कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

प्रकाशकीय

स्मृतिपुष्प समर्पण : प्रेरणा पुरुषमा

प्रसिद्ध कवि तथा गीतकार, प्राध्यापक एवं समाजसेवी व्यक्तित्व दैवज्ञराज न्यौपाने भोजपुरको गोगनेका न्यौपाने कुलका त कुलभूषण नै हुनुहुन्थ्यो। राष्ट्रिय स्तरमा पनि वहाँको व्यक्तित्व अब्बल दर्जाको थियो । वहाँको त्यो व्यक्तित्व आफ्नै शीप, गुण र कार्यदक्षताद्वारा आर्जित थियो । चाहे गोगने पाठशालामा प्रारम्भिक शिक्षा लिँदा होस्, चाहे दिङ्ला, दाङ र काठमाडौंमा विभिन्न तहका शिक्षा लिँदा होस् वहाँको मेधावी व्यक्तित्व शैक्षिक–प्राज्ञिक लगायत खेलकुदका क्षेत्रमा समेत अनुकरणीय थियो । वहाँमा सानैदेखि साहित्यिक चेतना जागृत थियो । त्यसैको प्रतिफल वहाँको ख्याति साहित्यकारका रूपमा राष्ट्रिय स्तरमै प्रसिद्धिको शिखरमा छ । त्यसै गरी दिङ्ला पाठशालामा पढ्दादेखि नै वहाँमा पलाएको क्रान्तिकारी चेत आजीवन रह्यो भन्ने कुरा स्मृतिग्रन्थमा भएका अनेकौँ लेखले पनि बताउँछन् । समाजसेवी व्यक्तित्व र आफ्नो/पराया नभनी गरिने व्यक्तिसेवी गुण पनि अनुपम थियो वहाँमा । वहाँसँग सम्पर्कमा रहेका सानाठुला कुनै पनि व्यक्तिहरूका लागि त वहाँ प्रेरणा पुरुष नै हुनुहुन्थ्यो ।

प्रशासनिक र प्राज्ञिक रूपमा झन् वहाँको प्रसिद्धि थियो । यी सबै गुण र कार्यले धेरै चर्चित र सम्मानित व्यक्तित्व दैवज्ञराज न्यौपानेमा अचानक शारीरिक रूपमा बेमार पस्यो–शरीर सिङ्गै घर हो नि रोगको (शरीरं व्याधिमन्दिरम्) भनेभैफँ । मधुमेह र उच्च रक्तचाप हुँदै भित्रिएका ती रोगले अन्त्यमा पक्षाघात नै भित्र्याए । परिणामतः केही वर्षदेखि वहाँ ती व्यथाले थलिनुभएको थियो । हिँडडुल गर्न समेत अरूको सहायता चाहिन्थ्यो । नेपालका चिन्ने जति मान्छेले सबभन्दा सुन्दर पुरुष र सबैभन्दा मिठो बोली भएको व्यक्तित्व भनी बयान गरिएको मान्छेको बोली त हरण नै गर्‍यो दैवले र शरीर पनि अर्काको सहायतामा मात्र हिँड्न सक्ने पारिदियो । यसरी नै पाँच छ वर्ष गुज्रे र वहाँको उपचार प्रक्रिया पनि सक्ने जति भयो । यसै बिच वहाँलाई राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरमै पनि निकै मान, सम्मान र अभिनन्दनहरू प्राप्त भए । एक प्रकार राष्ट्रलाई वहाँले गुन लगाएजस्तै राष्ट्रले पनि वहाँलाई सम्मान गर्‍यो । सो सम्मानमा राष्ट्रकै प्रथम राष्ट्रपति डा. रामवरण यादवको अग्रणी सहभागिता थियो । यस अर्थमा दैवज्ञराज न्यौपानेको परिवार, वहाँका आफन्त, शुभेच्छुक, हितैषी आदि सबैले सन्तोष गर्नुपर्ने स्थिति छ, सुखद अनुभूति गर्नुपर्ने आवश्यकता छ ।

जन्म जीवनको सुरुवात हो भने त्यसको समापन मृत्यु नै हो, यो चिरन्तन सत्य हो । तर, वहाँ यस धराधामलाई यति छिटै छाडेर जानुहुन्छ भन्ने हामीलाई लागेको थिएन । हो न हार दैव नटार भनेभैफँ दैवले दैवज्ञको भौतिक शरीर चँुडेर लगिछाड्यो असमयमै । अर्थात् ६९ वर्षको उमेरमा २०६८ पुस २ गते बिहानै । अघिल्लो दिन मात्र वहाँकी पत्नी सुधा सरकारी सेवाबाट निवृत्त भई अब पतिसेवामा ढुक्कले जुट्न तत्पर हुनुभएको थियो । तर, भोलिपल्टैको आफ्ना श्रीमान्को निधनले एकैचोटि भनेजस्तो वहाँ सरकारी र घरायसी दुबै सेवाबाट निवृत्त हुनुभयो । वहाँलाई अब आत्मसेवा र पुत्रपुत्रीहरू तथा पौत्रपौत्रीहरूको संरक्षण गर्न भन्यो दैवले । यसरी जब नसोचेको बेला कवि दैवज्ञको निधन भयो तब तत्कालका और्द्धदेहिक क्रिया सक्नेबित्तिकै दैवज्ञसँग सम्बन्धित हितैषी–आफन्तको एउटा जमघट भयो । सबैले आ–आफ्ना राय दिए, मन्तव्य प्रकट गरे र निष्कर्ष निस्कियो– कवि दैवज्ञको नाममा एउटा प्रतिष्ठान गठन गर्ने । सो अनुरूप अल्पकालीन र दीर्घकालीन रूपमा दैवज्ञ न्यौपानेको यशःकायलाई जीवन्त राख्न विविध कार्यहरू गर्ने निर्णयहरू भए । यसमध्ये अल्पकालीन कार्यमा दुइटा काम सम्पन्न गर्ने निधो भयो – क) गीतकार दैवज्ञराज न्यौपानेको लहर बेली नामक बालगीतिसंग्रह प्रकाशन गर्ने, ख) वहाँका बारेमा एउटा व्यक्ति सुहाउँदो स्मृतिग्रन्थ प्रकाशन गर्ने । यी दुबै काम वर्ष दिनभित्र सक्ने भनी कार्यारम्भ भए । परिणामतः आज ती दुबै कल्पित कृतिहरू साकार रूपमा पाठकसामु भुफल्किन समर्थ हुन पुगे । यसबापत दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानसित सम्बन्धित सबै व्यक्तिहरूलाई, सबै लेखकहरूलाई र यस कार्यमा जुट्ने दृष्य अदृष्य सबै हितचिन्तक महानुभावहरूलाई हार्दिक धन्यवाद अर्पनु प्रतिष्ठान आफ्नो मूल कर्तव्य ठान्दछ र धन्यवाद अर्पन्छ, साधुवाद दिन्छ ।

वार्षिक पुण्यतिथिको अवसर पारेर प्रकाशित यो ग्रन्थ अमर कवि दैवज्ञराजमा स्मृतिपुष्पका रूपमा समर्पित हुन सकोस् । यस ग्रन्थको प्रकाशनले कवि दैवज्ञको अमर आत्मामा सन्तुष्टि मिलोस् र राष्ट्रभरि वहाँको कीर्तिकथा फिँजाउन सकोस् । यो प्रतिष्ठान यही कामना र चाहना राख्दछ ।

२०६९ पुस २० दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान