श्रद्धेय दाजुप्रति
१
हे आस्थाका शिखर कवि हे पूज्य दैवज्ञराज !
नेपालीका नव-अधरमा छर्न मुस्कान आज
तिम्रो ऊर्जा अनुपम भयो जो यहाँ खर्चिएको
वाग्देवीको वरद दिलका चाहले अर्जिएको।
२
हामीलाई अविरल दियौ छाहरी स्नेह कस्तो !
तिम्रो न्यानो मधुर ममता पारिलो घामजस्तो !!
के भो झट्टै किन नियतिले आज पार्यो बिरूप
झुक्याए झैँ किन बदलियो स्वस्थताको स्वरूप।
३
फुल्दो फल्दो सृजन लतिका शुष्कताले खँगार्यो
नेपालीको ललित रचना-स्तम्भलाई बजार्यो
धक्का हो यो अतिशय ठुलो राष्ट्रकै किन्तु चिन्ता
यो बेलाको नवहृदयले लिन्छ या मान्छ टन्टा।
४
छोराछोरी स्वजन सबमा धैर्यको फुट्छ बाँध
के सम्झाऊँ पिलपिल गरी रुद्ध आवाजसाथ
जाने चोला अघिपछि नभै हुन्न कोही कसैले
भन्छन् भोग्ने तर छ नमिठो खेप्नुपर्ने सबैले।
५
यो माटामा जति छ ममता हुन्न सित्तैँ बिरानो
यै बाटामा युगयुग कतै हुन्न यात्रा पुरानो
पुर्खाका ती समय सकिए भौतिकी देह छैनन्
छन् श्रद्धाका अमर रचना ती पुराना हुँदैनन्।
६
तिम्रो माया यस जगतको अङ्गप्रत्यङ्गमा छ
नेपालीको हृदय रसिने काव्यको रङ्गमा छ
हामी हुन्छौँ जबतक यहाँ सम्झना छन् तरेली
होलान् बर्सौँ शरदपछि रे स्निग्ध सेता परेली।
७
बर्सौँ बर्सी अझ नसकिने बन्छ यो मोहमाया
भन्छन् जान्ने अनुभव हुने किन्तु हट्दैन छाया
झर्दा आँसु प्रतिपल यसै धैर्यको टुट्छ बाँध
छैनन् आस्थासरि किन उसै लच्कने गर्छ काँध।
८
सम्झी सम्झी सुखदुख सबै त्याग सत्कर्म बाटो
अर्पेका छौँ विधि चलनले शुद्ध संस्कार माटो
जाओस् आत्मा परमपदको स्वच्छ सायुज्यधाम
पाओस् धर्ती प्रतिपल नयाँ स्वस्थ वैशाख याम।
२०६८ पुस १५