"सम्झनाको धरातलबाट" काव्यकृतिको अध्ययन
१. परिचय
दैवज्ञराज न्यौपाने (१९९९–२०६८) नेपाली साहित्यमा उल्लेख्य र उदाहरणीय नाम हो । नेपाली वर्णमात्रिक कविता परम्परामा राष्ट्रकवि माधवप्रसाद घिमिरेपछि दैवज्ञराज न्यौपानेले उच्चस्थान हासिल गरेको तथ्य सर्वविदित छ । उनले आफ्ना कविताका माध्यमबाट ठूलो पाठक समूह कमाएका थिए । छन्दका माध्यमले रसिला कविका पङ्क्तिमा उनी अब्बल दर्जामा पर्दथे । लामो समयसम्म प्राध्यापन क्षेत्रमा समय व्यतित गरेका न्यौपानेले शैक्षिक प्रशासनिक अनुभव पनि कमाएका थिए । पाटन संयुक्त क्याम्पस (२०३९–२०४०) को क्याम्पस प्रमुख पदमा रहेर यिनले महत्त्वपूर्ण कार्य सम्पादन गरेको इतिहास क्याम्पसको अभिलेखमा सुरक्षित छ । साहित्यिक संघ, संस्थामा रहेर कवि दैवज्ञले नेपाली साहित्यको उन्नयनमा विशेष योगदान दिएका थिए । यिनी साहित्यसेवी र साधक दुबै थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा एउटा लेखकीय अनुशासनमा रहेर टेवा पुर्याउन पनि यिनी पछि परेका थिएनन् ।
२. “सम्झनाको धरातलबाट” काव्यसङग्रहको अध्ययन
कवि दैवज्ञराज न्यौपानेको “सम्झनाको धरातलबाट” काव्यसङ्ग्रहको प्रकाशन २०६३ साल पौष महिनामा भएको हो । भूषणराज न्यौपाने र अर्चना आचार्यद्वारा प्रकाशित यस काव्यसङ्ग्रहभित्र निम्नलिखित शीर्षकका लामा, छोटा कविताहरू समावेश गरिएका छन् ः– शोभा, राजा त्रिभुवन, शान्ति कामना, सम्झनाको धरातलबाट, चासो र चिन्तन, ती रोइन् त्यसरी किन ?
२.१ शोभा (प्रकृतिकाव्य)
“शोभा” लाई कवि दैवज्ञराज न्यौपानेले प्रकृतिकाव्यको नाम दिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको कविता विशेषाङ्क २०२३ साल भाद्र १० गते यो कविताको प्रकाशन भएको हो । चौधओटा श्लोकमा रचना गरिएको यस कवितालाई कविले चारओटा समूहमा विभक्त गरेका छन् । शार्दूलविक्रीडित छन्दको लयले यो कविता उचालिएको छ । वनकी चरीलाई सुन्दर परीको रूपमा कविले चित्रण गरेका छन् । मानवतावादी विचारद्वारा नेपाली प्रकृतिको सुन्दर वर्णन गर्न कवि यहाँ सिद्धहस्त देखिएका छन्–
यौटा जीवनमाथि क्रूर विधिको हा ! खेद झम्टा पर्यो
मानौँ गूँड लगाउँदै समयको पङ्खी उ पासा पर्यो
सच्चा जीवनभित्र हाँसिरहने तारा कुनै अस्त भो
कोही पूफल नफक्रँदै प्रकृतिको सौन्दर्य नै नष्ट भो । (पृ. ३)
कविले यहाँ शोभा जोगाउनु पर्ने सन्देश दिएका छन् । प्रकृतिको शोभामाथि विनाशको ताण्डव नृत्य मच्चिँदा सबैतिर हाहाकार मच्चिरहेकोले कवि व्यथित बनेका छन् ।
२.२ राजा त्रिभुवन (ऐतिहासिक काव्य)
राजा त्रिभुवनको व्यक्तित्वलाई विषय बनाएर लेखिएको कविता “राजा त्रिभुवन” हो । ऐतिहासिक तथ्य, सत्य सामग्रीद्वारा राजा त्रिभुवनको व्यक्तित्वलाई पर्गेलेर कविले हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् । शार्दूलविक्रीडित छन्दकै गति समातेर कविले यस कविताको रचना चौतिसओटा श्लोकद्वारा गरेका छन् । २०२३ सालमा प्रकाशित त्रिभुवन स्मारकग्रन्थबाट यो कविता साभार गरिएको हो :
बाच्छो दूर बनेर बस्न सुखले माऊ कहाँ सक्छ र
झर्दा निर्भफर शैलबाट नबगी कल्ले कहाँ रोक्छ र ?
