प्रेम र प्राकृतिक सौन्दर्यको आस्वादनका साथै प्रतीकार्थमा तत्कालीन अन्य अनुभूतिको प्रस्तुतिका रूपमा देखा परेको छ । यसमा रहेको शोभा शब्द एकातिर वनको प्राकृतिक शोभा भन्ने अर्थमा र अर्कातिर गोठालो बनेर गाई चराउने स्रष्टालाई उक्त क्षणमा सहचरी भई साथ दिने शोभा नामकी नायिका भन्ने अर्थमा पनि प्रयुक्त देखिन्छ । सुन्दर वन र त्यहाँ घुम्ने वनचरीले गीत गाउँदै भाका फेरेको आदि कथनले पनि कविले एकातिर प्राकृतिक सौन्दर्यका पारखी बन्न खोजेको र अर्कातिर उनीसँगको प्रेममा भाका फेर्ने युवतीको सन्दर्भलाई सजिलै जोड्न सकिने ठाउँ दिएका छन् । भावाभिव्यक्तिका निम्ति स्रष्टा, शोभा र वनचरीलाई माध्यम बनाइएको यस काव्यमा गर्भित अल्पाख्यान यस्तो देखिन्छ । “म” पात्र वा कवि अपूर्व शोभा भएको वनमा (पक्षान्तरमा शोभा नामकी किशोरी पनि जाने वनमा) गाई चराउन जाने गर्थे । अपूर्व शोभायुक्त त्यस वनमा सुनौलो पङ्खका अनेक वनचरीहरू थिए (किशोरी शोभाको सौन्दर्य पनि अनुपम थियो) । म पात्र वनको शोभा र वनचरीको गानले लट्ठ थिए (सुनचरी झैँ पहेँलो वर्णकी किशोरी शोभाको सौन्दर्य र मिठो गानले गोठाला कवि मुग्ध हुन्थे) । वनमा चराहरू भाका फेर्दै गाउँथे (सुनचरी झैँ ती किशोरी पनि भाका फेर्दै गीत गाउँथिन् ) । वन र सुनचरीको सौन्दर्यमा मुग्ध भएर जो पनि त्यसलाई समात्ने प्रयास गर्थे (कवि पनि मनमनै ती किशोरीलाई आफ्नै सान्निध्यमा राख्न र स्पर्श गर्न चाहन्थे) । कहिले पहाडका थुम्का र कहिले खोलामा झर्ने वनचरीलाई समात्न उनी सक्दैनथे । हातले वनचरी छोप्न नसकेर मनले समात्दथे, आफ्नो गीतमा वनचरी आएको ठान्थे, भावुक कल्पनामा डुब्दै आनन्दातिरेक अनुभूति गर्थे, फलतः उनको हृदयमा अनेकौ कल्पनाका मञ्जरीहरू फक्रन्थे (पहिले कविले छुन खोज्दा तर्कने ती किशारी बैँसको लहरले छोइँदा आफैँ कविछेउ आउँथिन् र उनका हात समाउँथिन्, कविले गीत गाउँदा उनी पनि हृदयको गीत गाउँथिन् । पारस्परिक सान्निध्यले इन्द्रिय लट्ठ भई शरीर मात लागेसरि हुन्थ्यो) ।

एकदिन अचानक वनचरी व्याधाले थापेको जालमा परी (गोठालो कविकी वनसँगी पनि अकस्मात् कसैको दुर्नियतमा परेर हो वा के कारणले हो, वनमा आउन छोडी) । जालमा परेकी वनचरीको क्रन्दनले वन रोयो,न्याउली आदि चराहरू रोए (वनसँगी नआउँदा कविको पनि मन रोयो) । वनचरी नहुँदा अरू चरा निस्ताए (वनसँगीको सच्चा रूप त हरायो नै तर छाया समेत हराउँदा कवि पनि केही दिन निस्ताए । केही दिनपछि उनले प्राकृत शोभामा वनसँगीको स्वरूप सम्झँदै चित्त बुझाउने प्रयास गर्न थाले । उनलाई लाली गुराँसमा वनसँगीको मुस्कान, कोइलीको कुहु कुहुमा गीत, वनको जबानी, सौन्दर्यमा अनुहार तथा घामले झलमल्ल हिमालमा वनसँगी शोभाको अद्वितीय कान्ति आभासित हुन थाल्यो) । आफ्नो पे्रमी वा प्रितमलाई वनसँगीले पनि यसरी नै सम्झने र सौगात लिएर आउने कुरामा उनी आश्वस्त भए ।

उपर्युक्त सहज अभिधेयार्थ र पक्षान्तर विशेषार्थ प्राप्त हुने शोभा काव्यमा कविको प्रतिभा र काव्यकला अत्यन्त राम्ररी देखिएको छ । उनले दुबै अर्थका निम्ति आवश्यक शब्द तथा पदावलीको योजना गरी गाई चराउने वन र वन्य सुन्दरीले पारेको प्रभावलाई एकसाथ अभिव्यक्ति दिएका छन् । यस्तो समवेत भावाभिव्यञ्जनको साक्ष्यका लागि सोही काव्यका केही श्लोकका हरफहरू प्रस्तुत गर्न सकिन्छ ः–

