शब्द-श्रद्धाञ्जलि
१
लेखेथँे पहिले मैले तिम्रो उत्थानको कथा
जसरी सूर्यको आभा प्राचीमा चढ्छ सर्वथा
बुकी फूलहुँदो फुल्ने नागीका सिर्जना तिमी
लाली गुराँसमा झुल्ने लालित्य सुषमा तिमी
२
आफैँ कुड्मलका स्रष्टा सृष्टिका वासना तिमी
फूलका लालिमाभित्र स्निग्ध हौ लालिमा तिमी
युवा जाँगर बोकेर उठायौ देशको जिमी
प्रफुल्लित भयौ सद्य ज्योतिका पुञ्जझैँ तिमी
३
कहिले देखियो आभा कहिले लुप्तझैँ भयो
तलमाथि हुँदै यद्वा अगाडि सर्किदै गयो
शशीमा पनि देखिन्छ ह्रास वा वृद्धिको क्रम
अपवाद कहाँ हुन्छ त्यो हुँदैन व्यतिक्रम
४
प्रारब्ध कर्मले यद्वा दैवकारणले गरी
झुल्कियौ यस धर्तीमा तारासरि तिमी झरी
रूप लावण्य बोकेर पहाडी झरनासरि
झर्यौ झरझराएर बेगले दिव्य निर्भफरी
५
तिमी दिव्य थियौ आत्मा कर्मसञ्चितिले गरी
आयौ पञ्चाग्निमा पर्दै प्रारब्ध भोग्न सुस्तरी
भोगाधार शरीरै हो इन्द्रियादि त साधन
विषयादिहरूद्वारा हुन्छ भोगप्रसाधन
६
सक्यौ भोग गयौ टाढा प्रारब्ध कर्म शेष भै
तिमी ब्रह्म भयौ यद्वा कतै बस्छौ अशेष भै
आफ्नै प्रारब्धले गर्दा जीव घुम्दछ फन्फनी
बोकी सञ्चितिको भारी जीव घुम्छ भ्रमी बनी
७
मिथ्या संसार हो सारा मिथ्या भौतिक देह यो
मिथ्या साधनकै साथ मुक्त बन्दछ जीव यो
मिथ्याबाटै भई नित्य गयौ मुक्त भई तिमी
सम्झना शेष राखेर गयौ निःशेष भै तिमी
८
अहिले सम्झना मात्रै यौटा यो स्मृतिपुष्प हो
शब्द श्रद्धाञ्जली मेरो सम्झना लागि मात्र हो
२०६९ असार