दैवज्ञ बिर्सन्न म
१
मेरो मानस बाह्र वर्ष अघिको यात्रा गरी फर्कियो
त्यो बेला दहचोकमा सुकविको गोष्ठी जमेको थियो
श्री दैवज्ञ र अन्य सिद्ध कविजी जम्मा भएका थिए
न्यौपाने त्यसमा सभापति भनी प्रारम्भमै तोकिए
२
ढाकाको गमदार ओखरबुटे टोपी थियो सुन्दर
टीका चट्ट निधारमा चहकिलो रातो थियो सिन्दुर
कुर्ताको सुरुवालको रङ सफा व्यक्तित्व खुल्ने थियो
घ्यूरङ्गी परिधान रेशम मिही दैवज्ञ झैँ देखियो
३
हावा मङ्सिरको चिसो सिरसिरे यो बाडभन्ज्याङको
त्यो कोठे कविगोष्ठिका रहरको बेला छ मध्याह्नको
घन्के सुन्दर छन्दमा सुकविता पालो गरी शाश्वत
यस्तो भो दहचोक सुन्छ रचना श्रद्धेय वाणीसित
४
सुन्दैथ्यो दहचोक सुन्दर गला हाम्रा कलाकारका
सुन्दैमा पनि मन्त्रमुग्ध बनिने संक्षिप्त आकारका
पृथ्वी छन्दसमेत भित्र कविजी प्रह्लादको क्षेपक
सुन्दा विस्मय बन्नुभो असरले आफैँ सभाध्यक्ष त –
५
‘दैवज्ञराज न्यौपाने चिया खान्छन् चिनीबिनै
लेख्तछन् बैँसका गीत चिनीभन्दा मिठा उनै
अग्लो शिखरिणी होओस् या शार्दूल चढेपछि
मन्त्रमुग्ध सबै हुन्छौँ मन्दाक्रान्ता पढेपछि”
६
ताली गड्गड हर्षले ध्वनित भै गोष्ठी बन्यो रञ्जित
त्यो रोमाञ्च मिठो छ शेष मसँगै आजन्म संरक्षित
स्रष्टाका स्वर–मा–धुरी लहरले त्यो वास आलोक भो
बर्साई वरदान आसिक दिँदै दैवज्ञ द्यौलोक गो
७
बिर्सेलान् परिवारले तर म ता त्यै विम्ब सम्झाउँछु
प्रेमीले यदि गीत गायन गरोस् दैवज्ञ नै पाउँछु
नाच्लान् बालक रौसिई छमछमी उत्साहका गीतमा
न्यौपाने कवि खोज्छ यो भुवनले नौ लाख नौ प्रीतमा
२०६९ असार २२