शोभा त्यै वनभित्र शान्त वनकी बस्थिन् अकेली परी ।

+ + + + +

मैले हात समाउँदा रहरले ती हातमै आउँथिन् ।

+ + + + +

बस्थे इन्द्रिय लट्ठ त्यो समयमा क्यै मात लागेसरि ।

+ + + + +

शोभासाथ वियोगमा विरहले रोएर बर्स्यो झरी ।

+ + + + +

मेरो जीवन खिच्छ बैँस उनकै एकान्तको माधुरी ।

+ + + + +

आफ्नो प्रीतम निम्ति एक खुसिको सौगात ती ल्याउँछिन् ।

वन्य प्राकृत शोभाको वाच्यार्थ यस काव्यको सहज अर्थ हो भने वन्य प्राकृत शोभाको सान्निध्यमा कविसँग ऐकान्तिक साहचर्यको चाहना राख्दै मिठो गीत र लोभलाग्दो बैँसको कोसेली बोकेकी पहेँलो वर्णकी सुन्दरी शोभासँग किशोर स्रष्टाको प्रेम तथा वियोग यसको व्यङ्ग्यार्थ हो जुन प्रतीयमान अर्थ खोल्न उपर्युक्त हरफहरू पर्याप्त देखिन्छन् ।

३. दोस्रो काव्य : राजा त्रिभुवन

सम्झनाको धरातलबाटको दोस्रो काव्य हो, राजा त्रिभुवन । शार्दूल विव्रफीडित छन्दका १७–१७ श्लोकका दुई खण्डले विनिर्मित यस ऐतिहासिक काव्यमा नेपालको इतिहासमा १०४ वर्षसम्म एकतर्फी रूपमा चलेको राणा शासन हटाउन त्यस वेला राजा त्रिभुवनले जनताको साथ दिई आफू र जनतालाई समेत मुक्त गरेको ऐतिहासिक सन्दर्भको काव्यात्मक वर्णन गरिएको छ ।

यस काव्यको प्रथम खण्डमा कविले नेपाली जनता घनघोर अन्धकार झैंँ राणा शासनमा रहन विवश परिस्थितिको चित्र उतारेका छन् । राजालाई माउ र जनतालाई बाछाका रूपमा चित्रण गर्दै कुटिल, व्रूफर र स्वार्थी राणा शासकहरूले गोठालाले दुधका निम्ति बाछालाई माउबाट अलग्याए झैं राजा र जनतालाई अलग्याएको सन्दर्भलाई काव्यात्मक अभिव्यक्ति दिँदै राजाप्रजाको एकसाथ रहने सत्यलाई छोप्न खोज्दा काठ रगडिँदा आगो उत्पन्न भए झैं क्रान्तिको ज्वालो उठेको प्रसङ्गको सुन्दर वर्णन गरेका छन् ।

यस काव्यको दोस्रो खण्डमा पनि राजा त्रिभुवनलाई प्रजातान्त्रिक जागृतिका दीपक मान्दै देश चम्काउने निःस्वार्थी व्यक्तिका रूपमा प्रस्तुत गरिएको छ । राजा त्रिभुवनले तुच्छ स्वार्थमा लिप्त भई राजा बन्न नचाहेको टिप्पणी गर्दै क्षणिक स्वार्थ, लुब्ध भावना र देशका दाजुभाइलाई छलमा फसाएर एक करोड जनताले नासोका रूपमा सुम्पेको राजतन्त्र र त्यसको सञ्चालन अधिकारको दुरुपयोग नगरी सदुपयोग गरेर देशमा नव बिहानी ल्याएको उल्लेख गरेका छन् । कवि राजा त्रिभुवनलाई जागृतिको ज्योति जगाउने दीपकका रूपमा चित्रण गर्दै भन्छन् ः–

जस्तो गीत बनेर जागृति दिगो नेपाल ब्युँझाउन

उस्तै चाख लिएर सिर्जन गर्‍यो यो देश चम्काउन

पायो प्यार अनन्तभित्र रसिलो संसारलाई दिन

आफ्ना भाइ छलेर किन्तु उसले चाहेन राजा हुन ।

उपर्युक्त श्लोकको अन्तिम हरफलाई समस्या बनाई रचिए झैं रचिएका अन्य नौ श्लोकमा कविले त्रिभुवनका यस्तै वैशिष्ट्यबारे अभिव्यक्ति दिएका छन् । उनले जनसेवालाई पर पन्छाई राजा हुने चाहना नराख्ने, प्रजातन्त्रको शङ्खघोष गरी जनता छेउ जनता सरह बनेर सुखदुःखका कुरा सुन्ने, जनसेवामा समर्पित पुर्ख्यौली गुण लिएका राजाको रूपमा त्रिभुवनलाई चित्रण गरेका छन् ।

एक समयमा राजाले गर्ने कर्म नै राजनीति मानिन्थ्यो । हाल जनताले राजनीति गर्छन् । तसर्थ उपर्युक्त श्लोकलाई एकातिर राजा त्रिभुवनको दृष्टिकोणका सन्भर्दमा र अर्कातिर राजनीति कस्तो हुनु पर्छ भन्ने सन्दर्भमा पनि व्याख्या गर्न सकिन्छ । स्वार्थ र सत्ता लोलुपता बढेको वर्तमान सन्दर्भमा झन् यो महत्त्वपूर्ण छ । राष्ट्र र जनतालाई एकीकृत गर्ने साधन राजनीति बन्नु पर्छ, नेतृत्व लिने राजनेतामा स्वार्थ र सत्ता लोलुपता हुनु हुन्न भन्ने सन्दर्भ छर्लङ्ङ देखिने गरी यस काव्यमा प्रजातन्त्रवादी व्यवस्थाका राजा र राजनेतालाई सुझाउ दिइएको छ ।