मैलो पार्दछ हुस्सुले जगत यो हावा नचम्के तक
कल्ले चिन्छ र पूफललाई उसको बास्ना नगम्के तक ? (पृ. ९)
राष्ट्रियता, प्रजातन्त्र र देशभक्तिको भावनाले यो कविता भरिएको छ । त्रिभुवनलाई नायक बनाएर देशभक्तिको स्वर उराल्नु नै यस कविताको विशेषता हो । राणा शासनको पतन र प्रजातान्त्रिक जनलहरको प्रस्तुतिमा कवि दैवज्ञ यस कवितामा केन्द्रित भएका छन् ।
२.३ शान्ति कामना (अर्धशतककाव्य)
एक्काईस शताब्दिको जगत यो आक्रोशले व्याप्त छ
मान्छे बढ्छ परन्तु मानव अभैफ झन्–झन् उँधो खस्तछ
यो कोलाहलभित्र शान्त सुखको भेटिन्न चोखोपन
के भो त्रास उरालिँदै छ यसरी को सक्छ सम्झाउन ? (पृ. १७)
“शान्तिको कामना” शीर्षकको कवितालाई कवि दैवज्ञराज न्यौपानेले अर्धशतककाव्यको नाम दिएका छन् । २०३४ सालको मधुपर्क मासिक पत्रिकामा प्रकाशित “आजको धर्तीलाई शान्तिको कामना” शीर्षकको कविता नै यहाँ विस्तारित रूपमा प्रस्तुत गरिएको छ । हिंसा, आतङ्क, वैमनस्य, भ्रष्टाचार, बलात्कारजस्ता कुराले पृथ्वीवासी त्राहित्राहि भइरहेका छन् । पृथ्वीको संरचना नै अणु परमाणु बमहरूद्वारा तहसनहस हुन थालेको छ । वातावरणमा कतै पनि शान्ति छैन । त्यसैले कवि यस कवितामा सर्वत्र शान्तिको चाहना गर्दछन् :
पृथ्वी, तेजस, वायुमा र जलमा, आकाशमा शान्ति होस्
मान्छेका मन कर्ममा र दिलका आवाजमा शान्ति होस्
सिङ्गै विश्व सताउने त्रिविधता सन्तापमा शान्ति होस्
सारा अन्न वनस्पती र फलका सत्पाकमा शान्ति होस् ।
मान्छे मार्न बनाइने अणु हुने निर्माणमा शान्ति होस्
मान्छे फोर्न चलाइने कुटिलता षड्यन्त्रमा शान्ति होस्
सिङ्गै विश्व र राष्ट्र गाउँघरका सम्बन्धमा शान्ति होस्
धर्तीमा हुन आउने जति नयाँ उत्पातमा शान्ति होस् । (पृ. २६)
मानवीय सद्भाव, विश्वबन्धुत्व र विश्वभ्रातृत्वले यो कविता आप्लावित छ । विज्ञानको चरम उत्कर्षले विकृति र विसङ्गति पनि धेरै नै बढ्दै गइरहेकाले यसबारे गम्भीर र सचेत हुनुपर्ने सन्देश कवि दैवज्ञले दिएका छन् । यो कविता पचासओटा श्लोकले निर्मित छ । शार्दूलविक्रीडित छन्दकै बान्कीमा यो कविता उत्कृष्ट ठहरिएको छ ।
२.४ सम्झनाको धरातलबाट (पत्रकाव्य)
