कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

दैवज्ञ हृदयसँग एउटा यात्रा

निराजन तिमल्सिना 'निराकार'

जन्मेपछि मर्नेहरू
केवल एक पल बाँच्छन्
रूँदै बाँच्छन्
त्यो रुवाइ
जसमा
भावक्रीडाले डाह सल्काएको हुन्छ
किन्तु
हुन्न त्यहाँ दैवज्ञ हृदय–स्वरूप !
र, मर्मज्ञ–रूप !

जीवनको
आशाविहीन कुहिरो र तुवाँलोमाथि
धावा बोलेर
ज्ञान–पारदर्शिताले टलक्क टल्काउने
रवि आलोक हो–
दैवज्ञ हृदय–रूप !
ग्रीष्मको
अज्ञानी तापक्रमको पराकाष्ठालाई
शीतलताको घडा पैफलाउने
चिसो, शुभ्र, स्वच्छ र शान्त हिमशैल हो
दैवज्ञ हृदय–रूप !

र,
अन्धकारको
निष्प्राण लासभित्रको
कठोर र तुच्छ छातीभित्र
चन्द्रपुञ्जहरूको सजीव श्वास भरिदिने
दिव्य कान्ति हो–
दैवज्ञ– रूप

दैवज्ञ हृदय–स्वरूपलाई
अब तिमी–
दृश्यमा नखोज
अकारण नहेर !
किनभने,
त्यो गहिराइको निराकार भाव
जहाँ,
अनुभूति हुन्छ– मोतीको !
केवल त्यहाँ छ,
शान्त र शालीन स्वरूप !