कवि दैवज्ञले यो काव्य २०२३ मा रचेका हुन् जतिवेला राजा त्रिभुवनले जनतालाई सुम्पेको प्रजातन्त्र रूपी नासो राजा महेन्द्रले खोसेर एकतन्त्री शासन चलाउन सुरु गरेको ६ वर्ष बिति सकेको थियो । चौथो हरफ “चाहेन राजा हुन” भएका श्लोकमा कविले त्रिभुवनले जुन जुन कुरा गरेनन् उनका छोरा महेन्द्रले भने राजा हुनका लागि तिनै कार्य गरे भन्ने सन्दर्भलाई विपरीत लक्षणाद्वारा प्रस्तुत गरेको आभास हुन्छ । राजा त्रिभुवनले जनतालाई मुक्ति दिलाएका थिए तर उनका छोरा महेन्द्रले भने जनतालाई पुनः पञ्चायती पिँजरामा राखेर राणाले झैं एकतन्त्री शासन चलाएको प्रसङ्ग झल्कने र यस्तो शासन धेरै स्थायी नहुने भविष्य वाणी समेत काव्यकारले गरेका छन् ।उनी केही दिन ज्योतिपुञ्ज ताराहरू छोपिन सक्लान् तर आकाशको चन्द्रमा पृथ्वीमा खसेर बिलाउँदैन भन्दै राजा त्रिभुवनले प्रजाका निम्ति हक खोज्न हिंडेको ऐतिहासिक सन्दर्भ कहिल्यै नछोपिने वा लुप्त नहुने विचार प्रकट गर्दछन् । राजा त्रिभुवनको यो स्वच्छ कीर्तिलाई मैलो नपार्न, स्वतन्त्रताको पुष्पलाई सधैँ ताजा राख्न र न्यायप्रेमी जनताको भविष्यमाथि खेलबाड नगर्न पछिका शासकलाई चेतावनी दिंदै नेपाली धर्तीमा प्रजातन्त्रको बिउ छर्ने राजा त्रिभुवनप्रति शब्दरूपी श्रद्धाञ्जली अर्पण गरी काव्य समापन गर्दछन् ।

४. तेस्रो कृति : शान्ति कामना

यस सङ्ग्रहको तेस्रो वृफति हो, शान्ति कामना । अर्ध शतक काव्य भनी चिनाइएको यो काव्य शार्दूलविव्रफीडित छन्दका ५० श्लोकमा रचित र पाँच गुच्छकमा विभाजित छ । एक्काइसौं शताब्दीका युगीन यथार्थहरू अशान्ति, आव्रफोश, कोलाहल, त्रास, मानवताको गिर्दो स्थिति, आस्थाका धरोहरको विनाश र अणुको त्रासको अभिव्यक्ति दिँदै यस काव्यमा कविले युगको चाहना शान्ति हो भन्ने कुरालाई काव्यात्मत्क अभिव्यक्ति दिएका छन् । युग यथार्थको अभिव्यक्ति दिने कवि एकातिर मान्छे आवासका निम्ति नयाँ ग्रहको खोजी गर्दै रहेको अर्कातिर अनादिकालदेखि मान्छेको आवास पृथ्वीलाई नष्ट गर्न अणु बम हातमा लिई प्रहार गर्न उद्यत भएको तितो सत्य प्रस्तुत गर्दछन् । कवि मानवले आफ्ना लागि यन्त्र मानव बनाउँदा उसले कति लाभ गर्‍यो कति हानि भयो यो कुरा नबुभ्फदा आज संसार अशान्तिको दलदलमा फसेको उल्लेख गर्दछन् । विश्वासको सङ्कट, पैसा नै सबथोक भन्ने सोच, चाकडी, चुक्ली र चिनारीले ध्वस्त भएको मानवता; शोषण र अन्यायले मानवता र शान्तिरूपी पन्छीका पखेटा काटिएको सन्दर्भलाई कलात्मक अभिव्यक्ति दिने कवि यस युगमा राम्रा नीति, नीतिकार र योजनाकारका नीति र योजना भए तापनि ती अलपत्र परेकोमा दुःख प्रकट गर्दछन् । अनेक आविष्कार र विकास गर्ने मानव जातिलाई केही गरेन भन्न नमिल्ने तर गरेका कुरामा मानव धर्मको लेश पनि नहुनुले उपलब्धि ठान्न नसकिने यथार्थ अभिव्यक्त गर्दै कवि भन्छन् ः–

मान्छे दैनिक सप्रियो कि अथवा गिर्दै गयो झन् तल

भोका निम्ति दिइन्न अन्न कहिल्यै तृष्णार्तलाई जल

के भो मानवता कतातिर गयो ? बढ्दै गए दानव

हेर्दा लाग्छ दुरुस्त तैपनि कतै देखिन्न रे मानव ।

शान्ति कामना काव्यमा कवि यिनै युग यथार्थको कवितात्मक चित्र उतार्न प्रयासरत देखिन्छन् । उनी मान्छे आफ्ना प्राकृत वा नैसर्गिक गुणबाट विमुख भएर नै यस युगमा अमानवीय तथा राक्षसी प्रवृत्ति पन्पिएको निश्चय गर्दछन् । कवि मानवको अनुहार उही छ तर त्यसभित्र रहने मन र मस्तिष्कमा चोरी, जालझेल, षड्यन्त्र, व्रूफरता, हिंसा, अन्याय, स्वार्थ, कपट र दम्भको वास हुँदा ऊ दानवमा परिणत भएको र यो नै अशान्तिको उर्वरक बनेको टिप्पणी गर्दै यस्तै स्थिति रहेमा मान्छे अनुहारमा मात्र सीमित हुने निष्कर्ष प्रस्तुत गर्दछन् ः–

हामी प्राकृत वस्तुबाट दिनहुँ टाढा हुँदै छौँ जति

झन् झन् भौतिकता बढेर यसरी बढ्दै छ रे दुर्गति

के होला अझ झन् अनन्त रगडा बन्दै गए व्यापक

मान्छे हुन्न भविष्यमा अब कतै उठ्तै छ शङ्का स्वतः ।

विकसित चेतनाको पृथ्वीको सर्वोत्तम प्राणी मान्छेमा उपर्युक्त गुण भरिनुलाई मावनको ह्रासोन्मुखी प्रवृत्ति ठान्ने कवि मानव जुनी कस्तो र के हो भन्नेबारे एकै सूक्तिमा भन्छन् ः–