कवि दैवज्ञराज न्यौपानेले आफ्नो विगतलाई समेटेर तयार पारिएको कविता सम्झनाको धरातलबाट हो । पत्रात्मक शैलीबाट निर्माण गरिएको हुनाले यसलाई पत्रात्मक काव्यको संज्ञा दिइएको छ । आफ्नो जन्मस्थल भोजपुरलाई केन्द्रविन्दुमा राखेर कविले पुराना मित्रहरू जस्तो विष्णुराज कुसम, स्थानेश्वर खतिवडा, टीकाप्रसाद न्यौपाने, तीर्थराज भट्टराई, निरञ्जन चापागाईँ, ऋषिराज मिश्र लगायतका व्यक्तित्वलाई समेटेर आफ्ना भावनालाई एक–एक गरेर फोएका छन् । अनुष्टुप् छन्दका एकसय छ ओटा श्लोकमा कविले साथीहरूबाट अलग्गिएर बस्नुपर्दाका छटपटीलाई काव्यात्मक बान्कीद्वारा सजाएका छन्ः
सम्झेर अघिका राम्रा सुनौला बाल्यका कथा
लेख्दैछु पत्रमा आज फक्रेभैँफ स्मृति–शृङ्खला । (पृ. २८)
यस काव्यकृतिलाई कविको आत्मवृत्तान्त भने हुन्छ । विगतमा भए गरेका महत्त्वपूर्ण घटनाक्रमलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छः
केटाकेटी अवस्थामा पैसा बोकेर आउँदा
घिउभित्र लुकाएर हामी डर लुकाउँथ्यौँ । (पृ. ३३)
बाल्यकालका विषय सजाउँदै प्रौढ वयका कुरालाई अझ सशक्त किसिमले प्रस्तुत गर्न कवि पछि परेका छैनन्ः
आज धेरै बिते वर्ष हाम्रा यौवनका पनि
कथा टाढा भएका छन् हामी प्रौढ भयौँ अब । (पृ. ३५)
विगतदेखि वर्तमासम्मका खास गरेर २०५५ साल आश्विन २३, २४, २५ सम्मका महत्त्वपूर्ण गतिविधिलाई सजाउँदै हार्दिकताको माला उन्ने कार्य कवि दैवज्ञराज न्यौपानेले यस कृतिभित्र गरेका छन्ः
प्रीतिको पहिलो स्पर्श गीतमा सल्बलाउँछ
मेरा मित्र तिमी छेऊ सम्झना लहराउँछ । (पृ. ३९)
यस काव्यकृतिभित्र एकातिर माटाको सुवास मगमगाएको छ भने अर्कातिर मित्रताको हातेमालो लहराएको छ । यो नै यस काव्यकृतिको वैशिष्ट्य हो ।
२.५ चासो र चिन्तन (खण्डकाव्य)
सामाजिक विषयले भरिएको छ यो खण्डकाव्य । विदेशमा बसेका छोरा–बुहारी, नाति–नातिनाको सम्झनालाई लिएर कवि दैवज्ञराज न्यौपानेले यस खण्डकाव्यको प्राणप्रतिष्ठा गरेका छन्ः
चासो छ मनमा भित्र संझना सल्बलाउँछ
मेरो अन्तरको भाका भाव सङ्गीत ल्याउँछ
यो सानो काव्यले भन्छ बन निर्मल सुन्दर
राम्रो काम हुनेलाई हुँदैन अरुको डर । (पृ. ४२)
२०६० साल वैशाखमा लेखनकार्य सम्पन्न गरिएको यस खण्डकाव्यमा कविले एकसय चवन्नओटा श्लोकहरू समावेश छन् । अनुष्टुप् छन्दका सुकिला बान्कीमा कविता आकर्षक र मनमोहक बन्न सफल भएका छन् । विविध विषयको मौजीमसला बनेको छ यो खण्डकाव्यः
संसार भरमा राम्रो हो प्रजातन्त्र तैपनि
नेता छैन भने राम्रो केही हुन्न कतै पनि । (पृ. ४८)
नेताले राम्रो काम नगरेकाले यहाँ झटारो हानिएको छ । आमा र जन्मभूमिको बयान गर्न कवि चुकेका छैनन्ः
आमा र जन्मभूमि हुन् स्वर्गभन्दा विशेषका
यिनको तुलना गर्ने छैन अर्को कुनै कुरा । (पृ. ५२)
विदेशमा बसेका आफन्तको कल्याणार्थ कविले ईश्वरसँग पुकारा गरेका छन्ः
अब हेर्ने तिमी यौटा ईश छौ परमेश्वर
तिम्रो सद्भाव पाएमा हुँदैन अरुको डर
हे ईश्वर दया राखे तिम्रै सन्तान हुन् सबै
नसम्झ पर जो जान्छन् हैनन् आफ्नो भनी कबै । (पृ. ५८)
मूलतः विदेशमा बसेका आफ्ना सन्ततिहरूप्रति शुभेच्छा प्रकट गर्ने कार्य कविले गरेका छन् ।
२.६ ती रोइन् त्यसरी किन ? (खण्डकाव्य)
यो पनि अनुष्टुप् छन्दमा लेखिएको खण्डकाव्य हो । तीन खण्डमा यस काव्यको संरचना तयार गरिएको छ । खण्ड एकमा एकसय एक श्लोक समावेश गरिएको छ । खण्ड दुईमा बयानब्बेओटा श्लोक रहेका छन् । खण्ड तीनमा एकानब्बे ओटा श्लोकहरू समावेश गरिएको छ । सामाजिक, पारिवारिक जीवनका विषयलाई लिपिबद्ध गर्न कवि सफल भएका छन् । जीवन सुख र दुःखको चौतारो हो भन्ने मान्यतालाई यहाँ स्पष्ट पारिएको छ । हरेक मानिस कुनै न कुनै रूपले दुःखको जाँतोमा पिसिइरहेको हुन्छ । यसैलाई यहाँ मलमपट्टी लगाउने काम गरिएको छ ।
आँखामा आँसुका दाना मनमा चोट के थियो
कसरी चस्कियो छाती केले त्यो आज बल्झियो । (पृ. ६६)
जन्मेपछि मान्छेले मर्नु पर्छ नै । यो शाश्वत सत्य हो । यही कुरालाई केन्द्रबिन्दुमा राखेर कवि दैवज्ञले प्रकाश पारेका छन्ः
यस्तै हो सृष्टिको चक्र जानु आउनुका कुरा
युगौंदेखि चलेका छन् चल्ने छन् अझ ती कुरा
यो धर्ती यसमा आई जो ज्यूँछन् जसरी नर
उस्तै उठ्छ यहाँ नौलो नयाँ सिर्जनको स्वर ।
गरौं संघर्ष आपैँफमा आफ्नै निम्ति भए पनि
बारम्बार यहाँ यस्तै अर्को भूल नहोस् भनी
भूलमा नपरोस् मान्छे पीर अन्यायको नहोस्
अकालैमा कसैलाई मर्ने त्रास कतै नहोस् ।
नहोस् निर्धाहरूमाथि कसैका धाकको डर
बिना औषधले रोगी लत्याएर नहुन् पर
कुण्ठाले बाँधिने हाम्रो जिन्दगानी कुनै नहोस्
कुनै प्राकृत वस्तुमा अप्राकृत कुरा नहोस् । (पृ. ८८)