एकै बार फुलेर सौरभ दिने हो मर्त्यको जीवनी

एक पटक पाइने मानव जुनीमा मान्छे दुर्गन्ध होइन सुगन्ध छर्ने हुनु पर्दछ भन्ने कवि सहिष्णुताको अभावले मान्छेको सुगन्ध विलाएको अभिव्यक्ति दिन्छन् । अरूको कुरा नसुनी आफ्ना कुरा मात्र गर्ने असहिष्णु प्रवृत्ति नै अशान्तिको बीज हो भन्ने उनको निष्कर्ष छ । यसले राजनीतिदेखि धर्ममा समेत विविध भेद उपभेद सिर्जना भई असहिष्णु संस्कृति विकसित भएको, युगीन उपलब्धिका रूपमा मान्छेले विकास गरेका वैज्ञानिक प्राप्ति र आविष्कार मान्छेकै विरुद्ध उपयोग हुँदा शान्ति टुहुरो बनेको र अशान्तिको साम्राज्य बढेको उद्घोष यस काव्यमा पाइन्छ । यसरी युगीन यथार्थको तितो र कहाली लाग्दो अवस्थाको चित्र उतार्ने कवि पञ्च महाभूत मान्छेको मन, वचन, कर्म, जल, स्थल, नभ, पृथ्वीका यावत् वस्तु र प्राणी सबैमा अनन्त शान्तिको कामना गर्दै काव्य समापन गर्दछन् ।

५. चौथो कृति सम्झनाको धरातलबाट

पत्रकाव्य नामले परिचित सम्झनाको धरातलबाट यस सङ्ग्रहको चौथो काव्य हो । कवि दैवज्ञले आफ्ना मित्र विष्णुराज कुसमलाई लेखेको पद्यात्मक पत्रकाव्य हो यो । अध्ययन कालका साथी सँगातीको चरित्र र विद्यार्थी जीवन कालका घटनाको वर्णन भएको यो रचना नौ गुच्छकमा संरचित छ । वर्तमानबाट विगततर्फको काव्यात्मक पूर्वदीप्तिका रूपमा रचित यस कृतिमा काव्यकारले विद्यार्थी कालमा र पछि पनि भोगेका केही यथार्थको अभिव्यक्ति पाइन्छ । काव्यकलाका दृष्टिले यो रचना सामान्य छ । वैयक्तिक घटना सन्दर्भको मात्र प्रस्तुतिका कारण काव्यकार र काव्यमा वर्णित पात्रले मात्र आनन्द प्राप्त गर्ने रचनाका रूपमा यसलाई लिन सकिन्छ ।

६. पाँचौँ कृति : चासो र चिन्तन

यस सङग्रहभित्रको चासो र चिन्तन खण्डकाव्य भनी चिनाइएको रचना हो । तोते बोली बोल्ने आफ्नो शिशु दौहित्र (छोरीको छोरो, नाति) अमेरिका फर्कन लागेको क्षणमा मन रसाएर लेखिएको यो रचना पत्रकाव्य “सम्झनाको धरातलबाट” जस्तै पारिवारिक सन्दर्भमा केन्द्रित देखिन्छ । तथापि यसमा केही सार्वजनिक सन्दर्भ र शाश्वत अनुभूतिहरू पाइन्छन् । कविले विदेशमा राजनीतिक र सामाजिक विकास एकसाथ भएकाले त्यहाँ अर्थतन्त्र दर्‍हो भएको तर नेपाल भने राजनीतिक नेतृत्व नै विकृतिमा डुबेको कटु सत्य र देशमा अवसर नहुँदा नागरिक पलायन हुने यथार्थका रूपमा तलका हरफलाई हेर्न सकिन्छ :

देशमा नहुँदा काम योजनाको व्यवस्थिति

कसरी धैर्य राखेर हेर्ने दुर्दान्त यो स्थिति ?

जान्ने सुन्ने उतै लाग्छन् सामान्य जनता पनि

पाए काम उतै जाने चाहना राख्छ जो पनि ।

देश विकासका निम्ति सर्वश्रेष्ठ राजनीतिक व्यवस्था प्रजातन्त्र हो तर असल र निःस्वार्थी नेताको नेतृत्व पाए मात्र प्रजातन्त्र राष्ट्रिय समुन्नतिको आधार बन्न सक्ने कुरालाई काव्यवाणी दिँदै कवि भन्छन् :

संसार भरमा राम्रो हो प्रजातन्त्र तै पनि

नेता छैन भने राम्रो केही हुन्न कतै पनि ।

नेपाल यही तितो यथार्थमा परेको र प्रतिभा मात्र नभई श्रम र सिप पनि पलायन भएको सन्दर्भ कोट्याउँदै कवि नेता र नेतृत्वबारे टिप्पणी गर्दछन् ः–

आज छैनन् कुनै नेता गणना गर्न लायक

जसले देशका निम्ति दिन्छ बाटो निरन्तर ।

प्रजातन्त्र शासन व्यवस्था हो र यो साधन मात्र हो । जनताको सुख सुविधा र समुन्नति साध्य हो । जनताको अवस्थामा सुधार ल्याउन सके वा साध्य पूरा गर्न सके मात्र साधन उपयोगी हुन्छ, अन्यथा साधनलाई कसैले पनि प्रशंसा गर्दैन भन्ने भावलाई यस काव्यमा कविले यसरी व्यक्त गरेका छन् :

प्रजातन्त्र त्यहाँ हुन्न नसुध्रे देशको गति

नेपालका राजनेताले सत्तालिप्सामा परेर जनताको महत्त्व बिर्सेको तितो अनुभूति काव्यमा पोख्दै प्रजातन्त्र आएर पनि जनता अन्योलमा रहेको र सामाजिक दुर्गति घट्नुको साटो अझ बढेको टिप्पणी कविले गरेका छन् । युवाशक्ति देशबाट पलायन हुनुको कारण उनीहरुलाई रोजगारीको ऊर्जा यहाँ प्राप्त नहुनु नै हो भन्ने कविको निष्कर्ष छ । उनी भन्छन् :

देशले नदिए ऊर्जा केले शक्ति पलाउँछ ?

युवाशक्ति विना अर्थ आर्पैंफ छटपटाउँछ ।

आफ्ना छोरी ज्वाइँ, छोरा, बुहारी र तिनका भावी सन्तति समेत विदेशतिर लर्को लागेको सन्दर्भ कोट्याउँदै यो स्थिति हरेक गाउँ गाउँमा फैलेपछि देश कुनै दिन साना केटाकेटी र अशक्त वृद्धवृद्धाको मात्र बन्ने भयावह परिस्थितिको कल्पना कविले गरेका छन् । उनी देशको सम्भाव्य दुरवस्थाप्रति वेदना व्याकुल हुँदै भन्छन् ः–

बढ्दै छ मनमा त्रास हो यस्तै छ परिस्थिति

खै प्रजातन्त्र आएर देशको सुध्रियो गति ?

सम्झँदा चित्त काटिन्छ वेदना छटपटाउँछ

बिग्रँदा देशको बाटो को आँसु झार्न आउँछ ?

“चासो र चिन्तन”भित्र पारिवारिक सन्दर्भ अतिरिक्त सार्वजनिक सन्दर्भ जोडिएका प्रसङ्गहरू यिनै केही देखिन्छन् । पारिवारिक विषयबाट देशभक्तिको प्रसङ्ग यसरी बिचबिचमा आएर यो काव्य १५४ श्लोकमा समाप्त हुन्छ ।

७. छैटौं तथा अन्तिम काव्य : ती रोइन् त्यसरी किन ?

यस काव्य सङ्ग्रहको छैटौं तथा अन्तिम काव्य हो ती रोइन् त्यसरी किन ?” जम्मा तिन खण्ड र उपसंहारका केही श्लोक भएको यस रचनालाई कवि स्वयंले खण्डकाव्य भनी चिनाएका छन् । अध्ययनका निम्ति दाङमा रहँदा त्यहाँको पश्चिमी पाटो भ्रमण गर्दा वास बसेका घरको करुण पारिवारिक परिदृश्यको काव्यात्मक वर्णन यस रचनामा देखिन्छ । भ्रमण पश्चात् तुरुन्तै पहिलो खण्ड लेखिएको यस काव्यका बाँकी दुई खण्ड कविले पक्षाघात भई एकै थलामा बस्नु पर्दा तयार गरेको थाहा हुन्छ । मन नै चस्काउने र मष्तिक नै बिझाउने यो सन्दर्भ काव्यकारको संवेदनशील हृदयमा ताजै रह्यो एवं अशक्त र प्राय एक्लै रहँदा यसले बाहिर निस्कने मौका पायो । एकै पटक नरचिनु र स्रष्टा शारीरिक रूपमा अशक्त तर मानसिक रूपमा अतीतको संस्मरण प्रस्तुत गर्न समर्थ भएकाले र यसरी नै बाहिर आएकाले पनि यस रचनाको बढी महत्त्व देखिन्छ ।

अध्ययनका सिलसिलामा दाङमा छँदा लेखक साथी टीका न्यौपानेलाई लिई त्यहाँको पश्चिमी भेकतर्फ लाग्छन् । पश्चिम दाङको सुदूर गाउँमा पुगेका दुबै जनालाई वास र गाँसको चिन्ताले गाँज्दछ । कसले गाँस र वास सजिलै देला भनी एक जना स्थानीय व्यक्तिलाई सोध्दा उसले नेपालेका घरमा गए सुबिस्ता हुन्छ भनी जाने बाटो समेत देखाइ दिन्छ । दुबै थकित पथिक नेपालेका घरमा पुग्छन् । आँगनमा दाइँ गर्न छिरलिएको पराल सम्हाल्दै गरेकी एक विधवा नारीलाई देखेर बास र गाँसको आग्रह गर्दा आतिथ्यको सहर्ष स्वीकृति पाएका लेखकले केही बेरको कुराकानीपछि त्यो घर पुरुष र बालबच्चाविहीन रहेको थाहा पाउँछन् । ६ भाइ छोरा र ६ बहिनी छोरी जन्म दिने ती वृद्धा ६ जना विधवा बुहारी र ६ जनै विधवा छोरी सहित आफू समेत १३ जना वैधव्य पीडित रहेको असह्य पीडादायी घटनाको सूचना संक्षिप्त कुराकानीमा नै ती वृद्धाबाट थाहा पाउँछन् । ६ बुहारीमध्ये कान्छीले खान आउन आग्रह गरेपछि भान्सामा तिनैबाट उनको बाल्य जीवन, किशोर काल, बिहाको प्रसङ्ग र पतिको देहान्त लगायत समग्र पीडादायी घटनाबारे थाहा पाउँछन् । उनीहरु फुल फुले पनि बास्ना नचल्ने र फल नलाग्ने बनेको यही वेदनामय तिखो र मर्मभेदी आख्यान यस काव्यमा यसरी समेटिएको छ ।