यस खण्डकाव्यमा कवि न्यौपानेले सर्वे भवन्तु सुखिनः को सन्देश प्रवाह गरेका छन् । विकृतिको विरोध गर्दै स्वीकृतिसम्बन्धी विचारको आयोजना गर्ने काम गरिएको छ । आमाको आरती गर्दै माया, ममता र स्नेहले परिवार, समाज र राष्ट्रलाई समृद्ध गराउन सक्ने मान्यतालाई कविले सशक्त ढङ्गले प्रस्तुत गरेका छन् । परोपकारी हात बढाएर मानवजीवन सार्थक गराउने सन्देश दिनु नै यस खण्डकाव्यको विशेषता हो ।
३. मूल्याङ्कन एवं निष्कर्ष
मृत्युलाई सहज रूपमा स्वीकार गर्न सक्ने कवि दैवज्ञराज न्यौपानेको सम्झनाको धरातलबाट समग्रमा समसामयिक विषयमा आधारित काव्यकृति हो । राजा त्रिभुवन ऐतिहासिक विषयमा आधारित कविता भए तापनि त्यहाँभित्र पनि समसामयिक विषयवस्तुको संयोजन गर्न कवि सफल भएका छन् ।
जवानी, जिन्दगी, यात्रा सधैँ बन्दैन सुस्थिर
जानै पर्छ सबैलाई कुनै गन्तव्य खातिर । (पृ. ६७)
कवितामा प्राण भर्ने कवि थोरै हुन्छन् । कवितामा बोक्रा होइन, गुदी हुनुपर्छ । यस दृष्टिबाट हेर्दा कवि दैवज्ञराज न्यौपानेका कविता प्राणवान छन् । उनका कविता–गुदीभित्र स्वाद चाख्न पाइन्छ । चलनचल्तीका शब्दलाई एक–एक गरेर टिप्दै तिनमा काव्यात्मक रस भर्न सक्नु नै यिनको विशेषता हो । गहन विषयलाई सरल किसिमले व्यक्त गर्न यिनी त्यतिकै खप्पिस छन् । अभिधा, लक्षणा र व्यञ्जनालाई उनी विषयवस्तु अनुसार अङ्गीकार गर्दछन् । अभिधा शक्तिद्वारा पनि उनका कविता शक्तिशाली बनेका छन् । उपमा, रूपक, दृष्टान्त, अलङ्कारको विन्यासमा यिनले सिद्धि नै प्राप्त गरेका छन् । वर्णमात्रिक छन्दमा यिनको राम्रो गति छ । जबरजस्ती छन्द मिलाएको देखिँदैन । छन्द त उनका कवितामा आफसेआफ मिलेर आएको देखिन्छ । मुख्यतः कवि न्यौपानेले यस काव्यकृतिभित्र आम नेपालीले अनुभव गरेका विषयलाई स्थान दिएका छन् । विदेशमा बस्ने नेपालीका बाबु–आमाले भोग्नु परेको यथार्थलाई यहाँ लिपिबद्ध गरिएको छ । कविले आफ्नै देशमा अनेकौँ समस्यामा जेलिएका निम्न–मध्यम वर्गीय परिवारको कारुणिक व्यथालाई पर्गेलेका छन् ।
समग्रमा शान्ति, सद्भाव र मित्रताको पोयोमा यो काव्यकृति बुनिएको छ । कविले शान्तिलाई पहिलो प्राथमिकता दिएका छन् । हत्या, हिंसाको भर्त्सना गरेका छन् । मान्छे–मान्छेबीचमा सुमधुर सम्बन्धले व्याप्ति पाउनु पर्छ भन्ने मान्यतालाई उदार रूपमा प्रस्तुत गरिएको छ । यिनै प्राप्तिहरूको आलोकमा यो काव्यकृति चम्किएको छ ।