छ भाइ पुत्रकी आमा छ बैनी दुहिता हुने

दयालु बुढिया आमै रहिछन् विधवा हुने

बुहारी विधवा मात्रै रहेछन् विधवा हुने

छोरी पनि सबै उस्तै रहेछन् विधवाहरू ।

करुण तथा मर्मस्पर्शी सामाजिक पारिवारिक घटना सन्दर्भलाई विषय बनाएको यो काव्यको पहिलो खण्डमा कविको यात्रा र ती विधवा वृद्धाको घरको अवस्थाको वर्णन गरिएको छ । आर्थिक दृष्टिले सम्पन्न तर भाग्यले विपन्न उनीहरूको सम्भाव्य सामाजिक असुरक्षाको प्रसङ्ग पनि अभिव्यक्त छ । घरमा पुरुष वा लोग्नेमान्छे नहुँदा असुरक्षाको मानसिक तथा याथार्थिक त्रासलाई कविले विधवाको संवादका माध्यमबाट अभिव्यक्त गरेका छन् । काम अर्‍हाउँदा नटेर्ने खेतालाको प्रसङ्गबाट यस घरको यथार्थ उद्घाटित गर्दै उनको मानसिक ताप र रापको उद्घाटन एकैसाथ गर्छन् ।

घरभरि बुहारी छन् तर सबै विधवा । यस घरबाट अन्भिएका छोरीहरू आ–आफ्ना घरमा छन् तर सबै विधवा । नाति नातिनी कोही छैनन् । सबै सफेद वा सेताम्य पारिवारिक परिदृश्यलाई करुणामय शब्दमा उतार्दै कविले अवकेशी वनस्पतिको बगैँचाको उपमा दिएका छन् । देख्दा वृक्ष उस्तै हाँगा पातयुक्त छ तर अरू बगैँचाका वनस्पतिमा फुलपछि फल लाग्छ तर त्यस परिवार र त्यस परिवारसँग सम्बन्धित अन्य छ परिवार (छोरी पट्टि) फल नलाग्ने दैव दुर्विपाकले मनमा उकुच पल्टेको घाउको पीडा तब झन् तीब्रतर बन्छ जब कान्छी बुहारीले खाना पस्केर खाँदै गरेका ती दुई अतिथिका बिच आफ्नो अन्तःपीडा सुनाउँछिन् । बुहारीको पीडापूर्ण कथन कविका शब्दमा यसरी प्रकट हुन्छ ः–

यो मात्र घर हो हाम्रो, हामी गौरवशालिनी

छैनौँ आज सबै उस्तै बनेका छौँ अभागिनी

घरमा देवता छैनन्, शून्यता छ सबैतिर

उराठ मनमा लाग्छ नियास्रो छ सबैतिर ।

महिलाहरू सौभाग्यवती तथा सन्तानवती हुनुमा आफूलाई गौरवशाली ठान्छन्, त्यो नहुँदा उनीहरू हतश्री हुन्छन् । एक होइन सबै सौभाग्य र सन्ततिविहीन बनेका यस घरका अभागिनी महिलाहरू देवताविनाको मन्दिर झैं बनेको तिक्तता अभिव्यक्त गर्दै कान्छी दुलहीको मर्मान्त पीडा अरू श्लोकमा यसरी व्यक्त हुन्छ :

पालुवा पुष्प लाग्दैनन् फल्दैनन् रसिला फल

जस्तो शून्य खरानी छ उस्तै भीषण बादल

म त्यस्तै वनकी वृक्ष सार्‍है शून्य अभागिनी

सानैमा विधवा नारी बनेकी हतभागिनी ।

प्रकृति र पुरुष संसारलाई हराभरा बनाउने साधन हुन् । दर्शनद्वारा प्रतिपादित यस सिद्धान्तलाई मानव समाज सापेक्ष व्याख्या गर्दा प्रकृति नारी हो भने पुरुष लोग्नेमान्छे हो । खेत र बिउ भनेर सामान्य कृषिमा यसलाई बुझन सकिन्छ । यहाँ खेत छ बिउ छैन, प्रकृति छ पुरुष छैन फलतः घर छ तर घरभित्र घरको मुटु र मर्म छैन । पुरुष मात्र भएर प्रकृति नहुँदा हुने अवस्था पनिे भिन्न हुँदैन जसरी बिउ हुँदा र खेत नहुँदा कृषिको कल्पना गर्न सकिन्न ।

कान्छी बुहारीको वेदना त्यो घरका सासू, जेठानी र घर बाहिरका नन्द आमाजूको पनि वेदना थियो । त्यसैले कान्छीको यो वेदनाको साधारणीकरण हुँदा सासू र जेठानीहरू मात्र नभई यस्तो पीडा भोग्ने संवेदनशील हृदयका कवि र उनका साथीको हृदय समेत पग्लिन्छ । यो अवस्थाको वर्णन कविले आफ्ना शब्दमा यसरी गरेका छन् ःरू

त्यसैले म रुझेँ आफू टीका रुझथ्यो त्यसै गरी

जेठानी विधा रुझथे आँसुका भेलमा परी ।

+ + + + +

उस्तै छन् वृद्ध सासू ती आफै अस्थिर आतुर ।

ज्ञानेन्द्रियको मार्गबाट मन वा मस्तिष्कमा पसेको कुनै घटना, भाव, विचार अनन्त कालसम्म ताजा रहन्छ, कम्प्युटरको हार्ड डिस्कमा राखेको कुनै तथ्य जस्तै । एक रात त्यहाँ बसेर भोलिपल्ट बाटो लाग्दा पनि संवेदनशील कविको हृदयमा अमिट बन्यो त्यो परिदृश्य । दिन, महिना र वर्ष बिते पनि ताजा नै रहेको त्यो संवेदनाले केही वर्ष बितेपछि काव्यात्मक स्वरूपको एक खण्ड बनी बाहिर प्रकटित भएको सूचना यहाँ पाइन्छ ः–

कुरा केही पुराना छन् बिते वर्ष निकै दिन

तै पनि सम्झना भन्छ, ती रोइन् त्यसरी किन ?

कविको हृदयमा प्रविष्ट कुनै घटनाले कवि प्रतिभाकै मलजलमा काव्यात्मक स्वरूप लिन्छ । प्रथम खण्डको अन्त्यसम्ममा कविले काव्यको विषय र रचनाको समग्र पृष्ठभूमि प्रस्तुत गरेका छन् । उनी कान्छी बुहारीले अपरिचित पाहुनाका सामु अन्तर्वेदना पोख्नुको याथार्थिक र परायाथार्थिक कारणको खोजी गर्दै भन्छन् :

मेरी पुनसकी अर्चा थिइन् कि भगिनी तिनी

अथवा सपना मेरी दुर्भगा ती अभागिनी ।

पूर्वजन्मको वासना यस जन्ममा र यस जन्मको वासना अर्को जन्ममा देखिन्छ भन्ने दार्शनिक कथन छ । कवि कान्छी बुहारी र आफूबिच याथार्थिक यस जुनीमा कुनै सम्बन्ध नभए पनि जन्मान्तर वासनाका कारण यो भेट भएको र तिनले रुँदै आफ्नो वेदना पोखेकी हुन् कि भन्ने आशङ्का उपर्युक्त श्लोक मार्फत गर्दछन् ।

त्यस घरको समस्याको समाधान के त ? उर्वर जमिन बाँझो रहनु; प्रतिभा सम्पन्न व्यक्तिको प्रतिभा बाहिर निस्कन नपाउनु, कुशल शिल्पीको शिल्प हातमा नै बिलाउनु उचित होला ? निश्चय नै उर्वर जमिन बाँझै रहनु हुन्न । न त प्रतिभाशाली व्यक्तिको प्रतिभा मन मस्तिष्कमै रहनु उचित हुन्छ । त्यस्तै शिल्पकारका हातको सिप कलाको रूपमा बाहिर आउनु पर्छ । यसका निम्ति समाजले उचित वातावरण दिनु पर्छ । त्यस घरको उर्वर प्रकृतिले सृष्टिको वातावारण पाउनु पर्ने हो, निकास पाउनु पर्ने हो तर निकास र विकासमा अनेक अवरोध छन् । यसलाई सामान्य अर्थमा विधवा विवाहको सहज मान्यता मान्न सकिन्छ । कवि यसबारे हाम्रो समाज र संस्कृतिका अवरोधक सन्दर्भहरूलाई साङ्केतिक रूपमा प्रस्तुत गर्दै भन्छन् ः–

आफू बग्न भनी खोज्थिन् छेक्ने बाँधहरू कडा

अलङ्घ्य दुर्ग झैँ अग्ला जीर्ण जर्जर शृङ्खला ।

हाम्रो समाजमा कसैका अगाडि कुनै समस्या आयो भने उसले त्यो समस्यालाई दैवको खेल, भाग्यको देन मान्छ र त्यसै जीवन बिताउनु पर्छ । समाजमा विद्यमान यस्ता बाँध, अलङ्घ्या दुर्ग अरू केही होइनन्, धेरै पहिलेदेखि चलि आएका थोत्रा विधि निषेधका साङ्लाहरू हुन् । ती साङ्लाहरू चुँडाएर बाँध र दुर्गहरू भत्काएर अगि बढ्न बढाउन समाजका अगुवाहरूले कानुनी रूपमा मात्र नभई सामाजिक सांस्कृतिक रूपमा यसलाई अभियानका रूपमा अगि बढाउनु पर्छ । तिनको रोदनका अनेक अर्थ र सन्दर्भ कोट्याउँदै अगि बढ्ने कवि यत्तिमा सीमित हुँदैनन् । उनी अगाडि भन्छन् ः–

अथवा ती कुनै आशा राखेर कल्पँदै थिइन

कि कुनै सम्झना भित्र पिरले सल्कँदै थिइन् ।

सानीको रोदनले हृदयमा अनुभूत हुने तर देखाउन नसकिने घाउ चस्काउँदै कवि यस काव्यको प्रथम खण्ड समापन गर्छन् ।

यस काव्यको दोस्रो खण्डमा कविले तिनै विधवाको बाल्य जीवन, किशोर कालका रमाइला सन्दर्भ र परिणयको संक्षिप्त आख्यानलाई काव्यात्मक रूप दिएका छन् । कैशोर्यको उदय हुन लाग्दा बाल्यकालमा खेलेको बिहाको खेल आफ्नो यथार्थ जीवनमा नै घटित भएको र बिहाको आरती स्याउलीमा सम्मिलित नन्द आमाजू र घरमा रहेका जेठानीको स्वरूप देख्नासाथ मनमा आशङ्का तथा भय एकसाथ उब्जेको र अन्त्यतः त्यो आशङ्का यथार्थमा नै परिणत भएको घटनालाई काव्यवाणी दिँदै कवि भन्छन् ः–

तर दुर्दिन अझझै भो म आमा नहुँदै अब

जानुभो स्वर्गमा भन्छन् मेरा बल्लभ वास्तव ।

आमा बन्न पाएको भए बाँच्ने आधार हुन्थ्यो तर दैव दुर्विपाकले अँध्यारो बनाएको दुःखदायी यथार्थ खोतल्दै कवि विधवा कान्छीको मुखबाट त्यस घरको अनौठो क्षतिलाई यसरी प्रस्तुत गर्छन् ः–

कर्मकै खेल यो यद्वा या कुनै भेद पो छ कि ?

किन यो घरमा हुन्छ, मर्द मानिसको खती ।

जुन घरमा छोरा र छोरी गरी एक दर्जन परिवार थियो । छोरीका छ जुवाईँ र छोराका छ बुहारी गरी अरू एक दर्जन पारिवारिक सदस्यहरु हुन्थे । तिनका लालाबालाले एउटा ठुलो सञ्जाल नै बन्थ्यो । तर, मर्दहरूको क्षतिले लहराउने सम्भावना समाप्त भएको र छोरी बुहारीको वैधव्यको साक्षी बन्दै रहेका ससुराको पुटपाक मरण सुनेका कवि आफ्नो मनमा पिरो अनुभूति सहित दोस्रो खण्ड समाप्त गर्छन् ।

यस काव्यको खण्ड तिनमा विधवा सासूले आफ्ना पतिको निधनको प्रसङ्ग कोट्याउँदै त्यसपछि पारिवारिक जिम्मेवारी लिएको वर्णन पाइन्छ । आफूहरू आर्थिक रूपमा सम्पन्न भएकाले बस्न खान समस्या नरहेको तर केही छोरीहरुको घरायसी अवस्था र व्यवहार उचित नरहेकाले झन् चिन्ता थपिएको कुराले वृध्दा व्याकुल बनेको वर्णन गरिएको छ । यसरी जता हेर्‍यो त्यता लथालिङ्ग भए पनि वृध्दाले धैर्यसाथ व्यवहार गरेको टिप्पणी गर्दै कविले मान्छेले जे पर्छ त्यही व्यहोर्नु पर्ने बाध्यात्मक परिस्थितिको वर्णन गरेका छन् । आफ्ना श्रीमान्को सम्झना गर्दै वृध्दाले छोराले बाबुको किरिया गर्नु पर्नेमा उल्टै मैले गर्नु पर्‍यो कतै बुहारी पनि मैले नै मन्सनु पर्ने हो कि भन्ने आशङ्काले बितेको तितो प्रसङ्ग व्यक्त गरेकी छन् । वृद्धा पतिको निधनपछि फेरि छोरी र बुहारीको मृत संस्कार आफैँले गर्नु पर्ने हो कि भन्ने चिन्ताले व्याकुल छिन् भने बुहारीहरू बिच यदाकदा हुने कलह र त्यसमा गाउँलेहरूको उक्साहटले हुने गरेको बिथोलोले उनको मनको बह झन् बढेको छ । यिनै दुर्दान्त सन्दर्भको अभिव्यक्ति यस खण्डमा पाइन्छ । यस्तो परिस्थितिमा जिउनु पर्ने मानवीय विसङ्गतिको वर्णन गर्दै कविले काव्यको उपसंहार गरेका छन् ।

“सम्झनाको धरातलबाट” का काव्यहरूमध्ये सर्वाधिक हृदयस्पर्शी काव्यका रूपमा ती रोइन् त्यसरी किन ? काव्यलाई नै लिन सकिन्छ । यसका दुई पक्ष छन् । एकातिर यसको विषय साँच्चि नै मर्मस्पर्शी छ भने अर्कातिर यसको दोस्रो र तेस्रो खण्ड कविले पक्षघातका कारण हात राम्ररी नचल्ने र बोली पनि राम्ररी नबुझिने अत्यन्त असहज परिस्थितिमा पूर्ण गरेका छन् । रचनाको विषय र रचनाकारको अवस्था दुबै पढ्दा र सम्झँदा यो काव्यले पाठकलाई संवेदित तुल्याउँछ ।

यस काव्य सङ्ग्रहका पाँच काव्यहरू पढ्दा प्रथम काव्य शोभा रचनाकारको वर्गीकरण अनुसार नै प्रकृति काव्य भन्न सकिने देखिन्छ । यो काव्यमा एकातिर कविको किशोर कालीन प्राकृत अवस्थाको र अर्कातिर जन्मस्थल वरपरको प्राकृतिक सुन्दरताको वर्णन पाइन्छ । प्रतीकार्थमा कविको कैशोर्यको समाप्ति र जवानीमा पदार्पण गर्न लाग्दाको वा वयःसन्धिकालीन प्रेम प्रसङ्गको ध्वन्यात्मक अर्थले समेत रँगिएको यो रचना काव्यकलाका दृष्टिले निकै उच्चकोटिको देखिन्छ । दोस्रो काव्य राजा त्रिभुवन ऐतिहासिक सन्दर्भ र कविको प्रजातन्त्र प्रेमको उन्नत अभिव्यक्तिका रूपमा रहेको छ । गणतन्त्रको स्थापना भइ सकेको वर्तमान अवस्थामा यो काव्यलाई तात्कालिक सन्दर्भमा हेरेर विषयगत रूपमा बिचार्नु पर्ने हुन्छ । कवि शिरोमणि लेखनाथ पौडेलले “विज्ञानको मोह” लेखेर युगीन वैज्ञानिक उपलिब्धले सन्त्रस्त मानव जातिको अवस्थाको चित्रण गरे झैं शान्ति कामना काव्यमा कवि दैवज्ञले पनि युगीन यथार्थका सन्दर्भहरुलाई काव्यात्मक स्वरूप दिएका छन् । काव्यकलाका दृष्टिले यसलाई पनि उच्च स्थान दिन सकिन्छ । सम्झनाको धरातलबाट र चासो र चिन्तन व्यक्तिगत विषयमा केन्द्रित कृति हुन् तथापि तिनका केही पद्यमा सार्वजनीन सन्दर्भहरू भेटिन्छन् । अन्तिम काव्य ती रोइन् त्यसरी किन ? भने विषय, अभिव्यक्ति र स्रष्टाको अवस्था यी तिनै कुराले पाठकलाई संवेदनशील तथा भावुक बनाउने रचनाका रूपमा देखिन्छ ।

सन्दर्भ सामग्री

१. त्रिपाठी, वासुदेव र अरू (२०६६) दैवज्ञराज न्यौपाने : जीवनी, कृतित्व र अभिनन्दन, साहित्यकार

प्रा.दैवज्ञराज न्यौपाने अभिनन्दन समिति, काठमाडौं ।

२. न्यौपान,े दैवज्ञराज (२०६३) सम्झनाको धरातलबाट, भूषणराज न्यौपाने र अर्चना न्यौपाने ।